कृतज्ञतासाथ छुटकाराको बलिदानलाई सम्झने
१, २. छुटकाराको बलिदानलाई हामीले किन कृतज्ञतासाथ सम्झनुपर्छ?
१ येशूको आज्ञा पालन गर्दै, संसारभरिका मसीहीहरू शनिबार, मार्च २२, २००८ का दिन सूर्यास्तपछि येशू ख्रीष्टको मृत्युको सम्झना गर्न भेला हुनेछन्। (लूका २२:१९; १ कोरि. ११:२३-२६) हामी खुसीसाथ यसो गर्छौं, किनभने १,९७५ वर्षअघि त्यो दिनमा जे भयो त्यसप्रतिको गहिरो कृतज्ञताले हामी उत्प्रेरित भएका छौं। शासनाको खम्बामा कष्टकर मृत्यु भोग्नु पर्दा समेत पूर्णतया निष्ठावान् रहेर येशूले आफ्नो पिताको नाउँ पवित्र पार्नुभयो र शैतानले गरेको आलोचनालाई मुखभरिको जवाफ दिनुभयो।—अय्यू. १:११; हितो. २७:११.
२ येशूले बगाउनुभएको रगतले नयाँ करारलाई सदर गरेकोले स्वर्गीय राज्यमा येशूसँगै शासन गर्न असिद्ध मानिसजातिलाई परमेश्वरका धर्मपुत्रहरूको हैसियतमा स्वीकार्न सकियो। (यर्मि. ३१:३१-३४; मर्कू. १४:२४) यसको साथै, मानिसजातिप्रति परमेश्वरको गहिरो प्रेम उहाँले आफ्नो प्यारो पुत्र बलिदानको रूपमा दिनुभएको कुरामा पनि झल्कियो, जुन कुरा येशू स्वयम्ले निकोदेमसलाई बताउनुभएको थियो।—यूह. ३:१६.
३. स्मरणार्थ उत्सवमा उपस्थित हुनेहरूले कसरी लाभ उठाउन सक्छन्?
३ अरूलाई निम्तो दिनुहोस्: यस अंकको हाम्रो राज्य सेवकाई-को परिशिष्टमा चिनेजानेका व्यक्तिहरूको नामावली बनाउन र त्यसमा भएका सबैलाई व्यक्तिगत निमन्त्रणा दिन सुझाव दिइएको छ। के तपाईंले नामावली तयार पार्न र त्यस नामावलीमा भएकाहरूलाई निमन्त्रणा दिन थाल्नुभयो? के तपाईं स्मरणार्थ उत्सवको लागि मार्च १ देखि सुरु हुने निमन्त्रणा वितरण अभियानमा पूरापूर भाग लिने योजना मिलाउँदै हुनुहुन्छ? त्यहाँ उपस्थित हुनेहरूले धर्मशास्त्रीय जानकारीद्वारा बलिदानमा विश्वास बढाउन सक्नेछन्, जसले अनन्त जीवनको बाटोतर्फ डोऱ्याउँछ।—रोमी १०:१७.
४. स्मरणार्थ उत्सवको बेला हामी किन चाँडै उपस्थित हुनुपर्छ?
४ हाम्रो विशेष निमन्त्रणा स्वीकारेर आउनेहरूलाई न्यानो स्वागत गर्नको लागि सक्नेहरू जति सबैले अलि चाँडै उपस्थित हुने योजना बनाउन सक्छन्। स्मरणार्थ उत्सवको बेला उपस्थिति धेरै हुने भएकोले नयाँहरूका साथै कहिलेकाहीं मात्र सभा आउनेहरूलाई विशेष ध्यान दिनु आवश्यक हुन्छ।
५. यस उत्सवको लागि तपाईं कसरी आफ्नो मनलाई तयार पार्न सक्नुहुन्छ?
५ आफ्नो मनलाई तयार पार्नुहोस्: सन् २००८ को दिनहुँ धर्मशास्त्र जाँच्ने र क्यालेन्डर-मा स्मरणार्थ उत्सवको लागि विशेष बाइबल पढाइको तालिका छ जुन मार्च १७ देखि सुरु हुन्छ। येशूको पार्थिव जीवनको अन्तिम दिनतिर घटेका महत्त्वपूर्ण घटनाहरू विचार गर्दा यसले तपाईंलाई स्मरणार्थ उत्सवको लागि आफ्नो मन तयार पार्न मदत गर्नेछ। (एज्रा ७:१०) बाइबल पढाइको बेला प्रार्थना गर्दै मनन गर्दा यहोवा र उहाँको पुत्रले छुटकाराको बलिदानको प्रबन्ध मिलाएर देखाउनुभएको प्रेमप्रति हाम्रो कृतज्ञता अझै गहिरो हुनेछ।—भज. १४३:५.
६. छुटकाराको बलिदानप्रति कृतज्ञता बढाउँदै लैजाँदा यसले हामीलाई कसरी असर गर्छ?
६ जति-जति स्मरणार्थ उत्सव नजिकिंदै जान्छ, त्यति नै होसियारसाथ हामीले आफूलाई र अरूलाई यस महत्त्वपूर्ण उत्सवको लागि तयार पार्नुपर्छ। छुटकाराको बलिदानलाई कृतज्ञतासाथ सम्झँदा यसले यहोवा र उहाँको पुत्रसितको हाम्रो सम्बन्ध अझै बलियो बनाउनेछ। (२ कोरि. ५:१४, १५) साथै, यसले हामीलाई उहाँहरूको अनुकरण गर्दै अरूप्रति आत्म-त्यागी प्रेम देखाउन पनि उत्प्रेरित गर्नेछ।—१ यूह. ४:११.
[पृष्ठ १०-मा भएको पेटी]
हाम्रा इलाकामा को योग्य छन्, खोज्नुहोस्
१ हाम्रो सन्देशप्रति देशवासीहरूको बद्लिंदो स्वभावबारे जनवरी २००८ अंकको हाम्रो राज्य सेवकाई-मा हामीलाई सतर्क गराइएको थियो। उक्त अंकको विशेष परिशिष्टमा परिवर्तित परिस्थितिअनुसार चल्न हामीलाई मदत गर्ने धर्मशास्त्रीय सिद्धान्तहरूतर्फ पनि हाम्रो ध्यानाकर्षण गरिएको थियो। के तपाईंले आफ्नो इलाकामा यस्तै परिवर्तन हुन थालेको याद गर्नुभएको छ? हाम्रो विरोध गर्ने प्रायजसो मानिसलाई हामी जबरजस्ती धर्मपरिवर्तन गराउँछौं भन्ने लाग्दो रहेछ। हामीलाई पनि चर्चका कट्टर धर्मप्रचारकहरू जस्तै ठान्दा रहेछन्। त्यसैकारण ठाउँठाउँमा मानिसहरूको भीड हामीमाथि खनिएका छन् र हाम्रा भाइबहिनीलाई गिरफ्तार गरिएको छ। यस्तो परिस्थिति हुन नदिन अथवा यस्ता परिस्थिति हुन सक्ने सम्भावनालाई कम गर्न हामीले के गर्नुपर्छ? मान्छे, ठाउँ अनि परिस्थिति हेरेर कुरा गर्नुपर्छ।
२ हामी मानिसले नबोलाईकनै भेट्न जान्छौं। त्यसैले घर-घरमा, पसल-पसलमा वा अनौपचारिक साक्षी दिंदा सबैभन्दा पहिले घरधनी हाम्रो कुरा सुन्न इच्छुक छन् कि छैनन् र घरधनी झडङ्ग रिसाइहाल्ने वा हामीविरुद्ध मानिसहरू जम्मा गरिहाल्ने खालका हुन् कि होइनन्, पक्का गर्नुपर्छ। यो अत्यन्तै महत्त्वपूर्ण छ र विशेषगरि तपाईंको इलाकाका धेरैजसो मानिसले हामी र हाम्रो प्रचारकार्यको घोर विरोध गर्छन् भने त झनै जरुरी छ। यसो गऱ्यौं भने अनावश्यक विवाद हुनेछैन। परमेश्वरको वचन बाइबलले पनि हामीलाई अनावश्यक वादविवाद नगर्नू भनेर प्रोत्साहन दिन्छ।—लूका १०:५, ६.
३ तर आध्यात्मिक मदत खोजिरहेका मानिसहरूलाई कसरी चिन्ने? कुनै घटना उल्लेख गरेर वा प्रश्न सोधेर, घरधनीको प्रतिक्रिया हेऱ्यौं भने योग्य मानिसहरू चिन्न सजिलो हुनेछ। तुरुन्तै बाइबल वा साहित्य नदेखाएर केही बेर समसामयिक विषयमा छलफल गर्नुहोस्। यसरी आफू यहोवाका साक्षी हुँ भनेर परिचय नदिईकनै घरधनी कस्ता खाले मानिस हुन्, अक्सर पत्ता लगाउन सकिन्छ। छोटो कुराकानी गरिसकेपछि घरधनीलाई अझै अरू कुराकानी गर्न मन लागेको छ कि भनेर सोध्नु बेस हुन्छ। तिनलाई अझै कुराकानी गर्न मन नलागेको प्रस्टै देखियो अथवा तिनले कुरा गर्ने इच्छा छैन भनेमा कुराकानी टुंग्याइहाल्नुहोस्। (मत्ती ७:६) मित्रैलो हुँदै घरधनीलाई धन्यवाद दिएर त्यो ठाउँबाट हिंडिहाल्नुहोस्।
४ भविष्यमा, माथि छलफल गरिएको विषयलाई ध्यानमा राखेर तयार पारिएका प्रस्तुतिहरू हाम्रो राज्य सेवकाई-मा प्रकाशित हुनेछन्। आफ्नो इलाकामा भाइबहिनीले के-कस्ता समस्या सामना गरिरहेका छन्, सो विचार गरेर यी छाँटकाँट कुन हदसम्म लागू गर्न सकिन्छ, त्यसबारे मण्डलीमा छलफल गर्न हामी प्राचीनहरूको निकायलाई प्रोत्साहन दिइरहेका छौं।
५ चेलाहरूलाई प्रचार गर्न पठाउनअघि येशूले यसो भन्नुभएको थियो: “जुन शहर कि गाउँमा तिमीहरू पसौला, त्यसमा ‘को योग्य छ?’ भनी सोधपूछ गर।” (मत्ती १०:११) सबै जना योग्यका हुँदैनन् भनेर घरधनीहरूले सन्देशप्रति देखाएको प्रतिक्रियाबाट थाह पाउन सकिन्छ। केहीले त घोर आपत्ति जनाउलान्। यही कुरालाई ध्यानमा राख्दै येशूले चेलाहरूलाई दिनुभएको निर्देशन मत्ती १०:१२-१४ मा पाइन्छ। अतः येशूको यस्तो निर्देशन पालन गर्दै, लामो कुरा गरेर घरधनीलाई चिढ्याउनुभन्दा बरु शान्तिसित निस्कनु बेस हुन्छ। यसरी धार्मिक न्याय गर्ने जिम्मा यहोवाको हातमा छोडेर हामी ढुक्क होऔं।