प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 जून pp. १४-१८
  • यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेरो जीवन परिवर्तन भयो
  • दोस्रो विश्‍वयुद्धको बेला
  • आध्यात्मिक तवरमा परिपक्व हुँदै
  • पूर्ण-समय सेवा
  • कानुनी लडाइँ लड्‌दै
  • क्युबामा राज्य गतिविधिमा भाग लिन अझ सजिलो भयो
  • रुवाण्डाका भाइबहिनीलाई मदत गर्दै
  • वफादार रहिरहन कटिबद्ध
  • “तपाईंको करुणा जीवनभन्दा उत्तम छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मलाई यहोवाबारे सिक्न र सिकाउन रमाइलो लाग्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • रूवाण्डाको बिपत्तिमा परेका पीडितहरूको उद्धार
    ब्यूँझनुहोस्‌!—१९९५
  • पूर्ण-समय सेवा गर्दा मैले थुप्रै सुअवसर पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 जून pp. १४-१८
मार्सेल जिला बेल्जियम बेथेलको आफ्नो अफिसमा।

जीवनी

यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो

मार्सेल जिलाको वृत्तान्तमा आधारित

मैले यहोवाबारे पहिलो चोटि सुन्दा म भर्खरै १० वर्ष पुगेको थिएँ। त्यतिखेर म आकाशमा टिलपिल गरिरहेका ताराहरू हेर्दै थिएँ। त्यसपछि ती ताराहरू बनाउनुहुने परमेश्‍वरलाई मैले घुँडा टेकेर प्रार्थना गर्न थालेँ। मैले उहाँलाई आफ्नो मनको सबै कुरा बताएँ। त्यो प्रार्थना नै यहोवा परमेश्‍वरसितको मेरो सम्बन्धको सुरुवात थियो। त्यसपछि “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर”-सित मेरो सम्बन्ध जिन्दगीभर कायम रह्‍यो। (भज. ६५:२) भर्खरै चिन्‍न थालेको परमेश्‍वरलाई मैले किन प्रार्थना गरेँ? आउनुहोस्‌, त्यसबारे तपाईँहरूलाई बताउँछु।

मेरो जीवन परिवर्तन भयो

सन्‌ १९२९ डिसेम्बर २२ मा बेल्जियमको बास्टोननजिकै पर्ने नोभेल भन्‍ने एउटा सानो गाउँमा मेरो जन्म भयो। मेरो आमाबुबा खेतीपाती गर्नुहुन्थ्यो र उहाँहरूले गाईवस्तु पनि पाल्नुभएको थियो। सानो छँदा उहाँहरूसँग बिताएको मीठो सम्झना मेरो मनमा अझै पनि ताजै छ। मेरो भाइ रेमोन र म हरेक दिन गाई दुहुन्थ्यौँ र खेतीपातीमा पनि आमाबुबालाई मदत गर्थ्यौँ। हाम्रो सानो गाउँका सबै जना मिलेर बस्थे र एकअर्कालाई मदत गर्थे।

म परिवारसित खेतमा काम गर्दै

मेरो बुबाको नाम इमिल र आमाको नाम अलेस हो। उहाँहरू हरेक आइतबार क्याथोलिक चर्च जानुहुन्थ्यो। उहाँहरू धर्ममा निकै आस्था राख्नुहुन्थ्यो। तर १९३९ तिर बेलायतबाट केही अग्रगामीहरू हाम्रो गाउँमा आएका थिए। तिनीहरूले बुबालाई ‘कन्सोलेसन (अहिले ब्यूँझनुहोस्‌! भनिन्छ) पत्रिकाको ग्राहक बन्‍नुहुन्छ कि?’ भनेर सोधे। बुबाले तिनीहरूको प्रस्ताव स्विकार्नुभयो। ती पत्रिकाहरूमा लेखिएको कुरा सत्य हो भनेर बुबाले बुझ्न थाल्नुभयो र बाइबल पढ्‌न थाल्नुभयो। उहाँले चर्च जान छोड्‌नुभएकोले पहिला राम्रो सम्बन्ध भएका छिमेकीहरूले पनि उहाँको चर्को विरोध गर्न थाले। तिनीहरूले बुबालाई क्याथोलिक धर्ममै रहिरहन दबाब दिए, जसले गर्दा तिनीहरूसित थुप्रै चोटि चर्को भनाभन भयो।

छिमेकीहरूले बुबासित नराम्रो व्यवहार गरेको देख्दा मेरो साह्रै चित्त दुख्यो। मैले सुरुमा जुन प्रार्थनाबारे बताएको थिएँ, त्यो यही बेला गरेको प्रार्थना हो। त्यसपछि छिमेकीहरूको विरोध कम हुँदै गयो। मलाई साह्रै खुसी लाग्यो। त्यस घटनाबाट यहोवा “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरामा म ढुक्क हुन सकेँ।

दोस्रो विश्‍वयुद्धको बेला

सन्‌ १९४०, मे १० मा जर्मन सेनाले बेल्जियममा आक्रमण गऱ्‍यो। त्यसैले थुप्रै मानिसहरू आफ्नो देश छोडेर भाग्न बाध्य भए। हामी पनि फ्रान्सको दक्षिणी भागतिर भाग्यौँ। हामी जुन बाटो भएर भागिरहेका थियौँ, त्यहाँ ठाउँठाउँमा जर्मन सेना र फ्रान्सेली सेनाबीच युद्ध भइरहेको थियो। त्यसैले अवस्था निकै खतरनाक थियो।

पछि हामी आफ्नो घर फर्कियौँ तर हाम्रो धेरैजसो सरसामान चोरी भइसकेको थियो। घरमा हाम्रो कुकुर मात्र बाँकी थियो। जीवनमा यस्ता कुराहरू भोग्नुपरेकोले मेरो मनमा यस्ता प्रश्‍नहरू उठ्‌न थाले: ‘संसारमा किन युद्ध भइरहेको छ? हामीले किन यत्ति धेरै दुःखकष्ट भोग्नुपरेको होला?’

किशोरावस्थाका मार्सेल।

किशोरावस्थामा मैले यहोवासित घनिष्ठ सम्बन्ध गाँसेँ

त्यही समयतिर एक जना अग्रगामी दाइ इमिल स्रान्जa हामीलाई भेट्‌न आउन थाल्नुभयो। हामीले दुःखकष्ट भोग्नुको कारण र मेरो मनमा उठेका अन्य प्रश्‍नहरूको जवाफ उहाँले बाइबलबाट स्पष्टसित बताउनुभयो। त्यसैले हामीले उहाँबाट थुप्रै कुरा सिक्न सक्यौँ। मैले यहोवासित अझ घनिष्ठ सम्बन्ध विकास गर्न सकेँ र उहाँ प्रेमका परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भएँ।

युद्ध सकिनुभन्दा अघि नै हाम्रो भेट यहोवाका साक्षीहरूसित नियमित रूपमा हुन थालिसकेको थियो। सन्‌ १९४३ अगस्तमा भाइ जोझा-निकोला मिने हाम्रो घरमा आउनुभयो र भाषण दिनुभयो। त्यसपछि उहाँले यस्तो प्रश्‍न सोध्नुभयो: “तपाईँहरूमध्ये को-को बप्तिस्मा गर्न चाहनुहुन्छ?” मेरो बुबाले हात उठाउनुभयो अनि मैले पनि हात उठाएँ। त्यसपछि हामीले घर नजिकैको एउटा खोलामा बप्तिस्मा गऱ्‍यौँ।

सन्‌ १९४४ डिसेम्बरमा जर्मन सेनाले पश्‍चिमी युरोपमा आक्रमण गऱ्‍यो। त्यसपछि दोस्रो विश्‍वयुद्धको बेला त्यत्तिको ठूलो आक्रमण फेरि भएन। हाम्रो घर त्यो आक्रमण भएको ठाउँ नजिकै थियो। त्यसैले हामी महिना दिनसम्म घरभित्रै लुकेर बस्नुपऱ्‍यो। एकदिन म गाईवस्तुलाई खानेकुरा दिन बाहिर निस्केको थिएँ। त्यति नै बेला त्यहाँ बमबारी भयो र हाम्रो गोठको छानो ध्वस्त भयो। एक जना अमेरिकी सिपाही हाम्रो गोठ नजिकै थिए। तिनले मलाई ठूलो स्वरमा “घोप्टो पर्‌!” भने। त्यसपछि म दौडेर तिनी भएको ठाउँ नजिकै गएँ र घोप्टो परेँ। मलाई केही नहोस्‌ भनेर तिनले आफ्नो हेल्मेट मेरो टाउकोमा लगाइदिए।

आध्यात्मिक तवरमा परिपक्व हुँदै

हाम्रो विवाहको दिन

युद्धपछि हामी लिजको मण्डलीका भाइबहिनीहरूसित सम्पर्कमा रहन थाल्यौँ। त्यो मण्डली हामी बसेको ठाउँबाट लगभग ९० किलोमिटर उत्तरतिर थियो। त्यसको केही समयपछि हामीले बास्टोनमै एउटा सानो समूह सुरु गर्न सक्यौँ। मैले कर प्रशासनमा काम गर्न थालेँ र कानुन पनि पढ्‌न थालेँ। त्यसको केही समयपछि मैले स्थानीय सरकारी कार्यालयमा काम गर्न थालेँ। सन्‌ १९५१ मा हामीले बास्टोनमै क्षेत्रीय सम्मेलन आयोजना गर्न सक्यौँ। त्यस सम्मेलनमा सय जनाजति उपस्थित भएका थिए। त्यहाँ जोसिली अग्रगामी बहिनी एली रोइटर पनि आएकी थिइन्‌। तिनी लगभग ५० किलोमिटर टाढाबाट साइकलमा आएकी थिइन्‌। हामीले एकअर्कालाई मन पराउन थाल्यौँ र विवाह गर्ने निर्णय गऱ्‍यौँ। तर एलीले गिलियड स्कुलमा जाने निम्तो पाएकी थिइन्‌। त्यसैले तिनले आफू त्यस स्कुलमा आउन नसक्नुको कारण बताउँदै विश्‍व मुख्यालयमा पत्र पठाइन्‌। त्यतिबेला सङ्‌गठनको नेतृत्व लिइरहनुभएको दाइ नोरले तिनी पछि आफ्नो पतिसितै गिलियडमा आउन सक्छिन्‌ होला भन्‍ने कुरा लेखेर पत्र पठाउनुभयो। त्यसपछि हामीले सन्‌ १९५३ फेब्रुअरीमा विवाह गऱ्‍यौँ।

एली र हाम्रो छोरा सर्ज

सोही वर्ष हामी दुई जना न्यु योर्कको याङ्‌की रङ्‌गशालामा आयोजना भएको एउटा सम्मेलनमा गयौँ। त्यस सम्मेलनको विषय “नयाँ संसार समाज सम्मेलन” थियो। त्यहाँ एक जना भाइले मलाई राम्रो काममा लगाइदिने कुरा बताउनुभयो र अमेरिका बसाइँ सर्न भन्‍नुभयो। यसबारे हामीले यहोवालाई प्रार्थना गऱ्‍यौँ। अनि अमेरिका नसर्ने बरु बेल्जियम फर्केर बास्टोनकै १० जनाजति भएको सानो समूहलाई सघाउने निर्णय गऱ्‍यौँ। त्यसको एक वर्षपछि हाम्रो छोरा सर्ज जन्मियो। तर दुःखको कुरा, ऊ सात महिनाको हुँदा सिकिस्त बिरामी पऱ्‍यो र हामीले उसलाई गुमाउनुपऱ्‍यो। आफ्नो सन्तान गुमाउँदाको पीडा हामीले यहोवालाई प्रार्थनामा पोख्यौँ र फेरि जीवित हुने पक्का आशाबाट हामीले निकै बल पायौँ।

पूर्ण-समय सेवा

सन्‌ १९६१ अक्टोबरमा मैले अग्रगामी सेवा गर्न सजिलो हुने खालको एउटा पार्ट-टाइम काम पाएँ। मैले जुन दिन काम पाएँ, त्यही दिन मलाई एउटा फोन आयो। फोन गर्ने व्यक्‍ति बेल्जियमको शाखा निरीक्षक हुनुहुन्थ्यो। उहाँले मलाई ‘क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न सक्नुहुन्छ कि’ भनेर सोध्नुभयो। मैले भनेँ: “यो असाइनमेन्ट स्विकार्नुअघि केही समय अग्रगामीको रूपमा सेवा गर्न सक्छौँ कि?” उहाँले ‘हुन्छ’ भन्‍नुभयो। आठ महिना अग्रगामी सेवा गरेपछि हामी सन्‌ १९६२ सेप्टेम्बरदेखि परिभ्रमणकार्यमा लाग्यौँ।

क्षेत्रीय निरीक्षकको रूपमा दुई वर्ष सेवा गरेपछि हामीले ब्रसल्समा रहेको बेथेलमा सेवा गर्ने निम्तो पायौँ। हामीले सन्‌ १९६४ अक्टोबरदेखि बेथेल सेवा गर्न थाल्यौँ। यस नयाँ असाइनमेन्टमा लागेपछि हामीले थुप्रै आशिष्‌हरू पायौँ। सन्‌ १९६५ मा दाइ नोर हाम्रो शाखा भ्रमण गर्न आउनुभयो। त्यसको केही समय नबित्दै मैले सोच्दै नसोचेको कुरा भयो। मलाई शाखा निरीक्षकको रूपमा नियुक्‍त गरियो। पछि एली र मैले गिलियड स्कुलको ४१ औँ कक्षामा जाने निम्तो पायौँ। दाइ नोरले १३ वर्षअघि भन्‍नुभएको कुरा पूरा भयो। स्कुलपछि हामीलाई बेल्जियम बेथेलमै खटाइयो।

कानुनी लडाइँ लड्‌दै

युरोप र अन्य देशहरूमा हाम्रो धार्मिक स्वतन्त्रतासम्बन्धी थुप्रै मुद्दाहरू चलिरहेका थिए। वर्षौँको दौडान यस्ता मुद्दाहरूमा कानुनसम्बन्धी मैले हासिल गरेको ज्ञानको सदुपयोग गर्न सकेँ। (फिलि. १:७) यस सिलसिलामा मैले हाम्रो काममा कडिकडाउ गरिएको वा प्रतिबन्ध लगाइएको ५५ भन्दा धेरै देशका अफिसरहरूलाई भेटेँ। म आफ्नो परिचय दिँदा कानुनसम्बन्धी आफूले हासिल गरेको अनुभवबारे बताउनुको सट्टा “म परमेश्‍वरको सेवक हुँ” भन्थेँ। म प्रार्थना गरेर सधैँ यहोवाको डोऱ्‍याइ खोज्थेँ किनभने मलाई थाह थियो, “राजाको [अर्थात्‌ न्यायाधीशको] हृदय यहोवाको हातमा खोलाको पानीजस्तै हो, उहाँ त्यसलाई जता चाहनुहुन्छ, त्यतै मोड्‌नुहुन्छ।”—हितो. २१:१.

एकचोटि युरोपेली सांसदसित भएको कुराकानी मलाई अहिलेसम्म याद आउँछ। मैले उहाँसित भेट्‌न थुप्रै चोटि कोसिस गरेको थिएँ। उहाँले बल्लबल्ल मसित भेट्‌न मान्‍नुभएको थियो। उहाँले मलाई भन्‍नुभयो “म तिमीलाई पाँच मिनेट मात्र दिन्छु। त्योभन्दा एक मिनेट पनि धेरै दिन्‍नँ।” त्यसपछि मैले आफ्नो शिर निहुराएँ र प्रार्थना गर्न थालेँ। उहाँले छक्क पर्दै मलाई ‘के गरेको?’ भनेर सोध्नुभयो। मैले आफ्नो शिर ठाडो पारेँ र उहाँलाई भनेँ, “मैले परमेश्‍वरलाई धन्यवाद दिएको किनभने तपाईँ उहाँको एक जना सेवक हुनुहुन्छ।” उहाँले मलाई सोध्नुभयो, “के भन्‍न खोजेको?” मैले उहाँलाई रोमी १३:४ देखाएँ। उहाँ प्रोटेस्टेन्ट चर्च जानुहुने भएकोले बाइबलको यो पदमा उहाँको ध्यान खिचियो। त्यसपछि त उहाँले मलाई आधा घण्टा समय दिनुभयो। हाम्रो त्यो भेट निकै राम्रो भयो। उहाँले हाम्रो कामको प्रशंसासमेत गर्नुभयो।

वर्षौँको दौडान यहोवाका साक्षीहरूले युरोपमा तटस्थता, कर अनि आमा वा बुबामध्ये नाबालक कसको जिम्मामा रहनेजस्ता विषयमा थुप्रै मुद्दा लडेका छन्‌। यीमध्ये धेरैजसो मुद्दामा यहोवाले हामीलाई सफल हुन मदत गर्नुभएको म आफैले देखेको छु। यहोवाका साक्षीहरूले मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा १४० वटाभन्दा धेरै मुद्दा जितिसकेका छन्‌।

क्युबामा राज्य गतिविधिमा भाग लिन अझ सजिलो भयो

पछि मैले विश्‍व मुख्यालयका भाइ फिलिप ब्रम्ले र इटाली शाखाका भाइ भाल्टर फार्निटिसित मिलेर काम गरेँ। हामीले सँगै मिलेर क्युबामा धार्मिक स्वतन्त्रताको लागि मुद्दा लड्यौँ। किनभने त्यहाँ हाम्रो काममा प्रतिबन्ध लगाइएको थियो। हामीबारे सरकारको गलत धारणाले गर्दा त्यहाँ प्रतिबन्ध लागेको थियो। त्यसैले मैले बेल्जियमको क्युबा एम्बेसीमा पत्र पठाएँ र हाम्रो मामिला सम्हाल्न खटाइएका अफिसरलाई भेट्‌न गएँ। तिनीसितको सुरु-सुरुको भेटमै हाम्रो कुराले सकारात्मक मोड लिन थालिसकेको थियो।

क्युबामा फिलिप ब्रम्ले र भाल्टर फार्निटिसित

हामी क्युबामा बाइबल पठाउन चाहन्थ्यौँ। त्यसको लागि हामीले सबैभन्दा सुरुमा यहोवालाई प्रार्थना गऱ्‍यौँ। त्यसपछि हामीले अनुमति माग्यौँ। खुसीको कुरा, हामीले ५ हजार वटा बाइबल पठाउने अनुमति पायौँ। त्यहाँका भाइबहिनीहरूसम्म बाइबल सहि-सलामत पुग्यो। यहोवाले हाम्रो प्रयासमा आशिष्‌ दिइरहनुभएको छ भनेर हामीले महसुस गऱ्‍यौँ। त्यसपछि हामीले थप २७ हजार ५०० वटा बाइबल पठाउने अनुमति माग्यौँ। हामीले त्यसो गर्ने अनुमति पनि पायौँ। क्युबाका भाइबहिनीलाई मदत गर्न पाउँदा हामी निकै खुसी भयौँ किनभने हामीले त्यहाँका भाइबहिनीको हातहातमै बाइबल पुऱ्‍याउन सक्यौँ।

क्युबामा हाम्रो काम कानुनी तवरमा अझ राम्ररी स्थापना गर्न म त्यहाँ थुप्रै चोटि गएँ। त्यस दौडान त्यहाँका थुप्रै सरकारी अफिसरहरूसित मैले राम्रो सम्बन्ध बनाउन सकेँ।

रुवाण्डाका भाइबहिनीलाई मदत गर्दै

सन्‌ १९९४ मा रुवाण्डामा भएको नरसंहारमा १० लाखभन्दा धेरै टुट्‌सी जातिका मानिसहरू मारिए। दुःखको कुरा, हाम्रा केही भाइबहिनीले पनि ज्यान गुमाए। हिंसाले गर्दा कठिनाइ भोगिरहेका भाइबहिनीहरूको लागि तुरुन्तै राहत सामग्रीको प्रबन्ध गर्न भाइहरूको एउटा समूहलाई खटाइयो।

हामी रुवाण्डाको राजधानी किगालीमा रहेको अनुवाद कार्यालयमा आइपुग्यौँ। त्यहाँको अवस्था एकदमै दयनीय थियो। अनुवाद कार्यालय र साहित्य राखिने ठाउँका भित्ताहरूमा गोलीको दागैदाग थियो। त्यहाँका थुप्रै भाइबहिनीहरूलाई धारिला हतियार प्रहार गरेर मारिएको खबर हामीले सुन्यौँ। त्यो सुन्दा हाम्रो मुटु छियाछिया भयो। तर त्यस्तो गाह्रो अवस्थामा पनि भाइबहिनीले एकआपसमा प्रेम देखाएको कुरा हामीले सुन्यौँ। जस्तै: हामीले एक जना टुट्‌सी जातिका भाइलाई भेट्यौँ। उहाँलाई हुटु जातिको साक्षी परिवारले २८ दिनसम्म घरको आँगनमा ठूलो खाल्टो खनेर लुकाएर राखेको रहेछ। किगालीमा आयोजना गरिएको एउटा सभामा हामीले ९०० भन्दा धेरै भाइबहिनीलाई सान्त्वना दिन सक्यौँ।

चित्रहरूको सँगालो: १. गोली लागेर च्यातिएको किताब। २. भाइ मार्सेल दुई जना भाइसित राहत सामग्रीको प्रबन्ध गर्दै हुनुहुन्छ।

बायाँ:हाम्रो अनुवाद कार्यालयमा गोली लागेको एउटा किताब

दायाँ:राहत सामग्रीको प्रबन्ध गर्न काम गर्दै

त्यसपछि हामी सीमापारि जाएर (अहिलेको कङ्‌गो प्रजातान्त्रिक गणतन्त्र) गयौँ। त्यहाँको गोमा सहरनजिकैको शरणार्थी शिविरहरूमा रुवाण्डाका थुप्रै भाइबहिनीहरू भाग्नुभएको थियो। हामीले उहाँहरूलाई खोज्न थाल्यौँ तर भेट्टाउनै सकेनौँ। त्यसैले हामीले यहोवालाई प्रार्थना गरेर उहाँहरूलाई भेट्‌न मदत गरिदिनुहोस्‌ भन्यौँ। त्यसपछि हामीले एक जना मानिस हामीतिर आइरहेको देख्यौँ। हामीले तिनलाई ‘तपाईँ कोही यहोवाको साक्षीलाई चिन्‍नुहुन्छ’ भनेर सोध्यौँ। तिनले हामीलाई ‘चिन्छु, म यहोवाको साक्षी नै हुँ’ भने। अनि ‘म तपाईँहरूलाई राहत समितिका भाइहरू भएको ठाउँमा लैजान्छु’ पनि भने। राहत समितिका भाइहरूसितको छलफल निकै राम्रो भयो। त्यसपछि हामीले शरणार्थी जीवन बिताइरहेका १६०० जति भाइबहिनीलाई भेट्यौँ अनि उहाँहरूलाई सान्त्वना र प्रोत्साहन दियौँ। हामीले उहाँहरूलाई परिचालक निकायको पत्र पनि पढेर सुनायौँ। त्यस पत्रमा यस्तो लेखिएको थियो: “हामी तपाईँहरूको लागि निरन्तर प्रार्थना गर्दै छौँ। यहोवाले तपाईँहरूलाई त्याग्नुहुन्‍न भनेर हामीलाई थाह छ।” यी आश्‍वासनदायी शब्दहरूले ती भाइबहिनीको मनै छोयो। परिचालक निकायले लेखेको त्यो कुरा सत्य साबित भएको छ। किनभने अहिले रुवाण्डामा ३० हजारभन्दा धेरै भाइबहिनी खुसीसाथ यहोवाको सेवा गर्दै छन्‌।

वफादार रहिरहन कटिबद्ध

विवाह गरेको झन्डै ५८ वर्षपछि २०११ मा मैले मेरी प्यारी श्रीमती एलीलाई गुमाएँ। आफ्नो जीवनसाथी गुमाउँदाको पीडाबारे मैले यहोवालाई प्रार्थना गरेँ र उहाँले मलाई सान्त्वना दिनुभयो। साथै छिमेकीहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउँदा पनि मैले निकै सान्त्वना पाएँ।

म अहिले ९० वर्ष नाघिसकेँ। तैपनि हरेक हप्ता साक्षीकार्यमा भाग लिन्छु। म अहिले पनि बेल्जियम शाखाको कानुन विभागमा काम गर्दै छु। म आफ्नो अनुभव अरूलाई पनि बाँड्‌छु र बेथेल परिवारका जवानहरूलाई प्रोत्साहन दिन्छु। यस्ता कामकुरामा भाग लिन पाउँदा मलाई निकै खुसी लाग्छ।

मैले यहोवालाई पहिलो चोटि प्रार्थना गरेको झन्डै ८४ वर्ष भइसक्यो। त्यसदेखि यता मैले जीवनमा बटुलेका अनुभवहरूले मलाई उहाँसित झन्‌झनै नजिक बनाएको छ। जिन्दगीभरि उहाँले मेरा प्रार्थनाहरू सुन्‍नुभएकोमा म उहाँप्रति साँच्चै आभारी छु।—भज. ६६:१९.b

a भाइ स्रान्जको जीवनी सेप्टेम्बर १५, १९७३ को प्रहरीधरहरा, (अङ्‌ग्रेजी) पृष्ठ ५७०-५७४ मा छापिएको थियो।

b यो लेख तयार पारिँदै गर्दा फेब्रुअरी ४, २०२३ मा भाइ मार्सेल जिला बित्नुभयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने