यहोवा र उहाँको पुत्रसँग आनन्दपूर्वक एकताबद्ध
वर्षको सबैभन्दा महत्त्वपूर्ण उत्सव मार्च २८ का दिन मनाइनेछ
१ मार्च २८, २००२ को दिन सूर्यास्तपश्चात् प्रभुको साँझको भोज मनाएर हामी यहोवा र येशू ख्रीष्टसँग आनन्दपूर्वक एकताबद्ध छौं भनी देखाउनेछौं। यस विशेष दिनमा, शेष अभिषिक्त मसीहीहरूले राज्यका अरू उत्तराधिकारीहरू, पिता र उहाँको पुत्रसँगको विशेष “संगति[बाट]” आनन्द उठाउनेछन्। (१ यूह. १:३; एफि. १:११, १२) एकै मन अनि हृदयको भएर यहोवा र उहाँको पुत्रसँग एकताबद्ध भई परमेश्वरको काम पूरा गर्न आफूले पाएको महान् सुअवसरबारे लाखौं “अरू भेडा[ले]” मनन गर्नेछन्!—यूह. १०:१६.
२ घनिष्ठ भएर सँगै काम गर्ने: यहोवा र येशू सधैं आनन्दपूर्वक एकताबद्ध हुनुहुन्छ। मानिसलाई सृष्टि गर्नुभन्दा युगौं-युगअघि देखि उहाँहरूले घनिष्ठ सम्बन्धको आनन्द उठाउँदै आउनुभएको छ। (मीका ५:२) त्यसैकारण, उहाँहरू दुईबीच कोमल स्नेहसहितको गहिरो सम्बन्ध विकसित भयो। बुद्धिको मूर्त रूपको हैसियतमा मानवपूर्व यस पहिलो पुत्रले यसो भन्न सक्नुभयो: “त्यस बेला म उहाँको छेउमा उहाँको [यहोवा] प्रिय र आनन्दको पात्रझैं दिनहुँ उहाँकै सामने निरन्तर खेल्दै बस्थें।” (हितो. ८:३०) प्रेमको स्रोत परमेश्वरसँग युगानुयुग घनिष्ठ सम्बन्ध राखेको कारण यसले उहाँको पुत्रलाई गहिरो असर पारेको हुनुपर्छ।—१ यूह. ४:८.
३ मानव मुक्तिलाई ध्यानमा राख्दै, मानिसहरूमा विशेष चासो राख्नुहुने आफ्नो एक मात्र पुत्रलाई यहोवाले हाम्रोलागि छुडौतीको बलिदान दिन रोज्नुभयो र यसै बलिदानद्वारा मात्रै हाम्रोलागि एउटा आशा सम्भव भएको छ। (हितो. ८:३१) एउटै उद्देश्य पूरा गर्न यहोवा र उहाँको पुत्र एकताबद्ध भएझैं हामी पनि आनन्दपूर्वक परमेश्वरको इच्छा पूरा गर्दै प्रेमको बलियो गाँठोमा उहाँहरू र एकअर्कासँग एकताबद्ध हुन्छौं।
४ हाम्रो हार्दिक कृतज्ञता जाहेर गर्ने: स्मरणार्थ उत्सवमा उपस्थित भई आदरपूर्वक ध्यान दिएर सुन्यौं भने, हामी यहोवाको प्रेम र उहाँको पुत्रको बलिदानप्रति गहिरो मूल्यांकन देखाउन सक्छौं। स्मरणार्थ उत्सवमा येशूको मायालु उदाहरण, छुडौतीको निम्ति मृत्युसम्मै वफादार र परमेश्वरको स्थापित राज्यको राजाको हैसियतमा उहाँको शासनको साथसाथै त्यस राज्यले मानिसहरूमाथि बर्साउने आशिष्हरूबारे जोड दिइनेछ। “सत्यको सहकर्मी” भएर यहोवाको इच्छाअनुरूप जोसिलो हुँदै काम गरेर हाम्रो विश्वास सधैंभरि प्रदर्शित गरिरहनुपर्ने आवश्यकताबारे पनि हामीलाई सम्झाइनेछ।—३ यूह. ८; याकू. २:१७.
५ हामीसँगै काम गर्न अरूई मदत गर्ने: प्राचीनहरूको निकायले आफ्नो इलाकाका सबै निष्क्रिय साक्षीहरूलाई ख्रीष्टको मृत्युको स्मरणार्थमा उपस्थित हुनका लागि प्रोत्साहन दिन विशेष प्रयत्न गर्नुपर्छ। (मत्ती १८:१२, १३) कोही पनि नछुटून् र सबैलाई व्यक्तिगत तवरमा निमन्त्रणा दिन सकियोस् भन्ने हेतुले निमन्त्रणा दिनुपर्ने सबै व्यक्तिहरूको सूची तयार पार्नुहोस्।
६ स्मरणार्थ उत्सवमा उपस्थित हुन सक्ने अरू पनि कोही छन् कि? यस उत्सवप्रति तिनीहरूको मूल्यांकन जगाउन अग्रसर हुनुहोस्। तिनीहरूलाई हार्दिक निमन्त्रणा दिनुहोस् र तिनीहरू उपस्थित भएकोमा खुसी प्रकट गर्नुहोस्। वर्षको सबैभन्दा महत्त्वपूर्ण यस उत्सवमा हाम्रा बाइबल विद्यार्थीहरू र चासो देखाउने अरू मानिसहरूका साथसाथै परिवारका सदस्यहरू तथा चिनेजानेका सबैलाई निमन्त्रणा दिन यथासक्य गरौं। “ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठता” सिक्ने सबैले यस छुटकाराबाट लाभ उठाउन सक्छन्। (फिलि. ३:८) ख्रीष्टको बलिदानमा विश्वास गर्नेहरूले अनन्त जीवनको पक्का आशा पाउन सक्छन्।—यूह. ३:१६.
७ इमानदार हृदय भएकाहरूमाथि स्मरणार्थ उत्सवले पार्न सक्ने प्रभावलाई कहिल्यै हल्कासित नलिनुहोस्। दुई वर्षअघि, यस उत्सवमा भाग लिनका लागि डरलाग्दो समुद्री छालहरूको सामना गर्दै, पापुआ न्यु गिनी टापुका चासो देखाउने ११ जना मानिसहरूले सानो डुंगामा १७ घण्टा लामो यात्रा गरे। किन? तिनीहरूले यसो भने: “हामी यहोवाका सँगी उपासकहरूसँगै ख्रीष्टको स्मरणार्थ उत्सव मनाउन चाहन्थ्यौं र नभन्दै यो यात्रा व्यर्थ भएन।” यहोवा, उहाँको पुत्र तथा मसीही भ्रातृत्वमा आनन्दपूर्वक एकताबद्ध हुन पाएकोमा ती जिज्ञासु व्यक्तिहरूले देखाएको जोस तथा मूल्यांकनबारे विचार गर्नुहोस्!
८ चासो देखाउने सबैलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। तिनीहरूलाई मसीही सभाहरूमा नियमित तवरमा उपस्थित हुन र आफूले सिकिरहेको सत्य कुराबारे अरूहरूलाई पनि बताउन प्रोत्साहन दिनुहोस्। तिनीहरूलाई ‘ज्योतिमा हिंड्न’ र बाइबल सिद्धान्तलाई व्यवहारमा उतारेर ‘सत्यमा चल्न’ मदत गर्नुहोस्। (१ यूह. १:६, ७) यहोवासँग घनिष्ठ सम्बन्ध विकास गर्न र एकताबद्ध भएर उहाँको सेवा गर्न पाएकोमा मूल्यांकन देखाइरहन तिनीहरूलाई सहायता गर्नुहोस्।
९ आनन्दपूर्वक एकताबद्ध भएर “सुसमाचारको विश्वासको निम्ति एउटै मनको भई, यत्न गरेर एउटै आत्मामा दृढ़” हुन पाउनु कस्तो अद्भुत सुअवसर हो! (फिलि. १:२७, २८) आउनुहोस्, यहोवा र उहाँको पुत्रप्रति सधैं कृतज्ञ हुँदै मार्च २८ का दिन मनाइने स्मरणार्थ उत्सवमा हुने रमाइलो संगतिको बाटो हेरौं!—लूका २२:१९.