प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ६/८ पृ. १३-१५
  • म कसरी आफ्ना हजुरबा हजुरआमासित घनिष्ठ हुनसक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म कसरी आफ्ना हजुरबा हजुरआमासित घनिष्ठ हुनसक्छु?
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अग्रसर भएर
  • सँगै मिलेर हामी के के गर्नसक्छौं?
  • आध्यात्मिक सम्पदा
  • धेरै टाढा बस्ने हजुरबा हजुरआमा
  • मैले किन आफ्नो हजुरबा हजुरआमालाई अझ राम्ररी चिन्‍नुपर्छ?
    ब्यूँझनुहोस्‌!—२००१
  • केही समस्याहरू के के हुन्‌?
    ब्यूँझनुहोस्‌!—१९९५
  • प्रेममा एकसाथ जीवन बिताउनु
    ब्यूँझनुहोस्‌!—१९९५
  • बाजेबज्यैहरूमाथि के बितिरहेछ?
    ब्यूँझनुहोस्‌!—१९९५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ६/८ पृ. १३-१५

युवा जनहरू सोध्छन्‌ . . .

म कसरी आफ्ना हजुरबा हजुरआमासित घनिष्ठ हुनसक्छु?

“मेरा दुवै हजुरबाहरू पुराना कुराहरू गर्न मन पराउनुहुन्छ। उहाँहरूले सुनाउनुभएका यस्ता अनुभवहरूले मलाई आफ्ना भावनाहरू बुझ्न मदत गर्छ।”—जोसुआ।

एक समय थियो जुनबेला धेरै पुस्ताका परिवारहरू सँगै र प्रायः एउटै घरमा बस्थे। साधारणतया आफ्ना हजुरबा हजुरआमासित घनिष्ठ सम्बन्ध हुनेगर्थ्यो।

आज परिवारहरू छुट्टिएर बस्ने भएकाले जवानहरू हजुरबा हजुरआमाबाट टाढिएका हुनसक्छन्‌। यसको अतिरिक्‍त, सम्बन्ध-विच्छेदद्वारा छुट्टिएका परिवारहरूको संख्या वृद्धि भइरहेको छ। द टोरोन्टो स्टार यसो भन्छ, “हजुरबा हजुरआमा पनि सम्बन्ध-विच्छेदको सिकार हुनसक्छन्‌ र आफ्ना प्यारा नातिनातिनालाई भेट्‌नबाट वञ्चित हुनसक्छन्‌।” अर्को समस्याचाहिं वृद्धहरू आधुनिक जमानाप्रति सचेत छैनन्‌ र उनीहरूका विचारधारा, मान्यता अनि चाहनाहरू आफ्नोभन्दा बिलकुलै भिन्‍न हुन्छन्‌ भनी धेरैजसो जवानहरू उनीहरूप्रति नकारात्मक सोचाइ राख्छन्‌। यसको परिणाम? धेरै जवानहरू आफ्ना हजुरबा हजुरआमासित जति घनिष्ठ हुनुपर्ने हो त्यति घनिष्ठ भएका छैनन्‌।

यो साह्रै दुःखलाग्दो कुरा हो। यस श्रृंखलाको अघिल्लो लेखले भनेझैं यदि उहाँहरू ईश्‍वरभीरु हुनुहुन्छ भने उहाँहरूसित घनिष्ठ सम्बन्ध राख्नु झनै स्वस्थकर, फाइदाजनक र आनन्ददायी हुन्छ।a रिबेका नाउँ गरेकी एक किशोरीले आफ्ना हजुरबा हजुरआमाबारे यसो भनिन्‌: “हामी कुनै पनि समय सँगै बसेर रमाइलो गर्न सक्छौं।” पिटर नाउँ गरेका एक युवक पनि त्यस्तै भन्छन्‌: “मेरा अनुभूति र योजनाहरूबारे उहाँहरूलाई बताउन मलाई डर लाग्दैन। कहिलेकाहीं त आमाबुबासित भन्दा उहाँहरूसित कुराकानी गर्न मलाई सजिलो लाग्छ। म, मेरा हजुरबा हजुरआमासँग कुनै पनि विषयमा खुलेर कुरा गर्नसक्छु जस्तो मलाई लाग्छ।”

तपाईं नि? सायद तपाईं सानो छँदा हजुरबा हजुरआमासित घनिष्ठ हुनुहुन्थ्यो होला। तर किशोर वा किशोरी भएदेखि तपाईंले सम्बन्ध बढाउन त्यति धेरै प्रयास नगर्नुभएको हुनसक्छ। यस्तो हो भने, बाइबलले २ कोरिन्थी ६:११-१३ मा दिएको सिद्धान्त अर्थात्‌ उनीहरूलाई प्रेम गर्ने सन्दर्भमा ‘ठूलो मनको’ हुनुहोस्‌ भन्‍ने सिद्धान्त लागू गर्न सकिन्छ। तर प्रश्‍न उठ्‌छ, कसरी?

अग्रसर भएर

‘ठूलो मनको’ हुनु भनेको आफू अग्रसर हुनु हो। आखिर बाइबलले पनि त यसै भन्छ: “मानिसलाई दिने तेरो औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर।” (हितोपदेश ३:२७) तपाईं सानो छँदा आफ्ना हजुरबा हजुरआमासितको सम्बन्धमा केही गर्ने तपाईंको “औकात” थिएन होला। तर तपाईं अहिले सानो बच्चा हुनुहुन्‍न, हुनसक्छ तपाईं अहिले हुर्किसक्नुभयो र आफूले चाल्नुपर्ने कदमहरूबारे पनि तपाईंलाई थाह भइसकेको हुनुपर्छ।

उदाहरणका लागि, तपाईंका हजुरबा हजुरआमा धेरै टाढा बस्नु हुन्‍न भने उहाँहरूलाई बरोबर भेट्‌न जान सक्नुहुन्छ। तर के यसो गर्न तपाईंलाई पट्टाइ लाग्छ? तपाईं यदि केही नबोली मूर्तिजस्तो बस्नुहुन्छ भने सायद लाग्न पनि सक्छ। त्यसैले, कुराकानी सुरु गर्नुहोस्‌! तर के कुरा गर्ने? यस सन्दर्भमा फिलिप्पी २:४ मा दिइएका बाइबल सिद्धान्त मदतकारी हुन्छ। ‘आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूका कुरामा पनि ध्यान देऊ’ भनी यसले जोड दिन्छ। अर्को शब्दमा भन्‍ने हो भने, आफ्ना हजुरबा हजुरआमाप्रति चासो देखाउनुहोस्‌। उहाँहरूले मनमा लागेका कुराहरू गर्दा सुनिदिनुहोस्‌। उहाँहरू कस्तो सोच्नुहुन्छ? हाल उहाँहरू के गर्दैहुनुहुन्छ? विगतका कुराहरू गर्नु उहाँहरूलाई रमाइलो लाग्नसक्छ। त्यसैले, उहाँहरू जवान छँदा जीवन कस्तो थियो वा तपाईंका आमा वा बुबा सानो छँदा कस्ता थिए, सोध्नुहोस्‌। तपाईंका हजुरबा हजुरआमा मसीही हुनुहुन्छ भने, बाइबल सत्यप्रति उहाँहरूलाई कुन कुराले आकर्षित गऱ्‍यो, सोध्नुहोस्‌।

अक्सर हजुरबा हजुरआमासित पारिवारिक इतिहासको भण्डारै हुनसक्छ र तपाईंलाई रोचक कथाहरू सुनाएर रमाइलो गर्न उहाँहरू धेरै इच्छुक होलान्‌। साँच्चै भन्‍ने हो भने, तपाईंले यस अवसरलाई एउटा रमाइलो कार्यक्रम बनाउन सक्नुहुन्छ। आफ्नो हजुरबा हजुरआमाको अन्तरवार्ता लिनुहोस्‌। तपाईं त्यस अन्तरवार्ताको टिपोट लिन सक्नुहुन्छ वा टेप वा भिडियोमा रेकर्ड गरेर राख्न सक्नुहुन्छ। अन्तरवार्तामा के सोध्ने तपाईंलाई थाह छैन भने राम्रा प्रश्‍नहरू बनाउनको लागि आमाबुबाको मदत लिनुहोस्‌। यसबाट तपाईंले धेरै कुरा सिक्न सक्नुहुनेछ र आफ्ना हजुरबा हजुरआमा, आमाबुबा र स्वयम्‌ आफूलाई अझ राम्ररी बुझ्न मदत पाउनुहुनेछ। जोसुआ यसो भन्छन्‌, “मेरा दुवै हजुरबाहरू जीवनमा घटेका रोचक घटनाहरू भन्‍न मन पराउनुहुन्छ। उहाँहरूले सुनाउनुभएका यस्ता अनुभवहरूले मलाई आफ्ना भावनाहरू बुझ्न मदत गर्छ।”

