प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 सङ्‌ख्या ४ पृ. ४-७
  • जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले बुझ्न मदत गर्छ
  • झूटो शिक्षा फैलिन थाल्छ
  • “सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ”
  • पुनरुत्थानमाथि तपाईं कत्तिको विश्‍वास गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • प्राणको लागि उत्तम आशा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • मान्छे मरेपछि कहाँ जान्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • मृत्युपछि जीवन—मानिसहरू के विश्‍वास गर्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 सङ्‌ख्या ४ पृ. ४-७
चिहानमा एउटा लास

आवरण लेख | जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ?

जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ

बाइबलको उत्पत्तिको किताबमा सृष्टिको विवरणबारे बताइएको छ। परमेश्‍वरले पहिलो मानिस आदमलाई यस्तो आज्ञा दिनुभएको थियो: “बगैंचाका सबै रूखका फल तैंले सङ्‌कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” (उत्पत्ति २:१६, १७) आदमले परमेश्‍वरको आज्ञा पालन गरेको भए मर्नुपर्ने थिएन बरु तिनी सधैंभरि सुन्दर बगैंचामा बाँच्न सक्थे भन्‍ने कुरा यी शब्दहरूबाट स्पष्ट हुन्छ।

वृद्ध आदम र हव्वा

तर दुःखको कुरा आदमले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे र सधैंभरि बाँच्ने मौका गुमाए। तिनकी पत्नी हव्वाले निषेध गरिएको फल तिनलाई दिंदा तिनले त्यो खाए। (उत्पत्ति ३:१-६) तिनको अनाज्ञाकारिताले आजसम्म हामीलाई असर गरेको छ। यस विषयमा प्रेषित पावलले यस्तो लेखे: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) त्यो “एकै जना मानिस” आदम थिए। तर पाप भनेको के हो अनि यसले कसरी हामीलाई मृत्युसम्म पुऱ्‍यायो?

जानाजानी परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्नु पाप हो। आदमले पनि त्यही गरे। (१ यूहन्‍ना ३:४) अनि परमेश्‍वरले आदमलाई भन्‍नुभएझैं पापको सजाय मृत्यु हो। जबसम्म आदम र तिनका सन्तान परमेश्‍वरप्रति आज्ञाकारी हुन्थे तबसम्म तिनीहरू पापी हुँदैनथे अनि तिनीहरू मर्नु पनि पर्दैन थियो। परमेश्‍वरले मानिसलाई मर्नको लागि होइन बरु सधैंभरि बाँच्नको लागि सृष्टि गर्नुभएको थियो।

बाइबलले बताएझैं मृत्यु “सबै मानिसमा व्याप्त भयो” भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तर मृत्युपछि के हाम्रो शरीरको कुनै भाग जीवितै रहिरहन्छ? थुप्रैले मानिससँग अमर आत्मा हुन्छ भनेर विश्‍वास गर्छन्‌। तर यसो हुँदो हो त परमेश्‍वरले आदमसँग झूट बोल्नुभएको हो। किन? यदि हामी मरिसकेपछि पनि हाम्रो शरीरको कुनै भाग अर्कै लोकमा बाँचिरहन्छ भने पापको सजाय मृत्यु हुने थिएन। बाइबल भन्छ: “परमेश्‍वरले झूट बोल्न असम्भव” छ। (हिब्रू ६:१८) वास्तवमा झूट बोल्ने त सैतान हो जसले हव्वालाई “तिमीहरू कदापि मर्दैनौ” भन्यो।—उत्पत्ति ३:४.

त्यसैले यस्तो प्रश्‍न खडा हुन्छ, यदि अमर आत्माको शिक्षा झूटो हो भने मृत्युपछि वास्तवमा हामीलाई के हुन्छ?

बाइबलले बुझ्न मदत गर्छ

सृष्टिसम्बन्धी उत्पत्तिको विवरणमा यस्तो लेखिएको छ: “परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो।” हिब्रू भाषामा “जीवित प्राणी” भन्‍ने वाक्यांशलाई नेफेशa भनिन्छ। जसको शाब्दिक अर्थ “सास फेर्ने प्राणी” हो।—उत्पत्ति २:७.

मानिसहरूलाई अमर आत्मासहित सृष्टि गरिएको होइन भनी बाइबलले स्पष्ट पार्छ। बरु मानिस स्वयम्‌ “जीवित प्राणी” हो। त्यसैले जतिसुकै खोजे तापनि तपाईंले बाइबलमा “अमर आत्मा” भनेर कतै उल्लेख गरिएको पाउनुहुनेछैन।

बाइबलले मानिससँग अमर आत्मा छैन भनेर बताए तापनि थुप्रै धर्महरू किन अमर आत्माको शिक्षा सिकाउँछन्‌? जवाफको लागि हामी पुरातन समयको मिश्रको धार्मिक आस्थालाई विचार गरौं।

झूटो शिक्षा फैलिन थाल्छ

पाँचौं शताब्दीका ग्रीक इतिहासकार हेरोडोटसका अनुसार “अमर आत्मामा विश्‍वास गर्ने मानिसहरूमध्ये मिश्रीहरू पहिलो” थिए। साथै पुरातन समयका बेबिलोनीहरू पनि अमर आत्मामा विश्‍वास गर्थे। ईसापूर्व ३३२ सम्ममा ग्रीक दार्शनिकहरूले यो शिक्षालाई अङ्‌गाली सकेका थिए। त्यसपछि यो शिक्षा पूरै ग्रीक साम्राज्यमा फैलियो।

जतिसुकै खोजे तापनि तपाईंले बाइबलमा “अमर आत्मा” भनेर कतै उल्लेख गरिएको पाउनुहुनेछैन

प्रथम शताब्दीका दुई प्रमुख यहूदी गुट एसिन्स र फरिसीहरूले शरीर मरे पनि आत्मा जीवित रहन्छ भनेर सिकाए। यहूदी विश्‍वकोश यसो भन्छ, “ग्रीक विचारधाराको प्रभाव अनि अझ विशेषगरि प्लेटोको शिक्षाले गर्दा यहूदीहरूले अमर आत्माको शिक्षामा विश्‍वास गर्न थाले।” त्यसैगरि प्रथम शताब्दीका इतिहासकार जोसेफसले यो शिक्षा पवित्र धर्मशास्त्रमा आधारित नभई “ग्रीसका मानिसहरूको विश्‍वास”-मा आधारित छ भनी बताए। तिनको विचारमा यस्तो शिक्षा ग्रीक दन्त्य कथाको उपज थियो।

ग्रीक संस्कृतिको प्रभाव फैलँदै गएपछि ख्रीष्टियन भनौंदाहरूले पनि यस्तो झूटो शिक्षालाई अङ्‌गाल्न थाले। इतिहासकार योना लेन्डरिनका अनुसार “हाम्रो आत्मा एक समय उत्तम संसारमा थियो र अहिले पतित संसारमा छ भन्‍ने प्लेटोको विचारधारालाई ख्रीष्टियन धर्ममा मिसाउन सजिलो भयो।” यसरी अमर आत्माको झूटो शिक्षा चर्चजगत्‌मा व्याप्त भयो र यो चर्चको शिक्षाको अभिन्‍न भाग बन्‍न पुग्यो।

“सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ”

प्रथम शताब्दीमा प्रेषित पावलले यस्तो चेतावनी दिए: “भविष्यमा केही मानिसहरूले विश्‍वास त्याग्नेछन्‌ भनेर परमेश्‍वरको प्रेरित वाणीले तोकेरै बताएको छ। किनकि तिनीहरूले भ्रामक प्रेरित वाणीहरू अनि दुष्ट स्वर्गदूतहरूका शिक्षाहरूमा ध्यान दिनेछन्‌।” (१ तिमोथी ४:१) यी शब्दहरू साँच्चै कति सत्य साबित भएका छन्‌! अमर आत्माको शिक्षा पनि ‘दुष्ट स्वर्गदूतहरूको शिक्षा’ हो। यो शिक्षा बाइबलमा नभई पुरातन गैर-ख्रीष्टियन धर्म अनि दार्शनिकहरूको शिक्षामा आधारित छ।

खुसीको कुरा येशूले यसो भन्‍नुभयो: “तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” (यूहन्‍ना ८:३२) बाइबलले सिकाउने सत्यको ज्ञान लिनुहोस्‌। यसरी तपाईं परमेश्‍वरको अनादर गर्ने झूटो धर्महरूको शिक्षा र प्रचलनबाट स्वतन्त्र हुन सक्नुहुनेछ। साथै परमेश्‍वरको वचनले तपाईंलाई मृत्युसित सम्बन्धित विभिन्‍न रीतिथिति र अन्धविश्‍वासबाट पनि मुक्‍त गर्नेछ।—“मरिसकेकाहरू कहाँ छन्‌?” भन्‍ने पेटी हेर्नुहोस्‌।

पृथ्वीमा हाम्रो आयु ७० वा ८० वर्षको होस्‌ त्यसपछि हामी अर्कै लोकमा सधैंभरि बाँचोस्‌ भन्‍ने सृष्टिकर्ताको उद्देश्‍य थिएन। उहाँको सुरुको उद्देश्‍य त हामी आज्ञाकारी भएर यसै पृथ्वीमा सधैंभरि बाँचोस्‌ भन्‍ने थियो। यो मानिसजातिप्रति परमेश्‍वरको प्रेमको प्रमाण हो अनि उहाँलाई यो उद्देश्‍य पूरा गर्नदेखि कसैले रोक्न सक्दैन। (मलाकी ३:६) भजनहारले हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌, “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

बाइबलले जीवन र मृत्युबारे के सिकाउँछ भन्‍नेबारे थप जानकारी चाहनुहुन्छ भने यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ६ हेर्नुहोस्‌। यो किताब www.jw.org/ne मा पनि उपलब्ध छ

a केही नेपाली भाषाको बाइबल अनुवाद जस्तै, ट्रिनिटेरियन बाइबल सोसाइटी-मा नेफेश-लाई “जिउँदो प्राणी” भनेर अनुवाद गरिएको छ।

के हामी सधैंभरि बाँच्न सक्छौं?

केही वर्षअघि अनुसन्धानकर्ताहरूले पानीमुनि हुने खास किसिमका वनस्पति पत्ता लगाए। यी वनस्पति हजारौं वर्षअघि देखि नै जीवित छन्‌ भनेर अनुमान गरिएको छ। त्यसैले पृथ्वीमा सबैभन्दा लामो समयदेखि अस्तित्वमा रहेको जीव यही नै हुनुपर्छ। यी वनस्पति पोसिडोनिया ओशनिका (Posidonia oceanica) प्रजातिका समुद्री घाँस हुन्‌ र यो स्पेन र साइप्रसको बीचमा अवस्थित भूमध्य सागरको ठूलो क्षेत्रफलमा फैलिएको छ।

यदि वनस्पति नै यत्ति लामो समयसम्म जीवित रहन सक्छ भने मानिसबारे चाहिं के भन्‍न सकिन्छ? वैज्ञानिकहरू मानिसको औसत आयु अझै लम्ब्याउन सकिने कुरामा आशावादी छन्‌। एउटा किताबमा यस क्षेत्रमा “विज्ञानले हासिल गरेको ठूलठूला उपलब्धिहरू”-बारे उल्लेख गरिएको छ। तर यस्ता वैज्ञानिक उपलब्धिहरूले हाम्रो आयु लम्ब्याउन कत्तिको योगदान पुऱ्‍याउन सक्छ, त्यो हेर्न बाँकी नै छ।

तर सधैंभरि बाँच्ने आशाचाहिं विज्ञानले पूरा गर्न सक्दैन। हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वरले मात्र यस्तो आशा पूरा गर्न सक्नुहुन्छ। किनभने बाइबल भन्छ: “जीवनको मूल तपाईंसँग [परमेश्‍वरसँग] छ।” (भजन ३६:९) येशू ख्रीष्टले यहोवालाई यसरी प्रार्थना गर्नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्‍वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।” (यूहन्‍ना १७:३) हामीले यहोवा परमेश्‍वर र उहाँको छोरा येशू ख्रीष्टलाई चिन्‍ने अनि उहाँहरूलाई खुसी बनाउने प्रयास गऱ्‍यौं भने मात्र अनन्त जीवन पाउन सक्छौं।

समुद्री घाँस

अनुसन्धानकर्ताहरू यो प्रजातिका समुद्री घाँसहरू हजारौं वर्षदेखि जीवित छन्‌ भनेर विश्‍वास गर्छन्‌

मरिसकेकाहरू कहाँ छन्‌?

लाजरसलाई पुनर्जीवित पार्दै येशू

बाइबलले मरिसकेकाहरू चिहानमा छन्‌ अनि तिनीहरू पुनर्जीवित हुनेछन्‌ भनेर बताउँछ। (यूहन्‍ना ५:२८, २९) तिनीहरूले कुनै किसिमको दुःख वा पीडा भोगिरहेका छैनन्‌। किनभने “मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” (उपदेशक ९:५) येशूले मृत्युलाई गहिरो निद्रासित तुलना गर्नुभयो। (यूहन्‍ना ११:११-१४) त्यसैले हामी मरिसकेकाहरूसित डराउनुपर्दैन अनि तिनीहरूलाई खुसी बनाउन कुनै बलि पनि चढाउनुपर्दैन। तिनीहरू हामीलाई न त मदत गर्न सक्छन्‌ न त हानि नै। किनभने तिनीहरूसँग “नता केही गर्ने, न विचार गर्ने, न समझशक्‍ति, न बुद्धिनै हुन्छ।” (उपदेशक ९:१०) परमेश्‍वरले मरिसकेकाहरूलाई पुनर्जीवित गरेर मृत्युलाई सदाको लागि नामेट पार्नुहुनेछ।—१ कोरिन्थी १५:२६, ५५; प्रकाश २१:४.

बाइबललाई किन भरोसा गर्न सकिन्छ

बाइबललाई हामी पूर्णरूपमा भरोसा गर्न सक्छौं। किन? तल दिइएका प्रमाणहरू विचार गर्नुहोस्‌:

  • प्वाँख र मसीदानी

    बेजोड ढङ्‌गमा लेखिएको: बाइबल लगभग ४० जना मानिसहरूले लेखेको ६६ वटा किताबहरूको सङ्‌गालो हो। ईसापूर्व १५१३ देखि इस्वी संवत्‌ ९८ सम्म झन्डै १६ सय वर्ष लगाएर यो किताब लेखिएको थियो। तैपनि यसको कुरा एक-आपसमा बाझिएको छैन। यसबाट बाइबलको ग्रन्थकार परमेश्‍वर नै हुनुहुन्छ भनेर स्पष्ट हुन्छ।

  • खम्बा

    ऐतिहासिक रूपमा सही: बाइबलमा रेकर्ड गरिएका घटनाहरू ऐतिहासिक रूपमा प्रमाणित भइसकेका छन्‌। एउटा किताबलेb यसो भन्छ: “प्रेम कथा, दन्त्य कथा र झूटा गवाहीका विवरणहरूमा कुनै निश्‍चित समय वा ठाउँ तोकिएको हुँदैन, . . . तर बाइबलको विवरणहरूमा भने मिति र ठाउँ तोकेरै बताइएको छ।”

  • एउटा अणु

    वैज्ञानिक रूपमा सही: बाइबलमा उल्लेख गरिएका विज्ञानसम्बन्धी कुराहरू पनि सही छन्‌। तीमध्ये कतिपय कुरा त विज्ञानले त्यतिबेला पत्ता लगाइसकेको थिएन। उदाहरणको लागि, कीटाणु र सरुवा रोगबारे थाहै नभएको समयमा सरसफाइसम्बन्धी अनि सरुवा रोग लाग्दा के गर्ने भन्‍नेबारे इस्राएलीहरूलाई विस्तृत जानकारी दिइएको थियो जुन कुरा लेवी अध्याय १३ र १४ मा रेकर्ड गरिएको छ। साथै पृथ्वी गोलो छ र कुनै आडविनै अन्तरिक्षमा झुन्डिएको छ भनेर बाइबलमा बताइएको कुरा विज्ञानले शताब्दियौं पछि मात्र पत्ता लगायो।—अय्यूब २६:७; यशैया ४०:२२.

यी उदाहरणहरू त “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यो सिकाउन, सुधार्न, सच्याउन . . . उपयोगी छ” भन्‍ने कुराको केही प्रमाण मात्र हुन्‌।—२ तिमोथी ३:१६.

b A Lawyer Examines the Bible

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने