बाइबलको शिक्षा—सधैं उपयोग हुने बुद्धि
कल्पना गर्नुहोस्: तपाईं पुराना स्मारकहरूले भरिएको सङ्ग्रहालयमा घुम्दै हुनुहुन्छ। त्यहाँ देख्नुभएको प्रायजसो स्मारकहरू जीर्ण र भत्किएको अवस्थामा छन् अनि कुनै-कुनै भाग क्षतिग्रस्त भएको छ। कुनै-कुनै स्मारकको त ठूलठूला भागहरू नै छैनन्। तर एउटा भने जस्ताको तस्तै छ; त्यसमा कुँदिएका आकृतिहरूको स-साना बुट्टाहरू पनि मज्जाले देखिन्छन्। तपाईं आफ्नो गाइडलाई ‘योचाहिं अरूभन्दा नयाँ हो?’ भनेर सोध्नुहुन्छ। तिनी यस्तो जवाफ दिन्छन्: “होइन, यो त अरूभन्दा पनि पुरानो हो अनि यसलाई कहिल्यै पुनर्निर्माण गरिएको छैन।” तपाईं सोध्नुहुन्छ: “यसलाई जोगाउन विशेष ध्यान पुऱ्याइएको हो?” तिनी भन्छन्: “होइन, यसले जस्तो आँधीबेहरी र पानीको चुटाइ कुनैले खेप्नुपरेको छैन। अनि विनाशकारीहरूले यसलाई तहसनहस पार्न खोजेका थिए।” तपाईं छक्क पर्दै मनमनै सोच्नुहुन्छ: ‘यो केले बनेको हो?’
एक अर्थमा बाइबल त्यो विशेष स्मारकजस्तै हो। यो असाध्यै पुरानो किताब हो—प्रायः सबै किताबभन्दा पुरानो। हुन त अरू थुप्रै पुराना किताबहरू पनि छन् तर भत्किएको स्मारकजस्तै प्रायजसो पुराना लेखोटहरू समयको अन्तरालमा नराम्ररी बिग्रेका छन्। तिनमा भएका विज्ञानसम्बन्धी कुराहरू आधुनिक ज्ञान र प्रमाणित तथ्यसित मेल खाँदैनन् अनि चिकित्सासम्बन्धी सल्लाहहरू पनि लाभदायी नभई खतरनाक छन्। थुप्रै पुराना लेखोटका केही टुक्राहरू मात्र बाँकी छन्; कतिपय अंश हराएका छन् भने कतिपय नष्ट भएका छन्।
तर बाइबल भने फरक छ। यो ३,५०० वर्षअघि लेख्न सुरु भएको पुरानो किताब भए पनि यसमा भएका जानकारी जस्ताको तस्तै छ। शताब्दीऔं दौडान यसमाथि थुप्रै पटक आक्रमण भएको छ। जस्तै: यसलाई जलाइएको थियो, प्रतिबन्ध लगाइएको थियो अनि यो बेकामको हो भन्ने आरोप लगाइएको थियो। तैपनि यसमा भएका जानकारी अहिले पनि प्रबल छ। आधुनिक ज्ञानसित तुलना गर्दा यो पुरानो काम नलाग्ने किताब नभई यसमा भएको कुरा साँच्चै समय सुहाउँदो छ भन्ने देखिन्छ।—“पुरानो र काम नलाग्ने किताब कि उहिल्यै सही जानकारीले भरिपूर्ण किताब?” भन्ने पेटी हेर्नुहोस्।
आज हामीलाई कस्तो सिद्धान्तको खाँचो छ?
तपाईंलाई लाग्ला, ‘के बाइबलको शिक्षा यो आधुनिक समयमा पनि व्यावहारिक छ?’ जवाफको लागि आफैलाई सोध्नुहोस्: ‘मानिसजातिलाई असाध्यै पिरोलिरहेको समस्या कुन हो? कुनचाहिं समस्या सबैभन्दा गम्भीर छ?’ सायद तपाईंको मनमा युद्ध, प्रदुषण, अपराध वा भ्रष्टाचार आउँछ। अब हामी बाइबलले सिकाउने केही सिद्धान्त विचार गरौं। यसो गर्नुहुँदा आफैलाई यो प्रश्न सोध्नुहोस्, ‘मानिसहरू यी सिद्धान्तअनुरूप चलेमा के यो संसार राम्रो हुने थियो?’
शान्तिप्रेमी
“आनन्दित हुन् ती मानिसहरू, जसले शान्ति कायम गर्छन्, किनकि तिनीहरू ‘परमेश्वरका छोराहरू’ कहलाइनेछन्।” (मत्ती ५:९) “सबै मानिससित शान्तिसित बस्न तिमीहरू सक्दो कोसिस गर।”—रोमी १२:१८.
कृपा, क्षमाशील
“आनन्दित हुन् ती मानिसहरू, जो कृपालु छन्, किनकि तिनीहरूलाई कृपा देखाइनेछ।” (मत्ती ५:७) “यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो। यहोवालेa तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर।”—कलस्सी ३:१३.
जातीय सद्भाव
परमेश्वरले “सारा पृथ्वीमा बसोबास गराउन . . . एउटै मानिसबाट विभिन्न जातिका मानिसहरू बनाउनुभयो।” (प्रेषित १७:२६) “परमेश्वर पक्षपाती हुनुहुन्न, बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ।”—प्रेषित १०:३४, ३५.
पृथ्वीप्रतिको माया
“परमप्रभु परमेश्वरले मानिसलाई लगेर अदनको बगैंचामा त्यो गोड-गाड र हेरचाह गर्न राख्नुभयो।” (उत्पत्ति २:१५) परमेश्वरले “पृथ्वीका विनाशकारीहरूलाई विनाश” गर्नुहुनेछ।—प्रकाश ११:१८.
लोभ र अनैतिकताप्रतिको घृणा
“हर प्रकारको लालचबाट आफूलाई जोगाओ किनभने मानिस जति नै सम्पन्न भए तापनि त्यसले उसलाई जीवन दिंदैन।” (लूका १२:१५) “जस्तो कि पवित्र जनहरूलाई पनि सुहाउँछ, तिमीहरूमाझ अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपन वा लोभको नामसमेत नलिइओस्।”—एफिसी ५:३.
इमानदारी, कडा परिश्रम
“हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौं।” (हिब्रू १३:१८) “चोर्नेले फेरि नचोरोस्, बरु उसले कडा परिश्रम गरोस् र आफ्नै हातले असल काम गरोस्।”—एफिसी ४:२८.
खाँचोमा परेकाहरूलाई मदत गर्नुको महत्त्व
“जो निराश छन्, तिनीहरूसित सान्त्वनादायी कुरा गर, जो कमजोर छन्, तिनीहरूलाई मदत गर अनि सबैसित धीरजी होओ।” (१ थिस्सलोनिकी ५:१४) ‘अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्कष्टमा हेरविचार गर्नू।’—याकूब १:२७.
बाइबलमा यस्ता सिद्धान्तहरू मात्र दिइएका छैनन्। बरु बाइबलले व्यावहारिक भई यी सिद्धान्तहरूलाई महत्त्व दिन अनि ती दैनिक जीवनमा लागू गर्न पनि सिकाउँछ। धेरैभन्दा धेरै मानिसले माथि उल्लिखित सिद्धान्तहरू वास्तवमै लागू गरे भने के मानिसजातिका ठूलठूला समस्याहरू कम हुनेछैनन् र? पक्कै हुनेछन्। त्यसको मतलब बाइबलका सिद्धान्तहरू आज पनि उपयोगी र समय सुहाउँदो छ! त्यसोभए बाइबलको शिक्षाले तपाईंलाई अहिल्यै कसरी मदत गर्न सक्छ?
बाइबलका शिक्षाहरूले आज तपाईंलाई कसरी मदत गर्न सक्छ?
सबैभन्दा बुद्धिमान् मानिसले एक पटक यसो भन्नुभयो: “असल कामैले ऊ बुद्धिमान् हो भनेर प्रमाणित गर्छ।” (मत्ती ११:१९) के तपाईं यो कुरामा सहमत हुनुहुन्न र? कुनै सल्लाह साँच्चै व्यावहारिक छ कि छैन भन्ने कुरा त्यो लागू गर्दा प्राप्त हुने नतिजाले देखाउँछ। त्यसैले तपाईं यस्तो तर्क गर्नुहोला, ‘यदि बाइबलको सल्लाह व्यावहारिक छ भने के यसले मेरो जीवनमा असल नतिजा ल्याउँदैन होला र? मैले अहिले सामना गर्नुपरेका समस्याहरू समाधान गर्न यसले कसरी मदत गर्छ?’ एउटा उदाहरण विचार गरौं।
सुनिताb व्यस्त र आनन्दित जीवन बिताइरहेकी थिइन्। उनी आफ्नो जीवनदेखि सन्तुष्ट थिइन्। तर उनको जीवनमा अचानक एकपछि अर्को गर्दै दुःख थपिए। उनकी किशोरावस्थाकी छोरीको मृत्यु भयो। यति मात्र होइन, उनको वैवाहिक सम्बन्ध टुट्यो अनि उनीमाथि आर्थिक समस्या आइपऱ्यो। उनी भन्छिन्: “मैले आफ्नो पहिचानै गुमाएँ जस्तो लाग्यो। मेरी छोरी, मेरो श्रीमान् र मेरो घर, केही पनि थिएन। म केही कामको छैनँ जस्तो लाग्यो। मेरो न कुनै परिचय थियो न बल न त भविष्यको कुनै सोच नै।”
सुनिताले यो शास्त्रपदले भनेको कुरा कत्ति वास्तविक रहेछ भनेर पहिला कहिल्यै महसुस गरेकी थिइनन्: “हाम्रा आयु ता तीन कोरी र दश वर्ष मात्र छन्, पौरखले चार कोरीसम्म ता होला। तापनि तिनीहरूको घमण्ड ता केवल दु:ख र मेहनत मात्र हुन्छन्, किनकि त्यो चाँडै बित्छ, र हामी उडिजान्छौं।”—भजन ९०:१०.
सुनिताले त्यस्तो गाह्रो समयमा बाइबलबाट मदत पाइन्। उनले पाएको मदत उल्लेखनीय थियो। जीवनमा आइपर्ने समस्याको समाधान गर्न बाइबलको सल्लाह लागू गर्नु फाइदाजनक छ भनेर अरू थुप्रैले पनि बुझेका छन्। तिनीहरूले बाइबल यस लेखको सुरुमा चर्चा गरिएको विशेष स्मारकजस्तै छ भनेर थाह पाएका छन्। यसपछिका तीन वटा लेखमा यसबारे छलफल गरिनेछ। बाइबल त्यस्ता किताबहरूभन्दा बिलकुलै फरक छ, जुन समयको अन्तरालमा काम नलाग्ने हुन्छन्। यसो हुनुको कारण के बाइबलको जानकारी व्यावहारिक भएकोले हो? यसमा मानिसको नभई परमेश्वरको विचार भएकोले हो कि?—१ थिस्सलोनिकी २:१३.
सायद तपाईंलाई पनि जीवन छोटो छ र यो समस्या नै समस्याले भरिएको छ जस्तो लाग्छ। जब समस्याले तपाईंलाई इन्तु न चिन्तु बनाउँछ, तब तपाईं सान्त्वना, सहायता र भरपर्दो सल्लाहको लागि कहाँ मदत खोज्नुहुन्छ?
तपाईंको जीवनमा बाइबलको सल्लाह साँच्चै व्यावहारिक छ भन्ने कुरा प्रमाणित गर्ने तीन वटा मुख्य तरिका विचार गरौं। यसले तपाईंलाई निम्न कुराहरू सिकाउँछ:
१. सम्भव भएसम्म समस्याबाट जोगिन।
२. समस्या आइपर्दा त्यसको समाधान गर्न।
३. सुधार्नै नसकिने परिस्थिति आइपर्दा त्यससँग जुझ्न।
यसपछिका लेखहरूमा यी तीन वटा क्षेत्रबारे चर्चा गरिनेछ।
a परमेश्वरको नाम यहोवा हो भनेर बाइबलमा प्रकट गरिएको छ।—प्रकाश ४:११.
b यस लेखमा र यसपछिको तीन वटा लेखमा केही नामहरू परिवर्तन गरिएका छन्।