तपाईंका हजुरबा हजुरआमाले पनि तपाईंको जीवन अनि तपाईंले गर्नुहुने कामकुरोमा चासो लिनुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। तपाईंले आफ्नो बारेमा उहाँहरूलाई बताउँदा आफ्नो जीवनको एक भाग बन्‍न उहाँहरूलाई पनि आमन्त्रित गरिरहनुभएको हुनुहुनेछ। यसले पक्कै पनि तपाईंहरूलाई घनिष्ठ बनाउँछ। इगोर नाउँ गरेका फ्रान्सका एक जवान यसो भन्छन्‌, “मेरी हजुरआमा र म रेष्टुराँ गएर आ-आफ्नो हालचालबारे चिया पिउँदै कुराकानी गर्न मन पराउँछौं।”

सँगै मिलेर हामी के के गर्नसक्छौं?

नियमित तवरमा सँगै बसेर कुराकानी गर्न थाल्नु भएपछि सँगै मिलेर केही गर्न सक्नुहुन्छ। अलिकता मात्र पूर्व विचार गर्नुभएमा पनि सँगै मिलेर गर्नसक्ने धेरै क्रियाकलापहरू तपाईं पत्ता लगाउन सक्नुहुन्छ। डारा नाउँ गरेकी युवती यसरी सम्झिन्छन्‌: “मेरा आमा र बुवा दुवै पट्टिका हजुरआमाहरूले मलाई खाना पकाउन, यसलाई सुरक्षित राख्न अनि केक बनाउन, बोटबिरुवा हुर्काउन र बगैंचाका कामहरू सिकाउनुभएको छ।” एमीले आफ्ना हजुरबा हजुरआमासँगै पारिवारिक जमघटहरूमा भेला हुने र छुट्टीहरू मनाउने गरेका छन्‌। आ-आफ्नो उमेरअनुसार कोहीकोही हजुरबा हजुरआमा निकै फुर्तिला हुन्छन्‌। आरून आफ्नी हजुरआमासँग गल्फ खेल्न मन पराउँछन्‌। जोसुआ आफ्नो बाजेसँगै माछा मार्न जाने र घरायसी कामहरू गर्ने गर्छन्‌।

यदि तपाईंका हजुरबा हजुरआमा यहोवाका उपासकहरू हुनुहुन्छ भने, अरूलाई बाइबलबारे बताउने जस्तो यहोवाको उपासना गर्ने काममा उहाँहरूसँगै भाग लिनु विशेष गरी आनन्ददायी हुनसक्छ। इगोरले यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनको लागि आफ्नी हजुरआमासँगै पोल्याण्ड जाने मौका पाए। उनी यसो भन्छन्‌, “हामीले सँगै बिताएको समय अविस्मरणीय छ र अझै पनि हामी त्यसबारे कुरा गर्ने गर्छौं।” हो, सबैका हजुरबा हजुरआमालाई चलहल गर्न सजिलो हुँदैन। यद्यपि, उहाँहरूसँग समय बिताउँदा मूल्यवान्‌ साबित हुन्छ।

आध्यात्मिक सम्पदा

बाइबलकालीन समयमा लोइस नाउँ गरेकी एक स्त्रीले आफ्नो नाति तिमोथीलाई परमेश्‍वरको उत्कृष्ट सेवक बनाउन महत्त्वपूर्ण भूमिका निभाइन्‌। (२ तिमोथी १:५) आज पनि धेरै मसीही हजुरबा हजुरआमाले त्यस्तै महत्त्वपूर्ण भूमिका निभाउँछन्‌। जोसुआले आफ्ना हजुरबा हजुरआमाबारे यसो भने: “उहाँहरूले म जन्मनुभन्दा धेरै अघिदेखि यहोवाको सेवा गर्दै आउनुभएको छ। त्यसैले, उहाँहरू मेरा हजुरबा हजुरआमा हुनुभएकोले मात्र होइन तर निष्ठावान्‌ हुनुभएकाले पनि म उहाँहरूलाई गहिरो आदर गर्छु।” एमी यसो भन्छिन्‌: “मैले विश्‍वासीपूर्वक यहोवाको सेवा गरेको देख्दा मेरा हजुरबा हजुरआमा खुसी र प्रोत्साहित भएको कुरा सधैं मलाई बताउने गर्नुहुन्छ। हो, [पूर्ण-समय प्रचारक] अग्रगामीको रूपमा उहाँहरूको राम्रो उदाहरण र यहोवाको लागि जोस देख्दा म आफ्नो अग्रगामी सेवालाई निरन्तरता दिन प्रोत्साहित हुन्छु।”

क्रिस आफ्नी बज्यैबारे यसो भन्छिन्‌, “मलाई अध्ययन गर्न अनि परिपक्व हुन सबैभन्दा प्रेरणा दिनुहुने व्यक्‍ति नै उहाँ हुनुहुन्छ।” उनी थप्छिन्‌, “म उहाँको यो भनाइलाई कहिल्यै बिर्सन सक्दिनँ, ‘यहोवाको लागि हामीले यथासक्दो गर्नुपर्छ।’ ” पेड्रोका हजुरबा हजुरआमाले तिनको आध्यात्मिक प्रगतिमा विशेष भूमिका निभाएका छन्‌। उनी भन्छन्‌: “उहाँहरूको अनुभवले मलाई धेरै मदत गरेको छ। मेरा हजुरबा हजुरआमाले मलाई सधैं प्रचारमा लाने गर्नुहुन्थ्यो र म साँच्चै त्यसको मूल्यांकन गर्छु।” हो, ईश्‍वरभीरु हजुरबा हजुरआमासित घनिष्ठ हुँदा परमेश्‍वरलाई अझ पूर्णतया सेवा गर्न मदत पाउँछौं।

धेरै टाढा बस्ने हजुरबा हजुरआमा

तपाईंका हजुरबा हजुरआमा टाढा बस्नुहुन्छ भने के गर्ने? सम्भव भएसम्म नियमित तवरमा भेट्‌न जाने प्रयास गर्नुहोस्‌। भेट्‌न जाने समयको बीचमा पनि उहाँहरूसँग सम्पर्क राख्न सक्दो प्रयास गर्नुहोस्‌। हर्नानले आफ्ना हजुरबा हजुरआमालाई वर्षको तीन पटक मात्र भेट्‌छन्‌। तर उनी भन्छन्‌: “म हरेक आइतबार उहाँहरूलाई टेलिफोन गर्ने गर्छु।” त्यस्तै डारा पनि आफ्ना हजुरबा हजुरआमादेखि टाढा बस्छन्‌, उनी यसो भन्छन्‌: “उहाँहरू मेरो जीवनमा चासो लिनुहुन्छ अनि हामी हरेक हप्ता जसो टेलिफोन र इमेल गर्ने गर्छौं।” इमेल र टेलिफोन गर्नु त ठीकै हो तर कहिल्यै पनि आफ्नै हातले लेख्ने परम्परागत चिठीको महत्त्वलाई कम नठान्‍नुहोस्‌। आफूले सानैदेखि लेखेका सबै चिठीहरू हजुरबा हजुरआमाले साँचेर राखेको देख्दा धेरै युवा युवतीहरू छक्क पर्छन्‌। चिठी फेरि फेरि पढ्‌न सकिन्छ अनि साँचेर राख्न सकिन्छ। त्यसैले, लेख्न नबिर्सनुहोस्‌!

प्रायजसो हजुरबा हजुरआमाको हृदयमा नातिनातिनाको निम्ति विशेष स्थान हुन्छ। (हितोपदेश १७:६) उहाँहरू नजिक बसून्‌ या टाढा, आफ्ना हजुरबा हजुरआमासँग घनिष्ठ सम्बन्ध विकास गर्ने धेरै तरिका छन्‌। जुनसुकै तरिकामा भए पनि कृपया प्रयास गर्न भने नछोड्‌नुहोस्‌। (g01 5/22)

[फुटनोट]

a हाम्रो मे ८, २००१ अंकको “युवा जनहरू सोध्छन्‌ . . . मैले किन आफ्ना हजुरबा हजुरआमालाई अझ राम्ररी चिन्‍नुपर्छ?” लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने