“यो मेरो सम्झनाको निम्ति गर”
१ समय बित्दै जाँदा मानिसहरूले महत्त्वपूर्ण घटनाहरूको महत्त्व बिर्संदै जान्छन्। त्यसैले “प्रभु-भोज” स्थापना गर्नुहुँदा येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “यो मेरो सम्झनाको निम्ति गर।” त्यस समयदेखि येशूको मृत्युको वार्षिकोत्सवमा मसीहीहरू आज्ञाकारी भएर “उहाँ नआउञ्जेल . . . प्रभुको मृत्युको प्रचार” गरिरहेका छन्।—१ कोरि. ११:२०, २३-२६.
२ अब चाँडै येशूले “सानो बगाल[को]” बाँकी रहेका सदस्यहरूलाई स्वर्गीय बासस्थानमा स्वागत गर्नुहुनेछ। (लूका १२:३२; यूह. १४:२, ३) शेष अभिषिक्त जनहरूले वृद्धि भइरहेको “अरू भेड़ा[को]” विशाल भीडसँग यस वर्ष अप्रिल ११ मा पुनः प्रभुको साँझको भोज मनाउने सुअवसर पाएका छन्। (यूह. १०:१६; प्रका. ७:९, १०) यहोवाले मानिसजातिका लागि आफ्नो एकमात्र पुत्र पठाउनुभएर देखाउनुभएको महान् प्रेमप्रति यस सुअवसरले अझ मूल्यांकन बढाउनेछ। यस अवसरमा येशूको उदाहरण, उहाँको प्रेम, छुडौतीको बलिदान अर्पण गर्न मृत्युसम्मै कायम राख्नुभएको वफादारी अनि परमेश्वरको स्थापित राज्यको राजा भएर शासन थाल्नुभएको कुराहरूका साथै त्यस राज्यले मानिसजातिका निम्ति ल्याउने आशिष्हरूबारे प्रकाश पारिनेछ। यो एउटा अविस्मरणीय अवसर हो!
३ अहिलेदेखि तयारी गर्नुहोस्: यस स्मरणार्थ उत्सवलाई हामी तथा हामीसँग संगत गर्ने सबैका लागि अपार आनन्द र कृतज्ञताको घडी बनाउन कम्मर कसौं। येशूले सेवकाईमा बिताउनुभएका आखिरी दिन र उहाँलाई मृत्युको मुखसम्म पुऱ्याउने घटनाहरूको विवरण फेरि एक चोटि पढेर अझ बढी मूल्यांकन गर्नसक्छौं। स्मरणार्थ आउन निकै हप्ताअघिदेखि हाम्रो पारिवारिक अध्ययनमा महान पुरुष पुस्तकका अध्याय ११२-१६ पुनरावलोकन गर्नसक्छौं।
४ यस अवसरको मूल्यांकन गर्न प्रोत्साहन दिनुभयो, निम्त्याउनुभयो र स्वागत गर्नुभयो भने तपाईंले चिन्नुभएका कतिजति स्मरणार्थमा आउनसक्लान्? अहिल्यै एउटा सूची बनाउनुहोस् र तिनीहरूलाई यस अवसरमा उपस्थित गराउन यथाशक्य सहयोग गर्नुहोस्। त्यसपछि, तिनीहरूलाई लगातार सभाहरूमा उपस्थित हुने प्रोत्साहन दिएर आध्यात्मिकतामा लहलहाउने मदत दिनुहोस्।
५ सबैले प्रचारकार्यमा साबिकभन्दा बढी भाग लिनसक्न स्मरणार्थ समयको दौडान विशेष प्रबन्धहरू मिलाइनेछ। राम्रो तालिका बनाएर के तपाईं अप्रिल महिनामा सहायक अग्रगामी गर्न सक्नुहुन्छ? मे महिनामा नि? येशूको बलिदानले हाम्रोनिम्ति सम्भव तुल्याएका सम्पूर्ण कुराहरू हामी मूल्यांकन गर्दै सम्झना गर्छौं। यसो गर्ने एउटा उत्तम तरिका अरूलाई यहोवा परमेश्वर र उहाँको पुत्रले शासन गर्नुहुने राज्यले ल्याउने आशिष्हरूबारे बताउनु हो।—भज. ७९:१३; १४७:१.