बाजेबज्यैहरूमाथि के बितिरहेछ?
इटालीका ब्यूँझनुहोस्! संवाददाताद्वारा
“बाजे भएको नाताले मप्रति नातिनातिनीहरूले प्रदर्शित गरेको कोमलता देखेर म साह्रै प्रभावित भएँ। तिनीहरू वरदान हुन्। स्नेहको गाँठोलाई बलियो बनाउने प्यारा र निष्कपट दूतहरू हुन्।”—इटोरे, एक जना बाजे।
उपरोक्त वर्णनले एक सफल पारिवारिक सम्बन्धलाई उल्लेख गरेको भए तापनि हिजोआज बाजेबज्यै, आमाबाबु र नातिनातिनीहरूबीच यसप्रकारको सम्बन्ध कायम रहेको पाइँदैन। बरु, यी तीन पुस्ताहरूबीच अक्सर फूट पैदा हुन्छ। यसको परिणाम? वृद्ध बाजेबज्यैहरूले एक्लो र दुःखीपनको तीव्र जलन महसुस गर्छन्। वास्तवमा तिनीहरूलाई परिवारका नाजुक र अलग्गिएका सदस्य ठानिन्छ। तिनीहरू ती हुन्, जसबाट परिवारका सदस्यहरूले आर्थिक कठिनाइ आइपर्दा वित्तीय सहयोग लिनसक्छन्। तर तिनीहरूलाई आदर गरिंदैन। तपाईंको परिवारमा नि? के साँच्चै बाजेबज्यैहरूको आदर गरिंदैछ?
बितेका केही दशकहरूमा भएका उल्लेखनीय सामाजिक परिवर्तनहरूले परिवार र पारिवारिक सम्बन्धलाई असर गरेको छ। फलस्वरूप, परिवारमा चलिरहेको पितृ आधिपत्य झन्डै झन्डै लोप भयो। यस्तै कारणहरूले गर्दा युरोपमा हेऱ्यौं भने, खालि २ प्रतिशत वृद्धहरू आफ्ना छोराछोरीहरूसित बस्छन्। तापनि, औद्योगिक राष्ट्रहरूमा हालै बढ्दै गइरहेको औसतन आयु र जन्मदरमा आएको कमीले गर्दा देशको सामान्य जनसंख्याको तुलनामा वृद्ध बाजेबज्यैहरूको अनुपात दिनानुदिन बढ्दैछ। युरोपको कुल जनसंख्याको २६ प्रतिशत स्थान वृद्ध बाजेबज्यैहरूले ओगटेको छ। युरोपेली संघद्वारा प्रकाशित एक सर्वेक्षणअनुसार तिनीहरूको संख्या अझै “बढ्ने अनुमान लगाइएको” छ। आसाही इभनिंग न्यूज बताउँछ: जापान “वृद्ध नागरिकहरूको हेरचाह गर्ने परम्पराप्रति गौरवान्वित छ।” यद्यपि, कुनै कारणैबिना अस्पताल र विशेष स्वास्थ्यकेन्द्रहरूमा यस्ता वृद्ध बाजेबज्यैहरूलाई भर्ना गर्ने चलन विशेष गरेर शहरहरूमा व्यापक तवरले बढ्दै गइरहेको छ। केप शहरको समाचारपत्र द केप टाइम्स-अनुसार, वृद्धहरूलाई आदर गरिने परम्परा भएको अफ्रिकाजस्तो देशमा पनि हाल तिनीहरूलाई नकार्ने दुःखलाग्दो प्रवृत्ति देखा परेको छ। प्रतिवेदनले के भन्छ भने, परिवारका सदस्यहरू “यथासम्भव विलासी जीवन” बिताउन चाहन्छन्। त्यसैले “बाजेबज्यैहरूको हेरचाह गर्ने भार वृद्धाश्रमलाई सुम्पिसकेपछि तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरेको सम्झन्छन्।”
यही समाचारपत्रले अति वृद्ध बज्यैलाई तीन जना छोराछोरीहरूले एउटा स्तरीय वृद्धाश्रममा पुऱ्याएको वास्तविक घटनाबारे बताउँछ। तिनीहरूले “उनलाई सहयोग गर्ने र सधैं भेट्न आउने वचन” पनि दिएका थिए। तर के भयो? “सुरुमा तिनीहरू दिनहुँ भेट्न आए। केही हप्तापछि हप्ताको तीनपल्ट आउन थाले। त्यसपछि हप्तामा एकपल्ट देखा पर्न थाले। एक वर्षपछि महिनामा दुइ या तीनपल्ट मात्र। अन्तमा, वर्षमा पाँच या छपल्ट, आखिरमा मुश्किलले कहिलेकाहीं भेट्न आउँथे।” यस्तो अवस्थामा यी बज्यैले ती दिनहरू कसरी काटिन् होली? यसबारे हृदय विदारक बयान यस्तो छ: “उनको कोठाको एउटा झ्यालबाट एउटा रूख देखिन्थ्यो। त्यो रूखमा गुँड बनाएर बसेका ढुकुर र मैनाहरू नै उनका जीवित साथीहरू थिए। मानो आफ्नै नजीकको साइनो पर्ने आफन्तहरूझैं गरी उनी उत्सुकतापूर्वक तिनीहरूको प्रतीक्षा गर्थिन्।”
दक्षिण अफ्रिकाको जीवनशैलीमा पाश्चात्य जीवनको प्रभावले गर्दा धेरै मानिसहरू शहरहरूमा नोकरी खोज्न उत्प्रेरित हुन्छन्। फलतः माथि उल्लिखित घटना जनजातीय परिवारहरूमा पनि भइरहेछ। सामाजिक परिस्थितिहरूमा आएको परिवर्तनबाहेक, वृद्ध बाजेबज्यैहरूलाई परित्याग गर्नुका अरू पनि कारणहरू छन्। ती हुन्, सामाजिक तथा पारिवारिक जीवनलाई बढावा दिने भलाइ, छिमेकीप्रति आदर, पारिवारिक स्नेहजस्ता मानवीय गुनहरूको कमी र स्वार्थ, विलासी जीवनशैली, घमण्ड र विद्रोहको बढोत्तरी प्रभाव। शास्त्रअनुसार, हामी “आखिरी दिनमा” बाँचिरहेको कुरा यस्तो नैतिक पतनले संकेत गर्छ। (२ तिमोथी ३:१-५) त्यसैले छोराछोरी तथा नातिनातिनीहरूले बाजेबज्यैहरूलाई आफ्नो जीवनको श्रोतको रूपमा सम्मान दिनुको साटो तिनीहरूलाई बोझ ठान्छन् र द्रुत गतिले सामाजिक परिवर्तन सँगसँगै नचल्ने बाधा सम्झन्छन्।a
पुस्ताहरूबीचको अन्तर अकासिंदैछ। यसले तनाउ उत्पन्न गराउँछ। परिवारमा वृद्ध सदस्यहरू छन् भने झन् धेरै तनाउ हुन्छ। यद्यपि, ती बाजेबज्यैहरूका योगदान अति लाभकारी हुनसक्छ! त्यसोभए बाजेबज्यै, छोराछोरी तथा नातिनातिनीहरूबीचको मायालु सम्बन्ध बिगार्ने मुख्य समस्याहरू के के हुन्? अनि परिवारको परिधिभित्र बाजेबज्यैहरूले कसरी आफ्नो अमूल्य भूमिका पुनः कायम गर्नसक्छन्?
[फुटनोटहरू]
a अति वृद्ध र सिकिस्त बिरामी हुँदा कहिलेकाहीं नर्सिङहोममा लगेर पेशेवर कर्मचारीहरूको प्रबन्ध गर्न वृद्ध आमाबाबुहरूको लागि मायालु र व्यवहारिक सिद्ध हुनसक्छ।