हरेक दिन यहोवासँगसँगै काम गर्नुहोस्
“हामी परमेश्वरका सहकर्मीहरू हौं।”—१ कोरि. ३:९.
१. हामी कुन-कुन तरिकामा यहोवासँगसँगै काम गर्न सक्छौँ?
यहोवाले त्रुटिरहित मानिसहरू सृष्टि गर्नुहुँदा तिनीहरूले उहाँको उद्देश्य पूरा गर्न साथ देऊन् भन्ने चाहनुभएको थियो। अहिले मानिसजाति त्रुटिपूर्ण भए तापनि वफादार मानिसहरू हरेक दिन यहोवासँगसँगै काम गर्न सक्छन्। उदाहरणको लागि, परमेश्वरको राज्यको सुसमाचार प्रचार गरेर अनि चेला बनाएर हामी “परमेश्वरका सहकर्मीहरू” बन्न सक्छौँ। (१ कोरि. ३:५-९) सर्वशक्तिमान् सृष्टिकर्ताले महत्त्वपूर्ण ठान्नुभएको काममा उहाँलाई साथ दिन योग्य ठानिनु हाम्रो लागि कस्तो ठूलो सुअवसर हो, कल्पना गर्नुहोस् त! तर प्रचार गर्ने र चेला बनाउने बाहेक अरू तरिकामा पनि हामी यहोवासँगसँगै काम गर्न सक्छौँ। यस लेखमा हामी ती तरिकाहरू केलाउनेछौँ। ती हुन्: हाम्रो परिवार र सङ्गी उपासकहरूलाई मदत गर्ने, अतिथि सत्कार गर्ने, परमेश्वरको उपासनासित सम्बन्धित काममा स्वयम्सेवा गर्ने र हाम्रो पवित्र सेवालाई विस्तार गर्ने।—कल. ३:२३.
२. यहोवाको उद्देश्य अघि बढाउन आफूले गर्ने कामलाई अरूले गर्ने कामसित तुलना गर्नु किन बुद्धिमानी होइन?
२ यो लेख छलफल गर्दै जाँदा यहोवाको लागि आफूले गर्न सक्ने कामलाई अरूले गर्न सक्ने कामसित तुलना नगर्नुहोस्। नबिर्सनुहोस् सबैको स्वास्थ्य, उमेर, परिस्थिति र क्षमता एउटै हुँदैन। परमेश्वरको प्रेरणा पाएर प्रेषित पावलले यस्तो लेखे: “हरेकले आफ्नो काम जाँचोस्, तब उसले अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ।”—गला. ६:४.
आफ्नो परिवार र सङ्गी उपासकहरूलाई मदत गर्नुहोस्
३. आफ्नो परिवारको हेरचाह गर्ने सबैले परमेश्वरसँगसँगै काम गरिरहेका हुन्छन् भनेर किन भन्न सक्छौँ?
३ यहोवा आफ्ना सेवकहरूले आफ्नो परिवारको हेरचाह गरेको आशा गर्नुहुन्छ। उदाहरणको लागि, आफ्ना प्रियजनहरूको आवश्यकता पूरा गर्न तपाईंले पैसा कमाउनुपर्ने हुन सक्छ। थुप्रै आमाहरू आफ्ना साना केटाकेटीहरूको हेरचाह गर्न घरै बस्छन्। वयस्क भइसकेका केही छोराछोरीले आफ्ना अशक्त आमाबुबाको हेरचाह गर्नुपर्ने हुन सक्छ। यी हामीले गर्नै पर्ने कामहरू हुन्। परमेश्वरको वचन यसो भन्छ: “यदि कसैले आफन्तको र अझ विशेष गरी आफ्नै परिवारका सदस्यहरूको हेरविचार गर्दैन भने उसले विश्वासलाई त्यागेको हुन्छ र विश्वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ।” (१ तिमो. ५:८) यदि तपाईँको काँधमा पनि यस्ता जिम्मेवारीहरू छन् भने परमेश्वरको उपासनासित सम्बन्धित गतिविधिमा आफूले चाहेजति भाग लिन सक्नुहुन्न होला। तर निराश नहुनुहोस्! तपाईँले आफ्नो परिवारको हेरविचार गर्दा यहोवा खुसी हुनुहुन्छ।—१ कोरि. १०:३१.
४. आमाबुबाले परमेश्वरको उपासनासित सम्बन्धित कुरालाई कसरी प्राथमिकता दिन सक्छन्? यसो गर्दा परिणाम कस्तो हुन्छ?
४ ख्रीष्टियन आमाबुबाले आफ्ना छोराछोरीलाई यहोवाको उपासनासित सम्बन्धित लक्ष्य राख्न मदत दिँदा उहाँसँगसँगै काम गरिरहेका हुन्छन्। त्यसो गर्दा छोराछोरीले पछि टाढा-टाढा गएर पूर्ण-समय सेवा गरेको थुप्रै आमाबुबाले अनुभव गरेका छन्। कोही-कोही मिसनरीको रूपमा सेवा गर्छन्। अरू भने प्रकाशकहरूको आवश्यकता धेरै भएको ठाउँमा अग्रगामी सेवा गर्छन्। अरू कतिपय भने बेथेलमा सेवा गर्छन्। छोराछोरीहरू टाढा हुँदा आमाबुबा आफूले चाहेअनुसार तिनीहरूलाई धेरै चोटि भेट्न सक्दैनन्। तैपनि आत्मत्यागी आमाबुबाले आफ्ना छोराछोरीलाई उनीहरूको असाइनमेन्टमा रहिरहन प्रोत्साहन दिन्छन्। किन? आफ्ना छोराछोरीले परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहेका छन् भन्ने कुराबाट आमाबुबाले अपार आनन्द र सन्तुष्टि पाउँछन्। (३ यूह. ४) यस्ता थुप्रै आमाबुबा हन्नाले जस्तै महसुस गर्छन् होला, जसले यहोवालाई आफ्नो छोरा शमूएल “पैँचो” दिएकी छु भनिन्। यसरी यहोवासँगसँगै काम गर्न पाउनुलाई त्यस्ता आमाबुबाले ठूलो सम्मान ठानेका छन्। यस सुअवसरलाई तिनीहरू अरू कुनै कुरासित साट्न चाहँदैनन्।—१ शमू. १:२८, TBS.
५. मण्डलीका सदस्यहरूलाई तपाईँ कसरी व्यावहारिक मदत दिन सक्नुहुन्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)
५ अहिले तुरुन्तै पूरा गर्नुपर्ने पारिवारिक जिम्मेवारी तपाईँको काँधमा छैन भने के तपाईँ अरूको स्याहारसुसार गर्नेहरूलाई (केयरगिभरहरू) मदत गर्न सक्नुहुन्छ? अथवा अशक्त, वृद्ध वा अन्य सहयोग चाहिएकाहरूलाई मदत गर्न सक्नुहुन्छ? तपाईँको मण्डलीमा त्यस्तो मदतको खाँचो परिरहेकाहरू कोही छन् कि? अथवा आफ्ना वृद्ध आमाबुबाको स्याहारसुसार गरिरहेकी ख्रीष्टियन बहिनी छिन् कि? के तपाईँ उनका आमाबुबासित समय बिताउन सक्नुहुन्छ? यसो गर्दा ती बहिनीले अरू कुरा गर्न समय पाउनेछिन्। अथवा कसैलाई सभामा लगिदिएर, किनमेल गरिदिएर, घरायसी कामकुरा गरिदिएर वा अस्पतालमा बिरामी भेट्न लगिदिएर मदत गर्न सक्नुहुन्छ कि? यसो गर्दा तपाईँले यहोवासँगसँगै काम गरेर कसैको प्रार्थनाको जवाफ दिन मदत गरिरहनुभएको हुन सक्छ।—१ कोरिन्थी १०:२४ पढ्नुहोस्।
अतिथि सत्कार गर्नुहोस्
६. अतिथि सत्कार गर्नुमा के समावेश छ?
