प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ११/८ पृ. १८-२०
  • मलाई मोबाइल फोन चाहिन्छ र?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मलाई मोबाइल फोन चाहिन्छ र?
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘खर्च हिसाब’ गर्नुहोस्‌
  • “समय खेर फाल्ने कुरा”
  • गोप्य वार्तालाप
  • सीमा तोक्नुहोस्‌
  • मोबाइल फोनको “लत”
    ब्यूँझनुहोस्‌!—२००३
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवा—२०१३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ११/८ पृ. १८-२०

युवा जनहरू सोध्छन्‌ . . .

मलाई मोबाइल फोन चाहिन्छ र?

“आफूसित मोबाइल फोन भएन भने म एकदम असुरक्षित अनि अप्ठ्यारो महसुस गर्छु।”—आकीको।a

थुप्रै देशहरूमा मोबाइल फोनहरू झन्‌ झनै लोकप्रिय बन्दै गइरहेको छ। ती सुविधाजनक छन्‌। तपाईंका साथीभाइ तथा परिवारहरूले तपाईंलाई र तपाईंले तिनीहरूलाई जुनसुकै बेला जहाँबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ। कुनै-कुनै मोबाइल फोनहरूमा छोटो सन्देशहरूसमेत आदानप्रदान गर्न सकिन्छ र यो “जवान मानिसहरूको कुराकानी गर्ने चाहनालाई निरन्तरता दिने सबैभन्दा अत्याधुनिक तरिका हो,” भनेर लण्डनको द टाइम्स-ले बताउँछ। साथै इन्टरनेटमा सम्पर्क गरेर वेब साइट तथा इमेलहरू हेर्न सकिने मोबाइल फोनहरू पनि उपलब्ध छन्‌।

सायद तपाईंसित पनि मोबाइल फोन होला वा एउटा किन्‍ने विचारमा हुनुहुन्छ होला। जे भए पनि तपाईंले यस भनाइलाई विचार गर्न सक्नुहुन्छ: “हरेक सिक्कामा दुई पाटा हुन्छन्‌।” मोबाइल फोनका केही लाभहरू होलान्‌। तथापि, तपाईं सिक्काको अर्को पाटाबारे पनि विचार गर्न चाहनुहुन्छ होला। किनभने तपाईंले एक सेट किन्‍ने नै विचार गर्नुभए तापनि त्यसका सम्भाव्य हानिहरूदेखि पूर्णतया सजग हुँदा तपाईंले यसको प्रयोग बुद्धिमानीसाथ गर्न सक्नुहुनेछ।

‘खर्च हिसाब’ गर्नुहोस्‌

येशूले कुनै कामको योजना बनाएर काम थालनी गर्नुअघि ‘खर्च हिसाब’ गर्नु भन्‍ने बुद्धिमानी सिद्धान्तबारे बताउनुभयो। (लूका १४:२८) के त्यो सिद्धान्त मोबाइल फोनहरूमा पनि लागू गर्न सकिन्छ? अवश्‍य। हो, तपाईंले एकदम सस्तोमा वा सित्तैमा फोन हासिल गर्न सक्नुहुन्छ होला। तथापि, १७ वर्षीया हेन्‍नाले पत्ता लगाएझैं “बिलमा भने एकदम धेरै पैसा उठ्‌न सक्छ।” त्यस्तै गरी थप सेवाको उपयोग गर्न र अझ महँगा मोडेलका फोनहरू किन्‍न निरन्तर दबाब आइरहन सक्छ। तसर्थ, हीरोसी भन्छन्‌: “मेरो आंशिक जागिर छ र हरेक वर्ष नयाँ मोडेलको सेट किन्‍न पैसा छुट्याउँछु।” थुप्रै युवाहरू पनि त्यसै गर्छन्‌।b

तपाईंका आमाबाबु तपाईंको बिल तिरिदिन सहमत हुनुभए तापनि खर्च विचार गर्नु महत्त्वपूर्ण छ। जापानका एक जना मसीही परिभ्रमण सेवक यस्तो टिप्पणी गर्छन्‌: “कुनै-कुनै आमाहरू आफ्ना छोराछोरीको मोबाइल फोनको बिल तिर्न मात्र थप आंशिक समय जागिर खाने गर्छन्‌ अन्यथा जागिर खानु आवश्‍यक नै पर्ने थिएन।” तपाईं पक्कै पनि आफ्ना आमाबाबुलाई त्यस्तो बोझ दिन चाहनुहुन्‍न होला!

“समय खेर फाल्ने कुरा”

सुरुमा ठिक्क मात्रामा यस फोनको प्रयोग गर्ने थुप्रैले पछि गएर आफूले सोचेभन्दा धेरै समय यसैमा बिताउन र महत्त्वपूर्ण कामकुरालाई चाहिं थाँती राख्न सक्छन्‌। मीका धेरै समय खाना खाने ठाउँमा आफ्नो परिवारसित बसेर समय बिताउने गर्थिन्‌। “अहिलेचाहिं,” तिनी भन्छिन्‌, “हामी आ-आफ्ना कोठामा गएर [मोबाइल फोन] चलाउन थाल्छौं।”

लण्डनको द गार्डियन-ले “१६ देखि २० वर्षका जवानहरू एक तिहाईले लिखित सञ्चारका अन्य थुप्रै माध्यमहरूभन्दा टेक्स्ट मेसेजिङलाई रुचाउँछन्‌” भनेर बतायो। टेक्स्ट मेसेजिङ अर्थात्‌ मोबाइल फोनबाट सन्देश पठाउँदाको खर्च मोबाइल फोनमा गरिने कुराकानीभन्दा कम हुन्छ तर त्यसमा अक्षरहरू टाइप गर्न भने धेरै समय लाग्छ। मिएको यसरी सहमति जनाउँछिन्‌: “कसैले मलाई ‘शुभरात्री’ भन्‍ने सन्देश पठायो भने म पनि प्रत्युत्तरमा ‘शुभरात्री’ लेखी पठाउँछु। त्यसपछि त एक घण्टासम्म सन्देश आदानप्रदानको क्रम चलिनै रहन्छ। त्यो पनि नचाहिंदो गफगाफ मात्र।”

मोबाइल फोन प्रयोग गर्ने थुप्रै मानिसहरूले महिनाभर आफूले कति समय फोनमा बिताएँ भनेर विचार गर्दा आफै छक्क पर्नेछन्‌। एक जना १९ वर्षीया केटी, टेजा स्वीकार्छिन्‌: “मोबाइल फोनले थुप्रै मानिसहरूको समय बचाउनुको सट्टा समय खेर फाल्ने गरिरहेको छ।” तपाईंको परिस्थितिअनुसार मोबाइल फोन राख्नु उचित नै भए तापनि यसको प्रयोग गर्दा समयबारे सजग हुनु भने महत्त्वपूर्ण छ।

मार्या नाउँ गरेकी मसीही युवती यसो भन्छिन्‌: “मसीही सम्मेलनहरूमा थुप्रै युवायुवतीहरू अरूलाई अनावश्‍यक सन्देशहरू पठाइरहेका हुन्छन्‌। यो एकदमै सामान्य कुरा हो!” मसीही सेवकाईमा भाग लिने जवानहरू माझ पनि त्यस्तै बानी देखिएको छ। बाइबलले मसीहीहरूलाई आध्यात्मिक गतिविधिको लागि समय निकाल्नु भन्‍ने सल्लाह दिएको छ। (एफिसी ५:१६) त्यस्तो बहुमूल्य समयसमेत टेलिफोन वार्तालापमा खेर गइरहनु कत्ति दुःखलाग्दो कुरा हो!

गोप्य वार्तालाप

मारीया अर्को खतराबारे टिप्पणी गर्दै भन्छिन्‌: “फोन घरमा नभईकन सीधै सम्बन्धित व्यक्‍तिकहाँ जाने भएकोले आफ्ना छोराछोरीहरू कस्ता साथीहरूसित कुरा गरिरहेका छन्‌ वा लामो समय फोन मै बिताइरहेका छन्‌ कि भन्‍ने कुरा आमाबाबुले थाह नपाउने खतरा हुन्छ।” केही केटाकेटीहरूले मोबाइल फोन अरूले थाह नपाउने गरी विपरीत लिंगका व्यक्‍तिहरूसित सम्पर्क गर्न प्रयोग गर्छन्‌। कसै कसैमा चाहिं अरूसित कुरा गर्दा प्रयोग गर्ने सामान्य बोलीचालीको स्तर खस्केको पाइन्छ। कसरी?

लण्डनको द देली टेलिग्राफ यसो भन्छ, “टेक्स्ट मेसेजिङको अर्थ [जवान मानिसहरूले] के गर्दैछन्‌ भन्‍ने कुरा कसैले थाह पाउन नसक्नु नै हो।” सन्देश आदानप्रदान गर्ने व्यक्‍तिलाई नदेख्ने वा नसुन्‍ने हुनाले तपाईंलाई त्यसले असर पार्न सक्छ। कसै कसैको विचारमा टेक्स्ट मेसेजिङबाट कुरा गर्दा त्यति आत्मीयता हुँदैन” भनेर टिमो बताउँछन्‌। “त्यस्तो सन्देशमा कसै-कसैले आमनेसामने पर्दा भन्‍न गाह्रो लागेको कुरासमेत लेख्न सक्छन्‌।”

केको नाउँ गरेकी १७ वर्षीया मसीही बहिनीले मोबाइल फोनको प्रयोग गर्न थाल्दा तिनले आफ्ना थुप्रै साथीहरूलाई मोबाइल नम्बर दिइन्‌। चाँडै तिनी आफ्नो मण्डलीकै एक जना पुरुष साथीसित दिनहुँ सन्देशको आदानप्रदान गर्न थालिन्‌। केको भन्छिन्‌: “सुरु सुरुमा त हामी आफ्ना दिनचर्याबारे मात्र कुराकानी गर्थ्यौं तर त्यसपछि भने हामीले आफ्ना समस्याहरूबारे एक अर्कालाई अवगत गराउन थाल्यौं। हामीले मोबाइल फोनको माध्यमबाट आफ्नै सानो संसार बनायौं।”

खुसीको कुरा, कामकुरा बिग्रनुअघि नै तिनले आफ्ना आमाबाबु र मसीही प्रचीनहरूबाट मदत पाइन्‌। तिनी अहिले यसरी स्वीकार्छिन्‌: “मेरा आमाबाबुले मलाई मोबाइल फोन दिनुअघि विपरीत लिंगका व्यक्‍तिहरूसित धेरै सन्देश आदानप्रदान नगर्नु भनेर धेरै चेतावनी दिनुभए तापनि मैले उसलाई दिनहुँ सन्देश पठाएँ। यसो गर्नु भनेको फोनको सदुपयोग गर्नु थिएन।”c

बाइबलले हामीलाई ‘असल विवेक राख्नु’ भन्‍ने सल्लाह दिएको छ। (१ पत्रुस ३:१६) त्यसो गर्नुको अर्थ तपाईंले मोबाइल फोनको प्रयोग गर्नुहुँदा कोइचिले भनेजस्तो आफ्नो सन्देश कसैले देख्यो वा सुन्यो भनेपनि “लजाउनु नपर्ने” अवस्था छ कि छैन भन्‍ने पक्का गर्नुपर्छ। हाम्रा स्वर्गीय पिताको अगाडि कुनै पनि कुरा लुकेको हुँदैन भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌। बाइबल यस्तो व्याख्या गर्छ: “उहाँको [परमेश्‍वरको] दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुँदैन, तर जससँग हामीले व्यवहार गर्नुपर्छ, उहाँको नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्‌।” (हिब्रू ४:१३) उसोभए, किन गोप्य सम्बन्ध कायम गर्ने प्रयास गर्नु?

सीमा तोक्नुहोस्‌

तपाईं पनि मोबाइल फोन लिने विचार गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला आफूलाई साँच्चै आवश्‍यकता छ कि छैन भनेर आफ्नो परिस्थिति जाँचे कसो होला? यसबारे आमाबाबुसित कुरा गर्नुहोस्‌। कसै-कसैले जेन्‍नाले जस्तै महसुस गर्न सक्छन्‌। तिनी यसो भन्छिन्‌: “मोबाइल फोन भनेको थुप्रै युवा जनहरूका लागि एकदम भारी जिम्मावारी हो।”

त्यस्तो फोन लिने निर्णय नै गरिसक्नुभए तापनि तपाईंले त्यसलाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ। कसरी? व्यावहारिक सीमा तोकेर। उदाहरणका लागि, त्यसका थुप्रै विशेषताहरूमध्ये कुन प्रयोग गर्ने कुन नगर्ने वा तपाईंले फोनमा खर्च गर्नुहुने समय र पैसामा सीमा तोक्नुहोस्‌। प्रायजसो फोन कम्पनीहरूले तपाईंले प्रयोग गर्नुभएको समय तालिकासम्बन्धी विस्तृत विवरण दिने हुँदा तपाईंले आफ्नो बिल समय समयमा आफ्नो आमाबुवासित बसेर छलफल गर्न चाहनुहुन्छ होला। कसै-कसैले चाहिं आफ्नो फोनलाई सीमित रूपमा मात्र प्रयोग गर्न पहिले नै पैसा तिरेर चलाउने खालको मोबाइल फोन सुविधाजनक भएको महसुस गर्छन्‌।

साथै, तपाईंले कहिले र कसरी फोन आउँदा वा सन्देशहरू पाउँदा जवाफ दिनुहुन्छ त्यसबारे पनि होसियार भई ध्यान दिनुहोस्‌। आफ्नोलागि आफै व्यावहारिक नीतिनियम बनाउनुहोस्‌। सिन्जी यसो भन्छन्‌: “म दिनको एकपल्ट मात्र आफ्नो मेल-बक्स खोल्छु र अत्यन्तै जरुरी भएमा मात्र प्राप्त सन्देशहरूको जवाफ पठाउने गर्छु। परिणामस्वरूप साथीहरूले अनावश्‍यक सन्देशहरू पठाउन छोडेका छन्‌। अत्यन्तै जरुरी समस्या खडा भएको छ भने त तिनीहरूले मलाई फोन गरिहाल्छन्‌ नि।” अझ महत्त्वपूर्ण कुरा तपाईंले कुराकानी गर्नुहुने मानिसहरूलाई राम्ररी छान्‍नुहोस्‌। आफ्नो फोन नम्बर जोसुकै मानिसलाई नदिनुहोस्‌। असल संगतीको सन्दर्भमा सधैं एउटै स्तर कायम राख्नुहोस्‌।—१ कोरिन्थी १५:३३.

बाइबल यसो भन्छ: “सबै कुराको लागि समय छ, . . . चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।” (उपदेशक ३:१, ७) स्पष्टतया, मोबाइल फोनलाई “चूप्प” लगाएर राख्ने समय पनि छ। हाम्रा मसीही सभाहरू तथा सेवकाई फोनको प्रयोग गर्न नभई परमेश्‍वरको उपासनाको लागि छुट्याइएका “समय” हुन्‌। रेस्टुरेन्ट तथा हलका प्रबन्धकहरूले प्रायजसो आफ्ना ग्राहकहरूलाई मोबाइल फोन प्रयोग नगर्न बारम्बार आग्रह गर्छन्‌। त्यस्ता आग्रहहरू हामी आदरपूर्वक पालन गर्छौं। त्यसो हो भने हाम्रो ब्रह्‍माण्डको सार्वभौमिक व्यक्‍तिप्रति झन्‌ कति धेरै आदर देखाउनुपर्ला!

कतिपयले कुनै जरुरी फोन आउनेवाला छैन भने विशेष गतिविधिहरूमा सहभागी हुँदा आफ्नो फोन बन्द गर्नै रुचाउँछन्‌ वा घण्टी नबज्ने गरी राख्छन्‌। कसै-कसैले आफ्नो मोबाइल फोन आफूभन्दा टाढै राख्छन्‌। आखिर प्रायजसो सन्देशहरूलाई अरू नै बेला पनि त पढ्‌न सकिन्छ नि, होइन र?

तपाईंले मोबाइल फोन लिने निर्णय गरिसक्नुभएको भए यसको नियन्त्रणमा बस्ने होइन तर तपाईंको नियन्त्रणमा राख्ने संकल्प गर्नुहोस्‌। स्पष्टतया, तपाईं सजग रहेर प्राथमिकता अनुरूप चल्नुपर्छ। बाइबलले हामीलाई यस्तो प्रोत्साहन दिन्छ: “कसरी हिंड़छौ ठीकसँग हेर, . . . बुद्धिमान मानिस[ले] जस्तो।” (एफिसी ५:१५) तपाईंले मोबाइल फोन लिने निर्णय गर्नुभएको छ भने यसको प्रयोग गर्दा बुद्धिमानी र व्यावहारिक हुने अठोट गर्नुहोस्‌। (g02 10/22)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b स्कूल पढ्‌दै जागिर खानेबारे थप छलफलको लागि अक्टोबर ८, १९९७ को ब्यूँझनुहोस्‌!-मा “युवा जनहरू सोध्छन्‌—पैसा कमाउनुमा के गल्ती छ?” विषयको लेख हेर्नुहोस्‌।

c फोनमा विपरीत लिंगका व्यक्‍तिसित नियमित रूपले कुरा गर्नु वा सन्देश आदानप्रदान गर्नु भनेको एक किसिमको डेटिंग नै हो। कृपया जनवरी ८, २००२ को ब्यूँझनुहोस्‌! अंकको “युवा जनहरू सोध्छन्‌—किशोरावस्थामा डेटिङ गर्दा के-कस्ता हानिहरू हुन्छन्‌?” भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ २०-मा भएको चित्र]

केही युवायुवतीहरू मोबाइल फोनमार्फत गोप्य सम्बन्ध कायम गर्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने