प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ३/१ पृ. २१-२४
  • “सुनको साटो हीरा पाएँ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सुनको साटो हीरा पाएँ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ धेरै बहुमूल्य कुरा
  • ग्रीसमा पूर्ण-समय सेवा
  • विरोध सहनु
  • बेथेल सेवा
  • फेरि विरोध सहनु पऱ्‍यो
  • निरन्तर भइरहेको वृद्धिमा आनन्दित हुने
  • यहोवाको मायालु छत्रछायामा सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • अस्ट्रेलियामा मैले साँचो धन भेट्टाएँ
    ब्यूँझनुहोस्‌!—१९९४
  • यहोवालाई जे दिनुपर्ने हो, त्यो दिएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ३/१ पृ. २१-२४

“सुनको साटो हीरा पाएँ”

मीकालीस कामीनारिसको वृत्तान्तमा आधारित

म दक्षिण अफ्रिकामा सुन खोज्न गएको थिएँ तर पाँच वर्षपछि घर फर्कंदा मसित सुनभन्दा पनि बहुमूल्य कुरा थियो। मैले हासिल गरेको र बाँड्‌ने इच्छा गरेको त्यो सम्पत्ति के हो, आउनुहोस्‌ तपाईंहरूलाई बताउँछु।

म सन्‌ १९०४ मा आयोनियन समुद्रस्थित ग्रीसको सेफालोनिया टापुमा जन्मेको थिएँ। जन्मेको केही समयमै मेरा आमाबाबु बित्नुभयो र म टुहुरो भएँ। म मदतको लालसा गर्थें त्यसैकारण परमेश्‍वरलाई अक्सर प्रार्थना गर्थें। नियमित रूपमा ग्रीक अर्थोडक्स चर्च धाउने गरे तापनि बाइबलबारे मलाई केही थाह थिएन। मैले कतैबाट सान्त्वना पाइनँ।

सन्‌ १९२९ मा मैले बसाइँ सरेर जीवनस्तर उकास्ने उत्तम तरिका खोज्ने निर्णय गरें। आफ्नो उजाड टापु छोडेर बेलायत हुँदै दक्षिण अफ्रिकातिर समुद्री यात्रा गरें। सत्र दिनपछि म दक्षिण अफ्रिकाको केप टाउन पुगें र त्यहाँ पुग्ने बित्तिकै एक ग्रीक पुरुषले मलाई काम दिए। तथापि, मैले भौतिक धनसम्पत्तिबाट पनि सान्त्वना पाउन सकिनँ।

अझ धेरै बहुमूल्य कुरा

दक्षिण अफ्रिकामा बसेको दुइ वर्षजति बितिसकेपछि म काम गर्ने ठाउँमा यहोवाको साक्षीले आएर ग्रीक भाषामा केही साहित्यहरू दिए। तिनले दिएका साहित्यहरूमा मृतकहरू कहाँ छन्‌? र दमन, यसको अन्त कहिले हुनेछ? पुस्तिकाहरू पनि थिए। ती साहित्यहरू कत्ति उत्साहसाथ पढें र उद्धृत शास्त्रपदहरूसमेत कसरी कष्ठ गरें, अहिलेसम्म बिर्सेको छैन। एकदिन मैले सँगै काम गर्ने साथीलाई यसो भनें: “वर्षौंदेखि खोजिरहेको कुरा बल्ल भेट्टाएँ। म अफ्रिकामा सुन खोज्न आएको थिएँ तर सुनको साटो हीरा पाएँ।”

परमेश्‍वरको व्यक्‍तिगत नाउँ छ र त्यो यहोवा हो, उहाँको राज्य स्वर्गमा स्थापित भइसक्यो र हामी यस रीतिरिवाजको अन्तिम दिनमा बाँचिरहेका छौं आदि कुराहरू सिक्न पाउँदा मलाई बडो आनन्द लाग्यो। (भजन ८३:१८; दानियल २:४४; मत्ती ६:९, १०; २४:३-१२; २ तिमोथी ३:१-५; प्रकाश १२:७-१२) यहोवाको राज्यले सबै मानिसजातिलाई प्रशस्त आशिष्‌ दिनेछ भनेर सिक्न पाउँदा झन्‌ रोमाञ्चकारी लागेको थियो! यी बहुमूल्य सत्यहरू विश्‍वभरि प्रचार गरिंदैछ भन्‍ने तथ्य मलाई प्रभावित पार्ने अर्को कुरा थियो।—यशैया ९:६, ७; ११:६-९; मत्ती २४:१४; प्रकाश २१:३, ४.