६ परमेश्वरका सहकर्मीहरू अतिथि सत्कार गर्ने व्यक्तिहरू भनेर चिनिन्छन्। ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा “अतिथि सत्कार” भनेर अनुवाद गरिएको शब्दले “विदेशीहरूलाई दया देखाउनु” भन्ने अर्थ बुझाउँछ। (हिब्रू १३:२) अतिथि सत्कार कसरी देखाउन सकिन्छ भन्नेबारे परमेश्वरको वचनमा विभिन्न विवरणहरू छन्। (उत्प. १८:१-५) हामीले अरूलाई नियमित तवरमा मदत गर्ने मौका छोप्न सक्छौँ र त्यसो गर्नु पनि पर्छ, चाहे तिनीहरू “एउटै विश्वास हुने हाम्रा भाइबहिनीहरू” होऊन् या नहोऊन्।—गला. ६:१०.
७. पूर्ण-समय सेवकहरूको अतिथि सत्कार गर्दा तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ?
७ के तपाईँ आफ्नो मण्डलीमा आएका पूर्ण-समय सेवकहरूको अतिथि सत्कार गरेर परमेश्वरसँगसँगै काम गर्न सक्नुहुन्छ? (३ यूहन्ना ५, ८ पढ्नुहोस्) त्यसो गर्दा ‘एकअर्कालाई प्रोत्साहन दिने’ मौका पाउँछौँ। (रोमी १:११, १२) ओलाफको अनुभव विचार गर्नुहोस्। धेरै वर्षअघि तिनी जवान छँदा तिनको मण्डलीमा एक अविवाहित क्षेत्रीय निरीक्षक आएका थिए। त्यतिबेला मण्डलीका कोही पनि सदस्य उनलाई आफ्नो घरमा राख्न सक्ने अवस्थामा थिएनन्। त्यसैले ओलाफले क्षेत्रीय निरीक्षकलाई आफ्नो घरमा बस्न दिन मिल्छ कि भनेर आफ्ना आमाबुबालाई सोधे, जो यहोवाका साक्षी थिएनन्। तिनीहरूले ‘हुन्छ’ भने तर त्यसो गर्दा ओलाफचाहिँ सोफामा सुत्नुपर्ने थियो। ओलाफले त्यसै गरे अनि त्यसो गरेकोमा तिनलाई कुनै पछुतो छैन। ओलाफ भन्छन्, “त्यो हप्ता साह्रै रमाइलो भयो! हरेक दिन क्षेत्रीय निरीक्षक र म बिहान सबेरै उठ्थ्यौँ अनि नास्ता खाँदै विभिन्न रोचक विषयबारे कुरा गर्थ्यौँ। त्यतिबेला पाएको प्रोत्साहनले गर्दा ममा पूर्ण-समय सेवा गर्ने इच्छा जाग्यो।” विगत ४० वर्षको दौडान ओलाफले विभिन्न देशमा मिसनरी सेवा गरिसकेका छन्।
८. सुरुमा अरूले कृतज्ञता नदेखाए तापनि हामीले किन दया देखाउनुपर्छ? उदाहरणसहित बताउनुहोस्।
८ तपाईँ अपरिचित व्यक्तिहरूलाई विभिन्न तरिकामा प्रेम देखाउन सक्नुहुन्छ। सुरुमा तिनीहरूले कृतज्ञता नदेखाए तापनि तपाईँ त्यसो गर्न सक्नुहुन्छ। यो उदाहरण विचार गर्नुहोस्। स्पेनकी एउटी प्रकाशकले बाइबल अध्ययन गर्दै गर्दा आफ्नो विद्यार्थी येसिका धुरुधुरु रोइरहेकी देखिन्। येसिका इक्वेडरबाट आएकी थिइन्। अध्ययन सञ्चालकले के भयो भनेर सोधिन्। येसिकाले आफू स्पेन आउनुअघि असाध्यै गरिब भएको कुरा बताइन्। एक दिन त उनीसित खानेकुरा केही थिएन। उनले आफ्नी छोरीलाई पानीबाहेक केही दिन सकिनन्। येसिकाले मदतको लागि प्रार्थना गर्दै छोरीलाई सुताउन खोजिन्। त्यसको लगत्तै दुई साक्षी बहिनीहरू येसिकाकहाँ आए तर येसिकाले तिनीहरूसित रूखो व्यवहार गरिन् र ती बहिनीहरूले दिएको पत्रिका च्यातचुत पारिदिइन्। उनले यसो भनिन्, “मेरी छोरीलाई मैले यही पत्रिका ख्वाउनू?” बहिनीहरूले उनलाई सान्त्वना दिन खोजे तर केही सीप लागेन। पछि उनीहरूले येसिकाको ढोकाअगाडि डालीभरि खानेकुरा ल्याएर राखिदिए। यस्तो दयालु व्यवहारले येसिकाको मन छोयो। त्यतिबेला परमेश्वरले आफ्नो प्रार्थनाको जवाफ दिनुहुँदा त्यसलाई वास्तै नगरेको कुरा सम्झँदै उनी अहिले नमीठो मानिरहेकी थिइन्। तर अब भने येसिकाले यहोवाको सेवा गर्ने अठोट गरेकी थिइन्। ती बहिनीहरूले उदारता देखाउँदा कस्तो राम्रो नतिजा निस्क्यो!—उप. ११:१, ६.
परमेश्वरको उपासनासित सम्बन्धित काममा स्वयम्सेवा गर्नुहोस्
९, १०. (क) पुरातन इस्राएलमा कस्ता अवस्थाहरूमा स्वयम्सेवकहरूको खाँचो परेको थियो? (ख) आज मण्डलीमा सेवा गर्न इच्छुक पुरुषहरूले प्रायजसो कस्ता जिम्मेवारीहरू सँभाल्छन्?
९ पुरातन इस्राएलको इतिहास हेर्ने हो भने विभिन्न अवसरमा स्वयम्सेवकहरूको खाँचो परेको थियो। (प्रस्थ. ३६:२; १ इति. २९:५; नहे. ११:२) आज पनि आफ्ना दाजुभाइ दिदीबहिनीलाई मदत गर्न आफ्नो समय, स्रोतसाधन र सीप प्रयोग गर्ने विभिन्न मौकाहरू तपाईँसित छन्। यसरी स्वयम्सेवा गर्दा तपाईँ अत्यन्तै आनन्दित हुन र प्रशस्त आशिष् पाउन सक्नुहुन्छ।
१० परमेश्वरको वचनले मण्डलीका पुरुषहरूलाई सहायक सेवक र एल्डरको रूपमा सेवा गर्न अग्रसर भएर यहोवासँगसँगै काम गर्न प्रोत्साहन दिन्छ। (१ तिमो. ३:१, ८, ९; १ पत्रु. ५:२, ३) यसो गर्नेहरू अरूलाई व्यावहारिक र आध्यात्मिक कामकुरामा मदत गर्न चाहन्छन्। (प्रेषि. ६:१-४) के तपाईँलाई एल्डरहरूले परिचारकको रूपमा सेवा गर्न अथवा साहित्य, इलाका, मर्मतसम्भार वा त्यस्तै अरू कामकुरामा सघाउन इच्छुक हुनुहुन्छ कि भनेर सोधेका छन्? यस्ता जिम्मेवारी सँभाल्ने भाइहरूले अरूलाई मदत गर्न पाउँदा आफूले असाध्यै आनन्दित महसुस गरेको कुरा बताउँछन्।
परमेश्वरको उपासनासित सम्बन्धित काममा स्वयम्सेवा गर्दा नयाँ साथीहरू बनाउने थुप्रै मौका पाउँछौँ (अनुच्छेद ११ हेर्नुहोस्)
११. निर्माणकार्यमा भाग लिँदा आफूले बनाएका साथीहरूबाट एउटी बहिनीले कस्तो मदत पाइन्?
११ परमेश्वरको उपासनासित सम्बन्धित काममा स्वयम्सेवा गर्नेहरूले अक्सर नयाँ साथीहरू बनाउँछन्। मार्जीको अनुभव विचार गर्नुहोस्। उनले राज्यभवन निर्माणकार्यमा भाग लिएको १८ वर्ष भयो। ती वर्षहरूको दौडान उनले आफूभन्दा कम उमेरका थुप्रै बहिनीहरूको ख्याल राख्दै उनीहरूलाई तालिम दिइन्। यस्ता निर्माणकार्यहरूमा भाग लिँदा एकअर्कालाई आध्यात्मिक तवरमा प्रोत्साहन दिन राम्रो मौका मिलेको उनले अनुभव गरेकी छिन्। (रोमी १:१२) जीवनमा गाह्रो अवस्थाबाट गुज्रिरहेको बेला मार्जीले निर्माणकार्यमा भाग लिँदा आफूले बनाएका साथीहरूबाट प्रोत्साहन पाएकी छिन्। के तपाईँले त्यस्तो निर्माणकार्यमा कहिल्यै स्वयम्सेवा गर्नुभएको छ? आफूसित कुनै खास सीप होस् या नहोस्, के तपाईँ स्वयम्सेवा गर्न सक्नुहुन्छ?
१२. राहतकार्यमा तपाईँ कसरी मदत गर्न सक्नुहुन्छ?
१२ प्रकोप आइपर्दा परमेश्वरका जनहरूले आफ्ना भाइहरूलाई व्यावहारिक मदत दिएर परमेश्वरसँगसँगै काम गर्ने मौका पाउँछन्। उदाहरणको लागि, तिनीहरूले प्रकोपको चपेटामा परेकाहरूलाई आर्थिक सहयोग गर्छन्। (यूह. १३:३४, ३५; प्रेषि. ११:२७-३०) अर्को व्यावहारिक तरिका भनेको प्रकोपपछि सफाइ वा पुनर्निर्माणकार्यमा सहयोग गरेर हो। पोल्याण्डकी एउटी बहिनी गब्रिएलाको घर बाढीले क्षतिग्रस्त भएको थियो। तर नजिकैको मण्डलीहरूका भाइबहिनीहरू मदत गर्न आउँदा उनको अनुहार उज्यालो भयो। उनी भन्छिन्, “मैले के-के गुमाएँ, त्यसबारे कुरा गर्न चाहँदिनँ किनभने मैले गुमाएको त भौतिक कुराहरू मात्रै हुन्। बरु मैले के-के पाएँ, त्यसबारे बताउन चाहन्छु। ख्रीष्टियन मण्डलीको भाग हुन पाउनु एउटा अनमोल सुअवसर हो अनि आनन्द र खुसीको साँचो स्रोत हो भनेर यस अनुभवबाट म अझ विश्वस्त हुन सकेकी छु।” कुनै प्रकोपपछि मदत पाएका थुप्रै भाइबहिनीले आफूले गुमाएको भन्दा कता हो कता धेरै पाएको महसुस गरेका छन्। अनि यस्तो मदत दिन यहोवासँगसँगै काम गर्नेहरूले पनि अपार सन्तुष्टि पाउँछन्।—प्रेषित २०:३५; २ कोरिन्थी ९:६, ७ पढ्नुहोस्।
१३. स्वयम्सेवा गर्दा यहोवासितको हाम्रो सम्बन्ध कसरी बलियो हुन्छ? एउटा उदाहरण दिनुहोस्।
१३ अमेरिकामा शरणार्थीको रूपमा आएका साक्षीहरूलाई मदत गर्दा स्टेफनी र अरू प्रकाशकहरूले परमेश्वरसँगसँगै काम गर्ने मौका पाए। तिनीहरूले युद्धग्रस्त देशबाट अमेरिका आएका परिवारहरूलाई घर खोज्न अनि फर्निचरहरू पाउन मदत गरिन्। उनी भन्छिन्, “विश्वव्यापी भाइचाराको माया अनुभव गर्दा तिनीहरू औधी आनन्दित भए र कृतज्ञता व्यक्त गरे। यसले हाम्रो मन साह्रै छोयो।” उनी अझै यसो भन्छिन्: “ती परिवारहरूको विचारमा हामीले तिनीहरूलाई असाध्यै मदत गऱ्यौँ। तर वास्तवमा भन्ने हो भने हामीले तिनीहरूबाट कता हो कता धेरै मदत पाएका छौँ। तिनीहरूको प्रेम, एकता, विश्वास र यहोवामाथिको भरोसा देख्दा यहोवाप्रतिको हाम्रो प्रेम पनि साँच्चै बलियो भएको छ। अनि यस अनुभवले गर्दा यहोवाको सङ्गठनले दिने सबै कुराको लागि अझ धेरै कृतज्ञ भएका छौँ।”
आफ्नो सेवा विस्तार गर्नुहोस्
१४, १५. (क) भविष्यवक्ता यशैयाले कस्तो मनोभाव देखाए? (ख) आज राज्य प्रचारकहरूले कसरी यशैयाको मनोभाव अनुकरण गर्न सक्छन्?
१४ के तपाईँ यहोवासँगसँगै अझ धेरै काम गर्न चाहनुहुन्छ? के तपाईँ प्रकाशकहरूको आवश्यकता धेरै भएको ठाउँमा बसाइँ सरेर उहाँको सेवा गर्न इच्छुक हुनुहुन्छ? हुनत परमेश्वरका सेवकहरूले उदारता देखाउन घरबाट टाढा बसाइँ सर्नुपर्छ भन्ने छैन। तर केही भाइबहिनी टाढा-टाढा बसाइँ सर्न सक्ने अवस्थामा छन्। तिनीहरूले भविष्यवक्ता यशैयाको जस्तै मनोभाव देखाउँछन्। यहोवाले “म कसलाई पठाऊँ औ हाम्रा निम्ति को जाने?” भनेर सोध्नुहुँदा यशैयाले यस्तो जवाफ दिए: “म हाजिर छु। मलाई पठाउनुहोस्।” (यशै. ६:८) के तपाईँ अहिले परमेश्वरको सङ्गठनमा जहाँ आवश्यकता छ, त्यहाँ सेवा गर्न चाहनुहुन्छ? अनि त्यसो गर्न के तपाईँको परिस्थितिले दिन्छ? अहिले परमेश्वरको सङ्गठनमा कस्तो आवश्यकता छ?
१५ प्रचार गर्ने र चेला बनाउने कामबारे येशूले यसो भन्नुभयो: “फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्। त्यसकारण, फसलका मालिकलाई आफ्नो बाली काट्न खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्ती गर।” (मत्ती ९:३७, ३८) के तपाईँ आवश्यकता धेरै भएको ठाउँमा अग्रगामीको रूपमा सेवा गर्न सक्नुहुन्छ? अथवा अग्रगामी सेवा गर्न कसैलाई मदत गर्न सक्नुहुन्छ कि? बाली काट्न खेतालाहरू धेरै चाहिएको ठाउँ वा इलाकामा अग्रगामी सेवा गर्नु भनेको परमेश्वर र छिमेकीलाई प्रेम गर्ने सर्वोत्तम तरिका हो भनेर थुप्रै भाइबहिनीले महसुस गरेका छन्। तपाईँले पनि आफ्नो सेवा विस्तार गर्न सक्ने वा त्यसलाई अझ बढाउन सक्ने अरू तरिकाहरू छन् कि? त्यसो गर्नुभयो भने तपाईँ असाध्यै आनन्दित हुनुहुनेछ।
१६, १७. यहोवाको सेवामा अझ धेरै गर्न चाहनुहुन्छ भने तपाईँसामु कस्ता मौकाहरू छन्?
१६ के तपाईँ अस्थायी सेवकको रूपमा वा घरबाट आवत्जावत् गर्ने स्वयम्सेवकको रूपमा बेथेलमा सेवा गर्न अथवा निर्माणकार्यमा भाग लिन चाहनुहुन्छ? जहाँ आवश्यकता छ, त्यहाँ सेवा गर्न इच्छुक अनि दिइएको जनुसुकै काम पनि गर्न तयार हुने स्वयम्सेवकहरूको सधैँ खाँचो परिरहन्छ। त्यस्ता स्वयम्सेवकहरूले कहिलेकाहीँ सङ्गठनमा खास आवश्यकता भएको क्षेत्रमा सेवा गर्नुपर्ने हुन सक्छ र त्यो काम तिनीहरूले पहिलादेखि सिकेको काम वा आफूसित भएको सीपभन्दा बेग्लै किसिमको हुन सक्छ। तैपनि जहाँ आवश्यकता छ, त्यहाँ सेवा गर्न राजीखुसीले तयार हुने स्वयम्सेवकहरूको आत्मत्यागी मनोवृत्तिको यहोवा कदर गर्नुहुन्छ।—भज. ११०:३.
१७ के तपाईँ पवित्र सेवा अझ राम्ररी गर्न सकूँ भनेर थप तालिम लिन चाहनुहुन्छ? त्यसो हो भने तपाईँ ‘राज्य प्रचारकहरूका लागि स्कुल’-मा जान आवेदन भर्न सक्नुहुन्छ होला। यस स्कुलले आध्यात्मिक सोचाइ राख्ने पुरुष तथा स्त्री, जो पूर्ण-समय सेवा गरिरहेका छन्, तिनीहरूले परमेश्वरको उपासनासित सम्बन्धित गतिविधिमा आफ्नो सेवा अझ विस्तार गर्न सकून् भनेर तालिम दिन्छ। यस स्कुलको लागि आवेदन भर्नेहरू स्कुलबाट स्नातक गरिसकेपछि आफूलाई दिइने जुनसुकै जिम्मेवारी स्विकार्न इच्छुक हुनुपर्छ। के तपाईँ यो मौकाको फाइदा उठाएर आफ्नो सेवा विस्तार गर्न इच्छुक हुनुहुन्छ?—१ कोरि. ९:२३.
१८. हरेक दिन यहोवासँगसँगै काम गर्दा तपाईँले के पाउनुहुनेछ?
१८ हामी यहोवाका जन भएकोले हरेक दिन अरूप्रति उदार हुन अर्थात् अरूप्रति भलाइ, दया र प्रेम देखाउन चाहन्छौँ। साथै हामी अरूको ख्याल राख्न चाहन्छौँ। यसो गऱ्यौँ भने आनन्द र शान्ति पाउनेछौँ अनि खुसी हुनेछौँ। (गला. ५:२२, २३) तपाईँको परिस्थिति जस्तोसुकै होस्, यहोवाको उदार व्यक्तित्त्व अनुकरण गरिरहनुभयो र उहाँको बहुमूल्य सहकर्मी भइरहनुभयो भने तपाईँ आनन्दित हुन सक्नुहुन्छ!—हितो. ३:९, १०.