प्रेममा एकसाथ जीवन बिताउनु
प्यारो बाजे अनि बज्यै,
तपाईंहरू सञ्चै हुनुहुन्छ?
मलाई त रुघा लागेको जस्तो छ। अस्ति मसित खेलिदिनु भएकोमा तपाईंहरूलाई धन्यवाद छ। त्यस दिन मलाई बगैंचा र जनस्नान गृहमा लानुभयो। मलाई ती असाध्यै रमाइलो लाग्यो।
आगामी साल फेब्रुअरी ११ तारिखका दिन हाम्रो विद्यालयमा सांगीतिक कार्यक्रम हुँदैछ। कृपया सक्नुहुन्छ भने आउनुहोला।
बाजेबज्यै, तपाईंहरू आउनुहुँदा हामी अत्यन्त खुशी हुन्छौं। कृपया आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। जाडो महिना सुरु हुँदैछ रुघा लाग्न नदिन होशियार रहनुहोला।
तपाईंहरू आउनुभएर मसित खेल्नुहुने दिनलाई म पर्खिरहेछु। कृपया, यूमी र मासाकीलाई मैले सम्झेकी छु भनीदिनुहोला।
— मीका (जापानी)
के तपाईंका नातिनातिनीहरूले पनि तपाईंलाई यस्तो पत्र कहिल्यै लेखेका छन्? छन् भने निस्सन्देह त्यो पत्र प्राप्त गर्नुहुँदा तपाईं औधी आनन्दित हुनुभयो होला। यस्ता पत्रहरू बाजेबज्यै र नातिनातिनीहरूबीच भएको रमाइलो र स्नेहपूर्ण नाताका प्रमाणहरू हुन्। तर यसप्रकारको सम्बन्ध स्थापित गर्न, कायम राख्न र बलियो पार्न के कुरा खाँचो पर्छ? अनि तीनै पुस्ताको निम्ति यो कसरी लाभदायक सिद्ध हुनसक्छ?
प्रेम—“सिद्धताको गाँठो”
बेलायती बाजेबज्यै, राय र जीन भन्छन्: “हामीले अनुभव गरेका दुइ मुख्य सिद्धान्तहरूमध्ये शिरत्वलाई मान्यता दिनु र प्रेममा एकअर्काप्रति अनुकूल सम्बन्ध कायम राख्नु हो।” खास गरेर यहोवाका यी दुइ साक्षीहरूले कलस्सी ३:१४ को शास्त्रपदलाई उद्धृत गरेका थिए। त्यस पदमा प्रेम “सिद्धताको गाँठो” भनी बताइएको छ। प्रेमले आदर, विचारणीय ध्यान, स्नेह र पारिवारिक एकता सृजना गर्दछ। यसलाई व्यवहारिक बनाउनाले पिता कामबाट घर फर्कंदा परिवारका सबैले उनलाई न्यानो स्वागत गर्नेछन्। परिवारभित्र प्रेम छ भने, बाजेबज्यैको आगमनमा पनि त्यसरी नै उहाँहरूलाई स्वागत गरिन्छ। प्रफुल्ल नाति वा नातिनी “हजुरबुबा हजुरआमा आउनुभयो” भन्दै चिच्च्याँउछन्। त्यस साँझ सम्पूर्ण परिवार खाना खान एकसाथ भेला हुन्छन्। स्थानीय परम्पराअनुसार, हजुरबुबा टेबलको मुख्य आसनमा बस्छन्। तपाईंको परिवारमा पनि यस्तै प्रकारको प्रेमिलो सम्बन्ध रहेको दृश्य कल्पना गर्न सक्नुहुन्छ? यो आशिष्को आनन्द के तपाईं पनि उठाउन चाहनुहुन्छ?
“फूलेको केश शोभाको मुकुट हो”
स्पष्टतया, बाजेबज्यैहरूलाई विशेष अवसरहरूमा मात्र होइन तर उनीहरूप्रति सदैव प्रेम र आदर देखाउनुपर्छ। यसो गर्न छोराछोरीहरूलाई निरन्तर शिक्षा दिनु आवश्यक छ। परिवारमा आमाबाबुकै नमुनालाई लिएर छोराछोरीहरूले आफन्त र अरूलाई प्रेम गर्न सिक्छन्। अन्तर्वार्ता लिइएका धेरै आमाबाबुहरूको बयानअनुसार तिनीहरूको उदाहरण छोराछोरीहरूको लागि आचरणको आधार हो। नाइजेरिया, बेनिन शहरको एक जना पिता, मकाया भन्छन्: “मलाई लाग्छ, सासूससुराप्रति मैले देखाइएको आदरको उदाहरणले मेरा छोराछोरीहरूलाई विनम्र हुन र अरूलाई आदर गर्न सहायता गरेको छ। म मेरो सासूससुरालाई ‘मुमा’ र ‘बुबा’ भनी सम्बोधन गर्छु। मैले उहाँहरूलाई आफ्नै आमाबाबुसरह आदर गरेको मेरा छोराछोरीहरूले सुन्छन् र देख्छन्।”
नातिनातिनीहरूले बाजेबज्यैहरूलाई आदर नगर्दा तिनीहरूको यस्तो कमजोरीपनलाई आमाबाबुले ठीकसित नसुधारेकोमा बाजेबज्यैहरू ज्यादा रुष्ट हुनसक्छन्। इटाली, रोमका एक बाजे भन्छन्: “छोरी जुवाइँले हामीप्रति गरेको प्रेमलाई म महसुस गर्न सक्छु। हामीलाई सम्मान र कदर गर्न तिनीहरूले हाम्रा नातिनातिनीहरूलाई सिकाउँछन्।” कहिलेकाहीं, ज्यादा हेलमेलको फायदा उठाएर नातिनातिनीहरूले बाजेबज्यैको शीरत्वलाई वास्तै नगरी उहाँहरूको टाउकोमा टेकुँलाझैं गरी आफ्नो दौंतरलाई जस्तै व्यवहार गर्नसक्छन्। तिनीहरूको यस्तो झुकावलाई सुधार्ने जिम्मेवारी आमाबाबुको हो। नाइजेरियाको एक जना साक्षी, पल यसो भन्छन्: “लगभग एक वर्षअघि मेरी आमालाई छोराछोरीहरूले अनादर गर्न थालेको मैले थाह पाएँ। तब मैले तिनीहरूलाई हितोपदेश १६:३१ को यो भाग पढेर सुनाएँ: ‘फूलेको केश शोभाको मुकुट हो’। ग्रेनी मेरी आमा हुन् र जसरी मलाई तिमीहरू कदर गर्छौ त्यसरी नै उहाँलाई पनि गर्नुपर्छ भनेर तिनीहरूलाई सम्झाएँ। साथै योर यूथ—गेटिंग द बेस्ट आउट अफ इटa (तपाईंको युवा अवस्था—यसबाट उत्कृष्ट कुराहरू प्राप्त गर्नु) पुस्तकबाट ‘आमाबाबुप्रति तपाईं कस्तो दृष्टिकोण राख्नुहुन्छ’? शीर्षक भएको अध्याय १० तिनीहरूसित अध्ययन गरें। अहिले, आफ्ना बज्यैलाई आदर गर्न तिनीहरूलाई गाह्रो लाग्दैन।”
पारिवारिक सम्बन्धलाई खेती गर्दा हुने फायदाहरु
परिवारका सदस्यहरू एकअर्कादेखि टाढा छन् भने पनि आपसी स्नेहको खेती गर्न सकिन्छ। स्टिफन, नाइरियाका एक बाजे यसो भन्छन्: “हामी आफ्ना प्रत्येक नातिनातिनीहरूलाई व्यक्तिगत तवरमा पत्र लेख्छौं। सो कार्य सजिलो नभए तापनि, नातिनातिनीहरूसित घनिष्ठ सम्बन्ध गाँस्न र कायम राख्न यो अति मूल्यवान् सिद्ध भएको छ।” यस सन्दर्भमा आमाबाबुको प्रयास नितान्त आवश्यक छ। अरू चाहिं आफ्नो परिस्थितिअनुसार, टेलिफोन मार्फत तिनीहरूसित सम्पर्क स्थापित गर्नसक्छन्।