केही समयमै केप टाउनस्थित वाच टावर सोसाइटीको ठेगाना प्राप्त गरें र अरू बाइबल साहित्यहरू मगाएँ। बाइबलको व्यक्‍तिगत प्रति पाउँदा त म असाध्यै रमाएँ। पढेको कुरामाथि मेरो विश्‍वास बढ्‌दै गयो र त्यसबारे अरूलाई बताउन उत्सुक भएँ। उता घरतिर अर्थात्‌ लिक्सुऱ्‍योनका नातेदार, साथीहरू तथा चिनेजानेकाहरू सबैलाई बाइबलमा आधारित प्रकाशनहरू पठाउन थालें। यहोवालाई प्रसन्‍न तुल्याउन चाहने जो कसैले पनि उहाँलाई जीवन सुम्पनुपर्छ भनेर मैले अध्ययनको क्रममा थाह पाउँदै गएँ। त्यसैकारण प्रार्थना गरेर तुरुन्तै समर्पण गरिहालें।

एक पटक म यहोवाका साक्षीहरूको सभामा उपस्थित भएँ तर अंग्रेजी नजानेको हुनाले मैले केही बुझिनँ। पोर्ट एलिजाबेथमा ग्रीकहरू छन्‌ भन्‍ने थाह पाएपछि म त्यहाँ सरें तर ग्रीक साक्षीहरूलाई भेट्टाउन सकिनँ। तसर्थ, ग्रीस फर्केर पूर्ण-समय सुसमाचारक हुने निर्णय गरें र ‘जे परिआए तापनि ग्रीस फर्कन्छु’ भनेर प्रण गरेको आजसम्म बिर्सेको छैन।

ग्रीसमा पूर्ण-समय सेवा

सन्‌ १९३४ को बसन्त ऋतुमा म ड्‌वीलीओ नामक इटालेली पानीजहाजमा चढेर फ्रान्सको मार्सेलेज्ज पुगें र त्यहाँ दश दिनजति बिताएपछि ग्रीस जान पात्रिस नामक पानीजहाज चढें। समुद्रमा यात्रा गर्दा हामी चढेको जहाजमा यान्त्रिक खराबी भयो र राती समुद्रमा लाइफबोटहरू झार्ने आदेश दिइयो। र त्यसबेला जे परिआए तापनि ग्रीस फर्कन्छु भनेको सम्झें। तथापि, अर्को इटालेली जहाजले हाम्रो जहाजलाई तान्दै इटालीको नापेल्ज पुऱ्‍यायो। अन्ततः हामी ग्रीसको पीरिफ्स (पाइरिस) पुग्यौं।

त्यहाँबाट म एथेन्सतिर लम्किएँ र वाच टावर सोसाइटीको शाखा कार्यालयमा पुगें। शाखा निरीक्षक भाइ आथानास्सियोस कारानास्योससित कुरा गर्दा पूर्ण-समय प्रचार गर्न पाउँछु कि भनेर अनुमति मागें। लगत्तै भोलिपल्ट म ग्रीसको दक्षिणतिर पर्ने प्रमुख प्रायद्वीप पेल्पनिससतिर लागें। यो पूरै जिल्ला मलाई खटाइएको थियो!

बडो जोसका साथ म शहर-शहर, गाउँ-गाउँ, खेत-खेत र एउटा दुर्गम घरदेखि अर्को दुर्गम घर हुँदै प्रचार गर्न थालें। चाँडै माइकल ट्रीआन्डाफीलोपाउलुस मलाई सहयोग गर्न आए र तिनैले मलाई १९३५ को ग्रीष्म ऋतुमा बप्तिस्मा पनि दिए। र त्यतिखेर मैले पूर्ण-समय सेवा गर्न थालेको वर्षदिनभन्दा धेरै भइसकेको थियो! सार्वजनिक सवारी साधन नभएकोले हामी जहाँ पनि हिंडेरै पुग्थ्यौं। हामीले भोग्नुपरेका समस्याहरूमध्ये पादरीहरूले गरेको विरोधले चाहिं असाध्यै अप्ठ्यारोमा पाऱ्‍यो। तिनीहरू हाम्रो प्रचार कार्य रोक्न जे गर्न पनि तयार थिए। फलस्वरूप, हामीले धेरै पटक पूर्वाग्रहको सामना गर्नुपऱ्‍यो। यद्यपि, विघ्नबाधाको बावजूद साक्षी दिने काम भई नै रह्‍यो र यहोवाको नाउँ चारैतिर गुञ्जिरह्‍यो।

विरोध सहनु

एकदिन बिहान, आर्केडीयाको पहाडी प्रान्तमा प्रचार गर्ने सिलसिलामा म मागुल्याना गाउँमा पुगें। एक घण्टाजति प्रचार गरेपछि मैले चर्चका घण्टहरू बजेको सुनें र केही बेरमै के थाह पाएँ भने, ती घण्टहरू त मेरैनिम्ति पो बजाइएका रहेछन्‌! ग्रीक अर्थोडक्स आर्किमान्ड्रिटको (विशपभन्दा तलको ओहदा) नेतृत्वमा एउटा हूल जम्मा भयो। यो देखेर मैले झटपट झोला बोकें र मनमनै यहोवालाई प्रार्थना गरें। त्यो आर्किमान्ड्रिट र उसलाई पछ्याउँदै आएका केटाकेटीहरूको बथान म भएतिरै आयो। र चिच्याउन थाल्यो: “त्यही हो! त्यही हो! समात्‌ त्यसलाई!”

केटाकेटीहरूले फुत्कनै नमिल्नेगरि मलाई चारैतिरबाट घेरे। त्यसपछि त्यो पादरी अघि सऱ्‍यो र मलाई छोयो भने ‘ऊ बिटुलो हुन्छ’ भन्दै आफ्नो बडेमानको भुँडीले मलाई ठेल्न थाल्यो। ऊ कराउनथाल्यो, “ठोक यसलाई! ठोक!” तर त्यतिखेरै प्रहरी आयो र हामी दुवै थाना लगियौं। हूलदंगा गराएको आरोपमा त्यो पादरीलाई पुर्पक्षमा राखियो र जरिवानास्वरूप ३०० ड्रक्मासका साथै अदालतको खर्च बेहोर्नुपऱ्‍यो। तर म भने स्वतन्त्र भएँ।

नयाँ क्षेत्रमा पुग्दा हामीले एउटा ठूलो शहरलाई आफ्नो केन्द्र बनायौं। त्यहाँबाट चार घण्टाजति हिंडेर हामी वरपरका इलाकाहरू सबै ढाक्यौं। यसको अर्थ हामी झिसमिसे उज्यालोमै हिंड्‌थ्यौं अनि हरेक दिन प्रायः एक दुइटा गाउँहरूमा पस्थ्यौं र रात परेपछि फर्कन्थ्यौं। वरपरका गाउँहरूमा साक्षी दिइसकेपछि हामीले केन्द्र बनाएको शहरमा प्रचार गर्थ्यौं र त्यसपछि अन्यत्र लाग्थ्यौं। पादरीले हामी विरुद्ध मानिसहरूलाई उक्साएकोले बेला बेलामा हामी समातिन्थ्यौं। मध्य ग्रीसको पार्नेइसस प्रदेशमा प्रहरीले मलाई महिनौंसम्म खोजेको थियो। तथापि, तिनीहरूले मलाई कहिल्यै पक्रन सकेनन्‌।

एकदिन भाइ ट्रीआन्डाफीलोपाउलुस र म बीओशी प्रान्तको मुरीकी गाउँमा प्रचार गरिरहेका थियौं। हामीले त्यो गाउँलाई दुइ भागमा विभाजन गऱ्‍यौं र जवानै भएकोले म चाहिं उकालोतिरका घरहरूमा प्रचार गर्न थालें। एक्कासि मैले तलबाट एउटा चीत्कार सुनें। ‘पक्कै पनि भाइ ट्रीआन्डाफीलोपाउलुस पिटिनुभएको होला,’ भन्ठान्दै म तल्तिर दगुर्न थालें। तल पुग्दा त भएभरका गाउँलेहरू स्थानीय कफी घरमा भेला भएको र त्यहाँ एउटा पादरी रीसाएको साँढेजस्तै तलमाथि ढ्याङढ्याङती ओहरदोहर गरिरहेको भेट्टाएँ। “यी मानिसहरू हामीलाई साँपको सन्तान भन्छन्‌” भन्दै ऊ कराइरहेको थियो।

त्यो पादरीले भाइ ट्रीआन्डाफीलोपाउलुसलाई टाउकोमा लौरो भाँच्नेगरि हानेको रहेछ। भाइ ट्रीआन्डाफीलोपाउलुसको टाउकोबाट भलभल्ती रगत बगिरहेको थियो। उहाँको रगत पुछिदिएपछि हामी त्यहाँबाट हिंड्यौं। तीन घण्टा हिंडेपछि हामी बल्लतल्ल थेबज पुग्यौं। त्यहाँ एउटा स्वास्थ्य केन्द्रमा उहाँको उपचार गऱ्‍यौं। हामीले उक्‍त घटनाबारे थानामा रिपोर्ट दर्ता गरायौं र मुद्दा दायर गऱ्‍यौं। तर त्यो पादरीको माथिसम्म साँठगाँठ भएकोले अन्ततः मुद्दा खारेज गरियो।

लुकस शहरमा प्रचार गरिरहेको बेला त्यस इलाकाको नेताका चम्चाहरूले हामीलाई “समाते” र गाउँको कफी घरमा ल्याए अनि त्यहाँ तिनीहरूले आफ्नै झूटमुटको अदालत खडा गरेर हामीमाथि झूटो आरोप लगाए। त्यो नेता र त्यसका चम्चाहरूले पालैसित हामी नजीकै ओहरदोहर गर्दै लम्बेतान भाषण छाँट्‌ने र मुट्ठी कस्दै हामीलाई धम्क्याउन थाले। तिनीहरू सबै रक्सीले मातेका थिए। घाम अस्ताउञ्जेल पनि तिनीहरूले हामीलाई गाली गर्न छोडेनन्‌ तर हामी शान्त रह्‍यौं र हाँसेरै निर्दोष छौं भन्यौं र मनमनै मदतको लागि यहोवा परमेश्‍वरलाई प्रार्थना गऱ्‍यौं।

झमक्क साँझ परेपछि दुइ प्रहरी जवानहरू आएर हामीलाई त्यहाँबाट छुटाए। तिनीहरूले हामीलाई प्रहरीथाना लगे र हामीसित राम्रो व्यवहार गरे। सफाइ दिन त्यो नेता भोलिपल्ट आए र हामी ग्रीसका नरेश विरुद्ध षड्यन्त्र रचिरहेका छौं भन्‍ने झूटो आरोप लगाए। अतः प्रहरीले हामीलाई अरू दुइ मानिसहरूका साथ लामीया शहरमा थप अनुसन्धानको लागि पठाए। हामी सात दिनसम्म थुनामा पऱ्‍यौं र त्यसपछि मुद्दा चलानीका लागि हतकडी लगाएर लारिस्सा शहर लगियौं।

लारिस्सा शहरका हाम्रा मसीही भाइहरूले हामी त्यहाँ आउँदैछौं भन्‍ने कुरा पहिल्यै थाह पाइसकेका रहेछन्‌। हामीप्रति तिनीहरूले देखाएको स्नेहले गर्दा ती रक्षकहरूले राम्रो साक्षी पाए। हाम्रो वकिल चिरपरिचित भूतपूर्व प्रमुख सेनानी थिए। तिनी यहोवाका साक्षी पनि हुन्‌। हामीमाथि लगाइएका सम्पूर्ण आरोपहरू झूटा हुन्‌ भनी तिनले बहस गरेपछि हामीलाई मुक्‍त गरियो।

यहोवाका साक्षीहरूको प्रचारकार्यले चारैतिर सफलता पाएको हुँदा झन्‌ झन्‌ कठिन हुन थाल्यो। सन्‌ १९३८ अनि १९३९ मा धर्मपरिवर्तन गर्न नपाइने व्यवस्था पारित भयो र यसले गर्दा माइकल र म निकै चोटि अदालतमा हाजिर हुनुपऱ्‍यो। पछि हाम्रो कामप्रति अनावश्‍यक ध्यानाकर्षण नहोस्‌ भनेर शाखा कार्यालयले हामीलाई अलग अलग काम गर्ने सुझाउ दियो। सहयोगीबिना काम गर्नुपर्दा मलाई साह्रै गाह्रो भयो। यद्यपि, यहोवामाथि भरोसा राख्दै मैले आटिका, बिओशिआ, थाइओत्रेस, यूबीआ, ईतोल्या, एकर्न्या, यूर्टान्या र पेल्पनीससजस्ता जिल्लाहरूभरि हिंडेरै प्रचार गरें।

यस्तो अवस्थामा मलाई भजनरचयिताका यी मीठा शब्दहरूले यहोवामा भरोसा गर्न प्रेरणा दियो: “तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्छु। र मेरै परमेश्‍वरको सहायताले म पर्खाल नाँघ्छु। उनै परमेश्‍वर, जसले मलाई शक्‍तिको पटुका लाइदिनुहुन्छ, र मेरो मार्ग सिद्ध तुल्याउनुहुन्छ। उहाँले मेरा खुट्टाहरू मुडुली जरायाका खुट्टाजस्तै तुल्याउनुहुन्छ। र मेरा उच्च स्थानहरूमा मलाई बसाल्नुहुन्छ।”—भजन १८:२९, ३२, ३३.

सन्‌ १९४० मा इटालीले ग्रीससित युद्ध गर्ने घोषणा गऱ्‍यो र त्यसको केही समयमै जर्मन सेनाले ग्रीसमाथि आक्रमण गऱ्‍यो। सैनिक शासन लागू गर्ने घोषणा गरियो र वाच टावर सोसाइटीका पुस्तकहरूमाथि प्रतिबन्ध लगाइयो। त्यतिबेला ग्रीसस्थित यहोवाका साक्षीहरूलाई असाध्यै गाह्रो भयो। तथापि, तिनीहरूको संख्या धमाधम बढ्यो र १९४० मा १७८ साक्षीहरूको संख्या बढेर १९४५ मा युद्ध विराम हुञ्जेल १,७७० पुग्यो!

बेथेल सेवा

सन्‌ १९४५ मा मैले यहोवाका साक्षीहरूको एथेन्सस्थित शाखा कार्यालयमा सेवा गर्ने निम्तो पाएँ। बेथेलको अर्थ “परमेश्‍वरको घर” हो। यो लम्बार्डु सडकस्थित भाडामा लिइएको घर नै हाम्रो बेथेल थियो। कार्यालयहरू पहिलो तल्लामा थिए भने छापाखाना भुइँतल्लामा थियो। छापाखानामा एउटा सानो मुद्रण यन्त्र र किनारा छाँट्‌ने यन्त्र थियो। छापाखानामा काम गर्ने व्यक्‍तिहरू सुरुमा दुइ जना मात्र थिए तर केही समय नबित्दै त्यहाँ सघाउन अन्य स्वयंसेवकहरू पनि आ-आफ्नो घरबाट बेथेल आउने जाने गर्न थाले।

सन्‌ १९४५ मा वाच टावर सोसाइटीको ब्रूक्लिन, न्यु योर्कस्थित मुख्यालयसित फेरि सम्पर्क स्थापित गरियो र त्यही वर्षदेखि हामीले फेरि ग्रीक भाषामा नियमित तवरले प्रहरीधरहरा छाप्न थाल्यौं। अनि १९४७ मा हाम्रो शाखा कार्यालय १६ टेनेडु सडकमा सारियो तर छापाखाना भने लम्बार्डु सडकमै थियो। पछि छापाखाना पनि लम्बार्डु सडकबाट पाँच किलोमिटर टाढा पर्ने एक साक्षीको कारखानामा सारियो। त्यसकारण केही समय हामीले यी तीन ठाउँहरूमा ओहरदोहर गरिरहनुपऱ्‍यो।

टेनेडु सडकबाट छापाखाना पुग्न एकाबिहानै उठ्‌नुपरेको मलाई अझै सम्झना छ। छापाखानामा दिउँसोको १ बजेसम्म काम गरेपछि म छापिएका ठूलठूला कागजहरू लिएर लम्बार्डु सडक जान्थें। त्यहाँ यी कागजहरूलाई पत्रिकाको साइजमा मोडेर हातैले सिइन्थ्यो र किनारा छाँटकाँट गरिन्थ्यो। त्यसपछि हामी ती तयारी पत्रिकाहरू हुलाक कार्यालयको तीन तल्लामाथि पुऱ्‍याउँथ्यौं र हुलाकीलाई ती पत्रिकाहरू छुट्याउन र पठाउन खामहरूमा छाप लगाउन मदत गर्थ्यौं।

सन्‌ १९५४ सम्ममा ग्रीसमा साक्षीहरूको संख्या ४,००० भन्दा धेरै पुगिसकेकोले शाखा कार्यालय विस्तार गर्नुपर्ने भयो। तसर्थ, हामी एथेन्सको पुच्छारमा पर्ने शहर, कार्ताली सडकस्थित तीन तल्ले नयाँ बेथेल भवनमा सऱ्‍यौं। सन्‌ १९५८ मा मलाई भान्छाको काम जिम्मा लगाइयो र मैले १९८३ सम्म त्यहीं काम गरें। त्यसबीच अर्थात्‌ १९५९ मा मैले एल्फथारीआसित विवाह गरें। तिनी यहोवाको सेवामा वफादार सहयोगी साबित भइन्‌।

फेरि विरोध सहनु पऱ्‍यो

सन्‌ १९६७ मा सैनिक सरकारले सत्ता सँभालेपछि हाम्रो प्रचार कार्यमाथि फेरि प्रतिबन्ध लगाइयो। तथापि, पहिलेको अनुभवले गर्दा होला, हामीले तुरुन्तै छाँटकाँट गरेर लुकीछिपी सफलतासाथ आफ्नो काम जारी नै राख्यौं।

हामी निजी घरहरूमा सभाहरू सञ्चालन गर्थ्यौं र निकै होस पुऱ्‍याएर ढोका-ढोका प्रचार गर्न जान्थ्यौं। तथापि, हाम्रा भाइहरू अक्सर समातिन्थे र मुद्दामाथि मुद्दा थप्दै जान्थ्यो। हाम्रा वकिलहरूलाई मुद्दा लड्‌न सधैंजसो देशभरि भागदौड गरिरहनुपर्थ्यो। विरोधको बावजूद पनि अधिकांश साक्षीहरूले विशेषगरि सप्ताहन्तमा नियमित रूपले प्रचार गरी नै रहे।

शनिबार वा आइतबार प्रचारकार्य सिध्याएपछि हाम्रो समूहमा सबै जना छन्‌ कि छैनन्‌, जाँच्थ्यौं। समूहमा नपाइएका भाइ वा बहिनीहरू प्रायः नजीकैको प्रहरी थानामा थुनिएको पाउँथ्यौं। त्यसपछि हामी ती भाइबहिनीहरूका लागि ओछ्यान, खाना लग्थ्यौं र तिनीहरूलाई प्रोत्साहन दिन्थ्यौं। त्यसबाहेक हामी वकिललाई पनि खबर गर्थ्यौं। र सोमबार थुनामा परेकाहरूको पक्षमा सरकारी वकिलसित वहस गर्न अर्कै अदालतमा हाजिर भइसक्थे। सत्यको लागि सतावट भोग्नुपरेको हुँदा हामीले हाँसी हाँसी सह्‍यौं!

प्रतिबन्ध हुँदा हाम्रो बेथेलका सम्पूर्ण मुद्रण कार्य ठप्प रोकियो। त्यसैले एथेन्सबाहिर एल्फथारीआ र म बसेको घर एकप्रकारको छापाखाना नै भयो। एल्फथारीआ गह्रौं टाइपराइटर प्रयोग गर्दै प्रहरीधरहरा-का लेखहरू टाइप गर्थिन्‌। एक पटकमा तिनी दशप्रति टाइप गर्थिन्‌। र त्यसरी दश दशवटा कागजमा एकैपटक टाइप गर्न तिनलाई निकै बल प्रयोग गर्नुपर्थ्यो। त्यसपछि म ती कागजहरू एकै ठाउँमा जम्मा गरेर सिउँथें। हामी यसरी साँझपखदेखि आधा रातसम्म यो काम गरिरहन्थ्यौं। हामी बसेको तलामुनि एक जना प्रहरी बस्थ्यो। तैपनि हामीले गरिरहेको कामबारे उसले कसरी सुइँको पाएन कुन्‍नि! हामीलाई अझै पनि अचम्म लाग्छ।

निरन्तर भइरहेको वृद्धिमा आनन्दित हुने

ग्रीसमा १९७४ सालमा प्रजातन्त्र आयो र हामी फेरि खुल्लमखुल्ला प्रचार कार्यमा लाग्यौं। यद्यपि, सात वर्षसम्म हाम्रो काममाथि प्रतिबन्ध लागेको भए तापनि ६,००० नयाँ साक्षीहरू बढेकोले हामी निकै रमायौं। यसरी यहाँ राज्य प्रकाशकहरूको संख्या १७,००० पुग्यो।

हामीले शाखा कार्यालयको हाताभित्र नियमित तवरमा मुद्रण कार्य फेरि सुरु गऱ्‍यौं। परिणामस्वरूप कार्ताली सडकस्थित हाम्रो बेथेल शाखा असाध्यै साँघुरो भयो। त्यसैकारण एथेन्सबाहिर पर्ने मारुसी भन्‍ने शहरमा हामीले एक हेक्टर जमीन किन्यौं। त्यहाँ २७ वटा सुत्ने कोठा, एउटा कारखाना, कार्यालयलगायत अन्य भवनहरू भएको नयाँ बेथेल कार्यालय निर्माण गरियो। ती सबै अक्टोबर १९७९ मा समर्पण गरियो।

समय बित्दै जाँदा हामीलाई अझ धेरै ठाउँ चाहियो। त्यसैले एथेन्सबाट ६० किलोमिटर उत्तरतिर हामीले २२ हेक्टर जमीन किन्यौं। यो ठाउँ इलीओनामा पर्छ। चारैतिर पहाडैपहाड रहेको यो उपत्यकामा पानीको राम्रो व्यवस्था छ। त्यसपछि अप्रिल १९९१ मा ठूलो बेथेल घर समर्पण गऱ्‍यौं। त्यहाँ आठ/आठ जना मजाले बस्न मिल्ने २२ वटा घरहरू थिए।

पूर्ण-समय सेवकाईमा ६० वर्ष बिताइसक्दा पनि मेरो स्वास्थ्य राम्रै हुनु आशिष्‌ नै साबित भएको छ। खुशीको कुरा, मैले “बूढ़ेसकालमा पनि फल” फलाइरहेको छु। (भजन ९२:१४) यहोवाका साँचो उपासकहरू धमाधम बढेको साक्षात्‌ देख्न पाएकोमा उहाँप्रति म कृतज्ञ छु। यशैया अगमवक्‍ताले यस्तै वृद्धिबारे यसो भनेका थिए: “तेरा शहरका मूल–ढोकाहरू पनि निरन्तर खुला रहनेछन्‌। मानिसहरूले तँकहाँ जाति जातिका धन–सम्पत्ति . . . ल्याउन ती ढोकाहरू न दिउँसो न राती बन्द हुनेछन्‌।”—यशैया ६०:११.

यहोवाको संगठनमा लाखौं मानिसहरू यसरी ओइरिएको देख्न पाउनु र महासंकष्ट पार गरेर परमेश्‍वरको नयाँ संसारमा कसरी प्रवेश गर्ने, सिक्न पाउनु कत्ति अद्‌भुत कुरा हो! (२ पत्रुस ३:१३) साँच्चै मेरो सम्बन्धमा यस संसारले दिएको कुनै पनि कुराभन्दा पूर्ण-समय सेवकाई निकै बहुमूल्य साबित भएको छ। हो, मैले सुनको भण्डार होइन तर जीवनलाई हरेक पक्षमा पूर्ण तुल्याउने आध्यात्मिक हीरा पाएको छु।

[पृष्ठ २३-मा भएको चित्रहरू]

मीकालीस र एल्फथाराआ कामीनारिस

(दायाँ) लम्बार्डु सडकस्थित छापाखाना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने