प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 सेप्टेम्बर pp. २३-२७
  • “परमेश्‍वरको वचन . . . प्रबल छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “परमेश्‍वरको वचन . . . प्रबल छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • व्यक्‍तिगत जीवनमा
  • प्रचारकार्यमा
  • मञ्चबाट सिकाउँदा
  • दैनिक बाइबल पढाइबाट लाभ उठाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • बाइबल पढाइबाट अझ धेरै लाभ उठाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • परमेश्‍वरको वचनलाई बलियो गरी पक्री राख्नु
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • परमेश्‍वरको वचन दह्रिलो गरी पक्रिराख्नुहोस्‌
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 सेप्टेम्बर pp. २३-२७
एक जना मान्छे रक्सी पिउँदै बसिरहेको बेला यहोवाका साक्षीहरू उनलाई प्रचार गर्न आउँछन्‌; पछि त्यो व्यक्‍ति सभामा उपस्थित हुन्छन्‌

“परमेश्‍वरको वचन . . . प्रबल छ”

‘परमेश्‍वरको वचन जीवित र प्रबल छ।’—हिब्रू ४:१२.

गीत: ११४, ११३

परमेश्‍वरको वचन प्रबल छ भनेर यी क्षेत्रमा कसरी देखाउन सक्छौं . . .

  • व्यक्‍तिगत जीवनमा?

  • प्रचारकार्यमा?

  • मञ्चबाट सिकाउँदा?

१. परमेश्‍वरको वचन प्रबल छ भन्‍ने कुरामा हामी किन ढुक्क छौं? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

परमेश्‍वरको वचन “जीवित र प्रबल छ” भन्‍ने कुरामा हामी यहोवाका जनहरू ढुक्क छौं। (हिब्रू ४:१२) बाइबलले जीवन परिवर्तन गर्न सक्छ भन्‍ने कुरा हामीमध्ये धेरैले अनुभव गरेका छौं। हाम्रा दाजुभाइ दिदीबहिनीमध्ये कोही-कोही विगतमा चोरी गर्थे, लागू पदार्थ सेवन गर्थे वा अनैतिक जीवन बिताउँथे। अरू कोही-कोहीले चाहिं नाम र दाम दुवै कमाएको भए तापनि जीवनमा खोक्रो महसुस गरिरहेका थिए। (उप. २:३-११) तर खुसीको कुरा, आशाविहीन जीवन बिताइरहेका थुप्रैले बाइबल अध्ययन गरे अनि बाइबलले जीवन परिवर्तन गर्न सक्छ भनेर अनुभव गरे। यस्ता थुप्रै व्यक्‍तिको अनुभव प्रहरीधरहरा-मा आउने “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” भन्‍ने शृङ्‌खलाबद्ध लेखहरूमा पढ्‌नुभएको होला। बप्तिस्मा गरिसकेपछि पनि बाइबलको मदत लिंदै हामीले यहोवासितको आफ्नो सम्बन्ध बलियो बनाइरहनुपर्छ।

२. प्रथम शताब्दीमा परमेश्‍वरको वचनले मानिसहरूमा कस्तो प्रभाव पाऱ्‍यो?

२ परमेश्‍वरको वचन अध्ययन गरेपछि थुप्रैले आफ्नो जीवनमा आमूल परिवर्तनहरू गरेको देख्दा के हामीले अचम्म मान्‍नुपर्छ? अहँ पर्दैन! किनभने प्रथम शताब्दीका अभिषिक्‍त ख्रीष्टियनहरूले पनि यस्तै परिवर्तन गरेका थिए। (१ कोरिन्थी ६:९-११ पढ्‌नुहोस्‌) कस्ता मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुँदैनन्‌ भनेर बताएपछि पावलले यसो पनि भने: “तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ।” परमेश्‍वरको वचन र उहाँको पवित्र शक्‍तिको मदत पाएर ती अभिषिक्‍त ख्रीष्टियनहरूले आफ्नो जीवन परिवर्तन गरेका थिए। तर ख्रीष्टियन भइसकेपछि पनि तिनीहरूमध्ये कोही-कोहीले गम्भीर गल्ती गरे र यहोवासितको सम्बन्ध बिगारे। उदाहरणको लागि, बहिष्कार भएर पछि फेरि पुनर्बहाली भएका एक जना अभिषिक्‍त जनबारे बाइबलमा बताइएको छ। (१ कोरि. ५:१-५; २ कोरि. २:५-८) हो, परमेश्‍वरको वचनबाट मदत पाएर हाम्रा थुप्रै भाइबहिनीले आफ्नो जीवनमा आमूल परिवर्तन गर्न सके। तिनीहरूको अनुभव कत्ति प्रोत्साहनदायी छ!

३. यस लेखमा के छलफल गर्नेछौं?

३ परमेश्‍वरको वचन साँच्चै प्रबल छ र हामीसित उहाँको वचन भएकोले यसको पूर्ण सदुपयोग गर्न चाहन्छौं। (२ तिमो. २:१५) यस लेखमा परमेश्‍वरको वचन प्रबल छ भनेर यी क्षेत्रहरूमा कसरी देखाउन सक्छौं भनेर छलफल गर्नेछौं: (१) व्यक्‍तिगत जीवनमा, (२) प्रचारकार्यमा र (३) मञ्चबाट सिकाउँदा। यी कुरा विचार गर्दा हामी यहोवाप्रति अझ कृतज्ञ हुन्छौं र उहाँलाई प्रेम गर्न उत्प्रेरित हुन्छौं। किनभने उहाँ हाम्रै फाइदाको निम्ति हामीलाई सिकाउनुहुन्छ।—यशै. ४८:१७.

व्यक्‍तिगत जीवनमा

४. (क) परमेश्‍वरको वचन प्रबल छ भनेर अनुभव गर्न हामीले के गर्नुपर्छ? (ख) बाइबल पढ्‌न तपाईंले कसरी समय मिलाउनुभएको छ?

४ परमेश्‍वरको वचन कत्तिको प्रबल छ भनेर अनुभव गर्न हामीले उहाँको वचन नियमित रूपमा पढ्‌नुपर्छ, सम्भव भएसम्म दिनहुँ पढ्‌नुपर्छ। (यहो. १:८) हुन त हामी सबै जना व्यस्त छौं। तर कुनै पनि कुराले बाइबल पढ्‌ने हाम्रो तालिकामा बाधा पुऱ्‍याउन दिनुहुँदैन। यहाँसम्म कि, आफूले पूरा गर्नै पर्ने जिम्मेवारीहरूले समेत हाम्रो बाइबल पढाइमा बाधा पुऱ्‍याउन दिनुहुँदैन। (एफिसी ५:१५, १६ पढ्‌नुहोस्‌) थुप्रैले दिनहुँ बाइबल पढ्‌न विभिन्‍न समय निकालेका छन्‌। कोही बिहान सबेरै पढ्‌छन्‌, कोही राती सुत्नअघि पढ्‌छन्‌ अनि अरू कतिपयचाहिं अरू नै कुनै उपयुक्‍त समयमा पढ्‌छन्‌। तिनीहरू पनि भजनहारले जस्तै यस्तो महसुस गर्छन्‌, “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।”—भज. ११९:९७.

५, ६. (क) मनन गर्नु किन महत्त्वपूर्ण छ? (ख) अर्थपूर्ण ढङ्‌गमा कसरी मनन गर्न सक्छौं? (ग) बाइबल पढ्‌दा र मनन गर्दा तपाईंले व्यक्‍तिगत तवरमा कस्तो फाइदा उठाउनु भएको छ?

५ बाइबल पढ्‌नुको साथै पढेको कुरामा मनन गर्नु पनि महत्त्वपूर्ण छ। (भज. १:१-३) यसो गऱ्‍यौं भने मात्र बाइबलको सल्लाह आफ्नो जीवनमा लागू गर्न सक्नेछौं। चाहे बाइबल छापिएको किताबको रूपमा पढौं वा इलेक्ट्रोनिक फर्म्याटमा, हाम्रो लक्ष्य बाइबलको कुरा मनसम्म पुऱ्‍याउने हुनुपर्छ।

