प्रश्न पेटी
▪ अरूहरूलाई वितरण गर्न सोसाइटीका प्रकाशनहरूलाई फेरि छाप्नु के उचित छ?
बाइबलको ज्ञान सम्बन्धी लगभग हरेक पक्षका थुप्रै प्रकारका प्रकाशनहरूलाई सोसाइटीले वषौंदेखि उत्पादन गरेको छ। भर्खरै सत्य सिकेका केही व्यक्तिहरूले शायद बितेका समयमा प्रकाशित भएका तर अहिले सोसाइटीसँग उपलब्ध नभएका प्रकाशनहरूको फाइदाबाट आफू वञ्चित भएको अनुभव गर्न सक्छन्। ती पुरानो प्रकाशनहरू प्राप्त गर्न केही व्यक्तिहरूले निकै नै प्रयास गरेका छन् तर कसै-कसैले भने सोसाइटीका प्रकाशनहरूलाई आफैले छपाएर विभिन्न तरिकाद्वारा त्यसलाई उपलब्ध गराएका छन्। तिनीहरूले ती प्रकाशनहरूलाई या त पुन मुद्रण वा कम्प्युटरद्वारा नकल गरेका छन्। कहिलेकाहीं यस्ता कामहरू वित्तिय नाफा कमाउनका लागि समेत गरिएको छ।
हाम्रो आध्यात्मिक आवश्यकताहरूको विषयमा बुद्धिमान “दास” सजग छन् र “ठीक ठीक समयमा” प्रबन्धहरू पनि गर्छन्। बितेका समयमा प्रकाशित भएका प्रकाशनहरूलाई जहिले जहिले फेरि वितरण गर्न आवश्यकता परेको छ तब तब सोसाइटीले त्यसको प्रबन्धहरू पनि गर्दै आएको छ। उदाहरणका लागि १९६० देखि १९८५ सालको द वाचटावर-को सजिल्द खण्डहरूलाई फेरि छपाएर त्यसलाई सबैको निम्ति उपलब्ध गराइएको छ। तथापि, कुनै व्यक्ति विशेषहरू त्यस्ता सामग्रीहरूलाई आफै फेरि उत्पादन गर्ने र वितरण गर्न अग्रसर हुन्छन् भने त्यसले नचाहिने समस्याहरू खडा गर्न सक्छ।
वित्तिय फाइदाको निम्ति यी सामग्रीहरूलाई फेरि उत्पादन र वितरण गर्दा गम्भीर समस्याहरू खडा हुन सक्छ। जुलाइ १९७७-को आवर किङ्गडम मिनिस्ट्री-को प्रश्न पेटीमा यो कुरा उल्लेख गरिएको थियो: “राज्य भवनमा, मण्डली पुस्तक अध्ययनहरूमा र यहोवाका जनहरूको सम्मेलनहरूमा व्यापारिक फाइदाका निम्ति कुनै सामानहरू वा सेवाहरूको बिक्री सुरुआत गरेर अथवा विज्ञापन गरेर ईश्वरतान्त्रिक सङ्गतीहरूको नाजायज फाइदा नउठाउनु नै बेस हुनेछ। यस कुराले हामीलाई आध्यात्मिक कुराहरूमा पूरा ध्यान दिन र व्यापारिक क्रियाकलापहरूलाई त्यसको उचित स्थानमा राख्न मदत दिनेछ।” त्यसकारण परमेश्वरको वचन वा त्यससित सम्बन्धित कुराहरूलाई व्यापारिकरण गर्नुपर्दा हामीहरू नाफाको धुनमा नपर्नु नै महत्त्वपूर्ण कुरा हो।