प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 जनवरी pp. ४-६
  • हामी परमेश्‍वरको भवनलाई त्याग्नेछैनौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी परमेश्‍वरको भवनलाई त्याग्नेछैनौं
  • हाम्रो राज्य सेवकाई—१९९७
  • उपशीर्षकहरू
  • के प्रत्येक मण्डलीको आफ्नै राज्यभवन हुनुपर्छ?
  • क्षेत्रीय निर्माण समितिको भूमिका
  • राज्यभवनको आर्थिक स्रोतको प्रबन्ध
  • राज्यभवन सहयोग प्रबन्ध
हाम्रो राज्य सेवकाई—१९९७
km97 जनवरी pp. ४-६

हामी परमेश्‍वरको भवनलाई त्याग्नेछैनौं

१ “स्त्री, बालक र तिमीहरूका शहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर—र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरका भय मान्‍न सिकून्‌ औ यस व्यवस्थाका सबै आज्ञा होशियारीसाथ पालन गरून्‌।” (व्यव. ३१:१२) प्राचीन समयमा इस्राएलीजातिलाई नियमित रूपमा भेला हुन दिइएको जस्तै सल्लाह पावलले हिब्रू १०:२५ मा मसीहीहरूलाई पनि दिए। त्यही सल्लाह आज पनि यहोवाका सबै साँचा उपासकहरूमा उत्तिकै लागू हुन्छ। सभाहरू हाम्रो उपासनाको महत्त्वपूर्ण भाग हो भन्‍ने कुरा यसबाट थाह हुन्छ। एकै ठाउँमा भेला हुनुको उद्देश्‍य सुन्‍न, सिक्न र यहोवाबाट सिकाइएका हुन हो। (यशै. ५४:१३) यस्ता सभाहरू पुरातन समयका इस्राएलीहरूका लागि जस्तै हाम्रोलागि पनि आनन्दमय अवसरहरू हुन्‌। यसले हामीमा दाऊदको जस्तै भावना जगाउँछ। उनले यसरी लेखे: “जब तिनीहरूले मलाई भने, ‘परमप्रभुको भवनमा जाऔं’ तब म रमाएँ।’ ” (भज. १२२:१) यहोवाको भवनप्रतिको जोसले नहेम्याहलाई यसो भन्‍न उक्सायो, “हामी परमेश्‍वरको भवनलाई त्याग्नेछैनौं।”—नहे. १०:३९.

२ मसीहीजगत्‌का कुनै कुनै साजसज्जापूर्ण एकदमै मनमोहक चर्चजस्तो नभई यहोवाका साक्षीहरूको उपासना गर्न भेला हुने थलो साधारण तर रमाइलो अनि त्यहाँको वातावरण न्यानो हुन्छ। त्यस ठाउँलाई नै राज्यभवन भनिन्छ। सन्‌ १९३५ मा सोसाइटीका तत्कालीन अध्यक्ष भाइ जे. एफ. रदरफर्डले हवाइ टापुको भ्रमणको क्रममा सभा गर्ने घर बनाउने प्रबन्ध गर्दा यो नाउँ पहिलो चोटि प्रयोग गरिएको थियो। अहिले सारा संसारभरि यही नाउँ नै चलनचल्तीमा छ। सन्‌ १९६१ को वेब्स्टर्स अनअब्रीज्ड डिक्स्नरी-अनुसार राज्यभवन भनेको “स्थानीय यहोवाका साक्षीहरूको धार्मिक सेवाहरू सञ्चालन गर्न भेला हुने ठाउँ हो।” राज्यभवन उपासनाको थलो भएकोले यसको भव्यताले मात्रै अरूलाई प्रभाव पार्ने किसिमको सरसजावटपूर्ण हुनु हुँदैन। ठाउँअनुसार यसको ढाँचा फरक भए तापनि यसको प्रयोगको उद्देश्‍य भने एउटै हुन्छ।—प्रेरि. १७:२४.

के प्रत्येक मण्डलीको आफ्नै राज्यभवन हुनुपर्छ?

३ स्थानीय मण्डलीको आफ्नै राज्यभवन हुनुपर्छ कि पर्दैन भन्‍ने कुरा सोसाइटीले निर्णय गर्दैन। किनकि यो स्थानीय मण्डलीभित्रै निर्णय गर्नुपर्ने कुरा हो। कुनै कुनै मण्डलीले आफ्नै राज्यभवन बनाएका छन्‌, कसैले भने भाडामा लिएको घरमै सभाहरू सञ्चालन गर्छन्‌। तर जे होस्‌ सभा गर्ने स्थान भने चिटिक्क परेको, सफा र यहोवाको उपासनाको उच्चस्तर झल्काउने हुनुपर्छ। यहाँ सभाहरू हुँदा मित्रैलो वातावरण छर्लंगै देखिनुपर्छ। युनियन मेथोडिस्टका पादरीले यहोवाका साक्षीहरूको एउटा राज्यभवनमा भएको सभामा उपस्थित भएपछि यसो भने, “त्यो ठाउँमा हामीलाई त्यतिविधि हेरविचार गर्लान्‌ भनेर मैले कल्पनै गरेको थिइनँ। चर्चको कामबाट छुट्टीका दिनहरूमा हामी गएका अरू २० वटा मण्डलीमा भन्दा त्यहाँ हामीलाई हृदयदेखि नै स्वागत गरेको पायौं। तिनीहरूले हामीलाई कहिल्यै बेवास्ता गरेनन्‌। त्यो मण्डलीका सदस्यहरू चाहिं खुलेर हाँस्ने, साँच्चै एकअर्काको ख्याल गर्ने थिए र तिनीहरूले परमेश्‍वरको वचन बुझाउन जति प्रयत्न गर्छन्‌ त्यति नै नचिनेका मानिसहरूलाई समेत रेखदेख र विचार पुऱ्‍याउन प्रयत्न गर्छन्‌।”

४ हाल कतिपय मण्डलीहरूको आर्थिक अवस्था कमजोर भएकोले आफ्नै राज्यभवन नहुन पनि सक्छ भन्‍ने कुरा बिर्सनु हुँदैन। साथै, कुनै ठाउँमा भवन निर्माण गर्ने वा किन्‍ने काम बढी झमेलापूर्ण हुने हुनाले भाडामा लिनु नै बढी सजिलो हुन्छ। तापनि, धेरैजसो मण्डलीहरूले जग्गा किन्‍ने र आवश्‍यकताअनुसारको आफ्नै राज्यभवन बनाउन रोजेका छन्‌। अथवा तिनीहरूले पुरानो भवन किनेर राम्ररी मरमत गर्छन्‌। हुन त प्रत्येक मण्डलीको आफ्नै राज्यभवन हुँदा पक्कै पनि धेरै फाइदा हुन्छ। उदाहरणका लागि, केरला प्रान्तका एक क्षेत्रीय निरीक्षकले यस्तो रिपोर्ट दिए, दुइटा मण्डलीले आ-आफ्नै राज्यभवन बनाएका थिए। एक वर्ष पनि पुग्न नपाउँदै सभाको उपस्थिति संख्या यति बढ्यो कि तिनीहरूले भिन्‍नाभिन्‍नै समयमा दुइ पटक गरेर सभाहरू सञ्चालन गर्नुपर्ने भयो। राज्यभवन बनाउँदा साक्षीहरूले आर्थिक तवरमा सघाउने मौका पाउँछन्‌, निर्माण कार्यमा स्वयंसेवी हुनपाउँछन्‌ र यसको सरसम्भार गर्न, सरसफाई गरेर सभाको लागि उपयुक्‍त बनाउन र राम्रो अवस्थामा राख्ने मौका पनि पाउँछन्‌। यस्ता मौकाहरूलाई साक्षीहरूले सुअवसर नै सम्झनुपर्छ। राज्यभवनभित्र र बाहिरको वातावरण पनि यहोवा र उहाँको संगठनलाई झल्काउने हुनुपर्छ।

५ कुनै मण्डलीले आफ्नोलागि राज्यभवन निर्माण गर्नसक्ने जस्तो लागेमा के गर्नुपर्छ? यो कुरा स्थानीय भाइहरूले नै निर्णय गर्नुपर्छ। जग्गा जुटाउने योजना गर्दा र राज्यभवन बनाउँदा गर्नुपर्ने कार्यविधिहरूको रूपरेखा सोसाइटीले जानकारी दिंदै आएको छ। यसलाई व्यवस्थित ढंगले पछ्याउनुपर्छ। यसमा मण्डलीका सम्पूर्ण सदस्यहरू सहमत छन्‌ कि छैनन्‌ बुझेर थप जानकारीको लागि सोसाइटीको राज्यभवनसम्बन्धी विभागसँग सम्पर्क राख्नुपर्छ। जग्गा किन्‍नुभन्दा पहिले धेरै कुरामा ध्यान पुऱ्‍याउनुपर्छ। स्थानीय क्षेत्रको नीतिनियम, भवन नियमावली र धार्मिक उद्देश्‍यको लागि भवन निर्माण गर्दा स्वीकृति लिन ध्यान दिनुपर्ने कुराहरू पहिलेदेखि नै विचार पुऱ्‍याउनुपर्ने कुराहरू हुन्‌।

क्षेत्रीय निर्माण समितिको भूमिका

६ सोसाइटीले दक्ष र आध्यात्मिकतामा परिपक्व प्राचीनहरू समावेश भएको क्षेत्रीय निर्माण समिति खडा गरेको छ। अंग्रेजीमा यसलाई रिजनल विल्डिंग कमिटी (आर बि सी ) भनिन्छ। यसले राज्यभवन निर्माणसम्बन्धी आवश्‍यक निर्देशन दिन्छ। पाँच सदस्यहरू भएको यस समितिले तपाईंको इलाका, मण्डलीको आर्थिक अवस्था र कति ठूलो बनाउनु आवश्‍यक छ, यी कुराहरू विचार गरेर जग्गा किन्‍न अनि सुहाउँदो राज्यभवन निर्माण गर्न सल्लाह दिन्छ। यस समितिले स्थानीय राज्यभवन निर्माण समितिको सट्टा काम गर्ने होइन तर त्यसको निर्माण योजनामा सहयोग पुऱ्‍याउँछ। जग्गा किन्‍नुभन्दा पहिले स्थानीय निर्माण समितिले क्षेत्रीय निर्माण समितिको राय लिनु बेस हुन्छ। क्षेत्रीय निर्माण समितिका सदस्यहरू मूल्य निर्धारण तथा निर्माणका क्षेत्रमा बढी अनुभवी र दक्ष हुने भएकोले यस काममा उनीहरूको सहयोग महत्त्वपूर्ण हुनेछ।

७ योजना गर्दा विचार पुऱ्‍याउनु पर्ने महत्त्वपूर्ण कुराहरू भनेको भवन कति ठूलो बनाउने र कति मानिसहरू अट्‌छन्‌ भन्‍ने कुरामा ध्यान दिनु हो। सजिलो तर व्यवहारिक योजना नै उत्तम हुन्छ। क्षेत्रीय निर्माण समितिसँग यस्ता धेरै योजनाहरू छन्‌। साधारणतयाः १००, १५० र २५० मानिसहरू अट्‌ने भवन बनाउन यस समितिले योजनाहरू तयार गर्छ। भवन निर्माण गर्ने जमीनको क्षेत्रफल खासगरि जति जना व्यक्‍ति अटाउनुपर्ने हो, त्यस संख्यालाई १.८ वर्ग मिटरले गुणा गरेर निर्धारण गरिन्छ। उदाहरणको लागि, यदि भवन १०० जना अट्‌ने चाहिएको छ भने १८० वर्ग मिटर जमीन चाहिन्छ। यति ठाउँमा सबै आवश्‍यक सुविधाहरू समावेश गर्न सकिन्छ जस्तै; शौचालय, पत्रिका र साहित्य वितरण काउन्टर, भाषण दिन सिक्दै गरेका नयाँ विद्यार्थीहरूले भाषण दिने कोठा आदि। यस्तो किसिमको योजनाले राज्यभवन सुविधायुक्‍त हुनुकोसाथै साँघुरो पनि हुँदैन। क्षेत्रीय निर्माण समितिले सुहाउँदो मञ्च अर्थात्‌ जनसम्बोधनलाई आवश्‍यक उपकरणहरू, पंखा, बत्तिहरू र विद्युतसम्बन्धी अन्य कामहरू, जेनरेटर राख्ने कोठा, धाराहरूको व्यवस्था र ढलनिकास व्यवस्थामा समेत सरसल्लाह दिनसक्छ।

८ कुनै कुनै अवस्थामा दुइ तीनवटा मण्डली मिलेर एउटै राज्यभवन प्रयोग गर्न पनि सकिन्छ। यसो गर्दा सबैले सुविधाहरूको राम्रो सदुपयोग गर्न पाउँछन्‌ र आर्थिक भार पनि मण्डलीहरूमा बाँडिन्छ। यसरी दुइभन्दा बढी मण्डली मिलेर एउटै राज्यभवन प्रयोग गर्दा निर्माण कार्यमा लाग्ने खर्च पनि निकै कम गर्न सकिन्छ। तापनि, सोसाइटीले पेश्‍की दिंदा र अरू प्रबन्ध उपलब्ध गराउँदा पनि एउटै मण्डलीसँग मात्र कारोबार गर्छ। कुन कुन समयमा कुन कुन मण्डलीले त्यहाँ सभाहरू सञ्चालन गर्ने भन्‍ने कुरा राज्यभवन प्रयोग गर्न चाहने मण्डलीहरूका प्राचीनहरूको निकायले आपसमा सरसल्लाह गरेर तय गर्नेछन्‌।

राज्यभवनको आर्थिक स्रोतको प्रबन्ध

९ राज्यभवन निर्माण गर्न सोसाइटीले जग्गा किन्‍न रकम दिने प्रबन्ध छैन भन्‍ने कुरा बिर्सनु हुँदैन। त्यस्तै परिस्थितिमा कुनै इलाकामा राम्रो उन्‍नति भइरहेको छ अथवा दुइ वा त्योभन्दा बढी मण्डलीले प्रयोग गर्ने हो भने यदाकदा मात्र जग्गा किन्‍न रकम उपलब्ध गराइन्छ। यहोवाका आधुनिक समयका सेवकहरू सधैं नै पावलले २ कोरिन्थी ८:१३-१५ मा दिएको प्रोत्साहनको मनोभाव प्रदर्शित गर्छन्‌: “किनभने अरूहरूलाई सुबिस्ता र तिमीहरूलाई चाहिं दुःख होस्‌ भनेर म यो भन्दिनँ, तर समानताको विचारले, यस वर्त्तमान समयमा तिमीहरूका बढ्‌ती तिनीहरूका अभावको निम्ति, र तिनीहरूका बढ़तीचाहिं तिमीहरूका अभावको निम्ति होस्‌, र सबैमा समानता होस्‌, जसो लेखिएको छ, ‘धेरै बटुल्नेकहाँ बढ़ता भएन, र कम बटुल्नेकहाँ अभाव भएन।’ ” नयाँ राज्यभवन बनाउने काममा हाम्रो समय र सम्पत्तिहरू लगाउनु यहोवालाई आदर गर्ने एउटा राम्रो तरिका हो।—हितोपदेश ३:९.

१० करीब ३,५०० वर्ष पहिले उदारचित्तकासाथ भेटी ल्याउनु परेको एउटा घटना विचार गर्नुहोस्‌। यहोवाले मोशालाई उहाँको उपासना गर्न पवित्रस्थान अथवा ‘भेट हुने पाल’ बनाउने निर्देशन दिनुभएको थियो। ईश्‍वरीय प्रेरणाबाट दिइएको निर्देशनअनुसार निर्माणको लागि विभिन्‍न किसिमका बहुमूल्य वस्तुहरू आवश्‍यक पर्थ्यो। यहोवाले आज्ञा दिनुभयो: “आफ्नो बीचबाट परमप्रभुको निम्ति भेटी ल्याओ। राजी-खुशीसँग दिन चाहनेले परमप्रभुको भेटीको रूपमा त्यो ल्याओस्‌।” (प्रस्थ. ३५:४-९) मानिसहरूले के गरे? विवरणले यसो भन्छ: “औ जस जसका हृदय प्रेरणाले भऱ्‍यो, र हरेक जसको मन इच्छुक भयो, तिनीहरूले भेट हुने पालको काम त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए।” (प्रस्थ. ३५:२१-२९; ३६:३-५) तिनीहरूले कस्तो निःस्वार्थ र उदार मनोभाव देखाए!

११ करीब ५०० वर्षपछि इस्राएलीहरूलाई फेरि उदारचित्तकासाथ भेटी ल्याउन आह्वान गरियो। यहोवाको निम्ति यरूशलेममा स्थायी भवन बनाउने दाऊद राजाको चाहना उनका छोरा सुलेमानले पूरा गर्नु परेको थियो। त्यसको लागि आवश्‍यक सामग्रीहरूको ठूलो भाग त दाऊदले नै जम्मा गरे र अर्पण गरे। दाऊदले “यहोवाको निम्ति उपहार” ल्याऊ भनेर आह्वान गर्दा अरूले पनि साथ दिए। परिणाम के भयो? “मानिसहरूले यसरी राजी-खुशीसित दिएकोमा [दाऊद राजाले] आनन्द मनाए। किनभने आफ्ना हृदयको भक्‍तिसाथ परमप्रभुको निम्ति तिनीहरूले राजी-खुशीसित ती दिएका थिए।” (१ इति. २२:१४; २९:३-९) त्यो भेटीमा जम्मा भएको सुन र चाँदीको मूल्य मात्र अहिले रु. २०० खरब जति हुन आउँछ!— २ इतिहास ५:१.

१२ आधुनिक समयमा पनि संसारका विभिन्‍न भागहरूमा हाम्रा भाइहरूले त्यस्तै मनोभाव देखाएका छन्‌। हाम्रो सार्वभौम प्रभु, यहोवाको उपासना गर्ने थलो बनाउन हाम्रा भाइहरू गद्‌गद भएर ‘राजी-खुशीले’ लागीपरेकाछन्‌ भनेर विभिन्‍न अनुभवहरूबाट थाह भएको छ। यो कत्ति प्रोत्साहनपूर्ण कुरा हो। उदाहरणका लागि, पोल्याण्डको एउटा इलाकाका भाइहरूले राज्यभवन बनाउन पैसा जम्मा गर्न अरूको जग्गा कमाएर त्यसको उब्जनी बेचे वा कसैले त काफल र ऐंसेलुहरू जम्मा गर्ने अनि बेच्ने गरेर पनि पैसा जम्मा गरे। त्यो कामको लागि कसैले नगद दिए, कसैले गहना र अरू सम्पत्ति दिए। धेरै केटाकेटीहरूले आफूसँग भएका धेरथोर पैसा पनि सोसाइटीमा पठाएर त्यस निर्माण कार्यप्रति मूल्यांकन व्यक्‍त गरेका छन्‌। हुन त यो केही पनि होइन जस्तो देखिन्छ, तर यहोवाले भने यसलाई असाध्यै मूल्यवान्‌ सम्झनुहुन्छ।

१३ आर्थिक तवरमा टेवा पुऱ्‍याउनु धर्मशास्त्रअनुरूप नै छ। “भेटी” भनेर अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “पवित्र भाग” हो। (प्रस्थ. २५:२, सन्दर्भिका सहितको नयाँ विश्‍व अनुवाद बाइबल, [अंग्रेजी] पादटिप्पणी।) मसीहीहरूले परमेश्‍वरको राज्यको कामकुरा फैलाउने कार्यमा आफ्नो समय, बल र भौतिक सरसामान लगाउने इच्छा गर्नु उपयुक्‍त नै हो। मण्डलीहरूले राज्यभवन बनाउने योजना गर्दा तुरुन्तै बनाउने नभए तापनि यस कामको लागि कसैले चन्दा दिन थाल्छन्‌ वा आफूलाई तुरुन्तै आवश्‍यक नभएको रकम ऋण दिन इच्छुक हुन्छन्‌। साथै सबैले प्रत्येक महिना कति कति चन्दा दिने भनेर तोक्न पनि सक्छन्‌। वास्तवमा यसो गर्नैपर्छ भन्‍ने करकाप चाहिं छैन। यो स्वेच्छाको कुरा भएकोले कसरी गरियो भने उपयुक्‍त होला भनेर प्राचीनहरूले मण्डलीका सदस्यहरूको राय लिनु तिनीहरूका लागि मदतकारी हुन्छ। यसको लागि कति दिन सकिन्छ, एउटा सानो कागजमा लेखेर दिए पुग्छ।

१४ राज्यभवन निर्माणको लागि पैसा जम्मा गर्न सुरु गर्ने एउटा उपयुक्‍त तरिका हो, राज्यभवनमा भएको चन्दा बाकसमा ‘भवन निर्माण कोश’ भनेर लेख्ने र भाइहरूलाई पैसा खसाल्न प्रोत्साहन दिने। अगस्त १९९५ मा सोसाइटीले भारतका सबै मण्डलीहरूलाई यस्तो प्रकारको एक एकवटा बाकस राख्न निर्देशन दिएको थियो। आफ्नै राज्यभवन भएका मण्डली, राज्यभवन बनाएर पैसा चुक्‍ता गरिसकेका मण्डलीहरू अथवा अहिले नै राज्यभवन बनाउने योजना नभएका मण्डलीहरू र यसपाली राज्यभवन बनाउने तरखर नभएका मण्डलीले पनि यस्तो कोशबाट जम्मा भएको रकम प्रत्येक महिना सोसाइटीमा पठाउनुपर्छ। यो रकम ‘राष्ट्रिय राज्यभवन कोश’-मा जम्मा गरिन्छ। राष्ट्रिय राज्यभवन कोश एउटा ‘घुम्ती कोश’ जस्तै हो, जसबाट उक्‍त देशका मण्डलीहरूलाई राज्यभवन निर्माण योजनामा खर्च गर्न पेश्‍की दिइन्छ। यो पेश्‍की पछि फिर्ता गर्नुपर्छ। फिर्ता गर्दा नगन्य तीन प्रतिशत ब्याज पनि तिर्नुपर्छ। यसो गर्दा फेरि अरू मण्डलीहरूले पनि यस्तै फाइदा उपभोग गर्न पाउँछन्‌ र यसले रकम एक ठाउँबाट अर्को ठाउँमा पठाउँदा लाग्ने दस्तुर तिर्न पनि सहयोग हुन्छ। त्यसैले स्थानीय मण्डलीको खर्चको लागि चन्दा दिनुबाहेक आफ्नो क्षमता र इच्छाअनुसार नियमित रूपमा यस कोशमा पनि केही चन्दा दिन सबैजना उत्सुक हुनुपर्छ। (१ कोरि. १६:१-४ तुलना गर्नुहोस्‌।) प्रारम्भिक मसीहीहरूको मण्डलीबारे इतिहासकार टर्टुलियनले यस्तो लेखे: “प्रत्येक मानिसले महिनामा एक पटक अथवा जहिले उसलाई मन लाग्थ्यो, आफ्नो गच्छेअनुसारको पैसा ल्याउँथे। तिनीहरूले आफ्नै इच्छाले र सामर्थ्यले मात्र त्यो ल्याउँथे, कसैलाई कुनै करकाप थिएन। किनकि यो आफूखुशीले चढाउने भेटी थियो।” अहिलेका अरू विभिन्‍न धर्महरूमा जस्तो चन्दा माग्न झोली फैलाएझैं नभई मण्डलीहरूका भाइबहिनीहरूले दिएका सबै भौतिक वस्तुहरू आफूखुशीले र खुला हृदयले दिइएका हुन्‌।—२ कोरिन्थी ९:७.

१५ स्थानीय प्राचीनहरूको निकायले योजनाहरू स्वीकृत गरिसकेपछि पनि क्षेत्रीय निर्माण समितिसँग मिलेर एक पटक फेरि सम्पूर्ण योजनाको लागत मूल्य हिसाब गर्नुपर्छ। त्यति गरूञ्जेल स्थानीय भाइहरूबाट कति पैसा जम्मा भयो भन्‍ने कुरा पनि थाह हुन्छ। यस अवस्थामा, चाहिन्छ भने उक्‍त मण्डलीले सोसाइटीसँग आवश्‍यक खर्चको लागि पेश्‍की पाउन अनुरोध गर्नसक्छ। सोसाइटीले यस अनुरोधलाई ध्यानपूर्वक विचार गरेर दश वर्षभित्र तिर्नुपर्ने मासिक किस्ताबन्दी रकम निकासा गर्ने कि नगर्ने, सो कुराको निर्णय गर्नेछ। सोसाइटीसँग यस्तो पेश्‍की अनुरोध गर्नुअघि भाइहरू बसेर कहाँ कति खर्च हुन्छ भनेर ठीक ठीक हिसाब निकाल्नुपर्छ, ताकि पछि फेरि त्यही योजनाको लागि अरू पेश्‍की रकम माग्न नपरोस्‌। (लूका १४:२८) त्यसैगरि, कुनै घरको तला किन्‍न वा कुनै घर किनेर त्यसलाई छाँटकाँट गरेर राज्यभवन बनाउने योजनाको सम्बन्धमा पनि यदि उक्‍त योजना व्यवहारिक छ भने पेश्‍की रकम अनुरोध स्वीकृत हुन्छ।

राज्यभवन सहयोग प्रबन्ध

१६ यदि तपाईंको आफ्नै राज्यभवन छ वा भाडामा लिनुभएको भए पनि यदि तपाईं भवन र भवनभित्रका महंगा सर-सामानहरू सुरक्षित राख्न चाहनुहुन्छ भने, सोसाइटीको राज्यभवन सहयोग प्रबन्धको मदत लिनसक्नुहुन्छ। यससम्बन्धी जानकारीहरू सम्पूर्ण मण्डलीहरूलाई पठाइसकिएको छ। हामीहरू डरलाग्दो समयमा बाँचिरहेका छौं, आजभोलिको चोरी र तोडफोड हुनसक्ने सम्भावनाहरू विचार गर्दा सोसाइटीको यो प्रबन्ध एकदमै उपयोगी हो। प्रतिवर्ष सानो रकम सोसाइटीमा जम्मा गरेर सोसाइटीले हामीलाई उपलब्ध गराइदिएको यी रकमी सामानहरूको जतन गर्न मण्डली आफैले पनि सहयोग गर्नुपर्छ। यसरी जनसम्बोधनका लागि आवश्‍यक उपकरणहरू, मेच, टेबलहरू र अरू रकमी सामानहरूको सुरक्षा गर्न सकिन्छ। यो एउटा महत्त्वपूर्ण मायालु प्रबन्ध भएकोले सबै मण्डलीहरूलाई यसको सदुपयोग गर्न प्रोत्साहन दिइएको छ।

१७ अरूलाई दिने मनोभाव देखाउने पहिलो व्यक्‍ति यहोवा परमेश्‍वर नै हुनुहुन्छ। पृथ्वीमा भएका आफ्ना सन्तानहरूलाई असल दान र उत्तम वरदान दिने सबैभन्दा उदारदाता उहाँ नै हुनुहुन्छ। (याकू. १:१७) उहाँले यी अद्‌भुत कुराहरू हाम्रोलागि दिनुभएपछि उहाँ चाहिं हामीबाट के आशा गर्नुहुन्छ त? भजनरचयिताले यसो भन्दै यो प्रश्‍न उठाए: “परमप्रभुले गर्नुभएको मेरो उपकारको निम्ति म उहाँलाई के भर्ना चढ़ाऊँ?” (भज. ११६:१२) उहाँले हामीलाई प्रेमपूर्ण दया देखाउनुभयो र अनन्त जीवनको आशा दिनुभयो। यस बापत हामी यहोवालाई के चढाउनसक्छौं? यसको जवाफ पनि ती नै भजनरचयिताले यसरी दिए: “उद्धारको कचौरा लिएर म परमप्रभुको नाउँको पुकारा गर्नेछु। म तपाईंमा धन्यवादको बलि चढ़ाउनेछु।” (भज. ११६:१३, १७) हो, हामीले यहोवालाई चढाउनसक्ने सबैभन्दा बहुमूल्य उपहार उहाँको नाउँ पुकार गर्दै उहाँप्रति वफादार हुनु र हाम्रो क्षेत्रमा शुद्ध उपासनालाई बढावा दिने काम गर्नु हो। त्यसो गर्ने एउटा राम्रो तरिका हो, हामीले आफ्नोलागि राज्यभवन निर्माण गर्नु। अनि त्यहाँ मानिसहरू यसो भन्दै आउनेछन्‌, “हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।”—जकरिया ८:२३.

के तपाईं राज्यभवन बनाउन चन्दा दिन उत्प्रेरित हुनुहुन्छ?

राज्यभवन बनाउने कार्यमा तपाईंले आफ्नो मूल्यांकन र इच्छा प्रकट गर्न सक्नुहुने तरिकाहरू थुप्रै छन्‌। यस्ता योजनाहरूमा सहयोग गर्न सोसाइटीले राष्ट्रिय राज्यभवन कोश खडा गरेको छ। यी विभिन्‍न तरिकामा तपाईंले सहयोग पुऱ्‍याउन सक्नुहुन्छ:

१. दान: वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीलाई स्वैच्छिक चन्दास्वरूप पैसा पठाउन सकिन्छ। गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू पनि चन्दा दिन सकिन्छ। यी चन्दाहरू पठाउँदा त्यो पैसा वा वस्तु राष्ट्रिय राज्यभवन कोशको लागि नै हो भनेर छोटो पत्र लेखेर पठाए बेस हुनेछ।

२. शर्तनामा चन्दा: चन्दादाताले आफ्नो शेषपछि सोसाइटीलाई हस्तान्तरण हुनेगरि कोश खडा गर्नसक्छन्‌ र कोश खडा गर्दा कथम्‌कदाचित व्यक्‍तिगत खर्चको लागि चाहिएमा कोशको रकम पुनः चन्दादातालाई फर्काउन मिल्ने प्रबन्ध पनि मिलाउन सकिन्छ। यो रकम माथि उल्लिखित कोशकै लागि हो भनेर प्रष्ट हुनुपर्छ।

३. बैंक खाता: बैंक खाता, निक्षेप खाता वा व्यक्‍तिगत अवकाश खातालाई स्थानीय बैंकको नियमानुसार वाच टावर सोसाइटीलाई सुम्पिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ। यो रकम माथि उल्लिखित कोशको प्रयोगको लागि हो भनेर खुलाउनुहोस्‌। यस्तो प्रबन्ध गरिएमा सोसाइटीलाई खबर गर्नुपर्छ।

४. ऋणपत्र र बन्ड: ऋणपत्र र बन्ड पनि सोसाइटीलाई चन्दा दिन सकिन्छ। त्यसो गर्दा पूर्णतया दान वा आम्दानी चन्दादाताले पाइरहने प्रबन्ध मिलाएर दिन सकिन्छ। यसबाट आउने लाभांश चाहिं राज्यभवन कोशमा जम्मा गरिदिनु पर्छ।

५. घडेरी: बिक्री गर्न मिल्ने घडेरी पनि वाचटावर सोसाइटीलाई चन्दास्वरूप दिन सकिन्छ। घडेरीलाई पूर्णतया दान वा चन्दादाता बाचुञ्जेल प्रयोग गर्न पाउने प्रबन्ध मिलाएर दिन सकिन्छ। सोसाइटीलाई कुनै घडेरी दिनुअघि सोसाइटीसित सम्पर्क राख्नुपर्छ। यसरी प्राप्त हुने पैसा पनि राज्यभवन कोशको प्रयोगको लागि भनेर स्पष्टसित खुलाउनुपर्छ।

६. वसियतनामा तथा कोश: जायजेथा वा पैसा कानुनी वसियतनामाद्वारा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीलाई हस्तान्तरण गर्न सकिन्छ। अथवा सोसाइटीलाई कोशको हकदार बनाउन सकिन्छ। धार्मिक संगठनलाई कोशको हकदार बनाउँदा केही कर सुविधाहरू पनि पाउन सकिन्छ। यसो गर्दा सोसाइटीलाई वसियतनामा वा कोश करारनामाको प्रतिलिपि पठाउनुपर्छ र यसबाट प्राप्त हुने लाभांश पनि राज्यभवन कोशको लागि भनेर खुलस्त जनाउनुपर्छ।

यससम्बन्धी अरू जानकारी चाहिएमा Watch Tower Bible and Tract Society of India, H-58 Old Khandala Road, Lonavla, 410 401, Mah., India मा पत्राचार गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने