एकाग्रचित्तकासाथ बाइबल अध्ययनहरू खोज्नुहोस्
१ यो पुरानो संसार बित्दै छ भन्ने थुप्रै प्रमाणहरू छन्। (२ तिमो० ३:१-५) यसको अर्थ के हो? यसको अर्थ मानिसहरूको जीवन खतरामा छ। तथापि, केही व्यक्तिहरूलाई बच्न मदत दिनु हाम्रो हातको कुरा हो। (हितो० ३:२७) यस उद्देश्यलाई पूरा गर्न हामीले एकाग्रचित्तका साथ बाइबल अध्ययनहरू सुरु गर्ने र सञ्चालन गर्ने प्रयास गर्नुपर्छ।
२ बाइबलमा आधारित हाम्रा प्रकाशनहरूको वितरणले धेरै राम्रो उपलब्धि भएको छ। तर मानिसहरूलाई खासगरि नियमित गृह बाइबल अध्ययनद्वारा व्यक्तिगत मदतको सबैभन्दा बढी खाँचो छ। यो कुरा बुझ्न हामी तिनीहरूलाई कसरी मदत दिन सक्छौं?
३ धेरै मानिसहरूलाई चासो लाग्ने विषयहरुमा हामी प्रश्न उठाउन सक्छौं। नैतिकतामा यस्तो तीव्र ह्रास किन भइरहेको छ, पारिवारिक जीवन यत्तिको अस्थिर किन छ, हिंसा र अपराध त्यत्तिको त्रासपूर्ण किन छ, एक जना मायालु परमेश्वरले वर्तमान परिस्थितिहरूलाई किन रहिरहन दिनुभएको छ र यस्तै प्रकारका अरू प्रश्नहरू उठाउन सक्छौं। तपाईंको इलाकाका मानिसहरूलाई विशेष चासो लाग्ने विषयहरू र घटनाहरूबारे जागरूक हुनुहोस्। बाइबलबाट ती प्रश्नहरूको स्पष्ट जवाफहरू देखाउनुहोस्। यी कुराहरू र हामीलाई असर पार्ने अन्य महत्त्वपूर्ण विषयहरूबारे बाइबलले के भन्छ भनेर सिक्न हामीले वितरण गर्ने प्रकाशनहरूले कसरी मदत गर्छ, सो देखाउनुहोस्।
४ घरधनीलाई वार्तालापमा सामेल गराउनु महत्त्वपूर्ण छ। तिनलाई कुन कुरामा चासो छ त्यो बुझ्न सजग हुनुहोस्। तिनका चासोहरू अथवा चिन्ताहरूबारे कुरा गरेर आफ्नो वार्तालापलाई बढाउनुहोस्। मानवजातिका समस्याहरूको निम्ति बाइबलले देखाएको समाधानलाई व्याख्या गर्ने पुस्तक, पुस्तिका, पत्रिका अथवा पर्चाहरुमा भएको जानकारीमा ध्यान आकर्षित गर्नुहोस्। त्यस घरबाट निस्कनु अघि एक या दुईवटा प्रश्न सोध्नुहोस् जसले गर्दा तिनले तपाईंको अर्को भेटको अपेक्षा गर्नेछ। तपाईं पुनः फर्केर जाँदा, ती प्रश्नहरू याद दिलाउन नबिर्सनुहोस् र त्यसपछि बाइबलमा दिइएका जवाफहरू पत्ता लगाउन साहित्यको प्रयोग गर्नमा तिनलाई मदत गर्नुहोस्।
५ हामीले बाइबल अध्ययनहरू सुरु गरेर त्यसलाई नियमित रूपमा सञ्चालन गर्दा मानिसहरूको जीवनमा परिवर्तनहरू आउन सक्छन्। क्षेत्र सेवकाईमा अथवा अनौपचारिक साक्षीहरू दिंदा भेटिने मानिसहरूका चिन्ताहरूप्रति हामीले साँचो चासो देखाउनु आवश्यक छ। तिनीहरूको चासोलाई क्रमशः बढाउँदै लान राम्रो तयारीको आवश्यकता पर्दछ। नियमित तवरमा आध्यात्मिक आहार प्रबन्धको लाभ उठाउने बानी तिनीहरूको नबसुन्जेल बारम्बार पुनः भेट गरिरहन धीरजको खाँचो पर्दछ। मानिसहरूमा मायालु चासो भएमा यसो गर्न सकिन्छ। आउँदै गरेको भयानक विनाशबाट बच्न तिनीहरूलाई मदत दिन हामी साँच्चै नै इच्छुक हुनुपर्छ। हाम्रो बाइबल अध्ययन कार्यलाई नियमित र एकाग्रचित्त प्रार्थनाको विषय बनाउनु पर्छ।—१ थिस्स० ५:१७.
६ बितेका तीन सालमा झन्डै दश लाख मानिसहरू बप्तिस्माप्राप्त चेलाहरू भएको हेर्न पाउनु एकदमै प्रोत्साहनवर्धक कुरा हो। (मत्ती २८:१९, २०) अहिले प्रत्येक महिना करिबन् साढे चार लाख बाइबल अध्ययनहरू हामीले सञ्चालन गरिरहेका छौं र यसले अरूहरूको जीवनप्रति हाम्रो चासोलाई देखाउँछ। तपाईंको बारेमा के भन्न सकिन्छ? गृह बाइबल अध्ययन कार्यमा भाग लिन के तपाईंले एकाग्रचित्तका साथ प्रयत्न गरिरहनुभएको छ? यस विषयमा हाम्रो विश्वासीलोपनामा नै हाम्रो र अरुहरूको जीवन निर्भर छ भन्ने कुरा नबिर्सनुहोस्।—इजकि० ३:१७-१९.