एक जना यहोवाको साक्षी बाइबल पढ्‌छन्‌

६ हामी कसरी अर्थपूर्ण ढङ्‌गमा मनन गर्न सक्छौं? बाइबलको केही अंश पढिसकेपछि एकछिन रोकिएर आफैलाई यस्ता प्रश्‍न सोध्नु राम्रो हो: ‘यसले यहोवाबारे के सिकाउँछ? यसमा दिइएको सिद्धान्त आफ्नो जीवनमा कसरी लागू गर्दै छु? उन्‍नति गर्नुपर्ने केही कुरा छ कि?’ आफूले पढेको कुरामा प्रार्थनापूर्वक मनन गऱ्‍यौं भने यसमा पाइने सल्लाहहरू लागू गर्न अझ उत्प्रेरित हुनेछौं। अनि परमेश्‍वरको वचन प्रबल भएको कुरा आफैले अनुभव गर्नेछौं।—२ कोरि. १०:४, ५.

प्रचारकार्यमा

७. हामीले किन प्रचारकार्यमा सकेसम्म बाइबल खोलेरै देखाउनुपर्छ?

७ प्रचारमा मानिसहरूसित कुरा गर्दा सकेसम्म बाइबल खोलेरै देखाउनु आवश्‍यक छ। किन? यसबारे एक जना भाइ यसो भन्छन्‌, “मानौं तपाईं यहोवासित प्रचार जानुभयो। त्यतिबेला तपाईं आफू मात्र बोल्नुहुन्छ कि यहोवालाई बोल्न दिनुहुन्छ?” ती भाइ यसो भन्‍न खोज्दै थिए: बाइबल पल्टाएरै मानिसहरूलाई देखायौं भने यहोवालाई नै बोल्न दिइरहेका हुन्छौं। कुराकानीसित मिल्ने शास्त्रपद छानेर देखायौं भने त्यो हामीले भन्‍ने कुराभन्दा निकै प्रभावकारी हुन्छ। (१ थिस्स. २:१३) आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, ‘प्रचार गर्दा मानिसहरूलाई बाइबल पल्टाएरै देखाउन के म मौका खोजिरहन्छु?’

८. प्रचार गर्दा मानिसहरूलाई बाइबलको पद पढेर सुनाउनु मात्र पर्याप्त छैन, किन?

८ प्रचार गर्दा मानिसहरूलाई बाइबलको पद पढेर सुनाउनु मात्र पर्याप्त छैन। किन? किनभने कोही-कोहीलाई बाइबलबारे केही कुरा मात्र थाह छ अनि कतिपयले भने बाइबलको केही पनि कुरा बुझेका छैनन्‌। प्रथम शताब्दीमा पनि अहिलेको जस्तै अवस्था थियो। (रोमी १०:२) त्यसैले बाइबलबाट केही पढेर सुनाउनेबित्तिकै मानिसहरूले त्यो बुझ्छन्‌ भनेर हामीले अड्‌कल काट्‌नु हुँदैन। बरु त्यस पदको केही मुख्य भाग वा शब्दहरूलाई फेरि दोहोऱ्‍याउनुपर्छ र त्यसको अर्थ बुझाउनुपर्छ। यसो गऱ्‍यौं भने परमेश्‍वरको वचनमा पाइने सन्देश मानिसहरूको दिमाग र मनसम्मै पुग्नेछ।—लूका २४:३२ पढ्‌नुहोस्‌।

९. बाइबलप्रति कसरी मानिसहरूको आदर जगाउन सक्छौं? उदाहरण दिनुहोस्‌।

९ मानिसहरूलाई कुनै पद देखाउनुअघि बाइबलप्रति तिनीहरूको आदर जगाउन केही कुरा बताउनु राम्रो हो। उदाहरणको लागि, हामी यसो भन्‍न सक्छौं, “यस विषयमा हाम्रो सृष्टिकर्ताको धारणा के छ, हेरौं।” ख्रीष्टियनबाहेक अन्य धर्म मान्‍ने मानिसहरूसित कुरा गर्दा यसो भन्‍न सक्छौं, “यसबारे पवित्र धर्मशास्त्र के भन्छ, हेरौं।” अथवा धर्ममा त्यति चासो नराख्ने मानिसहरूसित कुरा गर्दा यस्तो प्रश्‍न सोध्न सक्छौं, “के तपाईंले यो पुरानो भनाइ सुन्‍नुभएको छ?” हो, हामीले प्रत्येक व्यक्‍तिको पृष्ठभूमि अनि आवश्‍यकता विचार गरेर आफ्नो प्रस्तुति छाँटकाँट गर्नुपर्छ।—१ कोरि. ९:२२, २३.

यहोवाका साक्षीहरू प्रचारकार्यमा बाइबल प्रयोग गर्दै

१०. (क) एक जना भाइको अनुभव बताउनुहोस्‌। (ख) प्रचारकार्यमा बाइबल प्रयोग गर्नु प्रभावकारी छ भनेर तपाईंले कसरी अनुभव गर्नुभएको छ?

१० बाइबल प्रयोग गरेर प्रचार गर्दा मानिसहरूमा गहिरो प्रभाव पर्न सक्छ भनेर थुप्रैले अनुभव गरेका छन्‌। एउटा अनुभव विचार गर्नुहोस्‌। हाम्रा एक भाइ पुनःभेट गर्न एक जना वृद्ध व्यक्‍तिकहाँ गए। ती व्यक्‍तिले वर्षौंदेखि हाम्रा पत्रिकाहरू पढ्‌दै आएका थिए। प्रहरीधरहरा-को नयाँ अङ्‌क दिएर फर्की हाल्नुको साटो हाम्रा भाइले ती वृद्ध व्यक्‍तिलाई त्यस पत्रिकामा भएको एउटा पद पढेर सुनाए। तिनले २ कोरिन्थी १:३, ४ पढे, जहाँ यस्तो लेखिएको छ: “उहाँ कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ। उहाँले हाम्रा सबै सङ्‌कष्टहरूमा सान्त्वना दिनुहुन्छ।” त्यस पदले ती व्यक्‍तिको साह्रै मन छोएछ अनि उनले त्यो पद फेरि पढेर सुनाउन आग्रह गरे। उनले आफू र आफ्नी पत्नीलाई साँच्चै सान्त्वना चाहिएको थियो भन्‍ने कुरा पनि बताए। त्यसपछि उनले बाइबलको सन्देशप्रति चासो देखाउन थाले। प्रचारकार्यमा परमेश्‍वरको वचन प्रयोग गर्नु एकदम प्रभावकारी हुन्छ, होइन र?—प्रेषित १९:२०.

मञ्चबाट सिकाउँदा

११. मञ्चबाट सिकाउने सुअवसर पाएका भाइहरूको जिम्मेवारी के हो?

११ हामीलाई सभा, सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित हुन मन पर्छ। हामी त्यहाँ उपस्थित हुनुको मुख्य कारण यहोवाको उपासना गर्नु हो। तर त्यहाँ प्रस्तुत गरिने आध्यात्मिक सल्लाहहरूबाट पनि हामी निकै फाइदा उठाउँछौं। त्यस्ता कार्यक्रमहरूमा भाइहरूले मञ्चबाट सिकाउने सुअवसर पाउँछन्‌ र यो निकै गहन जिम्मेवारी हो। (याकू. ३:१) तिनीहरूले सिकाउने सबै कुरा बाइबलमै आधारित हुनुपर्छ। यस्तो सुअवसर पाउँदा परमेश्‍वरको वचन प्रबल छ भनेर तपाईं कसरी देखाउन सक्नुहुन्छ?

एक भाइ मञ्चबाट सिकाउँदा बाइबल प्रयोग गर्दै

१२. बाइबलमा केन्द्रित भएर भाषण दिन वक्‍ताले के गर्न सक्छन्‌?

१२ भाषणको विषयवस्तु बाइबलमा केन्द्रित हुनुपर्छ। (यूह. ७:१६) त्यसो भन्‍नुको मतलब के हो? कुनै अनुभव, उदाहरण वा आफ्नो भाषण दिने शैलीले बाइबलको सन्देशलाई ओझेलमा पार्न वा श्रोताको ध्यान अन्तैतिर खिच्न नदिनुहोस्‌। यो कुरा पनि नबिर्सनुहोस्‌, बाइबलका थुप्रै पद पढ्‌दैमा हामीले बाइबलबाट सिकाइरहेका हुँदैनौं। साँच्चै भन्‍ने हो भने, तीन थुप्रो पद चलाउँदा नतिजा झन्‌ उल्टो हुन सक्छ, श्रोतालाई कुनै पनि पद याद नहुन सक्छ। त्यसैले कुन-कुन पद प्रयोग गर्ने भनेर राम्ररी सोचविचार गरेर छान्‍नुहोस्‌। अनि ती पदहरू राम्ररी पढ्‌नुहोस्‌, व्याख्या गर्नुहोस्‌, उदाहरण दिएर बुझाउनुहोस्‌ र कसरी लागू गर्ने भनेर बताउनुहोस्‌। (नहे. ८:८) सङ्‌गठनले उपलब्ध गराएको रूपरेखा छ भने त्यसलाई राम्ररी अध्ययन गर्नुहोस्‌ अनि उल्लेख गरिएका पदहरू हेर्नुहोस्‌। अनि रूपरेखामा दिइएको जानकारी र शास्त्रपद एकआपसमा कसरी सम्बन्धित छन्‌ भनेर बुझ्ने कोसिस गर्नुहोस्‌। त्यसपछि त्यो भाषणले सिकाउन खोजेको कुरालाई जोड दिने मुख्य पदहरू प्रयोग गर्नुहोस्‌। (ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌ किताबको अध्याय २१ देखि २३ मा राम्रो सल्लाह पाउन सक्नुहुन्छ।) सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले आफ्नो वचनमा प्रकट गर्नुभएका अनमोल कुराहरू राम्ररी बताउन सकूँ भनेर उहाँसित मदत माग्नुहोस्‌।—एज्रा ७:१०; हितोपदेश ३:१३, १४ पढ्‌नुहोस्‌।

१३. (क) सभामा प्रयोग गरिएको शास्त्रपदले एउटी बहिनीलाई कस्तो प्रभाव पाऱ्‍यो? (ख) सभामा बाइबलबाट सुनेको कुराबाट तपाईंले कस्तो लाभ उठाउनुभएको छ?

१३ सभामा प्रयोग गरिएको शास्त्रपदले अस्ट्रेलियाकी एउटी बहिनीको साह्रै मन छोएछ। तिनले बाल्यावस्थामा नमीठा अनुभवहरू भोगेकी थिइन्‌। पछि तिनले बाइबल सत्य सिकिन्‌ र यहोवालाई जीवन समर्पण गरिन्‌। तर यहोवाले माया गर्नुहुन्छ भन्‍ने कुरा तिनले स्विकार्न सकिरहेकी थिइनन्‌। समयको दौडान तिनले ‘यहोवा मलाई साँच्चै माया गर्नुहुन्छ’ भनेर महसुस गरिन्‌। तिनलाई किन त्यस्तो लाग्यो? सभामा सुनेको एउटा शास्त्रपदले तिनको मन छोयो अनि पछि त्यो पद र त्यससित सम्बन्धित अरू पदहरूमा मनन गर्दा तिनले त्यस्तो महसुस गरिन्‌।a सभा, सम्मेलन वा अधिवेशनमा प्रयोग भएको कुनै शास्त्रपदले मन छोएको अनुभव तपाईंसित पनि छ कि?—नहे. ८:१२.

१४. परमेश्‍वरको वचनप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौं?

१४ यहोवाले हामीलाई आफ्नो वचन बाइबल दिनुभएकोमा के हामी उहाँप्रति कृतज्ञ छैनौं र? उहाँले हामीलाई बाइबल दिनुको साथै बाइबल अटल रहनेछ भन्‍ने आफ्नो प्रतिज्ञा पनि पूरा गर्नुभएको छ। (१ पत्रु. १:२४, २५) त्यसैले हामी नियमित रूपमा बाइबल पढ्‌न र यसको सल्लाह जीवनमा लागू गर्न चाहन्छौं। साथै अरूलाई मदत गर्न पनि बाइबल प्रयोग गर्न चाहन्छौं। यसो गर्दा हामीले यस अमूल्य उपहारलाई प्रेम गर्छौं र त्यसको लागि कृतज्ञ छौं भनेर देखाइरहेका हुन्छौं। अझ महत्त्वपूर्ण कुरा, बाइबलको लेखक यहोवा परमेश्‍वरलाई प्रेम गरेको र उहाँप्रति धन्यवादी भएको देखाइरहेका हुन्छौं।

a “मेरो जीवनले नयाँ मोड लियो” भन्‍ने पेटी हेर्नुहोस्‌।

परमेश्‍वरको वचन प्रबल छ भनेर देखाउनुहोस्‌

आफ्नो जीवनमा:

  • नियमित रूपमा पढ्‌नुहोस्‌

  • मनन गर्नुहोस्‌

  • सिकेको कुरा लागू गर्नुहोस्‌

प्रचारकार्यमा:

  • शास्त्रपदहरू प्रयोग गर्नुहोस्‌

  • शास्त्रपदको मुख्य भागलाई दोहोऱ्‍याउनुहोस्‌ अनि व्याख्या गर्नुहोस्‌

  • कुनै शास्त्रपद देखाउनु अघि बाइबलप्रति आदर जगाउने केही कुरा बताउनुहोस्‌

मञ्चबाट सिकाउँदा:

  • भाषणको विषयवस्तु बाइबलमा केन्द्रित गर्नुहोस्‌

  • कुनै अनुभव, उदाहरण वा आफ्नो भाषण दिने शैलीले बाइबलको सन्देशलाई ओझेलमा पार्न नदिनुहोस्‌

  • राम्ररी व्याख्या गर्नुहोस्‌, उदाहरण दिएर बुझाउनुहोस्‌ र ती पदहरू कसरी लागू गर्ने भनेर बताउनुहोस्‌

“मेरो जीवनले नयाँ मोड लियो”

सत्य सिकेको धेरै वर्षपछि पनि भिक्टोरियालाई यहोवाले तिनलाई माया गर्नुहुन्‍न भन्‍ने लागिरहन्थ्यो। यहोवाले साँच्चै माया गर्नुहुन्छ भनेर तिनले कसरी महसुस गर्न सकिन्‌? तिनी भन्छिन्‌:

“बप्तिस्मा गरेको लगभग १५ वर्षपछि मेरो जीवनले नयाँ मोड लियो। एक जना भाइले सभामा भाषण दिंदा याकूब १:२३,२४ उल्लेख गर्नुभएको थियो। ती पदमा यहोवाको वचनलाई ऐनासित तुलना गरिएको छ अनि आफूलाई यहोवाको दृष्टिकोणले हेर्न प्रोत्साहन दिइएको छ। तर मैले आफूलाई यहोवाले हेर्नुहुने दृष्टिकोणबाट हेर्न नसकिरहेको पो हो कि जस्तो लाग्यो। सुरुमा मैले यो कुरालाई त्यत्तिकै टार्न खोजें। किनभने यहोवाले मलाई माया गर्नुहुन्‍न जस्तो लागिरहन्थ्यो।

“त्यसको केही दिनपछि मैले एउटा पद पढें, जसले गर्दा मेरो जीवनमा ठूलो परिवर्तन आयो। त्यो पद यशैया १:१८ थियो। यहोवाले त्यहाँ यसो भन्‍नुभएको छ: ‘आऊ, हामी बसेर आफ्ना कुरा छलफल गरौं, तिमीहरूका पाप सिन्दूरे रङ्‌गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्‌।’ यहोवाले मलाई यसो भन्दै हुनुहुन्छ जस्तो लाग्यो, ‘आऊ भिक्टोरिया, हामी बसेर आफ्ना कुरा छलफल गरौं। म तिमीलाई राम्ररी चिन्छु, तिम्रा पापहरू अनि तिम्रो मनका कुराहरू मलाई थाह छ। चिन्ता नगर, म तिमीलाई माया गर्छु।’

“मलाई त्यो रात निद्रै लागेन। ‘यहोवाले मलाई माया गर्नुहुन्छ र’ भन्‍ने प्रश्‍न मनमा खेलिरहेको थियो। त्यसपछि मैले येशूको फिरौतीको बलिदानबारे सोच्न थालें। यहोवाले मलाई वर्षौंदेखि धीरजी हुँदै माया देखाइरहनुभएको रहेछ भनेर महसुस गरें। तर मचाहिं उहाँलाई यसो भनिरहेकी थिएँ, ‘मलाई तपाईंको प्रेमले केही गर्न सक्दैन। तपाईंको छोराको बलिदानले पनि मेरो पाप मेटाउन सक्दैन। तपाईंले दिनुभएको फिरौती मलाई चाहिंदैन।’ तर फिरौतीको बलिदानमा मनन गरेपछि भने मैले साँच्चै यहोवाको माया महसुस गर्न थालें।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने