युवा जनहरू सोध्छन् . .
मैले किन आफ्नो हजुरबा हजुरआमालाई अझ राम्ररी चिन्नुपर्छ?
“आमासित मनमुटाउ हुँदा मेरी हजुरआमाले हामीलाई समस्या सुल्झाउन मदत गर्नहुन्थ्यो।”—डामारिस।
“परिवारमा मेलमिलाप कायम राख्न र परिवारलाई निरन्तरता दिन हजुरबा हजुरआमाले मुख्य भूमिका निभाउँदै आएको कुरामा इतिहास साक्षी छ।” डा. आर्थर कर्नहबरले आफ्नो पुस्तक ग्य्राण्ड प्यारेन्ट पावर-मा त्यसरी लेखे। उनी अझै थप्छन्, “हजुरबा हजुरआमाले शिक्षक, आमाबाबुको सहयोगी, पुर्खादेखिको इतिहास नयाँ पुस्तालाई दिने, पालनपोषण गर्ने र परिवारलाई खुसी राख्ने व्यक्तिको भूमिका खेल्ने हुँदा तिनीहरूको काम मनोवैज्ञानिक, सामाजिक तथा आध्यात्मिक रूपमा अति नै महत्त्वपूर्ण हुन्थ्यो। हजुरबा हजुरआमाको यस्तो प्रभावकारी, बहुपक्षीय भूमिकालाई हाम्रो समाजले कसरी बेवास्ता गर्न सकेका होलान् मलाई अचम्म लाग्छ।”
पहिला पहिला, विशेष गरी यहोवाका उपासकहरूले हजुरबा हजुरआमालाई पारिवारिक जीवनको संस्थापकको रूपमा मानिलिन्थे। बाइबलले इस्राएलीहरूलाई बूढापाकाको आदर र सम्मान गर्ने आज्ञा दिएको छ। (लेवी १९:३२) हजुरबा हजुरआमा विशेष आदरका योग्य मानिन्थे।—१ तिमोथी ५:४.
दुःखको कुरा, समयले कोल्टो फेरेको छ। प्रायः परिवारका सदस्यहरू एकअर्काबाट टाढा बस्ने भएकाले धेरैजसो जवानहरूको आफ्नो हजुरबा हजुरआमासँग कहिलेकाही मात्र भेट हुने गर्छ। अनि साथसाथै मानिसहरूको मनोवृत्तिमा पनि परिवर्तन आएको छ। संसारको धेरैजसो भागमा, बुढापाका र नातेदाहरूलाई दिनु पर्ने आदर दिंइदैन। (२ तिमोथी ३:१-३) यस्तो परिवर्तनलाई पुस्ताहरूबीचको अन्तर भनिन्थ्यो तर अहिले यो अन्तर साह्रै ठूलो भएजस्तो लाग्छ। धेरैजसो जवानहरूले आफ्ना हजुरबा हजुरआमालाई आधुनिक जमानाबारे केही अत्तोपत्तो र सूझबूझै नभएका मानिसहरू भन्ठान्छन्। आजका जवानहरूले सामना गर्नु पर्ने दबाउ र समस्याहरू तिनीहरूले बुझ्न सक्दैनन् भन्ने जवानहरूको सोचाइ छ।
यदि तपाईं पनि यस्तै सोच्नु हुन्छ भने, फेरि एक चोटि विचार गर्नुहोस्! अझ उहाँहरू ईश्वरभीरू हुनुहुन्छ भने त आफ्ना हजुरबा हजुरआमालाई राम्ररी चिन्नु झन् मूल्यवान् हुन्छ। यदि तपाईंले अहिलेसम्म उहाँहरूलाई राम्ररी चिन्न पाउनु भएको छैन भने, तपाईंले बहुमूल्य कुरा गुमाइरहनुभएको हुनसक्छ। तर कसरी?
बुद्धि र सल्लाहका स्रोत
अनेकन् उथलपुथल हुने जवानीको समयमा धेरै जवानहरूले आफ्ना हजुरबा हजुरआमालाई आश्रयस्थलको रूपमा पाएका छन्। सेभनटिन नामक अखबार यस्तो लेख्छन्, “दशकौंदेखिको अनुभव भएकाले तपाईंको जस्तै समस्या हुने साथीहरूभन्दा हजुरबा हजुरआमा धेरै मदतकारी हुन्छन्।” तपाईं र तपाईंका साथीहरू भर्खरै जीवनको पहिलो खुड्किलो पार गर्न संघर्ष गर्दैछन् तर तपाईंका हजुरबा हजुरआमाले त्यस्ता कैयौं खुड्किला पार गरिसक्नुभयो। उहाँहरू बुझक्की हुनुका साथै समझदार हुनुहुन्छ।” यो सल्लाहले बाइबलमा शताब्दीऔंअघि भनिएको यस अभिव्यक्तिको सम्झना गराउँछ: “फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।”—हितोपदेश १६:३१.
हुनसक्छ, तपाईंका हजुरबा हजुरआमा हुर्कनुभएको परिवेश हाल तपाईं बाँचिरहनुभएको भन्दा फरक थियो होला। तर जीवनमा कुनै न कुनै समय तपाईंले अहिले सामना गरिरहनुभएका समस्याहरू उहाँहरूले पनि सामना गर्नुभएको थियो भनेर तपाईंले शंकै गर्नुपर्दैन। यस्ता अनुभूतिहरूको सामना गर्न तपाईंसँग अनुभव नहुनसक्छ तर तपाईंका हजुरबा हजुरआमाले आफ्नो जीवनमा त्यस्ता अनुभूतिहरूको सामना गर्न सिकिसक्नुभएको छ। (हितोपदेश १:४) धर्मी व्यक्ति अय्यूबले यस्तो प्रश्न गरे, “के पाकाहरूका बीचमा बुद्धि पाइँदैन र? के लामो आयुले समझ ल्याउँदैन?” (अय्यूब १२:१२, नयाँ संशोधित संस्करण) हो, जवानहरूलाई सन्तुलित सल्लाह, प्रोत्साहन वा सहायता चाहिंदा हजुरबा हजुरआमा असाध्यै मदतकारी साबित हुनसक्छन्।
उदाहरणको लागि, किशोरी डामारिस हजुरआमा र आफ्नी आमासँगै शहरमा एउटै अपार्टमेन्टमा बस्छिन्। डामारिसले यसो भने, “आमासित मनमुटाउ हुँदा मेरी हजुरआमाले हामीलाई समस्या सुल्झाउन मदत गर्नुहुन्थ्यो।” उहाँ मलाई भिन्नै दृष्टिकोणबाट विचार गर्न सिकाउनुहुन्थ्यो।
आफ्नो परिवार बसाइँ सरेकोले स्कूल फेर्नुपर्दा अलेक्जेन्ड्रियाले यस्तै अनुभव गर्नु परेको थियो। अलेक्जेन्ड्रियाले यसो भनिन्, “मेरो नयाँ शिक्षक कडा हुनुहुन्थ्यो। उहाँ प्राय रिसाउनुहुन्थ्यो।” त्यसैले, नयाँ स्कूलमा हेलमेल हुन अलेक्जेन्ड्रियालाई गाह्रो थियो। तथापि, तिनकी हजुरआमाले तिनलाई मदत गर्नुभयो। उहाँले अलेक्जेन्ड्रियालाई उक्त परिस्थितिप्रति सकारात्मक मनोवृत्ति राख्दै स्कूलमा हेलमेल हुन मदत गर्नुभयो। अलेक्जेन्ड्रिया भन्छिन्, “अहिले मलाई मेरो स्कूल र शिक्षक मनपर्छ।”
राफेल नाउँका एक किशोरले उच्च माध्यमिक पढाइपछि थप शिक्षा हासिल गर्दा हजुरबा हजुरआमाले दिएको मदतबारे यसो भन्छन्, “उहाँहरूले मलाई सरसंगतीको विषयमा र लागूपदार्थको समस्याबाट बच्ने सन्दर्भमा धेरै सल्लाह दिनुभयो।” राफेल अहिले पूर्ण-समय प्रचारकको रूपमा सेवा गर्दैछन्।
इडा लेशानले आफ्नो पुस्तक ग्य्राण्ड प्यारेन्ट इन अ चेन्जिङ वर्ल्ड-मा हजुरआमाको हैसियतमा आफ्नो अनुभव बताएकी छिन्। उनी यस्तो लेख्छिन्, “मेरी नातिनीले एक दिन मलाई फोन गरेर भनी, ‘हजुरआमा, साथीहरूको दबाउको सामना गर्न मलाई मदत चाहिएको छ।’ उनको कक्षाका केही साथीहरूले उनलाई केटाहरूसँग घुम्न जाने दबाउ दिइरहेका थिए। तिनीहरूमध्ये कोहीले त उनलाई टेलिफोनसमेत गर्थे।” आफ्नी नातिनीले मदत मागेकिले हजुरआमाले सल्लाह दिन सकिन्। हजुरआमाको सल्लाहले उनलाई साँच्चै मदत गऱ्यो। मायालु हजुरबा हजुरआमासँगको छोटो कुराकानीले साँच्चै नैतिक बल प्रदान गर्नसक्छ भनी तपाईंले पनि अनुभव गर्न सक्नुहुनेछ।
पारिवारिक संकट जस्तै, परिवारमा कोही बिरामी हुँदा वा कसैको मृत्यु हुँदा हजुरबा हजुरआमाहरू झनै मदतकारी हुन्छन्। गम्भीर बिमारीले गर्दा लेसीको पिताको मृत्यु हुँदा तिनकी हजुरआमाले पीडा सहन मदत गरिन्। लेसी भन्छिन्, “यसले गर्दा हामीले एकअर्कालाई पहिलाभन्दा औधी माया गर्न थाल्यौं।”
प्रेमको विशेष गाँठो
कहिलेकाहीं आमाबाबु र छोराछोरीबीचको सम्बन्ध तनाउपूर्ण हुनसक्छ तर हजुरबा हजुरआमासँग भने त्यस्तो नहुनसक्छ। किन? किनभने हजुरबा हजुरआमा आफ्ना नातिनातिनाहरूसँग विशेष प्रकारको आत्मीयता महसुस गर्छन्। बाइबल भन्छ, “वृद्धाहरू आफ्ना नातिनातिनाप्रति गर्व गर्छन्।”—हितोपदेश १७:६, टुडेज इंगलिस भर्सन।
तपाईंलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्नै पर्ने बोझिलो जिम्मेवारी हजुरबा हजुरआमाको नभई आमाबाबुको हो भन्ने कुरा पनि नबिर्सनुहोस्। (एफिसी ६:४) हजुरबा हजुरआमाले पूरा गर्नुपर्ने जिम्मेवारी आमाबाबुको जस्तो ठूलो नहुने भएकोले उनीहरू आमाबाबु जस्तो कचकचे नहुनसक्छन्। त्यस्तै दिनहुँ परिवारको लालनपालन गर्ने जिम्मेवारी वा दबाउहरू प्रायः हजुरबा हजुरआमाले सामना गर्नुपर्ने हुँदैन। तुलनात्मक रूपमा तिनीहरू यस्ता तनाउहरूबाट मुक्त हुने हुनाले तपाईंको ख्याल गर्न वा तपाईंलाई ध्यान दिन उहाँहरूलाई सजिलो हुनसक्छ। सत्र वर्षिया टम, आफ्ना हजुरबा हजुरआमाले आफूलाई ख्याल गरेको कुरा सम्झन्छन्। उहाँहरूले तिनलाई “परीक्षामा राम्रो अंक ल्याएकोमा उपहार” पठाउने गर्नुहुन्छ; उहाँहरूले तिनको पियानो तालिमको शुल्क पनि तिरिदिनुभयो।
हो, सबैका हजुरबा हजुरआमाले त्यस्ता उपहारहरू दिन सक्दैनन् तर पनि तपाईंको प्रशंसा गरेर र प्रोत्साहन दिएर वा समय समयमा तपाईंको कुरा सुनिदिएर तिनीहरूले तपाईंप्रति चासो देखाउन सक्छन्। यसले तपाईंहरूबीचमा मित्रताको गहिरो बन्धन बनाउन सक्छ। आफ्नी हजुरआमाबारे डामारिस यसो भन्छिन्: “उहाँ सधैं मलाई साथी जस्तै व्यवहार गर्नुहुन्छ, म उहाँसित कुनै धक नमानी कुरा गर्नसक्छु किनकी उहाँ सधैं मेरो कुरा सुन्न तयार हुनुहुन्छ। कहिलेकाहीं मैले अर्थ न बर्थको कुरा गर्दा पनि कुरा सुनिदिनुहुन्छ। जोनाटस नाउँका युवक त्यसरी नै आफ्ना हजुरबा हजुरआमासँग निर्धक्क भई महत्त्वपूर्ण विषयहरूबारे कुराकानी गर्ने अवसरको आनन्द उठाउँछन्।
आदानप्रदान
हजुरबा हजुरआमाले तपाईंलाई बुद्धि र प्रेम दिनसक्छन् भने उहाँहरूले तपाईंको युवावस्थाको बल र संगतीबाट लाभ उठाउन सक्छन्। तर कसरी? धेरै तरिकाहरूमा तपाईं हजुरबा हजुरआमालाई मदत र सहयोग दिन सक्नुहुन्छ। प्रायजसो, उहाँहरूको शारीरिक बल घट्दै गइरहेको हुन्छ अथवा उहाँहरूले कुनै रोगबिमारको सामना गरिरहेका हुनसक्छन्। यदि तपाईंले किनमेल गर्न र त्यस्तै अन्य घरायसी काममा उहाँहरूलाई सघाउनुभयो भने उहाँहरूको लागि यो प्रोत्साहनदायी हुनसक्छ भन्ने कुरामा कुनै शंका छैन।
धेरैजसो हजुरबा हजुरआमा विधवा वा विधुर हुन्छन् र कहिलेकाहीं उहाँहरूले नितान्त एक्लो महसुस गर्छन्। उहाँहरूप्रति उत्कट चासो लिएर उहाँहरूलाई एक्लोपन विरुद्ध लड्न अनि जीवनमा उत्साह कायम राख्न मदत गर्न सक्नुहुन्छ। यसो गर्नु भनेको बाइबलको निम्न आज्ञा पालन गर्नु हो, “आफ्ना माता-पिता [र हजुरबा हजुरआमा न्यूव]-लाई प्रत्युपकारको साटो तिर्न सिकून्, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ।”—१ तिमोथी ५:४.
निस्सन्देह, हजुरबा हजुरआमासँग घनिष्ठता बढाउनाले तपाईंले आफ्नो र उहाँहरूको जीवन अर्थपूर्ण बनाउन सक्नुहुन्छ! हुनसक्छ, तपाईं अहिलेसम्म उहाँहरूसित घनिष्ठ हुनुभएको छैन होला। तपाईं उहाँहरूसँग घनिष्ठता बढाउन चाहनुहुन्छ होला तर कसरी सुरु गर्ने भनेर सोचिरहनुभएको होला। तपाईंको हजुरबा हजुरआमाहरू टाढा बस्नुहुन्छ अथवा तपाईंको आमा र बाबु छुट्टिएर बस्नुभएकोले तपाईं आफ्ना हजुरबा हजुरआमाबाट टाढा हुनुभएको हुनसक्छ। यस्ता परिस्थितीहरूको तपाईं कसरी सामना गर्न सक्नुहुन्छ भनी आगामी अंकको लेखले केही व्यावहारिक सल्लाह दिनेछन्। (g01 4/22)
[पृष्ठ १७-मा भएको चित्र]
हजुरबा हजुरआमाले प्रायः हाम्रो कुरा राम्ररी सुनिदिन सक्नुहुन्छ अनि उहाँहरू सल्लाह र सहयोगको स्रोत हुनसक्नुहुन्छ
[पृष्ठ १८-मा भएको चित्र]
आफ्ना हजुरबा हजुरआमालाई मदत गर्नुहोस्