प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 सेप्टेम्बर pp. २८-३२
  • “आँटिला होऊ र यो काम गर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “आँटिला होऊ र यो काम गर”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • साहसी व्यक्‍तिहरूको उदाहरण
  • साहस देखाउनुपर्ने अवस्थाहरू
  • मण्डलीमा साहस देखाउनुपर्ने अवस्थाहरू
  • “परमेश्‍वर तिम्रो साथमा हुनुहुनेछ”
  • साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • ‘बलियो र अति साहसी हुनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • साहसी हुन धेरै गाह्रो छैन
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • देऊ न साहस
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 सेप्टेम्बर pp. २८-३२
राहाब इस्राएली जासुसहरू खोज्न आएका मानिसहरूलाई अर्कै बाटो पठाइदिन्छिन्‌

“आँटिला होऊ र यो काम गर”

“बलिया र आँटिला होऊ र यो काम गर। नडराऊ र निरुत्साहित नहोऊ, किनकि परमप्रभु परमेश्‍वर . . . तिम्रो साथमा हुनुहुनेछ।”—१ इति. २८:२०, NRV.

गीत: ६०, २९

हामीले के सिक्यौं?

  • छोराछोरी र आमाबुबाले कसरी साहस देखाउन सक्छन्‌?

  • पाको उमेरका दिदीबहिनीले कस्तो अवस्थामा साहस देखाउनुपर्ने हुन सक्छ?

  • बप्तिस्मा गरेका भाइहरूले कसरी साहस देखाउन सक्छन्‌?

१, २. (क) सुलेमानले कस्तो महत्त्वपूर्ण काम गर्ने जिम्मा पाए? (ख) दाऊदलाई सुलेमानको विषयमा कस्तो चिन्ता थियो?

सुलेमानलाई अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण निर्माण परियोजनाको सुपरिवेक्षण गर्न निर्देशन दिइयो। त्यो काम थियो, यरूशलेममा मन्दिर निर्माण गर्ने। त्यो मन्दिर “अत्यन्तै शोभायमान” हुनेथियो र “सबै देशमा प्रसिद्ध” हुने थियो। अझ महत्त्वपूर्ण कुरा, त्यो मन्दिर साँचो परमेश्‍वर यहोवाको “घर” हुने थियो। त्यस परियोजनाको निरीक्षण गर्ने जिम्मा यहोवाले सुलेमानलाई सुम्पनुभयो।—१ इति. २२:१, ५, ९-११.

२ त्यस काममा परमेश्‍वरले साथ दिनुहुनेछ भनेर राजा दाऊद ढुक्क थिए तर सुलेमान भने “कलिलै” थिए र तिनीसित त्यति अनुभव पनि थिएन। के तिनले मन्दिर निर्माण गर्न आँट देखाउने थिए? कलिलो उमेर अनि अनुभवको कमीले गर्दा पछि हट्‌ने पो थिए कि? त्यस निर्माणकार्यमा सफल हुन सुलेमान आँटिलो अर्थात्‌ साहसी हुनुपर्थ्यो अनि त्यो काम गर्न अघि बढ्‌नुपर्थ्यो।

३. सुलेमानले आँटिलो हुनेबारे दाऊदबाट के सिके?

३ सुलेमानले आँटिलो हुनेबारे आफ्नो बुबाबाट धेरै कुरा सिकेको हुनुपर्छ। दाऊदले सानै छँदा जङ्‌गली जनावरहरूसित लडेर आफ्ना भेडाहरूलाई बचाएका थिए। (१ शमू. १७:३४, ३५) उनले अजङ्‌गका गोल्यतसित लड्‌न ठूलो आँट देखाएका थिए। परमेश्‍वरको साथ पाएर अनि एउटा चिल्लो ढुङ्‌गाको सहारा लिएर उनले त्यस बडेमाको योद्धालाई हराएका थिए।—१ शमू. १७:४५, ४९, ५०.

४. सुलेमानले किन आँट देखाउनुपर्थ्यो?

४ दाऊदले सुलेमानलाई आँटिलो हुन र मन्दिर निर्माण गर्न सल्लाह दिनु साँच्चै उपयुक्‍त थियो। (१ इतिहास २८:२० पढ्‌नुहोस्‌) सुलेमानले आँट नदेखाएका भए तिनले डराएर केही पनि गर्न सक्ने थिएनन्‌। तिनले त्यसरी डराएर कामै सुरु नगर्नुभन्दा बरु परिणाम जस्तोसुकै भए पनि काम सुरु गर्नु नै बेस हुनेथियो!

५. हामीलाई किन साहस चाहिन्छ?

५ सुलेमानलाई जस्तै हामीलाई पनि आँटिलो हुन र काम पूरा गर्न यहोवाको मदत चाहिन्छ। त्यसैले आउनुहोस्‌, साहस देखाएका केही व्यक्‍तिको उदाहरणबारे चर्चा गरौं। अनि हामी पनि कसरी साहसी हुन र आफ्नो काम पूरा गर्न सक्छौं भनेर विचार गरौं।

साहसी व्यक्‍तिहरूको उदाहरण

६. यूसुफले देखाएको साहस तपाईंलाई किन उल्लेखनीय लाग्छ?

६ पोतीफरकी पत्नीले आफूसित यौनसम्बन्ध राख्ने प्रलोभन देखाउँदा यूसुफले देखाएको साहस विचार गर्नुहोस्‌। मालिक्नीको कुरा नमान्दा आफ्नो ज्यानै खतरामा पर्न सक्छ भनेर यूसुफलाई थाह थियो। तैपनि यूसुफले मालिक्नीको कुरा मानेनन्‌ बरु साहसी भई तुरुन्तै कदम चाले।—उत्प. ३९:१०, १२.

७. राहाबले कसरी साहस देखाइन्‌? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

७ साहस देखाउने सन्दर्भमा राहाबले पनि राम्रो उदाहरण बसालेकी छिन्‌। इस्राएली जासुसहरू यरीहोमा राहाबको घरमा लुक्न आएका थिए। त्यतिबेला डराएर राहाबले तिनीहरूलाई फर्काइदिन सक्थिन्‌। तर उनले यहोवामाथि भरोसा राखिन्‌ र साहस देखाउँदै ती दुई जना मानिसलाई लुकाइन्‌ अनि पछि तिनीहरूलाई त्यहाँबाट सकुशल फर्कन मदत गरिन्‌। (यहो. २:४, ५, ९, १२-१६) राहाबले यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ भनेर स्विकारेकी थिइन्‌। अनि यहोवाले कुनै न कुनै तरिकामा यरीहो सहर इस्राएलीहरूलाई दिनुहुनेछ भन्‍ने कुरामा राहाब विश्‍वस्त थिइन्‌। राहाब कसैसित डराइनन्‌, यहाँसम्म कि उनी यरीहोको राजा र तिनका मानिसहरूसित पनि डराइनन्‌। बरु साहसी भई उनले जे गरिन्‌, त्यसले गर्दा उनी र उनको परिवारको ज्यान जोगियो।—यहो. ६:२२, २३.

८. येशूको साहस देखेर प्रेषितहरूले के सिके?

८ येशूका वफादार प्रेषितहरूले पनि साहसी हुने सन्दर्भमा राम्रो उदाहरण बसाले। येशूले विभिन्‍न अवस्थामा साहस देखाउनुभएको तिनीहरूले देखेका थिए। (मत्ती ८:२८-३२; यूह. २:१३-१७; १८:३-५) उहाँको उदाहरण देखेर तिनीहरूले आफ्नो साहस बढाउन सके। सदुकीहरूले विरोध गरे तापनि तिनीहरूले येशूको नाममा सिकाउन छोडेनन्‌।—प्रेषि. ५:१७, १८, २७-२९.

९. दोस्रो तिमोथी १:७ ले साहस कहाँबाट आउँछ भनेर बताउँछ?

९ यूसुफ, राहाब, येशू र प्रेषितहरूले सही कदम चाल्न साहस देखाए। तिनीहरूले आफूमाथि अति-विश्‍वस्त भएर त्यस्तो साहस देखाएका थिएनन्‌। तिनीहरूले आफ्नो सम्पूर्ण भरोसा यहोवामा राखेका थिए। हामीले पनि विभिन्‍न परिस्थितिमा साहस देखाउनुपर्ने हुन्छ। त्यतिबेला हामीले आफूमा होइन, यहोवामा भरोसा राख्नुपर्छ। (२ तिमोथी १:७ पढ्‌नुहोस्‌) आउनुहोस्‌, साहस देखाउनुपर्ने दुइटा क्षेत्रबारे विचार गरौं: परिवारमा र मण्डलीमा।

साहस देखाउनुपर्ने अवस्थाहरू

१०. युवायुवतीहरूलाई किन साहस चाहिन्छ?

१० यहोवाको सेवा गर्न युवायुवतीहरूले पनि विभिन्‍न अवस्थामा साहस देखाउनुपर्ने हुन्छ। मन्दिरको निर्माणकार्य पूरा गर्न सुलेमानले सही निर्णयहरू गर्नुपर्थ्यो र यसो गर्न तिनलाई साहस चाहिन्थ्यो। अहिलेका युवायुवतीले सुलेमानबाट सिक्न र तिनको उदाहरण अनुकरण गर्न सक्छन्‌। हुन त तिनीहरूले आफ्ना आमाबुबाको डोऱ्‍याइ माग्न सक्छन्‌ र त्यसो गर्नु पनि पर्छ। तर महत्त्वपूर्ण निर्णयहरू गर्ने जिम्मेवारी तिनीहरूको आफ्नै हो। (हितो. २७:११) कस्तो साथी छान्‍ने, कस्तो किसिमको मनोरञ्जन गर्ने, कसरी नैतिक आचरण स्वच्छ राख्ने अनि कहिले बप्तिस्मा गर्ने भन्‍नेबारे सही निर्णय गर्न तिनीहरूलाई साहस चाहिन्छ। किनभने तिनीहरू परमेश्‍वरको आलोचना गर्ने सैतानको इच्छाअनुसार चल्दैनन्‌।

११, १२. (क) साहस देखाउने सन्दर्भमा मोशाले कस्तो राम्रो उदाहरण बसाले? (ख) युवायुवतीहरूले कसरी मोशाको उदाहरण अनुकरण गर्न सक्छन्‌?

११ युवायुवतीहरूले गर्नुपर्ने एउटा महत्त्वपूर्ण निर्णय भनेको कस्तो लक्ष्य राख्ने भन्‍नेबारे हो। कुनै-कुनै देशमा उच्च शिक्षा हासिल गर्ने र राम्रो जागिर खाने लक्ष्य राख्न निकै जोड दिइन्छ। अरू कतिपय देशमा भने आर्थिक अवस्था कमजोर छ। त्यसैले त्यस्ता देशका युवायुवतीहरूले परिवारलाई आर्थिक तवरमा सघाउनुपर्ने दबाब महसुस गर्न सक्छन्‌। तपाईं पनि यीमध्ये कुनै एउटा अवस्थामा हुनुहुन्छ भने मोशाको उदाहरण विचार गर्नुहोस्‌। मोशालाई फिरऊनकी छोरीले हुर्काएकी थिइन्‌। त्यसैले मोशाले मान-प्रतिष्ठा कमाउने वा आर्थिक तवरमा सम्पन्‍न हुने लक्ष्य राख्न सक्थे। तिनले मिश्रमा भएको परिवार, शिक्षकहरू अनि सल्लाहकारहरूबाट कत्ति धेरै दबाब महसुस गरे होलान्‌! तर मोशाले उनीहरूको कुरा सुनेनन्‌; तिनले शुद्ध उपासनाको पक्षमा खडा हुन साहसी कदम चाले। मोशाले मिश्र र त्यसको भौतिक सुख-सुविधा त्यागे। त्यसपछि पनि तिनले साहसी हुँदै यहोवामाथि भरोसा गरिरहे। (हिब्रू ११:२४-२६) त्यस्तो निर्णयले गर्दा तिनले यहोवाबाट प्रशस्त आशिष्‌ पाए। अनि भविष्यमा अझ धेरै आशिष्‌ पाउनेछन्‌।

१२ त्यसैगरि आध्यात्मिक लक्ष्य राख्न र परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिन साहस देखाउने युवायुवतीलाई यहोवाले आशिष्‌ दिनुहुनेछ। परिवारको आवश्‍यकता पूरा गर्न यहोवाले तिनीहरूलाई मदत गर्नुहुनेछ। प्रथम शताब्दीमा जवान तिमोथीले आफ्नो ध्यान आध्यात्मिक लक्ष्यहरू हासिल गर्नतर्फ लगाएका थिए। तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ।a—फिलिप्पी २:१९-२२ पढ्‌नुहोस्‌।

एक जना भाइ आफ्नो हाकिमसित कुरा गर्दै; केही बहिनी निर्माण परियोजनामा भाग लिंदै; एक बहिनी ‘राज्य प्रचारकहरूको लागि स्कुल’-मा भाग लिंदै

के तपाईंले जीवनको सबै पक्षमा साहसी हुने सङ्‌कल्प गर्नुभएको छ? (अनुच्छेद १३-१७ हेर्नुहोस्‌)

१३. एउटी जवान बहिनीलाई आफ्नो लक्ष्य हासिल गर्न साहसले कसरी मदत गऱ्‍यो?

१३ अमेरिकाको अलाबामा राज्यमा बस्ने एउटी जवान बहिनीलाई आध्यात्मिक लक्ष्यहरू राख्न साहस चाहिएको थियो। उनी यसो भन्छिन्‌: “सानो छँदा म असाध्यै लाज मान्थें। राज्यभवनमा अरूसित कुरा गर्नै सक्दिनथें, चिन्दै नचिनेका मानिसहरूको घरमा गएर कुरा गर्ने त परै जाओस्‌।” उनले आमाबुबा अनि मण्डलीका अरू सदस्यहरूको मदत पाएर नियमित अग्रगामी हुने लक्ष्य हासिल गरिन्‌। उनी भन्छिन्‌: “सैतानको संसारले उच्च शिक्षा हासिल गर्ने, नाम-दाम कमाउने अनि सकेसम्म धेरै भौतिक चिजबिज हासिल गर्ने लक्ष्य राख्न जोड दिन्छ। तर अक्सर यस्ता लक्ष्यहरू हासिल गर्न सम्भव हुँदैन अनि पछि गएर तनाव अनि पीडा मात्र भोग्नुपर्ने हुन्छ। यहोवाको सेवा गर्दा भने मैले अपार आनन्द पाएकी छु र साँच्चै सन्तुष्ट हुन सकेकी छु।”

१४. आमाबुबाले कस्ता अवस्थाहरूमा साहस देखाउनुपर्ने हुन्छ?

१४ आमाबुबालाई पनि साहस चाहिन्छ। जस्तै: हाकिमले सधैं नै तपाईंलाई साँझमा र सप्ताहन्तमा ओभरटाइम गर्न भन्‍न सक्छन्‌। तर तपाईंले त्यो समय पारिवारिक उपासना, प्रचारकार्य अनि मण्डलीका सभाहरूको लागि छुट्ट्याउनुभएको छ होला। हाकिमले ओभरटाइम गर्न भन्दा सधैं ‘अहँ, म गर्न सक्दिनँ’ भन्‍न र आफ्ना छोराछोरीको लागि राम्रो उदाहरण बसाल्न साहस चाहिन्छ। अथवा यस्तो अवस्था हुन सक्छ: मण्डलीका कोही-कोही आमाबुबाले तिनीहरूका छोराछोरीलाई कुनै-कुनै गतिविधिमा भाग लिन अनुमति दिन्छन्‌ होला तर तपाईं भने आफ्ना छोराछोरीलाई त्यसो गर्न दिनुहुन्‍न। ती आमाबुबाले ‘छोराछोरीलाई किन त्यसो गर्न नदिनुभएको’ भनेर तपाईंलाई सोध्न सक्छन्‌। त्यतिबेला के तपाईं साहसी हुँदै अनि कौशलतापूर्वक कारण बताउन सक्नुहुन्छ?

१५. भजन ३७:२५ र हिब्रू १३:५ बाट आमाबुबाले कस्तो मदत पाउन सक्छन्‌?

१५ आध्यात्मिक लक्ष्यहरू राख्न र ती हासिल गर्न छोराछोरीलाई मदत दिन पनि साहस चाहिन्छ। जस्तै: कोही-कोही आमाबुबा छोराछोरीलाई अग्रगामी सेवालाई आफ्नो करिअर बनाउन, आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न, बेथेल सेवा गर्न वा राज्यभवन, सम्मेलन भवन इत्यादि निर्माणकार्यमा भाग लिनको लागि प्रोत्साहन दिन हिचकिचाउँछन्‌। ती आमाबुबालाई पछि आफू बूढाबूढी भएपछि छोराछोरीले हेरचाह गर्न नसक्लान्‌ भन्‍ने चिन्ता लाग्न सक्छ। तर बुद्धिमान्‌ आमाबुबाले साहस देखाउँछन्‌ अनि यहोवाका प्रतिज्ञाहरूमा भरोसा राख्छन्‌। (भजन ३७:२५; हिब्रू १३:५ पढ्‌नुहोस्‌) यसरी साहस र यहोवामाथि भरोसा देखाउने आमाबुबाले आफ्ना छोराछोरीलाई पनि त्यसै गर्न मदत गर्न सक्छन्‌।—१ शमू. १:२७, २८; २ तिमो. ३:१४, १५.

१६. कोही-कोही आमाबुबाले आफ्नो छोराछोरीलाई आध्यात्मिक लक्ष्यहरू राख्न कसरी मदत गरेका छन्‌? यसो गर्दा छोराछोरीले कस्तो लाभ उठाएका छन्‌?

१६ अमेरिकाको एउटा परिवारले आफ्ना छोराछोरीलाई आध्यात्मिक लक्ष्यहरू राख्न मदत गरे। त्यस परिवारका बुबा यसो भन्छन्‌: “छोराछोरी हिंड्‌न र बोल्न थाल्नुभन्दा अघिदेखि नै हामी तिनीहरूसित अग्रगामी सेवा गर्दा र मण्डलीको गतिविधिमा भाग लिंदाको आनन्दबारे कुरा गर्थ्यौं। अहिले तिनीहरूले पनि यस्तै लक्ष्य राखेका छन्‌। आध्यात्मिक लक्ष्यहरू राख्दा अनि ती हासिल गर्दा छोराछोरीले सैतानको संसारले दिने दबाबको प्रतिरोध गर्न र आफ्नो ध्यान यहोवाको सेवामा केन्द्रित गर्न सकेका छन्‌।” दुई छोराछोरीका बुबाले यस्तो लेखे: “छोराछोरीले खेलकूद, मनोरञ्जन र शिक्षाजस्ता क्षेत्रमा ठूलठूला लक्ष्य हासिल गरून्‌ भनेर थुप्रै आमाबुबा आफ्नो भएभरको शक्‍ति र सम्पत्ति खर्च गर्छन्‌। त्यसो गर्नुभन्दा छोराछोरीलाई यहोवासित राम्रो सम्बन्ध बनाउन र आध्यात्मिक लक्ष्य हासिल गर्न मदत दिनु कत्ति बेस! छोराछोरीले आध्यात्मिक लक्ष्य हासिल गरेको देख्दा हामी साह्रै खुसी छौं। त्यति मात्र होइन, तिनीहरूसित काँधमा काँध मिलाएर सेवा गर्न पाउँदा अपार सन्तुष्टि पाएका छौं।” छोराछोरीलाई आध्यात्मिक लक्ष्यहरू राख्न र ती हासिल गर्न मदत दिने आमाबुबालाई यहोवाले प्रशस्त आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा तपाईं ढुक्क हुन सक्नुहुन्छ।

मण्डलीमा साहस देखाउनुपर्ने अवस्थाहरू

१७. मण्डलीमा कस्ता अवस्थाहरूमा साहस देखाउनुपर्ने हुन सक्छ?

१७ मण्डलीमा पनि साहस देखाउनुपर्ने अवस्थाहरू हुन्छन्‌। जस्तै: एल्डरहरूले न्यायिक मामिला सँभाल्दा वा ज्यानै जान सक्ने आकस्मिक अवस्थामा परेकाहरूलाई मदत गर्दा साहस देखाउनुपर्छ। केही एल्डर झ्यालखानामा भएका कैदीहरूलाई आध्यात्मिक तवरमा मदत दिन तिनीहरूलाई भेट्‌न जान्छन्‌। अनि अविवाहित बहिनीहरूले कसरी साहस देखाउन सक्छन्‌? अहिले तिनीहरूले आफ्नो सेवा विस्तार गर्न सक्ने विभिन्‍न मौका छ। जस्तै: अग्रगामी सेवा गर्ने, आवश्‍यकता धेरै भएको ठाउँमा बसाइँ सर्ने, स्थानीय डिजाइन/निर्माण परियोजनामा भाग लिने अनि राज्य प्रचारकहरूका लागि स्कुलको लागि आवेदन दिने। कोही-कोही भने गिलियड स्कुलमा पनि जान सकेका छन्‌।

१८. पाको उमेरका दिदीबहिनीले कसरी साहस देखाउन सक्छन्‌?

१८ पाको उमेरका दिदीबहिनी मण्डलीको लागि आशिष्‌ हुन्‌। हामी ती प्यारा दिदीबहिनीलाई असाध्यै माया गर्छौं। तिनीहरूमध्ये कोही-कोहीले पहिले यहोवाको सेवामा जति गर्न सक्थे, अहिले त्यति गर्न सक्दैनन्‌ होला। तर तिनीहरूले अझै पनि साहस देखाउन र आफूले गर्न सक्ने काम पूरा गर्न सक्छन्‌। (तीतस २:३-५ पढ्‌नुहोस्‌) उदाहरणको लागि, एउटी बहिनीलाई भद्र पहिरन लगाउने विषयमा सल्लाह दिनुपर्ने हुन सक्छ। यस्तो अवस्थामा एल्डरहरूले पाको उमेरकी दिदीलाई त्यो काम गरिदिन आग्रह गर्न सक्छन्‌। त्यतिबेला आफूभन्दा कम उमेरकी बहिनीलाई सम्झाउन पाको उमेरकी दिदीलाई साहस चाहिन्छ। उनले आफूभन्दा कम उमेरकी बहिनीलाई तिनले लगाएको पहिरनबारे गाली गर्नेछैनन्‌ बरु तिनको पहिरनले अरूलाई कस्तो असर पार्न सक्छ भनेर विचार गर्न प्रोत्साहन दिनेछिन्‌। (१ तिमो. २:९, १०) पाका दिदीबहिनीले त्यसरी मायालु चासो देखाउँदा मण्डली अझ बलियो हुन्छ।

१९. (क) बप्तिस्मा गरेका भाइहरूले कसरी साहस देखाउन सक्छन्‌? (ख) फिलिप्पी २:१३ र ४:१३ बाट भाइहरूले साहस देखाउन कस्तो मदत पाउन सक्छन्‌?

१९ बप्तिस्मा गरेका दाजुभाइले पनि साहस देखाउनुपर्छ र आफूले गर्न सक्ने काम गर्नुपर्छ। थप जिम्मेवारी वहन गर्न इच्छुक पुरुषहरू मण्डलीको लागि आशिष्‌ हुन्‌। (१ तिमो. ३:१) तर कोही-कोही भने सहायक सेवक वा एल्डरको रूपमा सेवा गर्न अघि बढ्‌नदेखि हिचकिचाउँछन्‌। सायद कुनै भाइले पहिला कुनै गल्ती गरेका थिए होलान्‌। अनि अहिले सहायक सेवक वा एल्डरको रूपमा सेवा गर्न आफू अयोग्य भएको महसुस गर्न सक्छन्‌। अथवा आफूलाई सुम्पिइएको जिम्मेवारी पूरा गर्न आफू असक्षम भएको महसुस गर्न सक्छन्‌। तपाईंलाई पनि त्यस्तै लाग्छ भने साहस देखाउन यहोवाले मदत गर्न सक्नुहुन्छ। (फिलिप्पी २:१३; ४:१३ पढ्‌नुहोस्‌) आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न एक चोटि मोशाले पनि अयोग्य महसुस गरेका थिए। (प्रस्थ. ३:११) तर यहोवाले तिनलाई मदत गर्नुभयो र समय बित्दै जाँदा मोशाले आफूलाई सुम्पिइएको काम साहसी भई पूरा गरे। बप्तिस्मा गरेका भाइले पनि परमेश्‍वरलाई उत्कट प्रार्थना गरेर अनि दिनहुँ बाइबल पढेर साहसी हुन मदत पाउन सक्छन्‌। साहस देखाएका व्यक्‍तिहरूबारे बाइबलमा पाइने विवरणहरूमा मनन गरेर पनि मदत पाउन सक्छन्‌। आवश्‍यक तालिमको लागि तिनीहरूले नम्र भई एल्डरहरूसित आग्रह गर्न सक्छन्‌ अनि जस्तोसुकै काम गर्न तिनीहरू सधैं तत्पर हुन सक्छन्‌। बप्तिस्मा गरेका सबै भाइलाई हामी साहसी हुन र मण्डलीको लागि कडा परिश्रम गर्न आग्रह गर्छौं!

“परमेश्‍वर तिम्रो साथमा हुनुहुनेछ”

२०, २१. (क) दाऊदले सुलेमानलाई कुन कुरा सम्झाए? (ख) हामी कुन कुरामा ढुक्क हुन सक्छौं?

२० मन्दिर निर्माण गर्ने काम पूरा नभएसम्म यहोवाले साथ दिनुहुनेछ भनेर राजा दाऊदले सुलेमानलाई सम्झाए। (१ इति. २८:२०, NRV) सुलेमानले आफ्नो बुबाका शब्दहरू मन र दिमागमा ठप्प राखेका थिए। त्यसैले सुलेमान आफ्नो कलिलो उमेर र अनुभवको कमीले गर्दा पछि हटेनन्‌। तिनले निकै ठूलो साहस देखाए, आफूलाई सुम्पिइएको काम सुरु गरे अनि यहोवाको मदत पाएर साढे सात वर्षमा त्यस भव्य मन्दिर बनाउने काम पूरा गरे।

२१ यहोवाले सुलेमानलाई मदत गर्नुभएजस्तै हामीलाई पनि परिवारमा र मण्डलीमा साहसी हुन अनि आफ्नो काम पूरा गर्न मदत गर्नुहुनेछ। (यशै. ४१:१०, १३) यहोवाको उपासना गर्न साहस देखाउँदा अहिले र भविष्यमा उहाँको आशिष्‌ पाउने कुरामा हामी ढुक्क हुन सक्छौं। त्यसैले ‘आँटिलो हुनुहोस्‌ र काम गर्नुहोस्‌।’

a जुलाई १५, २००४ को प्रहरीधरहरा-मा छापिएको “आध्यात्मिक लक्ष्यहरू राखेर सृष्टिकर्ताको महिमा गर्नुहोस्‌” भन्‍ने लेखमा केही व्यावहारिक सुझाव पाउन सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने