तयारी—सफलताको कुञ्जी
१ सेवकाईका लागि अग्रिम तयारी गरेको छ भने, क्षेत्र सेवकाईमा भाग लिंदा महसुस हुने हिचकिचाहट वशमा ल्याउन सकिन्छ। ढोका ढकढक्याउँदा घरधनीलाई के भन्ने हो, त्यो तपाईंलाई थाह हुनेछ। आफूमाथि आइपर्नसक्ने कठिन परिस्थितिहरूले गर्दा तपाईं विचलित हुनुपर्ने छैन। सेवकाईमा तपाईंले यथाशक्य प्रयत्न गर्नुभयो भन्ने लागेको छ भने घर फर्कंदा तपाईं प्रोत्साहित हुनुहुनेछ। हो, हाम्रो प्रचारकार्य तथा शिक्षण कलालाई तिखार्ने कुञ्जी नै पूर्ण तयारी हो।
२ “खुट्टामा मिलापको सुसमाचारको तयारीका जुत्ता लगाओ” भन्ने आग्रह गरेर पावलले तयारी गर्नुपर्ने आवश्यकतालाई जोड दिए। (एफि. ६:१५) यसको अर्थ, हामीले हाम्रो मन तथा हृदयलाई तयार गर्नुका साथै सकारात्मक हुनु र इच्छुक मनोवृत्ति हासिल गर्नु हो। अरूसित सच्चाइ बाँड्न तयार हुँदा हामीले आफ्नो मेहनतको फल पाउनेछौं। र यो परमेश्वरको राज्य फल हो, जसले हामीलाई आनन्दित तुल्याउँछ।—प्रेरित २०:३५.
३ प्रचार कार्यको लागि कसरी तयारी गर्ने: रीजनिङ (तर्क) (नेपालीमा उपलब्ध छैन) पुस्तक वा हाम्रो राज्य सेवकाई-को अन्तिम पातोमा सुझावित प्रस्तुतिहरूमध्ये हामीलाई सजिलो लाग्ने प्रस्तुति छान्नुपर्छ। चलाउनुहुने शास्त्रपद र मुख्य बुँदालाई जोड दिने खालका शब्द तथा वाक्यांश राम्ररी विचार गर्नुहोस्। प्रस्तुति कण्ठ गर्नु आवश्यक छैन। यसको साटो आफ्नै शब्दमा के भन्ने हो मनमा राख्नु र श्रोतालाई मन पर्ने ढंगमा प्रस्तुत गर्नु असल हुनेछ।
४ प्रस्तुत गर्ने विचार गर्नुभएको प्रकाशनलाई जाँच्नुहोस् र त्यसबाट केही रोचक वार्तालापीय बुँदा छान्नुहोस्। तपाईंको क्षेत्रका मानिसहरूलाई चासो लाग्नसक्ने खालका विषय छान्नुहोस्। बेग्लाबेग्लै घरधनीहरू अर्थात् पुरुष, स्त्री, वृद्ध वा जवान व्यक्तिहरूका लागि प्रस्तुति कसरी काँटछाँट गर्ने, विचार गर्नुहोस्।
५ के तपाईंले प्रस्तुति अभ्यास गर्ने कोसिस गर्नुभएको छ? कुन चाहिं प्रस्तुति प्रभावकारी हुनेछ, त्यो परिवारका सदस्यहरू वा अन्य प्रकाशकहरूसित छलफल गर्नुहोस् र त्यसपछि ठूलो स्वरमा ती प्रस्तुति पूर्वाभ्यास गर्नुहोस्। यसो गर्नुभयो भने सबैको मनमा ती ठप्प बस्नेछ। क्षेत्रमा सामना गर्नसकिने वास्तविक परिस्थिति र विरोधको जीवन्त अभ्यास गर्ने प्रयत्न गर्नुहोस्। यस्ता अभ्यासले गर्दा तपाईंले सरर्र बोल्ने तरिकामा उन्नति गर्न, प्रचारकार्यमा आफ्नो प्रभावकारिता र मनोबल बढाउन सक्नुहुनेछ।
६ आफ्नो प्रस्तुति तयार तथा अभ्यास गर्नुको अतिरिक्त तपाईं आफैलाई यसरी सोध्न सक्नुहुन्छ: ‘सेवकाईमा जाँदा मैले लगाउन विचार गरेको लुगा के सुहाउँदो छ? मैले चलाउन खोजेको साहित्यलगायत मलाई चाहिने अन्य सामानहरू के मेरो झोलामा छ? के त्यो प्रस्तुत गर्न लायकको छ? के मसित व्यक्तिगत रीजनिङ (तर्क) पुस्तक, पर्चा, घर-घरको रिकर्ड कार्डहरू तथा कलम छ?’ विचार पुऱ्याएर अग्रिम योजना बनाउनाले सेवकाईमा बिताउने समयलाई अझ फलदायी बनाउन मदत गर्नेछ।
७ हामीले आफैलाई तयार पार्न यथासम्भव राम्रो कोसिस गरेपछि यहोवालाई प्रार्थना गरेर सफलताका लागि उहाँको आत्मा माग्नसक्छौं। (१ यूह. ५:१४, १५) होशियारीपूर्वक तयारी गरेका छौं भने, ‘सेवाको काम पूरा’ गर्दा हामीले आफ्नो कामबाट आनन्द प्राप्त गर्नेछौं।—२ तिमो. ४:५.