प्रचार–कार्य—गौरवपूर्ण सुअवसर
१ सुसमाचारको सेवकाई, यहोवाले हामीलाई दिनुभएको गौरवपूर्ण सुअवसर हो। (रोमी १५:१६; १ तिमो. १:१२) के तपाईं त्यस्तै धारणा राख्नुहुन्छ? समय बित्दै जाँदा वा कसैले खिल्ली उडाउँदा हामीले त्यसको महत्त्व कम हुन दिनु हुँदैन। थोरै व्यक्तिलाई मात्र परमेश्वरको नाउँ वहन गर्ने सम्मान दिइएको छ। यस्तो सुअवसरप्रति हामी आफ्नो मूल्यांकन कसरी बढाउन सक्छौं?
२ राज्य समाचार प्रचार गर्दा हामीले संसारको अनुमोदन पाउँदैनौं। धेरैले हाम्रो कामप्रति उदासीनता वा भावशून्यता प्रकट गर्छन्। अरू चाहिं हाम्रो कामको खिल्ली उडाउँछन् र विरोध गर्छन्। सहकर्मी, छिमेकी वा परिवारका सदस्यहरूबाट त्यस्तो विरोध आउन सक्छ। तिनीहरूको दृष्टिमा शायद हामी बहकिएका वा मूर्खजस्तो देखौंला। (यूह. १५:१९; १ कोरि. १:१८, २१; २ तिमो. ३:१२) तिनीहरूका निरुत्साहजनक टिप्पणीहरूले हाम्रो जोशलाई धमिलो पार्न र हामीलाई सुस्त बनाउन अथवा हाम्रो गौरवपूर्ण सुअवसर त्याग्न बाध्य तुल्याउन सक्छ। “महिमाको सुसमाचार तिनीहरूमाथि नचम्कोस भनेर . . . अविश्वासीहरूको समझशक्तिलाई अन्धा” तुल्याइदिने शैतानले त्यस्ता नकारात्मक दृष्टिकोणहरू प्रवर्द्धन गर्छ। (२ कोरि. ४:४) तपाईं कस्तो प्रतिक्रिया व्यक्त गर्नुहुन्छ?
३ आज मानिसले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण काम राज्य प्रचार हो भनेर हामीले मनमा राख्नु अत्यावश्यक छ। अरू कुनै उपायद्वारा पाउन नसकिने जीवनदायी समाचार हामीसँग छ। (रोमी १०:१३-१५) मानिसहरूको भन्दा परमेश्वरको अनुमोदन पाउनु सबैभन्दा ठूलो कुरा हो। यस संसारले हाम्रो प्रचार–कार्यप्रति नकारात्मक दृष्टि राख्दैमा त्यसले हामीलाई निर्भयतासाथ सुसमाचार घोषणा गर्नदेखि रोक्न सक्दैन।—प्रे. ४:२९.
४ आफ्नो पिताको इच्छा गर्ने सुअवसरलाई येशूले ठूलो मोलको सम्झनुभयो। (यूह. ४:३४) उहाँले आफूलाई पूर्णतया सेवकाईमा अर्पण गर्नुभयो। र कुनै अलमल्याउने कुरा वा विरोधीहरूद्वारा आफ्नो जोश धमिलो पार्ने मौका दिनुभएन। राज्य समाचार प्रचार गर्ने कार्यलाई उहाँले सधैं प्राथमिकता दिनुभयो। (लूका ४:४३) उहाँको उदाहरण अनुकरण गर्न हामीलाई आज्ञा दिइएको छ। (१ पत्रु. २:२१) त्यसो गऱ्यौं भने हामीले “परमेश्वरको सहकर्मी” भएर सेवा गरिरहेका हुनेछौं। (१ कोरि. ३:९) के हामीले यस सुअवसरको पूर्ण लाभ उठाइरहेका छौं? के हामी औपचारिक र अनौपचारिक दुवै ढंगमा सुसमाचार बाँड्ने मौका खोज्छौं? यहोवाका साक्षीहरूको हैसियतमा हामी सधैं “उहाँको नाउँ जनसमक्ष घोषणा” गर्न तयार हुनुपर्छ।—हिब्रू १३:१५ न्युव
५ हामीले सेवकाईमा कति भाग लिन्छौं भन्ने कुरा हाम्रो मनोवृत्तिमा निकै भर पर्छ। यहोवाले हाम्रो निम्ति जे-जति गर्नुभयो के हामी त्यसको गहिरो मूल्यांकन गर्छौं? के हामीले आफ्नो हृदयमा यहोवाप्रति त्यस्तो प्रेम जगाएका छौं जसले हामीलाई उहाँको सेवामा यथाशक्य गर्न उत्प्रेरित गर्छ? हामीले अहिले आनन्द उठाइरहेका आशिष्हरूका साथै हाम्रो भविष्यका लागि उहाँले प्रतिज्ञा गर्नुभएका कुराहरूमा मनन गऱ्यौं भने सृष्टिकर्ताप्रति हाम्रो प्रेम बढ्नेछ। त्यस्तो प्रेमले हामीलाई काम गर्न अर्थात् हाम्रो परिस्थितिले भ्याएसम्म राज्य प्रचार–कार्यमा नियमिततापूर्वक लागिरहन उत्प्रेरित गर्नेछ। अनि हाम्रो जोशले यहोवा र छिमेकीहरूप्रति हाम्रो प्रेमको प्रमाण दिनेछ।—मर्कू. १२:३०, ३१.
६ कुनै कुरालाई हामी कसरी लिन्छौं र त्यसबारे कतिको कुरा गर्छौं, त्यसैबाट हामी त्यसको कति मूल्यांकन गर्छौं भनेर झल्कन्छ। राज्य प्रचार गर्न हामीले पाएको सुअवसरलाई के हामी साँच्चै मोल गर्छौं? के हामी आफ्नो सेवामा घमण्ड गर्न सक्छौं? के हामी विरोधको बावजूद यस अत्यावश्यक काममा डटिरहन कटिबद्ध छौं? यस अद्भुत सुअवसरलाई ठूलो मोलको सम्झन्छौं भने हामी अवश्य जोश र पूर्ण हृदयका साथ त्यसमा लाग्नेछौं।—२ कोरि. ४:१, ७.