जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
अगस्त ७-१३
बाइबलमा पाइने अनमोल धन | इजकिएल २८-३१
“यहोवाले मूर्तिपूजक राष्ट्रलाई इनाम दिनुभयो”
it-2-E पृ. ११३६ अनु. ४
टायर
सहरको विनाश। नबूकदनेसरले लामो समयसम्म टायरलाई घेरा हाल्दा सेनाहरूको टोपले रगडिएर तिनीहरूको “तालु खुइलियो” अनि घेरा हाल्नको लागि मालसामान बोक्दा-बोक्दा तिनीहरूको काँध पनि “पिल्सियो”। यहोवाले टायरमाथि न्याय गर्न चलाउनुभएको व्यक्ति नबूकदनेसरले ‘केही’ नपाएकोले तिनलाई मिश्रको धन-सम्पत्ति दिने प्रतिज्ञा गर्नुभयो। (इज २९:१७-२०) यहूदी इतिहासकार जोसेफसले भनेअनुसार घेरा हाल्ने काम १३ (अगेन्स्ट एपियन, १, १५६ [२१]) वर्षसम्म चल्यो यसको लागि बेबिलोनीहरूले कडा परिश्रम गर्नुपऱ्यो। नबूकदनेसरले गरेको प्रयासबारे सबै कुरा इतिहासमा उल्लेख गरिएको त छैन। तर टायरको थुप्रै धनजनको भने क्षति भयो।—इज २६:७-१२.
it-1-E पृ. ६९८ अनु. ५
मिश्र, मिश्री
नबूकदनेसरको सैंतिसौं वर्षको (ईसापूर्व ५८८) एउटा बेबिलोनी लेखोटमा मिश्र विरुद्धको अभियानबारे उल्लेख गरिएको पाइन्छ। यो तिनीहरूले हासिल गरेको मुख्य जितबारे हो वा केवल सैन्य कारबाहीबारे कुरा गरिएको हो त्यति खुलाएको छैन। जेहोस्, यहोवाले आफ्ना जनहरूको विरोधी टायरलाई दण्ड दिन नबूकदनेसरलाई चलाउनुभयो। तिनले इनामस्वरूप मिश्रको धनसम्पत्ति पाए।—इज २९:१८-२०; ३०:१०-१२.
g८६-E ११/८ पृ. २७ अनु. ४-५
के सबै कर तिर्नुपर्छ?
यसको जवाफ पाउन अख्तियारवालाहरूले दिएको सेवाको लागि तिर्ने सन्दर्भमा सृष्टिकर्ता आफैले बसाल्नुभएको उदाहरणलाई विचार गर्न सक्छौं। यहोवाले उहाँको स्तरबमोजिम नचलेकोले पुरातन टायरलाई विनाश गर्ने फैसला गर्नुभयो। यसको लागि उहाँले बेबिलोनका शासक नबूकदनेसर र तिनका सेनाहरूलाई चलाउनुभयो। जित हासिल गर्नको लागि बेबिलोनले निकै मेहनत गर्नुपऱ्यो। त्यसैले इनाम दिनुपर्छ भनी यहोवाले महसुस गर्नुभयो। इजकिएल २९:१८, १९ मा उहाँले यसो भन्नुभयो: “हे मानिस, बाबेलको राजा नबूकदनेसरले टायरको विरुद्धमा आफ्नो सेनालाई यति परिश्रम गर्न लगायो . . . तापनि टायरको विरुद्धमा गरेको परिश्रमको सट्टा नता त्यसले न त्यसको सेनाले टायरबाट केही पाउन सक्यो। यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, हेर् म मिश्र देशलाई बाबेलको राजा नबूकदनेसरको हातमा दिनेछु। त्यसले त्यसका धन-सम्पत्ति लैजानेछ। लूटपीट गरेर त्यसलाई सखाप पार्नेछ र लुटेको त्यो धन त्यसको सेनाको ज्याला हुनेछ।”
बाइबल विद्यार्थीहरूलाई नबूकदनेसर एकदमै घमन्डी, स्वार्थी र मूर्तिपूजक शासक थिए भनेर थाह छ। साथै, बेबिलोनी सेनाहरू कैदीहरूलाई कठोर व्यवहार गर्ने व्यक्तिको रूपमा चिनिन्थे। यहोवा त्यस्तो व्यवहारलाई समर्थन गर्नुहुन्न, तैपनि ऋण त आखिर ऋण नै हो, उहाँले पूरै चुक्ता गर्नुभयो।
बहुमूल्य रत्न खोजौं
it-2-E पृ. ६०४ अनु. ४-५
त्रुटिरहित अवस्था
पहिलो पापी र टायरका राजा। पृथ्वीमा पाप र त्रुटिपूर्ण अवस्था सुरु हुनुभन्दा धेरै पहिले स्वर्गमा सुरु भएको थियो भन्ने कुरा यूहन्ना ८:४४ मा उल्लिखित येशूका शब्दहरू र उत्पत्ति अध्याय ३ को विवरणले स्पष्ट पार्छ। इजकिएल २८:१२-१९ मा ‘टायरका राजा’-बारे उल्लेख गरिएको भए तापनि त्यो विवरण परमेश्वरको विरुद्ध पाप गर्ने पहिलो विद्रोही स्वर्गदूतले चालेको कदमसित मेल खान्छ। ‘टायरको राजाले’ देखाएको घमन्ड तिनले आफूलाई ईश्वर तुल्याएकोबाट, ‘करूब’ भनी सम्बोधन गरेकोबाट, ‘परमेश्वरको बगैंचा अदनमा’ भएको व्यक्ति भनेर चिनाएकोबाट स्पष्ट हुन्छ। बाइबलमा घमन्डी सैतान अर्थात् दियाबललाई पनि अदनको बगैंचामा भएको सर्पसित तुलना गरिएको छ। साथै “यस युगको ईश्वर” पनि भनिएको छ।—१ति ३:६; उत्प ३:१-५, १४, १५; प्रका १२:९; २को ४:४.
आफूलाई “सर्वाङ्ग सुन्दरी” भनेर दाबी गर्ने नाम नखुलाइएका टायरका राजा “सर्वाङ्ग सुन्दर र बुद्धिले पूर्ण” [हिब्रू कलाल् भन्ने विशेषणसित सम्बन्धित] अनि “सृजिएको दिनदेखि अधर्म फेला नपरेको दिनसम्म त्यसको चालढङ्गमा निर्दोष [हिब्रू तामिम्] थिए। (इज २७:३; २८:१२, १५) इजकिएलको किताबमा उल्लेख गरिएको विवरण कुनै एक जना राजालाई मात्र नभई टायरका शासकहरूलाई लागू हुन्छ। (यशैया १४:४-२० मा उल्लिखित नाम नखुलाएको “बेबिलोनको राजा” विरुद्ध गरिएको भविष्यवाणीसित तुलना गर्नुहोस्) यो विवरणले सायद दाऊद र सुलेमान राजाको शासनकालमा टायरका शासकहरूले देखाएको मित्रभाव र सहयोगलाई सङ्केत गरेको हुन सक्छ। त्यतिबेला मोरीयाह पर्वतमा यहोवाको मन्दिर निर्माण गर्न टायरका शासकहरूले योगदान दिएका थिए। त्यसैले सुरुमा टायरका शासकहरूले इस्राएलीहरूसित गरेको व्यवहारमा कुनै खोट थिएन। (१रा ५:१-१८; ९:१०, ११, १४; २इ २:३-१६) तर पछि राजाहरू आफ्नो चालमा ‘निर्दोष’ रहेनन्, भविष्यवक्ता योएल, आमोस र इजकिएलले तिनीहरू विरुद्ध दण्ड सुनाए। (योए ३:४-८; आ १:९, १०) भविष्यवाणीमा उल्लिखित ‘निर्दोष’ र ‘त्रुटिरहित अवस्था’ भन्ने शब्द “टायरका राजा” र परमेश्वरको प्रमुख शत्रु सैतानको व्यवहारलाई बुझाउन मात्र नभई अरू मानिसहरूको निम्ति पनि यो शब्द प्रयोग गरिएको छ।
अगस्त १४-२०
बाइबलमा पाइने अनमोल धन | इजकिएल ३२-३४
“पहरेदारको गहन जिम्मेवारी”
it-2-E पृ. ११७२ अनु. २
पहरेदार
प्रतीकात्मक प्रयोग। यहोवाले इस्राएल राष्ट्रमा भविष्यवक्ताहरू खडा गर्नुभयो। तिनीहरूले प्रतीकात्मक तवरमा पहरेदारको रूपमा सेवा गरे। (यर्मि ६:१७) त्यसैले तिनीहरूलाई कहिलेकाहीं पहरेदार भनेर पनि सम्बोधन गरिएको छ। (यशै २१:६, ८; ५२:८; ६२:६; होशे ९:८) ती भविष्यवक्ताहरूले दुष्टहरूलाई आउन लागेको विनाशबारे चेतावनी दिनुपर्थ्यो, यदि नदिएमा तिनीहरू रक्तदोषी हुन्थे। तर पहरेदारले दिएको चेतावनीलाई बेवास्ता गरेमा मानिसहरू स्वयम् दोषी हुन्थे। (इज ३:१७-२१; ३३:१-९) अवफादार भविष्यवक्ता अन्धो पहरेदार अथवा भुक्न नसक्ने कुकुर जस्तै बेकारको हुने थियो।—यशै ५६:१०.
w८८-E १/१ पृ. २८ अनु. १३
राज्य प्रचार गरिरहनुहोस्
रक्तदोषी हुनदेखि जोगिने
इजकिएलले जस्तै परमेश्वरको न्यायको दिनबारे चेतावनी दिने जिम्मेवारी यहोवाका समर्पित सेवकहरूले पाएका छन्। तिनले इस्राएलको पहरेदारको रूपमा परमेश्वरको न्यायदण्डबारे मानिसहरूलाई चेतावनी दिनुपर्थ्यो। तिनले चेतावनी दिन चुकेमा खराब मानिसहरूमाथि आइपर्ने दण्डको दोषी हुनेथिए। न्यायदण्डबारे यहोवाले आफ्नो दृष्टिकोण यसरी बताउनुभएको छ: “दुष्टको मृत्यु म चाहन्नँ बरु दुष्ट मानिसले आफ्नो चाल त्यागेर जिओस् भन्ने म चाहन्छु। आफ्नो दुष्ट चाल त्याग, ती त्यागिहाल। हे इस्राएली हो, तिमीहरू किन मर्छौ?”—इजकिएल ३३:१-११.
अगस्त २१-२७
बहुमूल्य रत्न खोजौं
w८८-E ९/१५ पृ. २४ अनु. ११
“तिनीहरूले मनै परमप्रभु हुँ भनी जान्नेछन्”
बाँकी रहेका यहूदीहरू यहूदामा फर्किए पछि उजाड भूमिलाई “अदनको बगैंचा”-झैं फलदायी बनाइयो। (इजकिएल ३६:३३-३६ पढ्नुहोस्) त्यसैगरि बाँकी रहेका अभिषिक्त ख्रीष्टियनहरूको अवस्था पनि कुनै समय उजाड भूमि जस्तै थियो। तर सन् १९१९ देखि यहोवाले तिनीहरूलाई “ठूलो भीड” सहित एउटा फलदायी आध्यात्मिक प्रमोदवनमा परिणत गर्नुभयो। अहिले आध्यात्मिक प्रमोदवन पवित्र जनहरूले भरिएको छ। यसलाई हरेक समर्पित ख्रीष्टियनले स्वच्छ राख्ने प्रयास गरिरहनुपर्छ।—इजकिएल ३६:३७, ३८.
अगस्त २८–सेप्टेम्बर ३
बहुमूल्य रत्न खोजौं
w१२-E ९/१ पृ. २१ अनु. २
“जाति-जातिका मानिसहरूले म परमप्रभु हुँ भनी जान्नेछन्”
यहोवा यसो भन्नुहुन्छ, ‘म मेरो पवित्र नाउँ कहिल्यै अपवित्र पार्न दिन्नँ।’ मानिसहरूले अन्यायको लागि परमेश्वरलाई दोष लगाउँदा उहाँको नाउँलाई अपवित्र पारिरहेका हुन्छन्। कसरी? बाइबलमा “नाउँ” शब्दले अक्सर प्रतिष्ठालाई बुझाउँछ। यसबारे एउटा स्रोतले यसो भन्छ: “उहाँले आफ्नो विषयमा प्रकट गर्नुभएको कुरा र उहाँको प्रतिष्ठा अनि सम्मानलाई बुझाउँछ।” हो, यहोवाको नामसित उहाँको प्रतिष्ठा जोडिएको छ। अन्यायप्रति उहाँको दृष्टिकोण कस्तो छ? यहोवा अन्यायलाई घृणा गर्नुहुन्छ साथै अन्याय भोगिरहेकाहरूप्रति टिठाउनुहुन्छ। (प्रस्थान २२:२२-२४) त्यसकारण मानिसहरूले परमेश्वरलाई अन्यायको दोष लगाउँदा उहाँको प्रतिष्ठालाई नै कलङ्कित पारिरहेका हुन्छन् र उहाँको “नाउँको निन्दा” गरिरहेका हुन्छन्।—भजन ७४:१०.
w८९-E ८/१५ पृ. १४ अनु. २०
प्रमोदवनमा पुऱ्याउने बाटो फेरि खुल्यो
राष्ट्रहरूले युद्धमा प्रयोग गर्ने विभिन्न हातहतियारको विषयमा के भन्न सक्छौं? हातहतियारलाई नष्ट गर्न लाग्ने प्रतीकात्मक समयावधिलाई विचार गर्दा त्यसको सङ्ख्या तीनथुप्रो हुनेछ भन्ने कुरा बुझिन्छ। (इजकिएल ३९:८-१०) तर आरमागेडोन पार गरेका मानिसहरूले ती हातहतियारलाई उपयोगी साधनमा परिणत गर्नेछन्।—यशैया २:२-४.