जीवनी
यहोवामा भरोसा गर्दा मैले साँचो सुरक्षा पाएको छु
चिनेजानेका मानिसहरूले तपाईँले यहोवाको सेवामा के-के गर्नुभयो भनेर सोध्दा म अक्सर यस्तो जवाफ दिन्छु: “म यहोवाको हातको सुटकेस हुँ।” जसरी म आफ्नो सुटकेसलाई जहाँ मन लाग्छ त्यहीँ लैजान्छु, त्यसरी नै यहोवा र उहाँको सङ्गठनले मलाई जहाँ अनि जहिले मन लाग्छ त्यहीँ पठाएको म चाहन्छु। मैले यस्ता असाइनमेन्टहरू स्विकारेको छु, जसमा कहिलेकाहीँ कठिनाइहरू भोग्नुपर्ने अनि ज्यानको समेत खतरा मोल्नुपर्ने हुन्थ्यो। तर यहोवामा भरोसा गर्दा मात्र साँचो सुरक्षा पाउन सकिन्छ भनेर मैले बुझेको छु।
मैले कसरी यहोवालाई चिनेँ र उहाँलाई भरोसा गर्न सकेँ?
मेरो जन्म १९४८ मा नाइजेरियाको दक्षिण पश्चिममा पर्ने एउटा सानो गाउँमा भयो। त्यही समयतिर मेरो काका मुस्तफा र उहाँपछि मेरो जेठो दाइ वाहाबिले बप्तिस्मा गर्नुभयो। म नौ वर्षको छँदा बुबा बित्नुभयो। त्यसले गर्दा म असाध्यै दुःखी भएँ। वाहाबि दाइले बुबा फेरि जीवित हुनुहुनेछ र हामीले उहाँलाई भेट्न पाउनेछौँ भनेर बताउनुभयो। त्यो सान्त्वनादायी कुरा सुनेपछि मलाई बाइबल अध्ययन गर्न मन लाग्यो। मैले अध्ययन गर्न थालेँ र १९६३ मा बप्तिस्मा गरेँ। पछि मेरा दुई जना दाइ र एक जना भाइले पनि बप्तिस्मा गर्नुभयो।
म १९६५ मा मेरो दाइ विल्सनसितै लागोस सहरमा बस्न थालेँ। अनि त्यहाँको इग्बोबि मण्डलीका नियमित अग्रगामीहरूसित धेरै समय बिताएँ। उहाँहरूको जोस अनि आनन्द देखेर मैले निकै प्रोत्साहन पाएँ र जनवरी १९६८ मा मैले पनि नियमित अग्रगामी सेवा सुरु गरेँ।
बेथेलमा सेवा गर्ने एक जना दाइ अल्बर्ट अलुग्बेबीले हामी जवानहरूसित एउटा विशेष सभाको आयोजना गर्नुभयो। उहाँले त्यस सभामा उत्तरी नाइजेरियामा विशेष अग्रगामीहरूको आवश्यकताबारे बताउनुभयो। उहाँले जोसिलो हुँदै भन्नुभएको यो कुरा मलाई अझै याद छ: “तपाईँहरू जवान हुनुहुन्छ। त्यसैले आफ्नो समय र शक्ति यहोवाको लागि प्रयोग गर्नुहोस्। त्यहाँ तपाईँहरूजस्ता युवाहरूको खाँचो छ।” म भविष्यवक्ता यसैयाको जस्तै इच्छुक मनोभाव देखाउन चाहन्थेँ। त्यसैले मैले विशेष अग्रगामीको फाराम भरेँ।—यसै. ६:८.
मे १९६८ मा मलाई उत्तरी नाइजेरियाको कानो सहरमा विशेष अग्रगामी सेवा गर्न खटाइयो। त्यतिबेला बायाफ्रा युद्ध (सन् १९६७-१९७०) चलिरहेको थियो। त्यस युद्धले गर्दा नाइजेरियाको उत्तरी भेगमा थुप्रैले दुःख पाए र कैयौँले आफ्नो ज्यान गुमाए। त्यसपछि त्यो युद्ध पूर्वी नाइजेरियामा चर्किन थाल्यो। मण्डलीको एक जना दाइले मेरो चिन्ता गर्दै मलाई त्यहाँ नजाऊ भनेर धेरै सम्झाउनुभयो। तर मैले उहाँलाई यसो भने: “तपाईँ मेरो ख्याल राख्नुहुन्छ भनेर मलाई थाह छ। तर यदि यहोवा मैले त्यहाँ गएर सेवा गरेको चाहनुहुन्छ भने उहाँ पक्कै मेरो साथमा हुनुहुनेछ।”
युद्धग्रस्त इलाकामा समेत यहोवामा भरोसा गर्दै
कानो सहरको अवस्था एकदमै दर्दनाक थियो। त्यो ठूलो सहर गृहयुद्धले गर्दा ध्वस्त भएको थियो। साक्षीकार्यमा जाँदा बाटोमा हामी कहिलेकाहीँ लासहरू देख्थ्यौँ। हुनत कानो सहरमा केही मण्डली थिए तर हामी त्यहाँ पुग्दा धेरैजसो भाइबहिनी अर्कै ठाउँमा भागिसकेका थिए। त्यहाँ १५ जनाभन्दा थोरै भाइबहिनी मात्र बाँकी हुनुहुन्थ्यो र उहाँहरू पनि निकै डराउनुभएको अनि निराश हुनुभएको थियो। हामी छ जना विशेष अग्रगामी त्यहाँ पुगेपछि उहाँहरू निकै खुसी हुनुभयो। हामीले प्रोत्साहन दिएपछि उहाँहरूको मुहार उज्यालो भयो। हामीले उहाँहरूलाई आध्यात्मिक तालिकामा फर्कन अनि शाखामा फेरि क्षेत्र सेवा रिपोर्ट र साहित्यहरूको अर्डर पठाउन मदत गऱ्यौँ।
हामी छ जनाले नै हौसा भाषा सिक्न थाल्यौँ। आफ्नै भाषामा राज्य सन्देश सुन्न पाउँदा थुप्रै मानिसले चासो देखाए। तर हामीले सुसमाचार सुनाएको कुरा त्यहाँको मुख्य धर्मका सदस्यहरूलाई मन परेको थिएन। त्यसैले हामी निकै होसियार हुनुपर्ने थियो। एकचोटिको कुरा हो, म र मेरो साथीलाई हातमा चक्कु बोकेको एक जना मान्छेले लखेट्यो। धन्न! हामी भागिहालेकोले हाम्रो ज्यान जोगियो! यस्ता खतराहरूको बाबजुद यहोवाले हामीलाई ‘सुरक्षित राख्नुभयो’ र प्रकाशकहरूको सङ्ख्या बढ्दै गयो। (भज. ४:८) अहिले कानो सहरमा ११ वटा मण्डलीमा ५०० भन्दा धेरै प्रकाशक छन्।
नाइजरमा विरोधको सामना गर्दै
नाइजरको नियामीमा विशेष अग्रगामी गर्दै
कानोमा सरेको केही महिनापछि १९६८ को अगस्तमा मलाई अरू दुई जना विशेष अग्रगामीसितै नाइजर गणतन्त्रको राजधानी नियामीमा खटाइयो। त्यहाँ अरू तीन जना विशेष अग्रगामीले सेवा गरिरहेका थिए। पश्चिम अफ्रिकाको नाइजर सहर संसारकै सबैभन्दा गर्मी ठाउँहरूमध्ये एउटा हो भनेर हामीले सुनेका थियौँ। हामीले बिस्तारै त्यहाँको उखुम गर्मी सहन सिक्यौँ। साथै त्यहाँको आधिकारिक भाषा अर्थात् फ्रान्सेली भाषा पनि सिक्न थाल्यौँ। त्यस्ता चुनौतीहरूको बाबजुद हामीले यहोवामा भरोसा गर्न छोडेनौँ र त्यहाँका थोरै प्रकाशकसितै मिलेर साक्षीकार्यमा भाग लिन थाल्यौँ। साक्षीकार्य यत्ति व्यापक रूपमा फैलियो कि केही समय नबित्दै नियामीका लेखपढ गर्न सक्ने लगभग सबै जनाको हातहातमै अनन्त जीवनतर्फ लैजाने सत्य (अङ्ग्रेजी) भन्ने किताब पुगिसकेको थियो। केही मानिस त त्यो किताब पाउन हामीलाई खोज्दै घरसम्मै आइपुग्थे!
त्यहाँका अख्तियारवालाहरू यहोवाका साक्षीहरूलाई मन पराउँदैनन् भनेर हामीले छिट्टै थाह पायौँ। जुलाई १९६९ मा त्यस देशमा पहिलो चोटि आयोजना गरिएको क्षेत्रीय सम्मेलनमा हामी एकसाथ भेला भयौँ। त्यस सम्मेलनमा २० जनाजति उपस्थित भएका थिए र दुई जनाले बप्तिस्मा गर्न लागेका थिए। हामी सबै निकै खुसी थियौँ। तर सम्मेलनको पहिलो दिनमै प्रहरीहरू आए र कार्यक्रम रोक्न लगाए। तिनीहरूले हामी सबै विशेष अग्रगामी र क्षेत्रीय निरीक्षकलाई थानामा लगे। केही सोधपुछ गरेपछि तिनीहरूले भोलि आउनू भनेर हामीलाई छोडिदिए। अख्तियारवालाहरूले दुःख दिन सक्छन् भन्ने लागेकोले हामीले बप्तिस्मा भाषण कसैको घरमा दिने प्रबन्ध मिलायौँ र होसियार हुँदै एउटा नदीमा ती दुईजनालाई बप्तिस्मा गरायौँ।
त्यसको केही हप्तापछि हामी छ जना विशेष अग्रगामीलाई त्यहाँको गृह मन्त्रालयले देशनिकाला गरिदियो। तिनीहरूले हामीलाई देश छोड्न ४८ घण्टाको समय दिए र त्यसको लागि सबै बन्दोबस्त हामी आफैलाई मिलाउन भने। हामी सीधै नाइजेरियाको शाखा कार्यालयमा गयौँ र त्यहाँ हामीले नयाँ असाइनमेन्टहरू पायौँ।
मलाई नाइजेरियाको अरेसुन्बारी भन्ने गाउँमा खटाइयो। मैले त्यहाँका प्रकाशकहरूको एउटा सानो समूहसँगै साक्षीकार्यमा भाग लिएँ र थुप्रैलाई बाइबल अध्ययन गराएँ। तर छ महिनापछि नाइजेरिया शाखा कार्यालयले मलाई नाइजर फर्कन आग्रह गऱ्यो। सुरुमा त म छक्क परेँ अनि डर पनि लाग्यो तर नाइजरका भाइबहिनीलाई फेरि भेट्न म निकै उत्सुक थिएँ।
म नियामी फर्केको भोलिपल्ट एक जना नाइजेरियाली व्यापारीले म साक्षी हुँ भनेर चिनिहाले र बाइबलबारे विभिन्न प्रश्न सोध्न थाले। मैले तिनलाई अध्ययन गराउँदै जाँदा तिनले चुरोट खान र अत्यधिक रक्सी पिउन छोडे अनि पछि बप्तिस्मा गरे। नाइजरको विभिन्न ठाउँमा भाइबहिनीसँगै साक्षीकार्यमा भाग लिन पाउँदा र बिस्तारै वृद्धि भएको देख्न पाउँदा म निकै खुसी भएँ। म त्यहाँ पहिलो चोटि पुग्दा देशभरि ३१ जना मात्र साक्षी थिए। मैले त्यो देश छोडुन्जेलसम्ममा ६९ जना साक्षी भइसकेका थिए।
“हामीलाई गिनीका भाइबहिनीको अवस्थाबारे खासै थाह छैन”
सन् १९७७ डिसेम्बरमा म तालिमको लागि नाइजेरिया फर्केँ। तीन हप्ते तालिमको अन्ततिर शाखा समितिका संयोजक माल्कम भाइगो दाइले मलाई सियरा लियोन शाखाबाट आएको पत्र पढ्न लगाउनुभयो। त्यहाँका भाइहरू गिनीमा क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न सक्ने अग्रगामी भाइ खोज्दै हुनुहुन्थ्यो। तिनी स्वस्थ, अविवाहित अनि अङ्ग्रेजी र फ्रान्सेली भाषा बोल्न सक्ने हुनुपर्थ्यो। त्यही असाइनमेन्टको लागि मलाई तालिम दिइएको हो भनेर भाइगो दाइले बताउनुभयो। उहाँले त्यो असाइनमेन्ट सजिलो छैन भन्ने कुरामा जोड दिनुभयो। उहाँले मलाई यस्तो सुझाव दिनुभयो: “यो असाइनमेन्ट स्विकार्नुअघि राम्ररी विचार गर्नुहोस्।” मैले तुरुन्तै यस्तो जवाफ दिएँ: “यहोवाले नै मलाई यो असाइनमेन्ट दिनुभएको हो, त्यसैले म जान तयार छु।”
म सियरा लियोन गएँ र त्यहाँको शाखा कार्यालयका भाइहरूलाई भेटेँ। शाखा समितिका एक जना भाइले मलाई यसो भन्नुभयो: “हामीलाई गिनीका भाइबहिनीको अवस्थाबारे खासै थाह छैन।” गिनी सियरा लियोन शाखाअन्तर्गत पर्ने भए तापनि गिनीको राजनैतिक अवस्था तनावपूर्ण भएकोले त्यहाँका प्रकाशकहरूसित सम्पर्क गर्न असम्भव थियो। गिनीका भाइबहिनीलाई भेट्नको लागि थुप्रै चोटि भाइहरूलाई पठाउने कोसिस गरिए तापनि सरकारी अनुमति पाउन भने मुस्किल भइरहेको थियो। त्यसैले मलाई गिनीको राजधानी कोनाक्री जान आग्रह गरियो र त्यहाँ बस्नको लागि अनुमति लिने कोसिस गर्न भनियो।
“यहोवाले नै मलाई यो असाइनमेन्ट दिनुभएको हो, त्यसैले म जान तयार छु”
कोनाक्री पुगेपछि म नाइजेरियाली राजदूतावास गएँ र त्यहाँको राजदूतलाई भेटेँ। मैले उहाँलाई गिनीमा सुसमाचार सुनाउने आफ्नो इच्छाबारे बताएँ। उहाँले मलाई यहाँ पक्राउ पर्न सक्ने वा अवस्था अझै नराम्रो हुन सक्ने खतरा भएकोले यहाँ नबस्न आग्रह गर्नुभयो। उहाँले मलाई “नाइजेरिया फर्कनुहोस् र त्यहीँ सुसमाचार सुनाउनुहोस्” भन्नुभयो। तर मैले उहाँलाई यसो भने: “मैले यहीँ बस्ने निर्णय गरिसकेँ।” त्यसैले उहाँले मलाई मदत गर्न आग्रह गर्दै गिनीको गृहमन्त्रीलाई पत्र लेख्नुभयो र गृहमन्त्रीले मलाई मदत गर्नुभयो।
त्यसको केही समयपछि नै म सियरा लियोन शाखा कार्यालयमा फर्केँ र भाइहरूलाई गिनीका गृहमन्त्रीको निर्णयबारे बताएँ। मैले गिनीमा बस्ने अनुमति पाएको कुरा सुनेपछि भाइहरूको खुसीको सीमै रहेन। हामीले यहोवाको आशिष् पाएको महसुस गऱ्यौँ!
सियरा लियोनमा परिभ्रमणकार्य गर्दै
मैले १९७८ देखि १९८९ सम्म गिनी र सियरा लियोनमा क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरेँ र लाइबेरियामा वैकल्पिक क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरेँ। सुरु-सुरुमा त म बिरामी परिरहन्थेँ। कहिलेकाहीँ त दुर्गम ठाउँहरूमा हुँदा बिरामी पर्थेँ। त्यहाँका भाइबहिनीले मलाई अस्पतालसम्म पुऱ्याउन धेरै दुःख गर्नुभयो।
एकचोटि म औलोले गर्दा सिकिस्तै भएको थिएँ अनि त्यही बेला जुका पनि परेको थियो। त्यतिबेला भाइहरूलाई म मर्छु होला जस्तो लागेकोले मलाई कहाँ गाड्ने होला भनेर कुरा गर्दै हुनुहुँदो रहेछ। त्यो कुरा मैले निको भएपछि थाह पाएँ। यस्तो ज्यानै खतरामा पर्ने घटनाहरूको बाबजुद मैले आफ्नो असाइनमेन्ट छोड्नेबारे कहिल्यै सोचिनँ। यहोवाले मात्र हामीलाई साँचो र चिरस्थायी सुरक्षा दिनुहुन्छ भनेर म ढुक्क छु। किनभने हामी मरिहाल्यौँ भने पनि उहाँले हामीलाई फेरि जीवित पार्नुहुनेछ।
दम्पतीको रूपमा यहोवामा भरोसा गर्दै
हाम्रो विवाह, १९८८
सन् १९८८ मा मैले एउटी अग्रगामी बहिनी डोर्कसलाई भेटेँ। उनी यहोवालाई धेरै माया गर्थिन् र नम्र थिइन्। हामीले विवाह गऱ्यौँ र सँगै परिभ्रमणकार्यमा लाग्यौँ। डोर्कसले मसितै असाइनमेन्ट पूरा गर्न निकै मेहनत गरिन् र उनी यहोवाको लागि जस्तोसुकै त्याग गर्न पनि तयार थिइन्। एउटा मण्डलीबाट अर्को मण्डलीमा जान हामी आ-आफ्नो झोला बोकेर २५ किलोमिटरसम्म हिँड्थ्यौँ। टाढा-टाढाको मण्डलीमा जान भने हामी जे भेट्यो, त्यसैमा जान्थ्यौँ अनि बाटो पनि हिलैहिलो र खाल्टैखाल्टो हुन्थ्यो।
डोर्कस निकै आँटिली छिन्। कहिलेकाहीँ हामीले गोही नै गोही भएको नदी तर्नुपर्ने हुन्थ्यो। एकचोटि पाँच दिने यात्रा गर्दा डुङ्गा चढ्नुपर्ने भयो किनभने काठका पुलहरू भत्किएका थिए। डोर्कस डुङ्गाबाट झर्ने बेला अचानक गोही नै गोही भएको नदीमा खसिन्। हामी दुवैलाई पौडन आउँदैनथ्यो। धन्न! केही जवान केटाले नदीमा हाम फालेर डोर्कसलाई बचाए। त्यस घटनापछि हामी केही समयसम्म निद्रामा समेत झसङ्ङ हुन्थ्यौँ तर हामी आफ्नो असाइनमेन्टमा भने लागिरह्यौँ।
हाम्री छोरी जागिफ्ट र छोरा एरिक हाम्रो लागि उपहार साबित भएका छन्
सन् १९९२ को सुरुतिर डोर्कस दुई जीउकी भएको थाह पाउँदा हामी छक्क पऱ्यौँ। हामीले पूर्ण-समय सेवा गरिरहने कि छोड्ने भनेर निर्णय गर्नुपर्ने भयो। हामीले यस्तो सोच्यौँ: “यहोवाले हामीलाई उपहार दिनुभएको छ!” त्यसैले हामीले आफ्नी छोरीको नाम जागिफ्ट (अङ्ग्रेजीमा यसको अर्थ हुन्छ, “याहको उपहार”) राख्यौँ। छोरी जन्मेको चार वर्षपछि हाम्रो छोरा एरिक जन्मियो। हाम्रा दुवै छोराछोरी हाम्रो लागि उपहार साबित भएका छन्। जागिफ्टले केही समयको लागि कोनाक्रीको अनुवाद कार्यालयमा सेवा गरिन् र एरिक सहायक सेवकको रूपमा सेवा गर्दै छन्।
केही समयपछि डोर्कसले विशेष अग्रगामी सेवा छोडिन्। तर छोराछोरी हुर्काउँदै भए पनि उनले नियमित अग्रगामी भने गरिरहिन्। यहोवाको मदत पाएर म विशेष पूर्ण-समय सेवामा लागिरहन सकेँ। हाम्रा छोराछोरी हुर्किएपछि डोर्कसले फेरि विशेष अग्रगामीको रूपमा सेवा गरिन्। अहिले हामी दुवै जना कोनाक्रीमा मिसनरीको रूपमा सेवा गर्दै छौँ।
साँचो सुरक्षाको स्रोत
यहोवाले मलाई जहाँ-जहाँ लैजानुभयो, म सधैँ त्यहीँ-त्यहीँ गएँ। डोर्कस र मैले यहोवाबाट सुरक्षा र थुप्रै आशिष् पाएको अनुभव गरेका छौँ। भौतिक कुराहरूमा नभई यहोवामा भरोसा गरेकोले हामी थुप्रै समस्या र चिन्ता-फिक्रीबाट जोगिएका छौँ। “उद्धार गर्नुहुने परमेश्वर” यहोवा नै साँचो सुरक्षाको स्रोत हुनुहुन्छ भनेर हामीले आफ्नै अनुभवबाट सिकेका छौँ। (१ इति. १६:३५) “बहुमूल्य कुराहरू झोलामा हालेर जोगाएझैँ” यहोवामाथि भरोसा गर्नेहरूलाई पनि ‘उहाँले जोगाउनुहुनेछ’ भन्ने कुरामा म ढुक्क छु।—१ समु. २५:२९.