प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 जनवरी pp. १-३२
  • सभामा हाम्रो उपस्थितिले के देखाउँछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सभामा हाम्रो उपस्थितिले के देखाउँछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नम्रताले सभामा उपस्थित हुन उत्प्रेरित गर्छ
  • साहसले सभामा उपस्थित हुन मदत गर्छ
  • प्रेमले सभामा उपस्थित हुन बाध्य पार्छ
  • हामी स्मरणार्थ उत्सवमा किन उपस्थित हुन्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • छुडौतीको बलिदानबाट लाभ उठाउन अरूलाई मदत दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 जनवरी pp. १-३२

अध्ययन लेख ५

सभामा हाम्रो उपस्थितिले के देखाउँछ?

“प्रभु नआउन्जेल तिमीहरूले उहाँको मृत्युको घोषणा गरिरहेका हुन्छौ।”—१ कोरि. ११:२६.

गीत १८ फिरौतीको बलिदानप्रति कृतज्ञ

परिचयa

१-२. (क) करोडौँ मानिस प्रभुको साँझको भोजमा भेला हुँदा यहोवा तिनीहरूमा के हेर्नुहुन्छ? (आवरण तस्बिर हेर्नुहोस्‌) (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

संसारभरि करोडौँ मानिस प्रभुको साँझको भोज मनाउन भेला हुँदा यहोवा तिनीहरूमा के हेर्नुहुन्छ? उहाँले मानिसहरूको जमातलाई मात्र याद गर्नुहुन्‍न तर त्यस उत्सवमा उपस्थित भएको हरेक व्यक्‍तिलाई याद गर्नुहुन्छ। उदाहरणको लागि, उहाँले हरेक वर्ष नछुटाईकन यस उत्सवमा आइरहने मानिसहरूलाई याद गर्नुहुन्छ। तिनीहरूमध्ये कतिपय त घोर सतावटको बाबजुद आउँछन्‌। अरू कतिपयचाहिँ नियमित रूपमा हाम्रा अरू सभाहरूमा आउँदैनन्‌ तर तिनीहरू स्मरणार्थ उत्सवमा उपस्थित हुनु महत्त्वपूर्ण ठान्छन्‌। स्मरणार्थ उत्सवमा के गरिन्छ भनेर हेर्न पहिलो पटक आएकाहरूलाई पनि यहोवा याद गर्नुहुन्छ।

२ स्मरणार्थ उत्सवमा त्यति धेरै मानिस उपस्थित भएको देख्दा यहोवालाई पक्कै खुसी लाग्छ। (लुका २२:१९) तर यहोवाको मुख्य चासोको विषय कति जना उपस्थित भए भन्‍ने त होइन। तिनीहरू उपस्थित हुनुको कारणमा उहाँ चासो राख्नुहुन्छ; उहाँ मानिसहरूको मनोवृत्ति याद गर्नुहुन्छ। यस लेखमा हामी एउटा महत्त्वपूर्ण प्रश्‍न छलफल गर्नेछौँ: हामी किन वार्षिक रूपमा मनाइने स्मरणार्थ उत्सवमा मात्र होइन तर यहोवालाई प्रेम गर्नेहरूका लागि उहाँले प्रबन्ध गरिदिनुभएको साप्ताहिक सभाहरूमा पनि उपस्थित हुन्छौँ?

प्रभुको साँझको भोजमा मानिसहरूलाई स्वागत गरिँदै

संसारभरि लाखौँ मानिसलाई प्रभुको साँझको भोजमा स्वागत गरिन्छ (अनुच्छेद १-२ हेर्नुहोस्‌)

नम्रताले सभामा उपस्थित हुन उत्प्रेरित गर्छ

३-४. (क) हामी किन सभाहरूमा उपस्थित हुन्छौँ? (ख) हामी सभाहरूमा उपस्थित हुँदा कुन कुरा देखिन्छ? (ग) पहिलो कोरिन्थी ११:२३-२६ मा बताइएअनुसार हामीले स्मरणार्थ उत्सवमा उपस्थित हुन किन छुटाउनु हुँदैन?

३ हामी मण्डलीका सभाहरूमा उपस्थित हुनुको मुख्य कारण के हो? ती सभाहरू हाम्रो उपासनाको भाग हुन्‌। अर्को कारण हो, सभाहरूमा हामी यहोवाबाट सिक्न सक्छौँ। अरूबाट सिक्नुपर्छ भन्‍ने कुरा घमन्डी मानिसहरूले स्विकार्दैनन्‌। (३ युह. ९) तर त्यसको विपरीत हामी यहोवाबाट र उहाँले प्रयोग गरिरहनुभएको सङ्‌गठनबाट सिक्न इच्छुक छौँ।—यसै. ३०:२०; युह. ६:४५.

४ सभाहरूमा उपस्थित हुँदा हामी नम्र छौँ अर्थात्‌ सिक्न तत्पर र इच्छुक छौँ भन्‍ने कुरा देखिन्छ। हामी कर्तव्यबोधले मात्र होइन तर नम्र भई येसुको आज्ञा पालन गर्ने भएकोले उहाँको मृत्युको स्मरणार्थ उत्सवको साँझको सभामा उपस्थित हुन्छौँ। उहाँले यस्तो आज्ञा दिनुभयो: “मेरो सम्झनामा यो गर्ने गर।” (१ कोरिन्थी ११:२३-२६ पढ्‌नुहोस्‌) त्यस सभाले भविष्यको हाम्रो आशालाई बलियो बनाउँछ अनि यहोवा हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भनेर सम्झाउँछ। तर हामीलाई वर्षको एक पटक मात्र नभई धेरै पटक प्रोत्साहन र आश्‍वासन चाहिन्छ भनेर यहोवालाई थाह छ। त्यसैले उहाँले हरेक हप्ता सभाहरूको पनि प्रबन्ध गर्नुभएको छ र ती सभाहरूमा उपस्थित हुन हामीलाई आग्रह गर्नुहुन्छ। नम्रताले हामीलाई उहाँको आज्ञा पालन गर्न उत्प्रेरित गर्छ। हामी सभाहरूको लागि तयारी गर्न र त्यहाँ उपस्थित हुन हरेक हप्ता केही घण्टा खर्च गर्छौँ।

५. नम्र मानिसहरूले किन यहोवाको निम्तो स्विकार्छन्‌?

५ यहोवाबाट सिक्ने निम्तो पाउँदा हरेक वर्ष थुप्रै नम्र मानिसले त्यो निम्तो स्विकार्छन्‌। (यसै. ५०:४) तिनीहरूलाई स्मरणार्थ उत्सवमा उपस्थित हुँदा रमाइलो लाग्छ अनि त्यसपछि अरू सभाहरूमा पनि आउन थाल्छन्‌। (जक. ८:२०-२३) हामी पनि तिनीहरूसँगै मिलेर यहोवा हाम्रो “मदतगार र उद्धारक”-बाट सिक्न र उहाँको डोऱ्‍याइअनुसार चल्न पाएकोमा रमाउँछौँ। (भज. ४०:१७) यहोवाबाट र उहाँले असाध्यै माया गर्नुहुने छोरा येसुबाट सिक्ने निम्तो स्विकार्नुभन्दा खुसीको कुरा वा महत्त्वपूर्ण कुरा अरू के नै हुन सक्छ र?—मत्ति १७:५; १८:२०; २८:२०.

६. नम्रताले एक जना मानिसलाई स्मरणार्थ उत्सवमा उपस्थित हुन कसरी उत्प्रेरित गऱ्‍यो?

६ हरेक वर्ष थुप्रै मानिस येसुको मृत्युको स्मरणार्थमा उपस्थित हुन सकून्‌ भनेर हामी तिनीहरूलाई निम्तो दिन्छौँ। थुप्रै नम्र मानिसले हाम्रो निम्तो स्विकारेर लाभ उठाएका छन्‌। एउटा उदाहरण विचार गर्नुहोस्‌। केही वर्षअघि एक जना मानिसले स्मरणार्थको निम्तोपर्ची पाएका थिए। तर निम्तो दिने भाइलाई तिनले आफू आउन नसक्ने कुरा बताए। तैपनि तिनी स्मरणार्थको त्यस साँझ राज्यभवनमा आए अनि तिनलाई देखेर निम्तो दिने भाइ छक्कै परे। त्यहाँ सबैले स्वागत गरेकोले तिनको साह्रै मन छोयो अनि त्यस दिनबाट तिनी हरेक हप्ता सभाहरूमा आउन थाले। साँच्चै भन्‍ने हो भने, तिनले वर्षभरिमा तीन वटा मात्र सभा छुटाए। तिनलाई सबै सभामा उपस्थित हुन केले उत्प्रेरित गऱ्‍यो? तिनी नम्र भएकोले आफ्नो सोचाइ परिवर्तन गरे। तिनलाई निम्तो दिने भाइले पछि यसो भने: “उहाँ असाध्यै नम्र हुनुहुन्छ।” यहोवाले नै तिनलाई उहाँको उपासना गर्न खिच्नुभएको हो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। अहिले तिनी बप्तिस्मा गरिसकेका हाम्रा भाइ हुन्‌।—२ समु. २२:२८; युह. ६:४४.

७. सभाहरूमा र बाइबल पढाइबाट सिक्ने कुराहरूले हामीलाई कसरी नम्र हुन मदत गर्छ?

७ हामी सभाहरूमा जे सिक्छौँ र बाइबलमा जे पढ्‌छौँ, त्यसले हामीलाई नम्र हुन मदत गर्छ। स्मरणार्थ उत्सवअघिका हप्ताहरूमा हुने सभाहरूमा येसुले बसाल्नुभएको उदाहरण र आफ्नो जीवन फिरौतीस्वरूप दिएर देखाउनुभएको नम्रताबारे जोड दिइन्छ। साथै स्मरणार्थ उत्सवअघिका दिनहरूमा हामीलाई येसुको मृत्युको र पुनर्जीवनको अघि-पछिका बाइबल विवरणहरू पढ्‌न आग्रह गरिन्छ। हामीले ती सभाहरूमा सिक्ने र ती बाइबल विवरणमा पढ्‌ने कुराले येसुले हाम्रो निम्ति चढाउनुभएको बलिदानको लागि उहाँप्रति अझ कृतज्ञ हुन मदत गर्छ। त्यसले हामीलाई उहाँको नम्र मनोभावको र गाह्रो अवस्था आइपरे पनि यहोवाको इच्छा पूरा गर्ने अठोटको अनुकरण गर्न जुरमुऱ्‍याउँछ।—लुका २२:४१, ४२.

साहसले सभामा उपस्थित हुन मदत गर्छ

८. येसुले कसरी साहस देखाउनुभयो?

८ साहस देखाउने सन्दर्भमा पनि हामी येसुको अनुकरण गर्ने प्रयास गर्छौँ। आफ्नो मृत्युअघिका दिनहरूमा येसुले देखाउनुभएको साहसबारे विचार गर्नुहोस्‌। शत्रुहरूले उहाँको गिल्ला गर्नेछन्‌, कुटपिट गर्नेछन्‌ अनि मृत्युदण्ड दिनेछन्‌ भनेर उहाँलाई थाह थियो। (मत्ति २०:१७-१९) तैपनि उहाँ मृत्युको सामना गर्न डराउनुभएन। उहाँको मृत्यु हुने समय आएपछि उहाँले गेत्समनीमा उहाँसितै भएका वफादार प्रेषितहरूलाई यसो भन्‍नुभयो: “उठ, हामी जाऔँ। हेर! मलाई धोका दिने मानिस नजिकै आइपुगिसकेको छ।” (मत्ति २६:३६, ४६) अनि हतियार भिरेका एक हुल मानिस उहाँलाई पक्रिन आउँदा उहाँ अघि सरेर आफूलाई चिनाउनुभयो अनि आफ्ना प्रेषितहरूलाई जान दिन सैनिकहरूलाई आदेश दिनुभयो। (युह. १८:३-८) कत्ति ठूलो साहस! आज पनि अभिषिक्‍त ख्रिष्टियनहरू र अरू भेडाका सदस्यहरू येसुले जस्तै साहस देखाउन प्रयत्न गर्छन्‌। कसरी?

एउटी बहिनी आफ्नो इलाकामा आन्दोलन मच्चिरहेको बेलामा समेत छोरासित सभा जान्छिन्‌ र जेलमा थुनिएका आफ्नो श्रीमान्‌लाई प्रोत्साहन दिन चिठी लेख्छिन्‌

सभामा उपस्थित हुन तपाईँले देखाउनुभएको साहसबाट अरूले प्रोत्साहन पाउँछन्‌ (अनुच्छेद ९ हेर्नुहोस्‌)b

९. (क) नियमित रूपमा सभा जान किन साहसको आवश्‍यकता पर्न सक्छ? (ख) विश्‍वासको खातिर जेलमा परेका हाम्रा भाइहरूलाई हाम्रो उदाहरणले कसरी प्रोत्साहन दिन सक्छ?

९ गाह्रो परिस्थितिको बाबजुद नियमित रूपमा सभा जान हामीलाई साहसको आवश्‍यकता पर्न सक्छ। हाम्रा केही भाइबहिनी शोक, निराशा वा स्वास्थ्य समस्याको बाबजुद सभामा उपस्थित भइरहेका छन्‌। अरू कोही भने परिवार वा सरकारी अख्तियारवालाहरूबाट चर्को विरोधको सामना गर्नुपरे तापनि साहसी हुँदै सभा जान छोडेका छैनन्‌। हामीले बसालेको उदाहरणले विश्‍वासको खातिर जेलमा परेका हाम्रा भाइहरूलाई कसरी प्रोत्साहन दिन्छ भनेर एकछिन विचार गर्नुहोस्‌। (हिब्रू १३:३) हामीले परीक्षाहरूको बाबजुद यहोवाको सेवा गरिरहेका छौँ भनेर सुन्दा तिनीहरूले पनि आफ्नो विश्‍वास, साहस र सत्यनिष्ठा कायम राख्ने बल पाउँछन्‌। प्रेषित पावलले यस्तै अनुभव गरे। तिनी रोमको झ्यालखानामा हुँदा आफ्ना भाइबहिनीहरूले वफादार भई परमेश्‍वरको सेवा गरिरहेका छन्‌ भन्‍ने खबर सुनेर रमाए। (फिलि. १:३-५, १२-१४) कैदबाट मुक्‍त हुनुभन्दा केही समयअघि वा मुक्‍त हुनेबित्तिकै तिनले हिब्रूहरूलाई पत्र लेखे। तिनले त्यस पत्रमा त्यहाँका वफादार ख्रिष्टियनहरूलाई ‘भ्रातृप्रेम कायम राख्न’ र एकसाथ भेला हुन कहिल्यै नछोड्‌न प्रोत्साहन दिए।—हिब्रू १०:२४, २५; १३:१.

१०-११. (क) हामीले स्मरणार्थ उत्सवमा क-कसलाई निम्तो दिनुपर्छ? (ख) एफिसी १:७ अनुसार हामी किन निम्तो दिन्छौँ?

१० आफन्तहरू, सहकर्मीहरू र छिमेकीहरूलाई स्मरणार्थ उत्सवको लागि निम्तो दिँदा हामीले साहस देखाइरहेका हुन्छौँ। हामी तिनीहरूलाई किन निम्तो दिन्छौँ? यहोवा र येसुले हाम्रो लागि गर्नुभएको त्यागप्रति अत्यन्तै कृतज्ञ भएकोले हामी अरूलाई स्मरणार्थ उत्सवको निम्तो नदिई बस्नै सक्दैनौँ। फिरौतीको बलिदानको प्रबन्धबाट यहोवाले जुन “असीम अनुग्रह” देखाउनुभएको छ, त्यसबारे अरूले पनि सिकेर लाभ उठाएको हामी चाहन्छौँ।—एफिसी १:७ पढ्‌नुहोस्‌; प्रका. २२:१७.

११ एक साथ भेला हुन साहस देखाउँदा हामी अर्को अनमोल गुण पनि देखाइरहेका हुन्छौँ, जुन गुण परमेश्‍वर र उहाँको छोराले उल्लेखनीय तरिकाहरूमा देखाउनुभएको छ।

प्रेमले सभामा उपस्थित हुन बाध्य पार्छ

१२. (क) सभाहरूले यहोवा र येसुप्रतिको हाम्रो प्रेमलाई कसरी अझ गहिरो बनाउँछ? (ख) दोस्रो कोरिन्थी ५:१४, १५ ले हामीलाई कसरी येसुको अनुकरण गर्न प्रोत्साहन दिन्छ?

१२ यहोवा र येसुप्रतिको प्रेमले हामीलाई सभाहरूमा उपस्थित हुन बाध्य पार्छ। अनि सभामा हामी जे सिक्छौँ, त्यसले यहोवा र उहाँको छोराप्रतिको हाम्रो प्रेमलाई अझ गहिरो बनाउँछ। उहाँहरूले हाम्रो लागि के-के गर्नुभएको छ भनेर सभाहरूमा हामी पटक-पटक सम्झिने मौका पाउँछौँ। (रोमी ५:८) खासगरि स्मरणार्थ उत्सवले उहाँहरू हामीलाई अनि फिरौतीको बलिदानको महत्त्व अझै नबुझेका मानिसहरूलाई समेत कत्ति गहिरो प्रेम गर्नुहुन्छ भनेर सम्झाउँछ। यसले गर्दा हाम्रो मन कृतज्ञताले भरिन्छ र हामी हरेक दिन येसुको अनुकरण गरेर जिउन उत्प्रेरित हुन्छौँ। (२ कोरिन्थी ५:१४, १५ पढ्‌नुहोस्‌) त्यसका साथै फिरौतीको बलिदानको प्रबन्ध गर्नुभएकोमा यहोवाको प्रशंसा गर्न हामी मनैदेखि जुरमुरिन्छौँ। हामीले उहाँको प्रशंसा गर्न सक्ने एउटा तरिका भनेको सभाहरूमा मनैदेखि टिप्पणी दिएर हो।

१३. हामी यहोवा र उहाँको छोरालाई धेरै प्रेम गर्छौँ भनेर कसरी देखाउन सक्छौँ? व्याख्या गर्नुहोस्‌।

१३ हामी यहोवा र येसुको खातिर त्यागहरू गर्न इच्छुक भएर उहाँहरूलाई कत्ति धेरै प्रेम गर्छौँ भनेर देखाउन सक्छौँ। सभाहरूमा उपस्थित हुन अक्सर हामीले विभिन्‍न किसिमका त्यागहरू गर्नुपर्ने हुन्छ। थुप्रै मण्डलीहरूमा एउटा सभा हप्ताको बीचमा साँझतिर हुने गर्छ अनि दिनभरिको कामले गर्दा हामीमध्ये धेरैजसो थाकेका हुन सक्छौँ। अनि अर्को सभाचाहिँ सप्ताहन्तमा हुने गर्छ, जुन दिन अरू मानिसहरू आराम गर्ने गर्छन्‌। थकित भए पनि सभामा उपस्थित हुन हामीले गरेको प्रयास के यहोवा याद गर्नुहुन्छ? पक्कै गर्नुहुन्छ! वास्तवमा भन्‍नुपर्दा हामी यहोवाप्रतिको प्रेम प्रकट गर्न जति धेरै सङ्‌घर्ष गर्छौँ, उहाँले त्यति नै धेरै त्यसको कदर गर्नुहुन्छ।—मर्कु. १२:४१-४४.

१४. आत्मत्यागी प्रेम देखाउने सन्दर्भमा येसुले कस्तो उदाहरण बसाल्नुभयो?

१४ आत्मत्यागी प्रेम देखाउने सन्दर्भमा येसुले हाम्रो निम्ति उदाहरण बसाल्नुभयो। उहाँ चेलाहरूको खातिर आफ्नो ज्यान दिन इच्छुक हुनुभयो। तर त्यति मात्र होइन, उहाँ हरेक दिन आफ्नो भन्दा चेलाहरूको आवश्‍यकतालाई प्राथमिकता दिएर जिउन इच्छुक हुनुभयो। उदाहरणको लागि, आफू लखतरान हुनुभएको बेलामा वा भावनात्मक रूपमा विचलित हुनुभएको बेलामा समेत उहाँले चेलाहरूलाई समय दिनुभयो। (लुका २२:३९-४६) उहाँले अरूबाट के पाउन सक्छु भन्‍ने कुरामा होइन बरु अरूलाई के दिन सक्छु भन्‍ने कुरामा आफ्नो ध्यान केन्द्रित गर्नुभयो। (मत्ति २०:२८) यहोवा र आफ्ना भाइबहिनीप्रतिको हाम्रो प्रेम पनि येसुको जत्तिकै प्रगाढ छ भने प्रभुको साँझको भोजलगायत मण्डलीका अन्य सबै सभामा उपस्थित हुन भरमग्दुर प्रयास गर्नेछौँ।

१५. हामी खासगरि कसलाई मदत गर्न अत्यन्तै इच्छुक छौँ?

१५ हामीमाझ जुन साँचो ख्रिष्टियन भ्रातृत्व छ, त्यो अन्त कतै पनि छैन। हामी अरू मानिसहरूलाई पनि यसको भाग हुन खुसीसाथ निम्तो दिन्छौँ। यसको लागि हामी सकेजति समय बिताउँछौँ। अझ खासगरि “एउटै विश्‍वास हुने हाम्रा भाइबहिनी,” जो अहिले निष्क्रिय भएका छन्‌, उनीहरूलाई मदत गर्न हामी अत्यन्तै इच्छुक छौँ। (गला. ६:१०) हामी तिनीहरूलाई सभाहरूमा र विशेषगरि स्मरणार्थ उत्सवमा उपस्थित हुन प्रोत्साहन दिएर तिनीहरूलाई प्रेम गर्छौँ भनेर देखाउँछौँ। कुनै निष्क्रिय व्यक्‍ति हाम्रो मायालु बुबा र गोठालो यहोवाकहाँ फर्केर आउँदा हामी पनि यहोवा र येसुजस्तै अत्यन्तै खुसी हुन्छौँ।—मत्ति १८:१४.

के तपाईँ निम्तो दिनुहुनेछ?

“साँच्चैको जीवन हासिल गर्न प्रयत्न गर्नुहोस्‌!” विषयको विशेष जनभाषण अप्रिल ८, २०१९ को हप्तामा दिइनेछ। यसमा उपस्थित हुनेहरूले यी महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउनेछन्‌: साँच्चैको जीवन के हो? तपाईँ साँच्चैको जीवनलाई कसरी दह्रोसित पक्रिराख्न सक्नुहुन्छ? विशेष भाषण सुन्‍नेहरू सायद स्मरणार्थको दिन पनि उपस्थित हुन इच्छुक हुनेछन्‌। उपस्थित हुनेहरूमध्ये कोही-कोही “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरू पनि हुनेछन्‌ भनेर हामी आशा गर्छौँ।—प्रेषि. १३:४८.

१६. (क) हामी कसरी एकअर्कालाई प्रोत्साहन दिन सक्छौँ अनि सभाहरूले हामीलाई के गर्न मदत गर्छ? (ख) युहन्‍ना ३:१६ मा येसुले भन्‍नुभएका शब्दहरू अहिले सम्झनु किन राम्रो हो?

१६ अप्रिल १९, २०१९ शुक्रबार साँझ हुने स्मरणार्थ उत्सवमा उपस्थित हुन आउने हप्ताहरूमा सकेजति धेरैलाई निम्तो दिनुहोस्‌। (“के तपाईँ निम्तो दिनुहुनेछ?” भन्‍ने पेटी हेर्नुहोस्‌) आगामी वर्षभरि यहोवाले हाम्रो निम्ति प्रबन्ध गर्नुभएका सबै सभामा नियमित रूपमा उपस्थित भएर एक अर्कालाई प्रोत्साहन देऔँ। यस संसारको अन्त नजिकिँदै जाँदा हामीलाई नम्र भइरहन, साहसी भइरहन र प्रेम देखाइरहन सभाहरूले निकै मदत गर्नेछ। (१ थिस्स. ५:८-११) यहोवा र येसुले हामीलाई यत्ति धेरै प्रेम गर्नुभएकोमा हामी उहाँहरूबारे कस्तो महसुस गर्छौँ भनेर आफ्नो सारा मनले देखाऔँ!—युहन्‍ना ३:१६ पढ्‌नुहोस्‌।

सभामा हाम्रो उपस्थितिबाट यी गुणहरू कसरी देखिन्छ?

  • नम्रता

  • साहस

  • प्रेम

गीत १२६ जागा रहौँ, दह्रो होऔँ र पराक्रमी हुँदै जाऔँ!

a येसुको मृत्युको स्मरणार्थ उत्सव अप्रिल १९, २०१९ को शुक्रबार साँझ मनाइनेछ। यो वर्षभरिकै सबैभन्दा महत्त्वपूर्ण सभा हो। यस उत्सवमा उपस्थित हुन हामीलाई केले उत्प्रेरित गर्छ? हामी पक्कै पनि यहोवालाई खुसी बनाउन चाहन्छौँ। यस लेखमा स्मरणार्थ उत्सवमा र साप्ताहिक सभाहरूमा हाम्रो उपस्थितिबाट के देखिन्छ भनेर विचार गर्नेछौँ।

b चित्रको व्याख्या: विश्‍वासको खातिर जेलमा परेका एक जना भाइ आफ्नो परिवारले पठाएको चिठी पढेर प्रोत्साहन पाउँछन्‌। तिनको परिवारले तिनलाई बिर्सेका छैनन्‌ भनेर थाह पाउँदा अनि तिनीहरू पनि आफ्नो इलाकामा राजनैतिक उथलपुथल मच्चिएको बेलामा समेत वफादार भई यहोवाको सेवा गरिरहेका छन्‌ भनेर थाह पाउँदा तिनी आनन्दित हुन्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने