पाठकहरूका प्रतिक्रिया
धार्मिक स्वतन्त्रता मैले ब्यूँझनुहोस्! पढ्न थालेको दशकौं भइसक्यो र “तपाईंको धार्मिक स्वतन्त्रता—के त्यो खतरामा छ?” भन्ने श्रृंखलाको लागि धन्यवाद दिन चाहन्छु। (फेब्रुअरी ८, १९९९) युरोपमा अन्धकार युगको दौडान धार्मिक सहिष्णुता थिएन र क्याथोलिक चर्चले थुप्रै मानिसहरूको धार्मिक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएको थियो भनेर मलाई थाह छ। अहिले फ्रान्समा भइरहेको घटनाबारे थाह पाएपछि म आफैलाई यस्तो प्रश्न गर्छु, ‘धार्मिक स्वतन्त्रता भएको यो देशले त्यसमाथि प्रतिबन्ध लगाएर किन आफ्नो नाउँ बदनाम गर्दैछ?’ यसले गर्दा कस्तो अवस्था हुन्छ भनेर कृपया तपाईंहरूको करोडौं पाठकहरूलाई जानकारी दिनुहोस्। फ्रान्सले सहिष्णुता देखाउनेछ र अरू देशहरूको लागि पनि असल उदाहरण बसाल्ने छ भनी म विश्वस्त छु।
सि. सि., पोर्टो रिको
सात छोराहरू हुर्काउने फेब्रुअरी ८, १९९९ अंकमा प्रकाशित बर्ट र मार्गरेट डिक्म्यानको अनुभवको लागि धन्यवाद। हाम्रा तीन छोराछोरीलाई पनि राम्रो आध्यात्मिक सम्पदा दिएर हुर्काउन यो लेखले निकै प्रोत्साहन दियो। हाम्रा छोराछोरीलाई पनि यो लेख मन पऱ्यो। उनीहरू एकअर्कालाई केक खान नपाएको डगको अनुभव बताइरहेको सुन्छौं! त्यस्तो प्रोत्साहनदायी अनुभव प्रकाशित गरिदिनुभएकोमा धन्यवाद।
एस. जे., भारत
पवित्र आत्मा “बाइबलको दृष्टिकोण: परमेश्वरको पवित्र आत्मा भनेको के हो?” भन्ने उत्तम लेखको लागि धन्यवाद दिन चाहन्छु। (फेब्रुअरी ८, १९९९) म यहोवाको साक्षी भएको केही वर्ष भइसक्यो तैपनि म सधैं यहोवाबारे बढी जान्न चाहन्छु। यस लेखको शीर्षकमा सोधिएको प्रश्नको जवाफ स्पष्ट र बुझ्न पनि सजिलो थियो। यहोवा र उहाँको कार्यबारे जति बढी सिक्छु, उहाँप्रतिको प्रेमले त्यति नै ओतप्रोत हुन्छु।
वाइ. बि., रूस
सुन मैले “सुन—यसको रहस्य” भन्ने लेख पढें। (अक्टोबर ८, १९९८) सन् १९४५ मा जर्मन सरकारको सन्धिपश्चात् संयुक्त सेनाहरूले थुरनजिया, जर्मनीको काइजर नुन खानीमा सुन भेट्टाए भन्नुभयो। तर वास्तवमा संयुक्त सेनाले युद्ध अन्त हुनुभन्दा तीन हप्ताअघि खानी कब्जा गरेका थिए।
जे. एस., जर्मनी
स्पष्टिकरणको लागि धन्यवाद। काइजर खानी मे ८, १९४५ मा जर्मन सरकारको सन्धिभन्दा झन्डै एक महिनाअघि अप्रिल ४, १९४५ मा कब्जा गरिएको थियो।—सम्पादक।
टाढाको मान्छेसित माया बस्यो भने “युवा जनहरू सोध्छन् . . . टाढाको मान्छेसित माया बस्यो भने त्यसलाई कसरी कायम राख्ने?” भन्ने लेख मेरोलागि अलि ढिला भयो। (फेब्रुअरी ८, १९९९) म संयुक्त राज्यमा बस्छु र मैले ल्याटिन अमेरिकाको केटासित पत्रचार गर्न थालें। मेरो जीवनमा यो जत्तिको गाह्रो कुरा अरू केही भएन होला। पत्राचारको भरमा मात्र कसैलाई राम्ररी चिन्न सक्नुहुन्न, चाहे तपाईं जति नै इमानदार किन नहोस्। एकदमै टाढ-टाढा भएकोले अनेकन् कल्पनाहरू गर्न थाल्नुहुन्छ। हाम्रो सन्दर्भमा त संस्कृति पनि एकदमै फरक थियो। हाम्रो सम्बन्ध आखिरमा टुक्रिंदा मलाई जिन्दगीमा अब केही छैन जस्तो लाग्न थाल्यो। मेरो मायालु परिवारलाई धन्यवाद छ, उहाँहरूकै मदत पाएर म निरुत्साहित नभई अघि बढ्न सकें।
एस. एच., संयुक्त राज्य
यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनमा भेटेको एक जना केटीसित म पत्राचार गर्दैछु। संस्कृति र भाषा फरक हुँदा आफ्ना विचारहरू अर्को व्यक्तिलाई बताउन गाह्रो हुन्छ। त्यसैले म उसको भाषा सिक्दैछु। टेप रेकर्डर चलाउने सल्लाह असाध्यै राम्रो थियो। धेरै धन्यवाद।
ए. एस., जर्मनी
संयुक्त राज्यमा अन्तरराष्ट्रिय अधिवेशनको बेला पूर्वीय मुलुककी एउटी बहिनीसित मेरो चिनजान भयो। उनीसित कसरी पत्राचार गर्ने जस्तो भइरहेको थियो। मैले यसबारे प्रार्थना गरें र त्यसको केही दिनपछि नै यस अत्युत्तम लेख पाएँ। मैले दोहऱ्याई तेहऱ्याई पढें। मेरा सबै प्रश्नहरूको उत्तर पाएँ।
जि. आर., इटाली