केही समस्याहरू के के हुन्?
बाजेबज्यै, मातापिता र नातिनातिनी—यी तीन पुस्ताहरूबीचको उमेरमा केही दशकहरूले मात्र फरक परे तापनि स्वभाव र दृष्टिकोणमा भने ठूलो अन्तर देखिन्छ।
धेरै बाजेबज्यैहरूले दोस्रो विश्वयुद्ध र यसको विध्वंसकारी परिणामहरू अनुभव गरेका छन्। सन् १९६० को दशकमा भएको आन्दोलन र अचानक आर्थिक वृद्धि हुँदा सम्भवतः तिनीहरूका छोराछोरीहरू सानै थिए होलान्। आज तिनीहरूका नातिनातिनीहरू स्वाभाविक मूल्य र मान्यता अभाव भएको संसारमा बस्छन्। मानिसहरूको जीवनशैली र आचरणमा द्रुत गतिले भइरहेको परिवर्तनले गर्दा पुराना पुस्ताहरूले भोगेका अनुभवहरूलाई नयाँ पुस्ताहरूले मूल्यांकन गर्न गाह्रो पर्छ। यस्तो लाग्छ, विभिन्न पुस्ताहरूबीच हुने पारस्परिक सहयोग र आदरभावलाई कायम राख्ने केही कुराको कमी छ। तर त्यो के हुनसक्छ?
अक्सर, बाजेबज्यैहरू राम्रै मनसायले विवाहित छोराछोरीहरूको पारिवारिक कामकुरामा हस्तक्षेप गर्छन् र अनुशासन कडा भयो वा नातिनातिनीहरूप्रति साह्रै बेवास्ता गरियो भनेर असन्तोष प्रकट गर्छन्। अर्कोतर्फ, स्पेनी उखानले भन्छ: “बाजेबज्यैको सजायले नातिनातिनीहरू सुध्रंदैनन्।” किनभने नातिनातिनीहरूलाई पुल्पुल्याउने तिनीहरूको बानी हुन्छ। शायद आफ्ना छोराछोरीहरूले त्यस्तो केही गलत काम नगरून् भन्ने हेतुले तिनीहरूले छोराछोरीहरूको पारिवारिक जीवनमा हस्तक्षेप गरेका हुनसक्छन्। र वास्तवमा तिनीहरू अनुभवी भएकोले नै छोराछोरीहरूले गरेका कामकुराहरू गलत हुन् भनी स्पष्टसित थाह पाउनसक्छन्। तथापि, छोराछोरीहरूको विवाहपश्चात् परिवर्तन भएको सम्बन्धलाई तिनीहरूले प्रायः सन्तुलित ढंगमा बुझ्न सकेका हुँदैनन्। छोराछोरीहरू स्वतन्त्रता चाहन्छन्। अनि विवाहपश्चात् बल्लतल्ल त्यस्तो स्वतन्त्रता पाएपछि कसैले हस्तक्षेप गरेको तिनीहरू मन पराउँदैनन्। साथै परिवारको हेरविचार गर्ने जिम्मेवारी पनि आफ्नै काँधमा लिएको हुँदा आफ्नो निर्णय गर्ने हकमा अरूले अतिक्रमण गरेको तिनीहरू रुचाउँदैनन्। नातिनातिनीहरू चाहिं आफूलाई खुबै बुझक्कड सम्झनसक्छन्। अतः तिनीहरूलाई अरूले नियम बनाएर सीमा तोकेको मन पर्दैन। शायद बाजेबज्यैहरू आधुनिक जीवनको वास्तविकतासित अनुकूल नभएको तिनीहरूले महसुस गर्दा हुन्। आधुनिक समाजमा बाजेबज्यैहरूले आफ्नो आकर्षण गुमाएको जस्तो देखिन्छ। उनीहरूका अनुभवहरूलाई अक्सर वास्ता गरिंदैन।
जब वार्तालाप बन्द हुन्छ
कहिलेकाहीं पारस्परिक समझदारीको कमी हुँदा बाजेबज्यैहरू परिवारबाट अलग्गिन सक्छन्। आफ्नै छोराछोरीहरूसित बस्दा पनि यस्तो हुन्छ। दुःखको कुरा, वृद्धावस्थाले घेरेर असक्त भएको बेला जब सहानुभूतिको ठूलो दरकार पर्छ ठीक त्यसै बेला यस्तो परिस्थिति बाजेबज्यैहरूमाथि आइपर्दछ। एकाकीपन महसुस गर्न एक्लै हुनुपर्छ भन्ने छैन। वार्तालाप ठप्प हुँदा बाजेबज्यैहरूप्रति कदर र सहानुभूति देखाउनुको साटो हेला वा झोक्किने गर्दा वृद्ध बाजेबज्यैहरूले एक्लो र साह्रै निस्सहाय महसुस गर्छन्। उनीहरूको आन्तरिक मनोभावनामा चोट पुग्छ। शिक्षक जाकोमो डाक्वीनो लेख्छन्: “पारिवारिक प्रेमलाई हालैमा कसैले पुरानो ढाँचाको गाड़ीसित तुलना गरे तापनि यही नै सर्वोत्तम औषधी हो। भावभंगीद्वारा समझदारी देखाउँदा, दयालु भावनाले मुस्कुराउँदा, मीठो शब्द बोलेर सुम्सुम्याउँदा धेरै औषधीहरूले भन्दा कयौं गुणा असर गर्छ।”—लिबेर्टा डी इन्भेकयार (वृद्ध हुनु स्वतन्त्रता)।
तपाईंको उदाहरणले फरक पार्नसक्छ
पारिवारिक सम्बन्ध बिग्रंदा तनाउ उत्पन्न हुन्छ। जसले गर्दा एक पुस्ताले अर्को पुस्ताको निरन्तर गुनासो गर्छ। परिवारको एक सदस्यले चाहे जुनै काम गरोस्, परिवारका अरू सदस्यहरूले त्यसलाई सधैं गलत सम्झलान्। तर यसद्वारा उत्पन्न नराम्रो प्रभाव भने सबैले अनुभव गर्छन्। आफ्ना आमाबाबुले बाजेबज्यैलाई कसरी व्यवहार गर्छन् र बाजेबज्यैले कस्ता प्रतिक्रिया देखाउँछन्, ती सबै नातिनातिनीहरूले सम्झन्छन्। शायद वृद्ध व्यक्तिहरूले भित्र-भित्रै पिल्सिंदै त्यसलाई सहलान् तर उनीहरूले भोगेको दुःखलाई नातिनातिनीहरूले सुन्छन्, देख्छन् र मनमा राख्छन्। यसप्रकार, तिनीहरूको भावी आचरणमा यसले ठूलो असर गर्दछ। अनि कुनै दिन बाजेबज्यैसित आमाबाबुले गरेको व्यवहारलाई अनुकरण गर्दै जवान भएपछि तिनीहरूले पनि आफ्ना आमाबाबुसित त्यसै गर्छन्। अतः बाइबलको यो सिद्धान्तलाई कदापि नकार्न सकिंदैन: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।”—गलाती ६:७.
यदि आमाबाबुहरूले बाजेबज्यैहरूलाई हेला गर्छन्, उपहास गर्छन्, कठोर तरिकाले दबाउँछन् वा शोषणसमेत गर्छन् भने नातिनातिनीहरूले त्यही कुरा सिक्छन् र आफ्ना आमाबाबुहरू वृद्ध हुँदा तिनीहरूप्रति पनि त्यस्तै व्यवहार गर्छन्। बाजेबज्यैहरूका तस्बिर फ्रेममा सजाएर देखावटी सम्मान गर्नु मात्र यथेष्ट छैन। उनीहरूलाई वास्तविक प्रेम र कदर गर्नुपर्छ। तब मात्र भविष्यमा नातिनातिनीहरूले पनि आमाबाबुप्रति त्यस्तै आचरण देखाउन सक्छन्। भनिन्छ, बाजेबज्यैसित गरिने अभद्र व्यवहार झन् झन् व्यापक हुँदै गइरहेको छ। केही युरोपेली देशहरूमा दुर्व्यवहारको शिकार हुने केटाकेटीहरूको लागि फोनद्वारा आफ्नो पीडा पोख्ने प्रबन्ध गरिएको छ। अब त्यस्तै किसिमको प्रबन्ध दुर्व्यवहारको शिकार हुने वृद्धहरूका लागि पनि गरिएको छ।
स्वार्थ, अभिमान र प्रेमको अभावले आपसी समझदारीलाई नाश गर्छ। यसैले बाजेबज्यैलाई हेरचाह गर्नुपर्ने झंझटबाट मुक्त हुन आजकल थुप्रै मानिसहरूले तिनीहरूलाई वृद्धाश्रममा थन्काइरहेका छन्। वृद्ध आमाबाबुहरूको हेरविचार गर्ने समस्यादेखि मुक्त हुन केही व्यक्तिहरू लाखौं रुपैयाँ खर्च गर्न समेत तयार छन्। तिनीहरू आफ्ना आमाबाबुलाई हर आधुनिक प्रविधिले युक्त अस्पताल अथवा स.रा.अ.-को फ्लोरिडा वा क्यालिफोर्नियाजस्ता ठाउँहरूमा अवकाशप्राप्त वृद्ध व्यक्तिहरूका निम्ति तयार पारिएको विशेष बस्तीहरूमा छोड्छन्। यी ठाउँहरूमा प्रशस्त विशाल बजार र मनोरञ्जन स्थलहरू छन्। तथापि, त्यहाँ प्रियजनहरूको मुस्कान, माया र आफ्ना नातिनातिनीहरूको न्यानो आलिंगन पाइँदैन। बिशेषगरि, छुट्टीको समयमा अधिकांश मानिसहरू बाजेबज्यैहरूलाई अस्थायी रूपमा “बिसाउने” ठाउँ खोज्छन्। भारतमा त स्थिति झनै खराब छ। केही मानिसहरू वृद्ध बाजेबज्यैहरूलाई टाढाको रेल स्टेशनमा लगेर छोड्छन्।
पारपाचुकेले गर्दा पारिवारिक सम्बन्धलाई बलियो बनाउन एकदमै कठिन पर्छ। पच्चीस प्रतिशत बेलाइती परिवार मात्र आमाबाबुसँगै मिलेर बसेका हुन्छन्। तथापि, पारपाचुके विश्वव्यापी तवरमा बढ्दैछ। संयुक्त राज्यमा वर्षेनी दश लाखभन्दा धेरै पारपाचुके हुने गर्छ। तथापि, आफ्ना छोराछोरीहरूको वैवाहिक जीवनमा आएको संकट र नातिनातिनीहरूसितको सम्बन्धमा आएको तीव्र परिवर्तनजस्ता नचिताएका घटनाहरू ती बाजेबज्यैहरूले साक्षात् देख्छन् र अनुभव गर्छन्। इटालीको समाचारपत्र कोरीअर सालूट-ले बताएअनुसार “पहिलाको जुवाइँ वा बुहारीसित सम्बन्ध राख्ने घबराहाट त वृद्धहरूलाई भई नै रहेको हुन्छ त्यही माथि छोरा वा छोरीको नयाँ जोडीसित पहिलो विवाहपट्टिका नानीहरू छन् भने यसरी “आकस्मिक ‘प्राप्त’ नातिनातिनीहरू” उनीहरूको निम्ति थप समस्या हुन्छ।”
“हाम्रो जीवनको सार्थकता”
यद्यपि, बाजेबज्यैहरू आफ्ना परिवारसित बसेका होऊन् या नहोऊन्, उनीहरूसितको न्यानो र अनुकम्पापूर्ण सम्बन्धले सम्पूर्ण परिवारकै भलाइ हुन्छ। फूकूई, जापानकी एक जना बज्यै रायोको भन्छिन्, “हाम्रो जीवनलाई सार्थक पार्न छोराछोरी तथा नातिनातिनीहरूको निम्ति केही गरिदिनु नै पर्याप्त छ।” संयुक्त राज्यका विशेषज्ञहरूको झुन्ड कोरियर स्यालुटको प्रकाशित अन्वेषणअनुसार, “जब बाजेबज्यै र नातिनातिनीले एकाअर्कामा तीव्र र स्नेहपूर्ण सम्बन्धको आनन्द अनुभव गर्छन् तब नानीहरूलाई मात्र होइन तर सम्पूर्ण परिवारलाई नै फायदा हुन्छ।”
पारिवारिक सम्बन्धमा यस्ता नकारात्मक प्रभाव पार्ने व्यक्तिगत वैमनस्य, पुस्ता-अन्तर र स्वार्थीपनप्रति सहजै ढल्कने झुकावहरूजस्ता समस्याहरूमाथि विजय पाउन के गर्न सकिन्छ? यी प्रश्नहरूको चर्चा अर्को लेखमा गरिनेछ।
[पृष्ठ ६-मा भएको पेटी]
“वृद्ध हुँदा अरूले ध्यान नदिनु चिन्ताजनक कुरा हो।” —अल्बर्ट केमस, फ्रेन्च उपन्यासकार