उपरोक्त सन्दर्भमा ११ जना नातिनातिनीहरू भएका इटाली, बेरीका एक जना बाजे, जूजेपे भन्छन्: “मेरो विस्तृत परिवारभित्रको छ परिवारहरूमध्ये तीन परिवारहरू टाढामा बस्छन्। तर यसले हाम्रो सम्पूर्ण परिवारहरू बीच हुने आनन्ददायी कामकुरा र जमघटलाई बाधा दिंदैन। परिवारका जम्मै २४ सदस्यहरू वर्षमा एकपल्ट भेला हुने हाम्रो परम्परा नै छ।”
बाजेबज्यैहरू एक्लै बस्छन् भने, उनीहरूसित नियमित रूपमा परस्पर भेटघाट, टेलिफोन मार्फत वार्तालाप र परिवारका सबै सदस्यहरूले पत्राचार गर्नुपर्छ। यसो नगरे सम्बन्ध टुट्नसक्छ। उनीहरूप्रति निरन्तर स्नेह प्रदर्शित गर्नुपर्छ। अझै पनि शारीरिक तवरमा तन्दरुस्त कतिपय अधबैंसे बाजेबज्यैहरू कसैमाथि भर नपरी आत्मनिर्भर बन्न चाहन्छन्। तथापि, तिनीहरूले आफैलाई सम्पूर्णतया परिवारदेखि टाढा राखे भने स्नेह अत्यावश्यक भएको क्षणहरूमा तुरन्तै पाउन सकिंदैन।
माइकल नाउँका नाइजेरियामा बस्ने बाजे अर्को एउटा व्यवहारिक सल्लाह यसरी दिन्छन्: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर,” भन्ने येशूले दिनुभएको सुनौलो नियमलाई म पालन गर्छु। त्यसैकारण मेरा छोराछोरीहरू मलाई औधी माया गर्छन्। हामी असल सम्बन्धको आनन्द उठाउँछौं।” उनी अझै भन्छन्: “यदि कुनै नाति वा नातिनीले मलाई निराश तुल्याउने काम गऱ्यो भने आवश्यकताअनुसार तिनीहरूलाई सम्झाउँछु। तर यदि त्यो कुरा क्षमा गर्न सकिने खालको छ भने त्यसलाई म त्यति नै बेला भुलिदिन्छु।”
बाजेबज्यैहरूको सानो उपहार र थोरै भए पनि मायालु भावले सकारात्मक प्रतिक्रिया उत्पन्न गराउँछ। जहिले पनि कचकच गर्नुको साटो दयालु र प्रोत्साहनजनक बोलीबचनहरूले पारिवारिक जीवनलाई आनन्ददायी बनाउँछ। नातिनातिनीहरूसित समय बिताएर, तिनीहरूलाई आनन्ददायक खेलहरू र कामहरू सिकाएर, बाइबल अथवा परिवारका कथाहरू तिनीहरूलाई सुनाएर न्यानो र चीरकालीन स्मरण विकसित गर्न सकिन्छ। यस्ता साना तर महत्त्वपूर्ण कुराहरूले जीवन आनन्ददायक बनाउँछ।
पारस्परिक आदरबाट हुने फायदाहरू
गासपारे भिल्ला नाउँ गरेको एक चिकित्सक भन्छन्: “आफ्ना छोराछोरीहरूलाई हुर्काउने आमाबाबुको अख्तियारप्रति विरोध र प्रतियोगी भाव नजनाउन बाजेबज्यैहरू सतर्क रहनुपर्छ।” उनी अझै भन्छन्: “नत्र उनीहरूले बाजेबज्यैको स्तरलाई नाँघेर बलजफ्ती आमाबाबुको स्थान ओगट्न पुग्छन्।” छोराछोरीहरूलाई शिक्षा दिने प्रथम जिम्मेवारी आमाबाबुको हो भन्ने यो सुझाव शास्त्रपदमा आधारित छ।—हितोपदेश ६:२०; कलस्सी ३:२०.
जीवनमा भोगेका अनुभवहरूले गर्दा नातिनातिनीहरूलाई सल्लाह दिन बाजेबज्यैहरूलाई सजिलो पर्छ। तथापि, अनावश्यक र अस्वीकार्य सुझाव दिनबाट उनीहरू होशियार रहनुपर्छ। राय र जीन भन्छन्: “छोराछोरीहरूलाई शिक्षा र अनुशासन दिने प्राथमिक जिम्मेवारी आमाबाबुको हो भनेर बुझ्नु महत्त्वपूर्ण छ। आफ्ना छोराछोरीहरू एकदमै कलिला भएका हुनाले अनुशासनमा राख्नु हुँदैन भनेर कहिलेकाहीं कतिपय आमाबाबुहरू सोच्छन् र कसैले चाहिं अनुशासनको योग्य छैन भनेर सोच्ने गर्छन्। त्यसो हुँदा, तिनीहरूका यस्ता विचारहरूमाथि हस्तक्षेप आइपर्छ।” बेलाइतका दुइ बाजेबज्यै, माइकल र शीनाले पनि त्यही कुरालाई यसरी प्रमाणित गर्छन्: “यदि छोराछोरीहरूले हाम्रो सल्लाह मागे भने हामी दिन्छौं, तर तिनीहरूले त्यो सल्लाह मानि लिन्छन् नै भनेर आशा गर्दैनौं। यदि तिनीहरूले सल्लाह मानि लिएनन् भने हामी निराश पनि हुँदैनौं।” वृद्ध आमाबाबुहरूले आफ्ना विवाहित छोराछोरीहरूप्रति भरोसा राख्नु हितकारी साबित हुन्छ। यस्ता भरोसाद्वारा तीन पुस्ताहरूबीचको सम्बन्ध सुध्रन्छ।
बेलायतको दक्षिणमा बस्ने भिभीयन र जेनले आफ्ना नातिनातिनीहरूलाई छोरा र बुहारीले दिएको अनुशासनलाई सदैव समर्थन गर्ने प्रयास गरेको कुरा यसरी बताउँछन्: “छोराछोरीले हाम्रो सोचाइ विपरीत नातिनातिनीहरूलाई अनुशासन दिएको महसुस भए तापनि, त्यसमा हस्तक्षेप गर्न हामी आफ्नो विचार पोखाउने प्रयास गर्दैनौं। यसो गर्दा, आमाबाबुहरूलाई बाजेबज्यैहरूले साथ दिएको तिनीहरूले देख्छन्। फलस्वरूप, छोराछोरीहरूले उनीहरूका बीचमा भाँजो हाल्ने प्रयास कहिल्यै गर्दैनन्।” आमाबाबुको अनुपस्थितिमा नातिनातिनीहरूलाई अनुशासन दिंदा बाजेबज्यै झन् सतर्क हुनुपर्छ। ब्रिटेनको हेरोल्ड नाउँका व्यक्ति भन्छन्: “यदि बाजेबज्यैले नातिनातिनीहरूलाई अनुशासन दिनु परेमा त्यसबारे अघिबाटै आमाबाबुसित वार्तालाप गर्नु आवश्यक छ। तिनी अझै के भन्छन् भने नातिनातिनीहरूलाई स्नेहमयी तर दृढ बोली अथवा “आमाबाबुले तिनीहरूबाट के चाहन्छन्” सो स्मरण गराउनु नै अक्सर बाजेबज्यैको जिम्मेवारी पर्याप्त साबित हुन्छ।
क्रिस्टोफर नाउँका एक जना नाइजेरियाका बाजे, आफ्ना छोराछोरीहरूका कति गल्तीहरू देखे तापनि नातिनातिनीहरू भएको बेला तिनीहरूलाई त्यसबारे सम्झाउँदैनन् भनी बताउँछन्। यस सन्दर्भमा उनी भन्छन्: “तिनीहरू मात्र भएको बेलामा म आवश्यक सल्लाह दिन्छु।” यसमा आमाबाबुको प्रतिक्रिया कस्तो हुनुपर्छ? आफ्ना बाजेबज्यैहरूलाई कदर गर्नुपर्छ भनी तिनीहरूले छोराछोरीहरूलाई सिकाउनुपर्छ। इटाली बासिन्दा कार्लो नाउँ भएका एक पिता भन्छन्: “छोराछोरीहरूको अगाडि बाजेबज्यै र परिवारका अरू सदस्यहरूको कमजोरीहरूबारे सिकायत नगर्नु मुख्य कुरा हो।” हिरोको, एक जना जापानी आमा भन्छिन्: “जब सासूससुरासित मेरो समस्या खड़ा हुन्छ तब त्यसबारे पहिला म मेरो पतिसित कुरा गर्छु।”
बाजेबज्यैहरूका शैक्षिक भूमिका
प्रत्येक परिवारको आफ्नै इतिहास, परम्परा र अनुभवहरू हुन्छन्। यी कुराहरूद्वारा नै हरेक परिवारको आ-आफ्नै परिचयहरू प्रस्तुत हुन्छ। मुख्यतः बाजेबज्यैहरू परिवारका आधुनिक र पुरातन इतिहासलाई जोड्ने माध्यमहरू हुन्। एक अफ्रिकी उखान भन्छ, “एक वृद्ध व्यक्तिको मृत्यु हुनु एउटा पुस्तकालय जल्नु हो।” बाजेबज्यैहरूद्वारा नै आफन्त र परिवारका महत्त्वपूर्ण घटनाहरूबारे थाह लाग्छ। साथै नैतिक र आध्यात्मिक तवरमा बलियो जग बसालेर परिवारलाई एकताको सूत्रमा बाँध्दछ। नैतिकताबारे बाइबलले दिएको शिक्षाबाहेक, एक विशेषज्ञले यसो भने: “यदि जवान मानिसहरूसित पारिवारिक इतिहासको ज्ञान छैन भने आफूलाई उन्नति गराउने आधारभूत अनुभवबिना, मूल्यरहित, आत्मविश्वासको कमी र असुरक्षित अवस्थामा तिनीहरूको उमेर छिप्पिंदै जान्छ।”—गायेतानो बार्लेटा, नाने ए नेपाते (बाजेबज्यैहरू र नातिनातिनीहरू)।
बाजेबज्यै, आमाबाबु र अरू आफन्तहरू जवान हुँदाको कथाहरू सुन्न छोराछोरीहरू मन पराउँछन्। एल्बममा राखेका तस्बिरहरू हेर्दा शिक्षा र मनोरञ्जन प्राप्त हुन्छ। बाजेबज्यैले तस्बिरहरूबाट नातिनातिनीहरूलाई बितेका घटनाहरू बताउँदा कस्तो कोमलभाव र न्यानोपन झल्कन्छ।
रेज र मली यहोवाका साक्षीहरू हुन्। यी दुइ बेलायती बाजेबज्यैहरू भन्छन्: “आमाबाबुसित नातिनातिनीहरूको सम्बन्ध नबिगारिकन तिनीहरूसित सम्पर्क राखेर र कामकुरो गरेर, तिनीहरूले सोधेका प्रश्नहरूका जवाफ दिएर, साथै खेलेर, पढेर, लेख्न सिकाएर, तिनीहरूले पढेको सुनिदिएर अनि पाठशालाको कामहरूलाई प्रेमिलो भावसाथ चाख दिएर हामीले तिनीहरूसित खुशी बाँड्न सकेका छौं।”
धेरै बाजेबज्यै र आमाबाबुहरूले खालि छोराछोरीहरूका शारीरिक स्वास्थ्यप्रति मात्र ध्यान दिएर गम्भीर भूल गर्नसक्छन्। माथि उल्लिखित रेज र मली भन्छन्: “हामीले छोराछोरीहरू र नातिनातिनीहरूलाई दिनसक्ने पैतृक सम्पत्ति नै तिनीहरूलाई परमेश्वरको वचनको साँचो ज्ञानमा पालनपोषण गर्नु हो।”—व्यवस्था ४:९; ३२:७; भजन ४८:१३; ७८:३, ४, ६.
ईश्वरीय शिक्षाअनुरूप कार्य गर्नु
परमेश्वरको वचन पवित्र बाइबलले मानिसहरूलाई “प्रबल” बनाउँछ। यसले तिनीहरूलाई स्वार्थीपन र घमण्डजस्ता मतभेद उब्जाउने अवगुनहरूलाई रोक्न वा हटाउन मदत गर्छ। (हिब्रू ४:१२) जसले यसको शिक्षालाई व्यवहारमा ल्याउँछ, तिनीहरूका परिवारमा शान्ति र एकता छाउँदछ। अनेक शास्त्रपदहरूमध्ये फिलिप्पी २:२-४ ले तीन पुस्ताहरूबीच टुटेको सम्बन्धलाई जोड्न सहायता गर्छ। यो पदले सबैलाई प्रेम र नम्रता प्रदर्शित गर्न, एकता कायम राख्न, ‘आफ्नो मात्र होइन तर अरूको कुरामा पनि ध्यान दिन प्रोत्साहित गर्छ।’
ईश्वरीय शिक्षाअनुसार काम गर्दा आमाबाबु र नातिनातिनीहरूका दुवै पुस्ताहरूले भौतिक, भावनात्मक तथा आध्यात्मिक रूपमा “आमाबाबु र बाजेबज्यैलाई प्रत्युपकारको साटो तिर्न सिकून्,” भन्ने उपदेशलाई गम्भीरतापूर्वक लिइरहेका हुन्छन् (१ तिमोथी ५:४, न्युव) परमेश्वरको वचनलाई मनमा खिलेर उहाँको स्वस्थ्यकर भयलाई मान्दा तिनीहरूले बाजेबज्यैहरूप्रति गहिरो आदर व्यक्त गर्छन्: “बूढापाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्वरको भय मान।” (लेवी १९:३२) भावी पुस्ताहरूलाई भलाइ हुने काम गरेर बाजेबज्यैहरूले आफ्ना उदारता प्रदर्शित गर्छन्। जस्तै बाइबलको एक पदले यसो भन्छ: “असल मानिसले आफ्ना सन्तानहरूका निम्ति पैतृक सम्पत्ति छोडिराख्छ।”—हितोपदेश १३:२२.
हितोपदेश १७:६ ले भनेजस्तै बाजेबज्यै, आमाबाबु र नातिनातिनीहरू एकैसाथ बसून् या नबसून्, प्रेम र आदरमा आधारित स्नेहपूर्ण सम्बन्धले तिनीहरूबीच पारस्परिक लाभ प्रदान गर्छ। त्यहाँ यस्तो लेखिएको छ: “नातिनातिनीहरू वृद्धावस्थाका मुकुट हुन्, औ छोराहरूको गर्व आफ्ना बाबुमाथि हुन्छ।”
[फुटनोटहरू]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क इन्क.-द्वारा प्रकाशित।
[पृष्ठ ८-मा भएको चित्र]
पारिवारिक पुनः मिलनले पारिवारिक एकतामा योगदान दिनसक्छ
[पृष्ठ ९-मा भएको चित्र]
तपाईंले पत्र लेख्नुहुँदा तपाईंका बाजेबज्यैहरू प्रोत्साहित हुन्छन्
[पृष्ठ १०-मा भएको चित्र]
नातिनातिनीहरूसित बसेर पारिवारिक फोटोहरू हेर्नु एक रोचक अनुभव हुनसक्छ