अरूको ख्याल राख्नुहोस्—भाग १
१ यहोवाका जनहरूको संवृद्धि देख्दा हामी रमाउँछौं। यसले गर्दा मण्डलीहरूको सङ्ख्यामा वृद्धि भएको छ। केही शहरहरूमा थुप्रै मण्डलीहरूले एउटै राज्य भवन प्रयोग गर्नु परेको छ। यो परिस्थितिले गर्दा सम्बन्धित सबैले थप ख्याल राख्नुपर्ने हुन्छ।
२ प्रत्येक मण्डलीले राज्य भवन प्रयोग गरिसके पश्चात् आउने भाइहरूका लागि सफा र व्यवस्थित छोड्नुपर्छ। मेचहरू व्यवस्थित ढङ्गमा राखिएको हुनुपर्छ, काउन्टरमा छाडिएका साहित्यहरू ठाउँ ठाउँमा राख्नुपर्छ र राज्य भवनमा जताततै छरिएका व्यक्तिगत सरसामानहरू बटुल्नुपर्छ। साबुन, रूमाल तथा अन्य सरसामानहरू सबै छन् कि छैनन् हेरेर अनि फोहोर फ्याँकेर शौचालयहरू सफासुग्घर छाड्नुपर्छ। एउटै मण्डलीले मात्र राज्य भवन प्रयोग गर्दा पनि यसो गर्नु बेस हुनेछ। थुप्रै मण्डलीहरू सभापश्चात् सबैजसो सफाइ गर्न रूचाउँछन् र अर्को सभाअघि अलिअलि मात्र कुचो लाउने तथा पुछपाछ गर्छन्। सभाअघि सम्पूर्ण सफाइ गर्नुभन्दा तिनीहरू यसो गर्न रूचाउँछन् किनभने पूर्णतया भवन सफा गर्न सबै जना पर्याप्त समय अगावै आउन सक्दैनन् र सभा सुरु हुनुभन्दा कमसेकम बीस मिनेटअघि सफाचट्ट गर्न गाह्रो हुन्छ। साथै, सभामा आउने सबैजना सफासुग्घर हुन चाहन्छन् र विषेशगरि सभाको कार्यक्रममा तिनीहरूको भाग छ भने त झनै सफा हुन चाहन्छन्। अतः तिनीहरू सभाअघि सफाइ कार्यमा पूर्ण सहभागी हुन नरूचाउन सक्छन्।
३ साथै, थोरै समयपश्चात् अर्को मण्डलीको सभा सुरु हुन्छ भने अगिल्लो सभापछि बाँकी व्यक्तिहरू अनावश्यक तवरमा हल्लिरहनु बेस होइन। यसो गर्दा अर्को मण्डलीको तयारीमा बाधा पुग्न सक्छ। लामो कुराकानीले गर्दा भवनभित्र पस्ने ठाउँमा भीड हुन सक्छ र अर्को सभाअघि सबै कामकुरा व्यवस्थित गर्न भाइहरूलाई ढिला हुन सक्छ। कुनै कुनै राज्य भवनमा पार्किङ्ग ठाउँ सानो हुन सक्छ; त्यसकारण पछि आउनेहरूलाई पार्क गर्न ठाउँ हुने गरी छिट्टै फर्कनु दयालु कार्य हुनेछ। अर्कोतिर, अर्को सभा धाउने व्यक्तिहरू पनि असाध्यै चाँडै आएर भवनभित्र पस्ने ठाउँमा, लुगा झुण्ड्याउने ठाउँ र पार्किङ्ग ठाउँमा अनावश्यक हुलमुल गर्नु हुँदैन।
४ थुप्रै मण्डलीहरू संलग्न छन् भने राज्य भवनको साप्ताहिक सफाइ कार्यक्रममा सहयोग गर्न विशेष खाँचो हुन्छ। प्रायजसो, मण्डलीहरूले निश्चित समयावधिको लागि पालैपालो राज्य भवन सफा गर्छन्। त्यो जिम्मेवारी तपाईंको मण्डलीले पाएको छ भने अर्को मण्डलीले कुनै गुनासो गर्न नपाउने गरी भवनलाई पूर्णतया र छिटो सफा गर्न नभुल्नुहोस्।
५ परिभ्रमण निरीक्षकको भ्रमणजस्ता अवसरहरूमा कहिलेकाहीं मण्डलीहरूले सभाको समय परिवर्त्तन गर्नु पर्ने हुन्छ। त्यसो गर्नाले अर्को मण्डलीलाई असर पर्छ भने यथासम्भव छिटो त्यस मण्डलीका प्राचीनहरूलाई सूचित गर्नुपर्छ ताकि उहाँहरूले आफ्ना प्रकाशकहरूलाई यथासम्भव चाँडो सूचना दिन सकून्। साथै, अग्रगामी सेवकाई पाठशाला, परिभ्रमण निरीक्षकहरूका सभा, विवाहजस्ता ग्राह्य क्रियाकलापहरू आयोजित गरिएको छ भने अर्को मण्डलीहरू र सम्बन्धित परिभ्रमण निरीक्षकहरूसित अगावै सल्लाह लिनुपर्छ। ताकि त्यही समयमा राज्य भवन प्रयोग गर्ने अन्य प्रबन्ध नगरियोस्।
६ अरूको मायालु ख्याल राख्नुको साथै राम्रो सञ्चार, पूर्वतयारी र सहयोगले मण्डलीहरूबीच न्यानो सम्बन्ध कायम गर्न मदत मिल्नेछ। अनि “सबै काम शिष्ट रूपले र नियमपूर्वक” हुनेछ।—१ कोरि. १४:४०.