अध्ययन लेख २३
‘होसियार बस, कसैले तिमीहरूलाई कैदी नबनाओस्!’
“होसियार बस, कसैले तिमीहरूलाई मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरूद्वारा कैदी नबनाओस्।”—कल. २:८.
गीत ९६ परमेश्वरको किताब—एउटा अमूल्य धन
परिचयa
१. कलस्सी २:४, ८ अनुसार सैतानले कसरी हाम्रो दिमागलाई आफ्नो कैदमा पार्न खोज्छ?
सैतान हामीलाई यहोवादेखि तर्काउन चाहन्छ। आफ्नो उद्देश्य पूरा गर्न त्यसले हाम्रो सोचाइलाई बङ्ग्याउने प्रयास गर्छ; मतलब त्यसले हाम्रो दिमागलाई कैदमा पारेर आफ्नो वशमा राख्न खोज्छ। हामी आफ्ना चाहनाहरूको पछि लागेर त्यसले देखाएको बाटोमा हिँडोस् भनेर त्यसले हामीलाई बहकाउन वा छल गर्न खोज्छ।—कलस्सी २:४, ८ पढ्नुहोस्।
२-३. (क) हामीले कलस्सी २:८ मा लेखिएको चेतावनीलाई किन ध्यान दिनुपर्छ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?
२ के हामी पनि सैतानको बहकाउमा पर्न सक्ने गम्भीर खतरा छ? पक्कै छ! यो कुरा याद गर्नुहोस्, कलस्सी २:८ मा लेखिएको चेतावनी पावलले विश्वासमा नभएकाहरूलाई दिएका थिएनन्। बरु तिनले यो चेतावनी पवित्र शक्तिले अभिषेक भएका ख्रिष्टियनहरूलाई दिएका थिए। (कल. १:२, ५) ती ख्रिष्टियनहरू सैतानको बहकाउमा पर्न सक्ने खतरा थियो र आज हामीलाई त्यस्तो खतरा झन् धेरै छ। (१ कोरि. १०:१२) किन? सैतानलाई तल पृथ्वीमा फ्याँकिएको छ र त्यो परमेश्वरका वफादार सेवकहरूलाई बहकाउन लागिपरेको छ। (प्रका. १२:९, १२, १७) साथै दुष्ट र जाली मानिसहरू “झन्झन् खराब हुँदै जाने” समयमा हामी बाँचिरहेका छौँ।—२ तिमो. ३:१, १३.
३ यस लेखमा सैतानले हाम्रो सोचाइलाई बङ्ग्याउन कसरी “खोक्रो अनि छली विचारधाराहरू” प्रयोग गर्छ भनेर छलफल गर्नेछौँ। साथै त्यसको तीन वटा “दाउपेच” वा “चाल” के-के हुन् भनेर पनि थाह पाउनेछौँ। (एफि. ६:११; फुटनोट) यसपछिको लेखमा चाहिँ सैतानको चालले गर्दा हाम्रो सोचाइमा परेको हुन सक्ने नकारात्मक असरहरू कसरी हटाउन सक्छौँ भनेर बुझ्नेछौँ। तर सबैभन्दा पहिला, इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेपछि सैतानले तिनीहरूलाई बहकाएको तरिकाबाट आज हामी कस्तो पाठ सिक्न सक्छौँ भनेर छलफल गरौँ।
मूर्तिपूजा गर्ने प्रलोभन
४-६. व्यवस्था ११:१०-१५ अनुसार इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशमा बसोबास गर्न थालेपछि खेतीपाती गर्ने तरिकामा कस्तो छाँटकाँट गर्नुपर्ने थियो?
४ सैतानले इस्राएलीहरूलाई मूर्तिपूजामा फसाउन चलाखीपूर्ण तरिका अपनायो। त्यसले कसरी त्यसो गऱ्यो? इस्राएलीहरूले आफ्नो निम्ति खानेकुराको प्रबन्ध गर्नुपर्ने थियो र त्यही आवश्यकताको त्यसले नाजायज फाइदा उठायो। प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेपछि इस्राएलीहरूले खेतीपाती गर्ने तरिकामा छाँटकाँट गर्नुपर्थ्यो। मिश्रमा छँदा इस्राएलीहरूले खेतमा सिँचाइको लागि नाइल नदीको पानी लगाउने गर्थे। तर प्रतिज्ञा गरिएको देशमा भने कृषि प्रणाली फरक थियो। त्यहाँ नाइलजस्तो ठूलो नदी थिएन। त्यसैले खेतीपातीको लागि मौसमी वर्षा वा शीतमा भर पर्नुपर्थ्यो। (व्यवस्था ११:१०-१५ पढ्नुहोस्; यसै. १८:४, ५) इस्राएलीहरूले खेतीपाती गर्ने नयाँ तरिकाहरू सिक्नुपर्ने थियो। तर त्यसो गर्न सजिलो हुने थिएन किनकि खेतीपातीको ज्ञान भएका धेरैजसो इस्राएलीहरू निर्जनभूमिमै मरिसकेका थिए।
इस्राएली किसानहरूको सोचाइ बदल्न सैतान कसरी सफल भयो? (अनुच्छेद ४-६ हेर्नुहोस्)b
५ यहोवाले आफ्ना मानिसहरूलाई तिनीहरूको परिस्थिति परिवर्तन भएको छ भनेर बुझाउनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई एउटा यस्तो चेतावनी दिनुभयो, जुन झट्ट हेर्दा खेतीपातीसित सम्बन्धित छैन जस्तो देखिन सक्थ्यो। उहाँले यसो भन्नुभयो: “तब तिमीहरू होसियार रहनू! नत्र त तिमीहरूको मन बहकिएर तिमीहरूले अरू देवताहरू पुज्नेछौ अनि तिनीहरूलाई ढोग्नेछौ।” (व्यव. ११:१६, १७) खेतीपाती गर्ने नयाँ तरिका सिक्ने विषयमा बताउँदा उहाँले इस्राएलीहरूलाई किन झूटा देवताहरूलाई पुज्नदेखि होसियार रहनू भनेर चेतावनी दिनुभयो?
६ इस्राएलीहरू आफूवरपर बस्ने मूर्तिपूजकहरूकहाँ गएर खेतीपाती गर्ने तिनीहरूका केही तरिकाहरू सिक्ने प्रलोभनमा पर्न सक्छन् भनेर यहोवालाई थाह थियो। हुन पनि इस्राएलीहरूका छिमेकीहरू खेतीपाती गर्ने सन्दर्भमा तिनीहरूभन्दा धेरै अनुभवी थिए र इस्राएलीहरूले उनीहरूबाट केही उपयोगी सिपहरू सिक्न सक्थे। तर एउटा खतरा थियो। ती कनानी किसानहरू बाआल देवतालाई पुज्थे र उनीहरूको सोचाइलाई पनि त्यही देवतासित सम्बन्धित रीतिथितिले प्रभाव पारेको थियो। तिनीहरू बाआललाई आकाशका मालिक र वर्षाका देवको रूपमा हेर्थे। तर यहोवा आफ्ना मानिसहरू त्यस्ता झूटा विश्वासको बहकाउमा परेको चाहनुहुन्नथ्यो। तर इस्राएलीहरूले पटक-पटक बाआलको उपासना गर्ने छनौट गरे। (गन्ती २५:३, ५; न्याय. २:१३; १ राजा १८:१८) सैतान इस्राएलीहरूलाई आफ्नो कैदी बनाउन कसरी सफल भयो, अब त्यसबारे विचार गरौँ।
इस्राएलीहरूलाई आफ्नो कैदी बनाउन सैतानले चलेको तीन वटा चाल
७. इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेपछि कसरी तिनीहरूको विश्वासको जाँच भयो?
७ इस्राएलीहरूलाई बहकाउन सैतानले पहिलो चाल चल्यो। आफूले खनजोत गरेको जमिनलाई पानीले भिजाएको हेर्ने इस्राएलीहरूको स्वाभाविक चाहनाको त्यसले नाजायज फाइदा उठायो। प्रतिज्ञा गरिएको देशमा हरेक वर्ष अप्रिलको अन्ततिरदेखि सेप्टेम्बरसम्म थोरै मात्र पानी पर्थ्यो। इस्राएलीहरू आफ्नो जीविकोपार्जन र खेतीपातीको लागि अक्सर अक्टोबर महिनादेखि सुरु हुने वर्षामा भर पर्नुपर्थ्यो। त्यसैले आफ्नो बालीनाली सप्रेको हेर्ने हो भने इस्राएलीहरूले मूर्तिपूजक छिमेकीहरूको रीतिथिति पछ्याउनुपर्छ भनेर सैतानले तिनीहरूलाई बहकायो। केही खास रीतिथिति पूरा गरेको खण्डमा मात्र देवताहरूले पानी बर्साउनेछन् भनेर ती मूर्तिपूजक छिमेकीहरू विश्वास गर्थे। त्यसैले यहोवामाथिको विश्वास कमजोर भएका केही इस्राएलीले लामो समयसम्म खडेरी पर्नदेखि रोक्ने एउटै मात्र तरिका यही नै हो भनेर पत्याए अनि झूटो देव बाआलको उपासना गर्न मूर्तिपूजासित सम्बन्धित रीतिथितिमा भाग लिन थाले।
८. सैतानले प्रयोग गरेको दोस्रो चाल के हो? व्याख्या गर्नुहोस्।
८ इस्राएलीहरूलाई बहकाउन सैतानले दोस्रो चाल चल्यो। त्यसले तिनीहरूको शारीरिक कुइच्छालाई मलजल गऱ्यो। मूर्तिपूजक राष्ट्रहरू आफ्ना देवीदेवताको उपासना गर्दा घोर अनैतिक क्रियाकलापमा संलग्न हुन्थे। यस्तो किसिमको विकृत उपासनामा वेश्यावृत्ति पनि मुछिएको थियो; स्त्री तथा पुरुष दुवैले मन्दिरमा वेश्यावृत्ति गर्ने गर्थे। ती मूर्तिपूजकहरूले समलिङ्गी सम्बन्धलगायत अन्य किसिमका अवैध यौनसम्बन्धलाई रहन दिएको मात्र होइन, बरु उनीहरूको लागि ती कुराहरू सामान्य भइसकेको थियो। (व्यव. २३:१७, १८; १ राजा १४:२४) यस्ता रीतिथितिमा भाग लिँदा देवता प्रसन्न हुन्छन् र भूमिलाई उर्वर बनाउँछन् भन्ने उनीहरूको विश्वास थियो। थुप्रै इस्राएलीलाई अवैध यौनसम्बन्ध मुछिएको यस्तो रीतिथिति आकर्षक लाग्यो र तिनीहरू झूटा देवताहरूको उपासना गर्ने प्रलोभनमा फसे। वास्तवमा भन्नुपर्दा, सैतानले तिनीहरूलाई आफ्नो कैदी बनाइरहेको थियो।
९. होसे २:१६, १७ अनुसार सैतानले यहोवाप्रतिको इस्राएलीहरूको दृष्टिकोणलाई कसरी धमिलो बनाइदियो?
९ सैतानले तेस्रो चाल पनि चल्यो। त्यसले यहोवाप्रतिको इस्राएलीहरूको दृष्टिकोणलाई धमिलो बनाइदियो। भविष्यवक्ता यर्मियाको समयका झूटा भविष्यवक्ताहरूको कारण इस्राएलीहरूले “बाआलको पछि लागेर” यहोवाको नाम बिर्सिए भनी उहाँले बताउनुभयो। (यर्मि. २३:२७) त्यतिबेला परमेश्वरका मानिसहरूले यहोवाको नामको सट्टा बाआल भन्ने नाम प्रयोग गर्न थालेका थिए जस्तो देखिन्छ, जसको अर्थ हो, “मालिक” वा “स्वामी।” यसले गर्दा इस्राएलीहरूको मनमा यहोवा र बाआलबीचको भिन्नता धमिलो हुने थियो अनि तिनीहरूले यहोवाको उपासनामा बाआल उपासनासित सम्बन्धित रीतिथिति सजिलै छ्यासमिस पार्ने थिए।—होसे २:१६, १७ र फुटनोट पढ्नुहोस्।
आज सैतानले चल्ने चालहरू
१०. आज सैतानले कस्ता चालहरू चल्छ?
१० सैतानले आज पनि त्यस्तै चालहरू चल्छ। त्यसले मानिसहरूको स्वाभाविक चाहनाको नाजायज फाइदा उठाएर, अवैध यौनसम्बन्धलाई बढावा दिएर अनि यहोवाप्रतिको मानिसहरूको दृष्टिकोणलाई धमिलो बनाइदिएर तिनीहरूलाई कैदमा पार्न खोज्छ। अब यीमध्ये अन्तिम चालबारे सबैभन्दा पहिला छलफल गरौँ।
११. सैतानले यहोवाप्रतिको मानिसहरूको दृष्टिकोणलाई कसरी धमिलो बनाइदिएको छ?
११ सैतानले यहोवाप्रतिको मानिसहरूको दृष्टिकोणलाई धमिलो बनाइदिन्छ। येसुका प्रेषितहरूको मृत्यु भएपछि, आफू ख्रिष्टियन हुँ भनेर दाबी गर्ने केहीले झूटा शिक्षाहरू फैलाउन थाले। (प्रेषि. २०:२९, ३०; २ थिस्स. २:३) ती धर्मत्यागीहरूले एक मात्र साँचो परमेश्वरको चिनारी धमिलो बनाइदिन थाले। उदाहरणको लागि, तिनीहरूले बाइबलमा परमेश्वरको नाम प्रयोग गर्न छोडे र त्यसको सट्टा “प्रभु”-जस्ता अभिव्यक्तिहरू चलाउन थाले। तिनीहरूले परमेश्वरको व्यक्तिगत नामको सट्टा “प्रभु” भन्ने अभिव्यक्ति प्रयोग गरेकोले बाइबल पढ्ने व्यक्तिहरूलाई यहोवा बाइबलमा बताइएको “प्रभु” कहलिएकाहरूभन्दा भिन्न हुनुहुन्छ भनेर बुझ्न गाह्रो भयो। (१ कोरि. ८:५) तिनीहरूले यहोवा र येसु दुवै जनाको लागि “प्रभु” भन्ने शब्द प्रयोग गरे, जसले गर्दा यहोवा र उहाँको छोरा दुई जना फरक व्यक्ति हुनुहुन्छ र उहाँहरूको ओहदा पनि फरक छ भनेर बुझ्न गाह्रो भयो। (युह. १७:३) यस्तो गोलमालले गर्दा त्रिएकको शिक्षा जन्मियो, जुन शिक्षा परमेश्वरको वचनमा आधारित छैन। परिणामस्वरूप, थुप्रै मानिसले परमेश्वरलाई एक जना रहस्यमय व्यक्तिको रूपमा हेर्छन् र उहाँलाई चिन्न सकिँदैन भन्ठान्छन्। कत्ति ठूलो झूट!—प्रेषि. १७:२७.
मानिसहरूको शारीरिक कुइच्छालाई मलजल गर्न सैतानले झूटो धर्मलाई कसरी चलाएको छ? (अनुच्छेद १२ हेर्नुहोस्)c
१२. झूटो धर्मले केलाई बढावा दिएको छ? रोमी १:२८-३१ मा व्याख्या गरिएअनुसार त्यसको नतिजा कस्तो भएको छ?
१२ सैतानले मानिसहरूको शारीरिक कुइच्छालाई मलजल गर्छ। पुरातन इस्राएलमा सैतानले अनैतिक क्रियाकलापलाई बढावा दिन झूटो धर्मको सहारा लियो। त्यसले आज पनि त्यसै गर्छ। झूटो धर्मले अनैतिक आचरणलाई रहन दिने मात्र होइन, त्यसलाई बढावा पनि दिन्छ, जसले गर्दा परमेश्वरको उपासना गरेको दाबी गर्ने थुप्रै मानिसले उहाँको स्पष्ट नैतिक स्तरलाई लत्याएका छन्। यसको नतिजा कस्तो भएको छ भन्ने कुरा प्रेषित पावलले रोमीहरूलाई लेखेको पत्रमा स्पष्टसित व्याख्या गरे। (रोमी १:२८-३१ पढ्नुहोस्) तिनले उल्लेख गरेको “अनुचित काम”-मा समलिङ्गी सम्बन्धलगायत हर किसिमका अवैध यौनसम्बन्ध समावेश छ। (रोमी १:२४-२७, ३२; प्रका. २:२०) त्यसकारण हामीले बाइबलका सुस्पष्ट शिक्षाहरूअनुसार जीवन बिताउनु नितान्त जरुरी छ!
१३. सैतानले चल्ने अर्को चाल के हो?
१३ सैतानले मानिसहरूको स्वाभाविक चाहनाको नाजायज फाइदा उठाउँछ। हामीसित आफू र आफ्नो परिवारको भौतिक आवश्यकता पूरा गर्नको लागि सीप सिक्ने स्वाभाविक चाहना छ। (१ तिमो. ५:८) अक्सर हामी स्कुलमा गई लगनशील भएर पढेर त्यस्तो सीप सिक्न सक्छौँ। तर हामी होसियार हुनुपर्छ! थुप्रै देशका शैक्षिक प्रणालीले विद्यार्थीहरूलाई व्यावहारिक सीप मात्र नभई मानव दर्शन पनि सिकाउने गर्छ। विद्यार्थीहरूलाई परमेश्वरको अस्तित्वमा शङ्का गर्न र बाइबलको अनादर गर्न सिकाइन्छ। जीवनको सुरुवातबारे एक मात्र तार्किक व्याख्या भनेको क्रमविकासको सिद्धान्त हो भनेर सिकाइन्छ। (रोमी १:२१-२३) तर त्यस्ता शिक्षाहरू “परमेश्वरको बुद्धि”-सित मेल खाँदैनन्।—१ कोरि. १:१९-२१; ३:१८-२०.
१४. मानव दर्शनले केलाई मलजल गर्छ?
१४ मानव दर्शनले परमेश्वरका धार्मिक स्तरहरूलाई बेवास्ता गर्छ वा त्यसको विरोध गर्छ। यसले परमेश्वरको पवित्र शक्तिको फललाई नभई “शरीरका कामहरू”-लाई मलजल गर्छ। (गला. ५:१९-२३) यसले मानिसमा घमन्ड र अहङ्कारजस्ता दुर्गुणहरू विकास गराउँछ, जसले गर्दा मानिसहरू “आफैलाई मात्र प्रेम गर्ने” स्वभावका हुन्छन्। (२ तिमो. ३:२-४) यस्ता दुर्गुणहरू परमेश्वरका सेवकहरूले विकास गर्नुपर्ने नम्रता भन्ने गुणको ठीक उल्टो हो। (२ समु. २२:२८) उच्च शिक्षा हासिल गर्न विश्वविद्यालय गएका केही ख्रिष्टियनको सोचाइलाई परमेश्वरको नभई मानिसहरूको सोचाइले आकार दिएको छ। यस्तो खतरालाई बेवास्ता गऱ्यौँ भने नतिजा कस्तो हुन सक्छ, एउटा उदाहरण विचार गरौँ।
मानव दर्शनले हाम्रो सोचाइलाई कसरी बङ्ग्याउन सक्छ? (अनुच्छेद १४-१६ हेर्नुहोस्)d
१५-१६. एउटी बहिनीको अनुभवबाट तपाईँले के सिक्नुभयो?
१५ पन्ध्र वर्षभन्दा धेरै समय पूर्ण-समय सेवामा बिताइसकेकी एउटी बहिनी यसो भन्छिन्: “म यहोवाको साक्षी भएकीले उच्च शिक्षा हासिल गर्न विश्वविद्यालय जाँदा कस्ता खतराहरू हुन सक्छन् भनेर मैले धेरै चोटि पढेकी र सुनेकी थिएँ। तर मैले त्यस्ता चेतावनीहरूलाई बेवास्ता गरेँ। त्यो सल्लाह मलाई लागू हुँदैन जस्तो लाग्थ्यो।” तिनले कस्ता चुनौतीहरूको सामना गरिन्? तिनी यसरी स्विकार्छिन्: “विश्वविद्यालय जान थालेदेखि म पढाइमा निकै व्यस्त हुन थालेँ। समय र बलजति सबै पढाइले नै खाइदिने भएकोले पहिलाजस्तो मन लगाएर यहोवालाई प्रार्थना गर्न समय हुँदैनथ्यो, अरूसित बाइबलबारे कुरा गर्न तागतै बाँकी हुँदैनथ्यो र लखतरान भइसकेको हुँदा सभाहरूको लागि राम्ररी तयारी गर्न पनि सक्दिनथेँ। तर धन्न! बेलैमा मेरो होस खुल्यो! उच्च शिक्षा हासिल गर्ने दौडधूपले यहोवासितको मेरो सम्बन्धलाई कमजोर बनाउँदै छ भनेर मैले महसुस गरेँ। मैले विश्वविद्यालय जान छोड्नुपर्ने थियो र मैले त्यसै गरेँ पनि।”
१६ उच्च शिक्षाले तिनको सोचाइमा कस्तो प्रभाव पाऱ्यो? तिनी भन्छिन्: “भन्न पनि लाज लाग्छ, उच्च शिक्षाले गर्दा म अरूप्रति आलोचनात्मक हुन थालेँ, विशेषगरि मण्डलीका दाजुभाइ दिदीबहिनीप्रति। मैले उहाँहरूबाट बढ्तै माग गर्न थालेँ र उहाँहरूबाट टाढिन थालेँ। यस्ता गलत झुकावहरू हटाउन मलाई धेरै समय लाग्यो। यहोवाले आफ्नो सङ्गठनमार्फत दिनुभएका चेतावनीहरूलाई बेवास्ता गर्नु कत्ति ठूलो खतरा हो भन्ने कुरा मैले आफ्नै अनुभवबाट सिकेँ। यहोवाले मलाई म आफैले भन्दा राम्ररी चिन्नुभएको रहेछ। मैले उहाँको कुरा सुनेको भए यस्तो हुने नै थिएन!”
१७. (क) हामीले कस्तो सङ्कल्प गर्नुपर्छ? (ख) यसपछिको लेखमा हामी के छलफल गर्नेछौँ?
१७ सैतानको यस संसारमा व्याप्त “मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरू”-को कैदी कहिल्यै नबन्न दृढ सङ्कल्प गर्नुहोस्। सैतानका चालहरूविरुद्ध निरन्तर लड्नुहोस्। (१ कोरि. ३:१८; २ कोरि. २:११) सैतानलाई यहोवाप्रतिको तपाईँको दृष्टिकोणलाई कहिल्यै धमिलो बनाउन नदिनुहोस्। उहाँका उच्च नैतिक स्तरहरूअनुसार जीवन बिताउनुहोस्। अनि सैतानले तपाईँलाई यहोवाका सल्लाहहरूलाई बेवास्ता गर्न लगाउँदा त्यसको बहकाउमा नपर्नुहोस्। तर तपाईँलाई संसारको सोचाइले असर गरिसकेको चाल पाउनुभयो भने नि? परमेश्वरको वचनले हामीलाई “गहिरो जरा गाडेर बसेका” विचार र आनीबानीलाई समेत उखेल्न कसरी मदत गर्न सक्छ, त्यसबारे यसपछिको लेखमा छलफल गर्नेछौँ।—२ कोरि. १०:४, ५.
गीत ४९ यहोवाको मन खुसी राखौँ!
a सैतान मानिसहरूलाई बहकाउन माहिर छ। सैतान थुप्रै मानिसलाई तिनीहरू स्वतन्त्र छन् भनेर झुक्क्याउन सफल भएको छ तर वास्तवमा त्यसले तिनीहरूलाई आफ्नो कैदी बनाएको छ। यस लेखमा मानिसहरूलाई बहकाउन सैतानले चल्ने केही चालबारे छलफल गर्नेछौँ।
b चित्रको व्याख्या: कनानीहरूसित सङ्गत गर्ने इस्राएलीहरूलाई बाआलको उपासना गर्ने र अनैतिक काममा भाग लिने प्रलोभन आउँछ।
c चित्रको व्याख्या: समलिङ्गी सम्बन्धलाई समर्थन गर्ने चर्चको विज्ञापन।
d चित्रको व्याख्या: एउटी जवान बहिनी विश्वविद्यालयमा जान थालेकी छिन्। प्राध्यापकले विज्ञान र प्रविधिले मानवजातिको समस्या समाधान गर्न सक्छ भनेर बताउँदा उनी र उनका साथीहरू दङ्ग परेर सुनिरहेका छन्। पछि उनलाई सभाको कार्यक्रममा कुनै चासो नभएको जस्तो देखिन्छ र उनी अरूप्रति आलोचनात्मक भइरहेकी छिन्।