भरोसायोग्य परमेश्वरको सेवा गर्ने
किमोन प्रोगाकीसको वृत्तान्तमा आधारित
सन् १९५५ को मुटु कमाउने साँझ। म र मेरी पत्नी यानुला चिन्ताको सागरमा डुब्न थाल्यौं किनभने हाम्रो १८ वर्षीय छोरा योर्गोस तिनले काम गर्ने पसलबाट घर फर्केका थिएनन्। अकस्मात्, एक प्रहरीले ढोका ढकढकाए। तिनले भने, “तपाईंको छोरा साइकलबाट घर फर्कंदै गर्दा गाडीमा ठोक्कर लागेर तिनको मृत्यु भयो।” त्यसपछि तिनी अघिल्तिर झुकेर खासखुस गर्दै भने: “यो दुर्घटना हो भनेर तिनीहरूले तपाईंहरूलाई भन्नेछन् तर विश्वास गर्नुहोस्, तिनको हत्या गरिएको हो।” स्थानीय पादरी र अर्धसैनिक केही नेताहरूले तिनको हत्या गर्ने षड्यन्त्र रचेका थिए।
कठिनाइ र कलहको भुँवरीबाट निक्लेर ग्रीसले काँचुली फेर्दै गरेको त्यस समयमा यहोवाको साक्षी हुनु खतरापूर्ण थियो। मलाई पहिले नै ग्रीक अर्थोडक्स चर्च र अर्धसैनिक संगठनहरूको शक्तिबारे थाह थियो। किनकि १५ वर्षभन्दा धेरै समयसम्म म तिनीहरूको सक्रिय सदस्य थिएँ। आउनुहोस्, मेरो परिवारमाथि ४० वर्षभन्दाअघि माथि उल्लिखित दुःखान्त स्थिति थोपर्ने घटनाहरूबारे म तपाईंहरूलाई बताउन चाहन्छु।
ग्रीसमा हुर्कंदा
म खाल्किस शहर नजीक सानो गाउँको घरानियाँ परिवारमा सन् १९०२ मा जन्मेको थिएँ। मेरो पिता स्थानीय राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। र हाम्रो परिवार ग्रीक अर्थोडक्स चर्चको भक्त सदस्य थियो। मेरो अधिकांश देशवासीहरू अशिक्षित नै हुँदा म चाहिं राजनीतिक र धार्मिक पुस्तकहरूको उत्साही पाठक भएको थिएँ।
बीसौं शताब्दीको सुरुमा रूमलिएको गरिबी र अन्यायले गर्दा उत्तम पृथ्वीको चाहना मभित्र सृजना भयो। धर्मले मेरा देशवासीहरूका दुःखद परिस्थितिमा सुधार ल्याउन सक्नुपर्ने हो भनेर म सोच्ने गर्थें। मेरो धार्मिक झुकाउले गर्दा गाउँमा नेतृत्व लिनेहरूले मलाई हाम्रो समुदायमा ग्रीक अर्थोडक्स चर्चको पादरी बन्न प्रस्ताव राखे। तथापि, मैले थुप्रै विहारहरू धाइसकेको र विशप तथा एब्बोतहरूसित धेरै लामो छलफल गरेको भए तापनि यस्तो जिम्मेवारी स्वीकार्न तयार वा इच्छुक छु जस्तो लागेन।
गृहयुद्धको भुँवरीमा
वर्षौंपछि अर्थात् सन् १९४१ को अप्रिलमा ग्रीस नाजी शासनको अधीनमा पऱ्यो। यससितै हत्या, अनिकाल, क्षति र अवर्णनीय मानव पीडाहरूको दयनीय समयावधिको सूत्रपात भयो। घोर प्रतिरोधी आन्दोलन अकासिन थाल्यो र नाजी आक्रमणकारी विरुद्ध लड्ने छापामार समूहमा म पनि भर्ना भएँ। परिणामस्वरूप, मेरो घरमा धेरै चोटि आगो लगाइयो। मलाई गोली हानियो र मेरो अन्नबाली स्वाहा पारियो। सन् १९४३ को प्रारम्भतिर म र मेरो परिवारको लागि रुग्रुगे पर्वतहरूतिर भाग्नुबाहेक अरू कुनै उपाय थिएन। सन् १९४४ मा जर्मन कब्जाको सूर्यास्त नभईञ्जेल हामी त्यहीं रह्यौं।
जर्मनहरूले ग्रीस छाडेपछि त्यहाँ आन्तरिक राजनीति तथा गृहयुद्ध मच्चिन थाल्यो। म सहभागी भएको छापामार प्रतिरोधी समूह, गृहयुद्धमा लड्ने मुख्य सेनाहरूमध्ये एक थियो। न्याय, समानता र कमरेडवादजस्ता साम्यवादी आदर्शहरू मन परे तापनि अन्ततः यसको वास्तविकताले मलाई पूर्णतया भ्रममा पाऱ्यो। समूहमा म उच्च ओहदामा भएको कारण शक्तिले मानिसमा प्रत्यक्षतः भ्रष्ट प्रवृत्ति जन्माउँछ भनेर थाह पाएँ। श्रेष्ठ सिद्धान्त र आदर्शहरूको बावजूद स्वार्थीपन र असिद्धपनले सर्वश्रेष्ठ राजनीतिक झुकाउहरूलाई खराब पार्छ।
विशेषगरि, गृह संघर्षका विभिन्न पक्षहरूमा अर्थोडक्स पादरीहरूले आफ्नै धर्मावलम्बीहरूलाई मार्न हतियार उठाएको देख्दा मेरो मनमा आघात पुग्यो! सोचें, ‘यी पादरीहरूले आफूलाई येशू ख्रीष्टको प्रतिनिधि कसरी भन्नसक्छन्, जसले यसो भन्नुभएको थियो: “तरवार लिनेहरू सबै जना तरवारैले नष्ट हुनेछन्”?’—मत्ती २६:५२.
सन् १९४६ मा गृहयुद्धको दौडान म मध्यग्रीसको निकटवर्ती शहर, लामियामा भूमिगत थिएँ। मेरा लुगाहरू असाध्यै झुत्रो भएका थिए। त्यसैले भेष बद्लेर शहरमा सूचीकारकहाँ गई नयाँ कपडा सिलाउने निर्णय गरें। म सूचीकारकहाँ पुग्दा त्यहाँ चर्को बहस चलिरहेको रहेछ। म पनि तुरुन्तै राजनीतिबारे नभई मेरै पुरानो रुचि अर्थात् धर्मबारे बोल्न थालेछु। मेरो ज्ञानप्रद दृष्टिकोणलाई याद गर्दै दर्शकहरूले मलाई ‘धर्मविज्ञानका प्राध्यापकसित’ कुरा गर्ने सुझाउ दिए। तिनलाई लिन तिनीहरू तुरुन्तै गइ पनि हाले।
भरपर्दो आशा पाउँदा
त्यस ‘प्राध्यापकसितको’ वार्तालापमा तिनले मलाई मेरो विश्वासको आधार के हो भनेर सोधे। मैले “पवित्र पिता र चर्चहरूलाई एकतामा बाँध्ने परिषद्हरू” भनेर जवाफ दिएँ। मेरो कुराको खण्डन गर्नुको साटो तिनले आफ्नो सानो बाइबलबाट मत्ती २३:९, १० खोलेर येशूका यी शब्दहरू मलाई पढ्न लगाए: “तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि तिमीहरूका पिता एउटै स्वर्गमा हुनुहुन्छ। तिमीहरूलाई ‘मालिक’ कसैले नभनोस्, किनकि तिमीहरूका एक मात्र मालिक ख्रीष्टनै हो।”
त्यस तथ्यले मेरो आँखा खुल्यो! यस मानिसले सत्य बताइरहेका छन् भनेर मैले थाह पाएँ। तिनले आफू यहोवाको साक्षी भनेर परिचय दिएपछि तिनीसित केही साहित्यहरू पढ्न मागें। तिनले मलाई ज्योति (अंग्रेजी) पुस्तक दिए। त्यसमा बाइबलको पुस्तक, प्रकाशबारे व्याख्या गरिएको थियो। मैले त्यस पुस्तकलाई आफू भूमिगत भएको ठाउँमा लगें। प्रकाशमा उल्लिखित जनावरहरू मेरोलागि धेरैअघिदेखि एउटा रहस्य नै भएको थियो। तर ती जनावरहरूले हाम्रो बीसौं शताब्दीमा भएका राजनीतिक संगठनहरूलाई प्रतिनिधित्व गर्छन् भनेर अहिले थाह पाएँ। बाइबलले हाम्रो समयको लागि व्यवहारिक अर्थ राख्छ र यसलाई मैले पढेर यसका सत्यहरूअनुरूप जीवन बिताउनुपर्छ भनेर बुझ्न थालें।
गिरफ्तार र बन्दी
त्यसको तुरुन्तैपछि म भूमिगत भएको ठाउँमा सिपाहीहरूले एक्कासि छापा मारेर मलाई गिरफ्तार गरे। मलाई कालकोठरीमा हाले। कानुनविरोधको अभियोगमा केही समयसम्म मेरो खोजी भइरहेकोले मलाई मार्नेछ भनेर पक्का भएँ। त्यहाँ मेरो कोठामा सुरुमा मसित कुरा गर्ने साक्षीसित भेट भयो। तिनले मलाई यहोवामा पूर्ण भरोसा राख्न प्रोत्साहन दिए। मैले त्यसै गरें। मलाई ईकेरियाको अजियन द्वीपमा छ महिनाको लागि निर्वासनको सजाय भयो।
त्यहाँ पुग्ने बित्तिकै मैले आफूलाई साम्यवादीको रूपमा नभई यहोवाको साक्षीको हैसियतमा परिचय दिएँ। बाइबल सत्यहरू सिक्ने अरू थुप्रैलाई पनि त्यहाँ निर्वासनमा पठाइएका थिए। अतः तिनीहरूलाई खोजें र एकैसाथ नियमित तवरमा बाइबल अध्ययन गऱ्यौं। तिनीहरूले मलाई धर्मशास्त्रबाट अझ धेरै ज्ञान लिन र हाम्रो भरोसायोग्य परमेश्वर, यहोवाबारे समझ प्राप्त गर्न मदत दिए।
सन् १९४७ मा मेरो सजाय समाप्त भएपछि सरकारी वकिलले तिनको कार्यालयमा मलाई बोलाए। मेरो आचरण देखेर तिनी प्रभावित भएको कुरा तिनले बताए र फेरि निर्वासन गरेमा तिनको नाउँ प्रमाणको रूपमा लिनू भने। मैले निर्वासनको सजाय भोगिरहेको बेला मेरो परिवार एथेन्समा सरिसकेको थियो। म त्यहाँ आएँ र यहोवाका साक्षीहरूको मण्डलीसित सम्पर्क राख्न थालें। त्यसपछि चाँडै यहोवाप्रतिको समर्पणलाई प्रतीकात्मक रूप दिएर बप्तिस्मा लिएँ।
धर्मपरिवर्तनको अभियोग
सन् १९३८ र १९३९ मा धर्मपरिवर्तन विरुद्ध पारित गरिएको कानुनअन्तर्गत ग्रीसमा यहोवाका साक्षीहरूमाथि दशकौंसम्म मुद्दा लगाइयो। यसर्थ, सन् १९३८ देखि १९९२ भित्र ग्रीसमा यहोवाका साक्षीहरूलाई १९,१४७ पटक गिरफ्तार गरियो र अदालतहरूले मोठ ७५३ वर्ष लामो सजायहरू सुनाए। तीमध्ये वास्तवमा ५९३ वर्ष चाहिं लागू भयो। परमेश्वरको राज्यको सुसमाचार प्रचार गरेको कारण म ४० चोटिभन्दा बढी गिरफ्तार भएँ र जम्माजम्मी २७ महिना विभिन्न झ्यालखानाहरूमा बिताएँ।
मैले खाल्किसस्थित ग्रीक अर्थोडक्स चर्चको पादरीलाई पत्र लेखेको कारण म एक चोटि गिरफ्तार भएँ। सन् १९५५ मा यहोवाका साक्षीहरूका मण्डलीहरूलाई मसीहीजगत् वा मसीहीधर्म—कुन चाहिं “संसारको ज्योति” हो? (अंग्रेजी) पुस्तिका सबै पादरीहरूकहाँ पठाउन आग्रह गरिएको थियो। मैले पत्राचार गरेको उच्च ओहदाको पादरीले मलाई धर्मपरिवर्तन गरेको अभियोगमा मुद्दा लगाए। मुद्दाको दौडान यहोवाका साक्षीहरूको वकिल र स्थानीय वकिल दुवैले दक्षतासाथ मेरो पक्षमा वकालत गरे। साँचो मसीहीहरूले परमेश्वरको राज्यबारे प्रचार गर्नुपर्ने दायित्वलाई पूरा गर्नुपर्छ भनेर तिनीहरूले बयान दिए।—मत्ती २४:१४.
मुद्दा सञ्चालन गर्ने न्यायाधीशले मठाधीशलाई (चर्चमा विशपमुनिको पदवी) सोधे: “तपाईंले पत्र र पुस्तिका पढ्नुभयो?”
तिनले क्रोधित भएर जवाफ दिए, “अहँ, मैले खाम खोल्नासाथ ती च्यातचुत पारें!”
“त्यसोभए यस मानिसले तपाईंको धर्मपरिवर्तन गऱ्यो भनेर कसरी भन्न सक्नुहुन्छ?” भनेर मुद्दा सञ्चालन गर्ने न्यायाधीशले सोधे।
त्यसबाहेक, सम्पूर्ण पुस्तकको थाक जनपुस्तकालयमा अनुदान गर्ने प्राध्यापकहरू र अरू मानिसहरूको उदाहरण हाम्रो वकिलले उद्धृत गरे। “ती मानिसहरूले अरूको धर्मपरिवर्तन गर्ने चेष्टा गरेको हो भनेर के तपाईं भन्नुहुन्छ?” भन्दै तिनले मठाधीशलाई सोधे।
स्पष्टतया, यस्ता क्रियाकलापमा धर्मपरिवर्तन समावेश थिएन। म “दोषी छैन” भन्ने न्याय सुनवाइ हुँदा मैले यहोवालाई धन्यवाद चढाएँ।
मेरो छोराको मृत्यु
अर्थोडक्स पादरीहरूले उक्साएको कामद्वारा मेरो छोराले निरन्तर दुःख भोग्यो। परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्न उसले युवा जोश देखाएको कारण ऊ पनि थुप्रै पटक गिरफ्तार भयो। अन्ततः, विरोधीहरूले उसको हत्या गर्ने मतो बाँधे र हामी बाँकी रहेकालाई चाहिं प्रचारकार्य बन्द गराउन डर देखाउँदै सन्देश पठाए।
स्थानीय ग्रीक अर्थोडक्स पादरी र केही अर्धसैनिक नेताहरूले हाम्रो छोराको हत्या गर्ने षड्यन्त्र रचेका थिए भनेर योर्गोसको मृत्युको विवरण दिन आउने प्रहरीले बताए। त्यतिबेलाको खतरापूर्ण समयको दौडान यस्ता “दुर्घटनाहरू” हुनु सामान्य थियो। उसको मृत्युले ल्याएको दुःखको बावजूद प्रचारकार्यमा सक्रिय रहने र यहोवामा पूर्णतया भरोसा राख्ने हाम्रो कटिबद्धता झन् बलियो भयो।
अरूलाई यहोवामा भरोसा गर्न मदत दिंदै
सन् १९६० दशकको मध्यतिर मेरी पत्नी र छोराछोरीले एथेन्सदेखि लगभग ५० किलोमिटर टाढा स्काला अरोपसको तटवर्ती गाउँमा ग्रीष्मकालीन महिना बिताउने योजना बनाएका थिए। त्यस समय त्यहाँ एक जना पनि साक्षी थिएन। तसर्थ, हामीले त्यहाँ छिमेकीहरूलाई अनौपचारिक साक्षी दियौं। केही स्थानीय कृषकहरूले सकारात्मक प्रतिक्रिया देखाए। पुरुषहरू लामो समयसम्म खेतमा काम गर्ने हुनाले हामीले तिनीहरूसित निकै रात छिपिसक्दा बाइबल अध्ययन गर्थ्यौं। तिनीहरूमध्ये थुप्रै साक्षी भए।
यहोवाले हाम्रा प्रयासहरूमा दिइरहनुभएको आशिष्लाई ध्यानमा राख्दै इच्छुक व्यक्तिहरूसित बाइबल अध्ययन सञ्चालन गर्न १५ वर्षसम्म हामी हर हप्ता त्यस ठाउँमा जान्थ्यौं। हामीले अध्ययन गरेका लगभग ३० व्यक्तिहरूले बप्तिस्मा लिने हदसम्म उन्नति गरेका छन्। प्रथमतः अध्ययन समूह गठन गरियो र सभाहरू सञ्चालन गर्न म खटिएँ। पछि त्यही समूह मण्डली भयो र आज त्यस इलाकाका सयभन्दा धेरै साक्षीहरू मिलेर मालाकासा मण्डली गठन भएको छ। हामीले मदत गरेका व्यक्तिहरूमध्ये चार जना पूर्ण-समय सेवकको हैसियतमा सेवारत भएकोमा हामी हर्षित छौं।
मूल्यवान् सम्पदा
मैले आफ्नो जीवन यहोवामा समर्पण गरेको तुरुन्तैपछि मेरी पत्नीले आध्यात्मिक उन्नति गरेर बप्तिस्मा लिइन्। सतावटको कठिन समयमा पनि तिनी विश्वासमा स्थिर रहिन् र आफ्नो निष्ठालाई डगमगिन दिइनन्। म घरिघरि झ्यालखाना जानुपरेको परिणामस्वरूप तिनले भोग्नु परेका कठिनाइहरूमा कहिल्यै गुनासो गरिनन्।
वर्षौंसम्म हामीले सँगसँगै थुप्रै बाइबल अध्ययनहरू सञ्चालन गऱ्यौं। तिनले सरल तरिकाले र उत्साहसाथ थुप्रैलाई भेटघाट गरेर प्रभावशाली ढंगमा मदत गरिन्। अहिले, तिनले पत्रिका रूटमा दर्जनौं मानिसलाई नियमित तवरले प्रहरीधरहरा र ब्यूँझनुहोस्! प्रस्तुत गर्छिन्।
मुख्यतः मेरी मायालु पत्नीले मदत गरेकीले हाम्रा बचेका तीन छोराछोरीका सबै परिवारहरू यहोवाको सेवामा सक्रिय छन्। ती परिवारमा हाम्रा छ नातिनातिनी र चार पनातिपनातिनी छन्। तिनीहरूले म र मेरी पत्नीले जस्तै सतावट र घोर विरोध भोग्नु नपरे तापनि यहोवामा पूर्ण भरोसा राखेका छन् र उहाँको मार्गमा हिंडिरहेका छन्। पुनरुत्थानमा हाम्रो प्रिय योर्गोससित पुनर्मिलन हुने त्यो क्षण कति आनन्ददायी हुनेछ!
यहोवामा भरोसा गर्न कटिबद्ध
यी सम्पूर्ण वर्षहरूमा मैले यहोवाको आत्मा उहाँका मानिसहरूमाथि परिचालन भइरहेको देखेको छु। हामी मानव प्रयासहरूमा भरोसा राख्न सक्तैनौं भनेर बुझ्न उहाँको आत्मा-निर्देशित संगठनले मलाई मदत दिएको छ। ती मानवहरूले उत्तम भविष्यबारे गरेका प्रतिज्ञाहरू मूल्यहीन छन्। त्यो वास्तवमा झूटबाहेक अरू केही होइन।—भजन १४:६, ४.
वृद्धावस्था र अचाक्ली स्वास्थ्य समस्याहरूको बावजूद परमेश्वरको राज्य आशाको वास्तविकतामा मेरो ध्यान केन्द्रित छ। मैले झूटो धर्ममा समर्पित भएर अनि राजनीतिको माध्यमद्वारा पृथ्वीमा उत्तम अवस्था ल्याउने चेष्टा गर्दा बिनसित्तिमा बिताएका समयको लागि अहिले म पछुताउँछु। मैले फेरि सुरुको जीवन पाउने भए निस्सन्देह भरोसायोग्य परमेश्वर यहोवाको नै पुनः सेवा गर्ने निर्णय गर्नेथिएँ।
(किमोन प्रोगाकीसको भर्खरै मृत्यु भयो। तिनको पार्थिव आशा थियो।)
[पृष्ठ २६-मा भएको चित्र]
किमोन र तिनकी पत्नी यानुलाको हालैको तस्बिर