प्रश्न पेटी
◼ ख्रीष्टियन सभामा उपस्थित हुँदा र प्रचारकार्यमा भाग लिंदा मोबाइलको प्रयोग गर्ने विषयमा कस्ता बाइबल सिद्धान्तहरू लागू हुन्छन्?
“सबै कुराको लागि समय छ।” (उप. ३:१): मोबाइल प्रयोग गरेर हामी एक-अर्कालाई जुनसुकै बेला मेसेज पठाउन वा कुराकानी गर्न सक्छौं। तैपनि कुनै-कुनै अवसरमा हामी ख्रीष्टियनहरू मोबाइलले हाम्रो ध्यान भङ्ग गरेको चाहँदैनौं। उदाहरणको लागि सभाहरू भनेको यहोवालाई उपासना चढाउने, आध्यात्मिक निर्देशन पाउने र प्रोत्साहन आदान-प्रदान गर्ने समय हो। (व्यव. ३१:१२; भज. २२:२२; रोमी १:११, १२) सभामा आउँदा मोबाइल बन्द गर्न सक्छौं कि? सभाबाट फर्किएपछि मात्र मेसेजहरू हेर्ने गरे कसो होला? काम विशेषले गर्दा मोबाइल बन्द गर्न मिल्दैन भने अरूलाई बाधा नपुग्ने गरी मोबाइलको सेटिङ्ग मिलाउनुपर्छ।
‘सुसमाचारको खातिर सब थोक गर्नुहोस्।’ (१ कोरि. ९:२३): प्रचारकार्यमा कहिलेकाहीं मोबाइल चलाउनुपर्ने जायज कारणहरू हुन सक्छन्। उदाहरणको लागि प्रचारमा नेतृत्व लिने भाइले इलाकाको अर्को भागमा प्रचार गरिरहेकाहरूको अवस्था बुझ्न मोबाइल प्रयोग गर्न सक्छन्। प्रकाशकहरूले टाढा बस्ने जिज्ञासु व्यक्तिलाई वा बाइबल विद्यार्थीलाई भेट्न जानुअघि फोन गर्न पनि मोबाइल प्रयोग गर्छन्। आफ्नो साथमा मोबाइल छ भने घरधनीसँग कुरा गरिरहँदा यसले बाधा नदेओस् भनेर हामी होसियार हुनुपर्छ। (२ कोरि. ६:३) अरू प्रकाशकहरूलाई पर्खंदा साथीलाई फोन गर्नु वा मेसेज पठाउनुको साटो प्रचारकार्यमा र हामीसितै प्रचारमा भाग लिइरहेकाहरूमा आफ्नो ध्यान केन्द्रित गर्नु बेस होइन र?
अरूप्रति विचारशील हुनुहोस्। (१ कोरि. १०:२४; फिलि. २:४): फोन वा मेसेज गरेर समूह कहाँ प्रचार गरिरहेको छ भनेर थाह पाउन सकिहाल्छु नि भनेर क्षेत्र सेवाको सभामा समयमै पुग्नुपर्ने कुरालाई हामी कहिल्यै हल्कासित लिन चाहँदैनौं। ढिला पुग्दा प्रचारमा जाने समूहमा फेरबदल गर्नुपर्ने हुन सक्छ। हो, आफ्नो वशमा नभएका अवस्थाहरूले गर्दा हामी कहिलेकाहीं ढिला हुन्छौं। तैपनि समयमा नै पुग्ने बानी बसाल्यौं भने हामी यहोवाको प्रबन्धप्रति, नेतृत्व लिने भाइप्रति र सँगी प्रकाशकहरूप्रति विचारशील भइरहेका हुन्छौं।