केटाकेटी हो—तपाईंहरू हाम्रो आनन्द हुनुहुन्छ!
१ केटाकेटीहरू हो, मण्डलीका गतिविधिहरूमा तपाईंहरू पनि सामेल हुनुपर्छ भन्ने यहोवाको आज्ञा के तपाईंहरूलाई थाह छ? (व्यव. ३१:१२; भज. १२७:३) तपाईंहरूसँगसँगै यहोवाको सेवा गर्न पाउनु हाम्रोलागि आनन्दको कुरा हो! तपाईंहरू सभाहरूमा शान्तसँग बस्नुहुँदा र ध्यान दिएर सुन्नुहुँदा हाम्रो हृदय हर्षविभोर हुन्छ। तपाईंहरूले आफ्नै शब्दमा टिप्पणी गर्ने कोसिस गर्नुहुँदा त हामी झनै खुसी हुन्छौं। तपाईंहरूले ईश्वरतान्त्रिक सेवकाई पाठशालामा आफ्नो भाषण प्रस्तुत गर्नुहुँदा, उत्सुकतासाथ हामीसँग क्षेत्र सेवकाईमा भाग लिनुहुँदा अनि आफ्नो सहपाठी तथा शिक्षकशिक्षिकाहरूलाई साहसी भई साक्षी दिनुभएको सुन्दा सम्पूर्ण मण्डली नै आनन्दित हुन्छ।—भज. १४८:१२, १३.
२ तपाईंहरूको असल चालचलन, चिटिक्क परेको कोरीबाटी, स्वच्छ आचरण र आफूभन्दा ठूलाबढाको आदर गर्नुभएको देख्दा हामी तपाईंहरूमा गर्व गर्छौं भन्ने नबिर्सनुहोस्। ईश्वरतान्त्रिक लक्ष्यहरू अंगालेर ‘आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्नुहुँदा’ त हाम्रो आनन्दको सीमा नै रहँदैन।—उप. १२:१; भज. ११०:३.
३ आफ्ना लक्ष्यहरू हामीलाई बताउनुहोस्: एक जना आठ वर्षीय केटोले जिल्ला निरीक्षकलाई यसो भने: ‘पहिला त म बप्तिस्मा लिन चाहन्छु। त्यसपछि, माइक्रोफोन मिलाउने काम सँभाल्दै ध्वनी विभागलाई सहयोग गरेर, परिचारक बनेर, साहित्य विभागमा सहयोग गरेर, पुस्तक अध्ययन र प्रहरीधरहरा अध्ययनमा पढेर मण्डलीलाई मदत गर्न चाहन्छु। तत्पश्चात्, सेवकाई सेवक अनि प्राचीन बन्न चाहन्छु। अग्रगामी गर्ने र अग्रगामी स्कूलमा जाने पनि इच्छा छ। त्यसपछि, म बेथेल जान चाहन्छु अनि क्षेत्रीय निरीक्षक वा जिल्ला निरीक्षक बन्न चाहन्छु।’ परमेश्वरको सेवा गर्ने सुअवसरप्रति तिनले कति राम्रो मूल्यांकन देखाए!
४ तपाईंहरू शारीरिक तथा आध्यात्मिक रूपमा बढ्दै जानुभएपछि आफ्नो लक्ष्य हासिल गर्नुभएको देख्दा हामी रमाउँछौं। (लूका २:५२ तुलना गर्नुहोस्।) संसारभरि हरेक वर्ष हजारौं किशोरकिशोरीहरू बप्तिस्मा अप्राप्त प्रकाशक बन्छन् र यहोवाका समर्पित सेवकहरूको हैसियतमा बप्तिस्मा लिन योग्यका हुन्छन्। त्यसपछि, तपाईंहरूले सहायक अग्रगामी गर्न थाल्नुहुँदा र पूर्ण-समय सेवामा लाग्नुहुँदा त हाम्रो आनन्द झन् झन् बढ्दै जान्छ। साँच्चै, केटाकेटीहरू हो, तपाईंहरू हाम्रो आनन्द तथा स्वर्गमा हुनुहुने हाम्रो पिताको प्रशंसाको अद्भुत स्रोत हुनुहुन्छ। यहोवाले तपाईंहरूलाई प्रशस्त आशिष् दिऊन्!—हितो. २३:२४, २५.