प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १/८ पृ. १६-१८
  • जनवक्‍ताको हैसियतमा म कसरी सफल हुन सक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवक्‍ताको हैसियतमा म कसरी सफल हुन सक्छु?
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बोल्न बोलाइँदा
  • आफ्नो डर हटाउने
  • सफलताका लागि सुझावहरू
  • खुलस्त कुराकानी गर्नुहुने महान्‌ व्यक्‍तिबाट मदत
  • शान्त र सन्तुलित
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • अनुहार हेरेर कुरा गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२०००
  • श्रोताका लागि जानकारीमूलक
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १/८ पृ. १६-१८

युवा जनहरू सोध्छन्‌ . . .

जनवक्‍ताको हैसियतमा म कसरी सफल हुन सक्छु?

“मलाई मानिसहरूले मेरो हरेक गल्ती अनि आत्म-विश्‍वासको कमीलाई याद गरिरहेका छन्‌ जस्तो लाग्थ्यो। म आफ्नो भाषणमा ध्यानै दिन सक्दिनथें। मलाई उनीहरू मनमनै हाँसिरहेका छन्‌ जस्तो लाग्थ्यो।”—सेन्डी।a

स्कूलको प्रेक्षालय खचाखच भरिएको छ। माइकमा तपाईंले आफ्नो नाउँ बोलाएको सुन्‍नुहुन्छ र एक्कासी सबैको नजर तपाईंमाथि हुन्छ। भाषण दिने स्ट्यान्डसम्म पुग्न लाग्ने दुई चार कदम तपाईंलाई कयौं किलोमिटर टाढा लाग्छ। तपाईंको हत्केलामा पसिना आउन थाल्छ, खुट्टा लल्याकलुलुक भएझैं लाग्छ र कारणवश तपाईंको मुख एकदमै सुक्खा भएझैं हुन्छ। त्यसपछि, यो कुरा नियन्त्रण गर्न नपाउँदै, पसिनाका ठूलठूला थोपा गालाबाट तप-तप चुहिन थाल्छ। कस्तो लाजमर्दो कुरा! गोली ठोकेर मारिने ठाउँमा जानुभएको होइन भन्‍ने कुरा तपाईंलाई थाह छ, तरैपनि किन हो कुन्‍नि त्यस्तै महसुस हुन्छ।

यस तथ्यलाई स्वीकारौं: हामीमध्ये प्रायजसोलाई अरूसामु खडा भएर बोल्ने विषयमा सोच्दै डर लागेर आउँछ। (यर्मिया १:५, ६) कतिपय मानिसहरूले त मर्नुभन्दा अरूको सामु बोल्न बढी डर लाग्छ समेत भनेका छन्‌! तथापि यस विषयमा तपाईंलाई जस्तोसुकै महसुस भए तापनि जनवक्‍ता हुने कुरामा तपाईंले चासो राख्नुपर्ने ठोस कारणहरू छन्‌। आउनुहोस्‌, हामी ती केही कारणहरू छलफल गरौं र तपाईं कसरी सफल वक्‍ता हुन सक्नुहुन्छ, विचार गरौं।

बोल्न बोलाइँदा

“अरूसामु बोल्नु भनेको सबैलाई चाहिने एउटा कला हो।” अरूसामु बोल्ने विषयसित सम्बन्धित कोर्सको विज्ञापनमा यसो भनिएको छ। हो, चाँडो होस्‌ वा ढिलो, एक न एक दिन तपाईंले श्रोताहरूसामु बोल्नुपर्ने हुन सक्छ। एउटा कारण त, थुप्रै स्कूलहरूमा अरूसामु बोल्न सिकाइन्छ। टाटियान नाउँकी एउटी जवान स्त्री यस प्रकार सम्झिन्छिन्‌: “स्कूलमा मेरा सहपाठीहरूसामु मैले धेरै चोटि बोल्नुपरेको थियो।” मौखिक रिपोर्ट तथा कुनै पुस्तकको पुनरावलोकनदेखि लिएर मल्टिमिडियायुक्‍त प्रस्तुतिहरू र बहसहरूमा भाग लिन विद्यार्थीहरू अक्सर तयार रहनुपर्ने हुन्छ।

जागिर खान थाल्नुभएपछि सहकर्मीहरूको समूहलाई सिकाउन, ग्राहकलाई प्रस्ताव पेस गर्न वा कार्यकारी समितिलाई आर्थिक रिपोर्ट प्रस्तुत गर्न तपाईंलाई बोलाइन सक्छ। साँच्चै भन्‍ने हो भने, बोल्ने कला भनेको पत्रकारिता, व्यवस्थापन, जनसम्पर्क तथा बेच-बिखनलगायत विभिन्‍न किसिमका जागिरहरूको लागि उपयोगी हुन्छ।

तर तपाईंले मजदुर वा कार्यालयको एक सामान्य कर्मचारीको रूपमा काम गर्ने छनौट गर्नुभयो भने नि? जागिरको लागि अन्तरवार्ता दिंदा राम्रोसित बोल्न सक्नु र नसक्नुले तपाईं जागिर पाउन योग्य हुनुहुन्छ वा हुनुहुन्‍न भन्‍ने कुरा तय गर्न सक्छ। जागिर खाने क्रममै पनि, आफ्नो कुरा प्रस्टसित व्यक्‍त गर्न सक्ने क्षमता तपाईंको लागि निकै मूल्यवान्‌ साबित हुन सक्छ। स्कूलको पढाइ सिद्धिएपछि कोरिनले तीन वर्षसम्म वेटरको काम गरिन्‌। तिनी यसो भन्छिन्‌, “यदि तपाईं राम्रोसित बोल्न सक्नुभयो भने, तपाईंलाई एकदमै परिपक्व र थप जिम्मेवारी सम्हाल्न सक्ने व्यक्‍तिको रूपमा हेरिन्छ। यसको अर्थ राम्रो जागिर, धेरै तलब वा केही मात्रामा भए पनि बढी आदर पाउनु हुन सक्छ।”

अन्तमा, आफ्नो उपासनाको सन्दर्भमा जवान मसीहीहरू अक्सर अरूसामु बोल्ने गर्छन्‌। (हिब्रू १०:२३) “आफ्नो कुरा प्रस्टसित व्यक्‍त गर्न सक्नु एकदमै महत्त्वपूर्ण छ” भनी टनिसा बताउँछिन्‌। “हामीले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने सुअवसर पाएका छौं।” (मत्ती २४:१४; २८:१९, २०) मण्डली अनि आफ्नो जन सेवकाईमा, जवान मसीहीहरू ‘[आफूले] देखेका र सुनेका कुराहरू नबोली सक्‍तैसक्‍तैनन्‌।’—प्रेरित ४:२०; हिब्रू १३:१५.

राम्रोसित बोल्ने कला सिक्दा त्यसले तपाईंलाई यसरी विभिन्‍न तरिकाहरूमा फाइदा पुऱ्‍याउन सक्छ। तरैपनि, श्रोताहरूको अगाडि उभिने विषयमा विचार गर्दै तपाईंको मुटु ढुकढुक भएर आउँछ होला। के आफ्नो डराउने बानी हटाउन तपाईंले गर्न सक्ने केही कुरा छ? अवश्‍य छ।

आफ्नो डर हटाउने

“सफल हुनको लागि तपाईं एकदमै बुद्धिमान्‌ वा सिद्ध हुनै पर्छ भन्‍ने छैन” भनी जोड दिने विषयका विशेषज्ञ र पेसेवर जनवक्‍ता, डा. मोर्टन सी. ओरमान बताउँछन्‌। “जनवक्‍ताको सार यस्तो छ: आफ्ना श्रोताहरूलाई केही अमूल्य कुरा दिनुहोस्‌।” अर्को शब्दमा भन्‍ने हो भने, आफूले भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नुहोस्‌, आफू वा आफ्ना फिक्रीहरूमा होइन। प्रथम शताब्दीका कसै-कसैले प्रेरित पावल प्रखर वक्‍ता होइनन्‌ भन्ठानेका थिए तर तिनीले सधैं महत्त्वपूर्ण कुरा बताउने भएकोले तिनी अझै पनि प्रभावकारी थिए। (२ कोरिन्थी ११:६) त्यस्तै गरी, आफूले साँच्चै विश्‍वास गर्ने केही महत्त्वपूर्ण कुरा प्रस्तुत गर्नुभयो भने, तपाईंको अलि-अलि डराउने बानी सजिलै कम भएर जानेछ।

अर्का नामी वक्‍ता तथा प्रशिक्षक, रान साटहोफ यस्तो सुझाव दिन्छन्‌: आफ्नो भाषणलाई अभिनयजस्तो नठान्‍नुहोस्‌। यसलाई कुराकानीजस्तो ठान्‍नुहोस्‌। हो, आफ्ना श्रोताहरूसित समूहगत रूपमा होइन तर जसरी तपाईं नियमित कुराकानीको दौडान व्यक्‍तिविशेषसित कुरा गर्नुहुन्छ, त्यस्तै गरी कुरा गर्ने कोसिस गर्नुहोस्‌। आफ्ना श्रोताहरूको कुरामा पनि ‘ध्यान दिनुहोस्‌’ र साधारणतया तपाईं जसरी कुरा गर्नुहुन्छ त्यस्तै पाराले कुरा गर्नुहोस्‌। (फिलिप्पी २:३, ४) तपाईंको बोल्ने शैली जति कुराकानी गरेजस्तो हुन्छ, त्यति नै तपाईंले सजिलो महसुस गर्नुहुनेछ।

चिन्तित हुनुको अर्को सामान्य कारण हो, आफूले दिने जानकारी गलत होला कि वा श्रोताहरूले दोष भेट्टाउला कि भन्‍ने डर। श्रोताहरूले हरेक प्रस्तुतिलाई सकारात्मक मनोवृत्तिले हेर्ने गर्छन्‌ भनी एक जना पेसेवर वक्‍ता तथा प्रशिक्षक, लेनी लास्कोस्की हामीलाई सम्झाउँछन्‌। “उनीहरू तपाईं सफल भएको हेर्न चाहन्छन्‌, असफल भएको होइन” भनी लास्कोस्की बताउँछन्‌। त्यसैकारण सकारात्मक मनोवृत्ति राख्नुहोस्‌। हुन सक्छ भने, जसै श्रोताहरू आउँछन्‌ उनीहरूलाई अभिवादन गर्ने कोसिस गर्नुहोस्‌। उनीहरूलाई शत्रुको रूपमा होइन तर मित्रको रूपमा हेर्ने कोसिस गर्नुहोस्‌।

अलि-अलि डराउनु पूर्णतया गलत होइन भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। एक जना विशेषज्ञ यसो भन्छन्‌, “लोकप्रिय धारणाको ठीक विपरीत अलि-अलि डराउनु तपाईं र तपाईंको प्रस्तुतिको लागि राम्रो हो।” किन? केही हदसम्म डराउनुले नम्रता झल्काउँछ, जसले तपाईंलाई अति विश्‍वस्त हुनदेखि जोगाउँछ। (हितोपदेश ११:२) थुप्रै खेलाडी, संगीतकर्मी तथा अभिनेताहरू अलि-अलि डराउँदा आफ्नो काम अझ राम्रोसित पूरा गर्न मदत मिल्छ भन्‍ने महसुस गर्छन्‌ र जनवक्‍ताहरूको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।

सफलताका लागि सुझावहरू

यी तथा अन्य तरिकाहरू अपनाएर कोही-कोही जवान मसीहीहरूले स्कूल, कार्यस्थल र आफ्ना मण्डलीहरूमा वक्‍ताहरूको हैसियतमा केही हदसम्म भए पनि अनुभव अनि सफलता हासिल गरिसकेका छन्‌। तिनीहरूका केही सुझावहरूले कतै तपाईंलाई मदत गर्लान्‌ कि, हेर्नुहोस्‌।

जेड: “विषयवस्तुलाई आफ्नै शब्दमा व्यक्‍त गर्नुहोस्‌। आफूले भन्‍न लागेको कुराका लाभहरूबारे आफै विश्‍वस्त हुनुहोस्‌। यदि तपाईंले आफ्नो भाषण महत्त्वपूर्ण छ भन्‍ने महसुस गर्नुभयो भने, श्रोताहरूले पनि त्यस्तै महसुस गर्नेछन्‌।”

रोसेल: “आफ्नो भिडिओटेप गर्नु मलाई मदतकारी लाग्यो। यसो गर्दा आफ्ना कमजोरीहरू थाह लाग्छन्‌ तर यो लाभदायी छ। साथै, आफूलाई मनपर्ने विषय छान्‍नुहोस्‌। यो तपाईंको भाषणमा पनि झल्किनेछ।”

मार्ग्रेट: “एक-एक शब्द लेखेर भाषण दिनुभन्दा रूपरेखा प्रयोग गर्दा म सजिलैसित बोल्न सक्छु र मेरो बोली कुराकानी गरेजस्तै सुनिन्छ। साथै, बोल्नुअघि लामो सास फेर्दा त्यसले मलाई निश्‍चिन्त हुन मदत गर्छ।”

कोरिन: “आफूले गरेका साना-तिना गल्तीहरूलाई हाँसोमा उडाउन नडराउनुहोस्‌। सबैले गल्ती गर्छन्‌। केवल सक्दो गर्ने प्रयास गर्नुहोस्‌।”

निस्सन्देह, खेलकुद, कला वा संगीतजस्ता जुनसुकै क्षेत्रमा अनुभव तथा धेरै अभ्यासको कुनै विकल्प छैन। टटियाना, अभ्यास गर्न प्रशस्त समय पाउनको लागि आफ्नो भाषण अग्रिम तयारी गर्ने सुझाव दिन्छिन्‌। अनि हरेस नखानुहोस्‌। तिनी यसो भन्छिन्‌, “अरूको सामु म जति धेरै बोल्छु, त्यति नै म सजिलो महसुस गर्छु।” यद्यपि, विशेष गरी साँचो उपासनाको पक्षमा खडा भएर बोल्न बोलाइँदा तपाईंले बिर्सन नहुने मदतको अर्को एउटा स्रोत पनि छ।

खुलस्त कुराकानी गर्नुहुने महान्‌ व्यक्‍तिबाट मदत

जवान मानिसको हैसियतमा इस्राएलका भावी राजा, दाऊदले “बोल्नमा ज्ञानी” भन्‍ने नाम कमाइसकेका थिए। (१ शमूएल १६:१८) कसरी? स्पष्टतया, जवान छँदा खुला आकासको मन्तिर भेडाहरू चराउन धेरै लामो समय बिताएको बेला दाऊदले खुलस्त कुराकानी गर्नुहुने महान्‌ यहोवा परमेश्‍वरसित प्रार्थनामार्फत घनिष्ठ सम्बन्ध विकास गरेका थिए। (भजन ६५:२) फलस्वरूप, यस सम्बन्धले तिनलाई कठिन परिस्थितिहरूमा समेत स्पष्ट, जोडदार ढंगमा र विश्‍वास दिलाउने किसिमले बोल्न सुसज्जित बनायो।—१ शमूएल १७:३४-३७, ४५-४७.

दाऊदलाई मदत गर्नुभएझैं, उपासना गर्ने क्रममा तपाईंलाई “सिक्नेहरूको बोली” दिनुभएर परमेश्‍वरले तपाईंलाई पनि प्रभावकारी ढंगमा बोल्न मदत गर्नुहुनेछ भन्‍ने कुरामा तपाईं ढुक्क हुन सक्नुहुन्छ। (यशैया ५०:४; मत्ती १०:१८-२०) हो, अहिल्यै आफ्नो बोल्ने कलालाई तिखार्ने सुअवसरहरूको फाइदा उठाएर तपाईं एक जना प्रभावकारी जनवक्‍ता हुन सक्नुहुन्छ! (g03 12/22)

[फुटनोट]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ १८-मा भएको पेटी]

वक्‍ताहरूको हैसियतमा प्रशिक्षित

पृथ्वीभरि यहोवाका साक्षीहरूको मण्डलीहरूमा ईश्‍वरतान्त्रिक सेवकाई स्कूल भनिने साप्ताहिक बाइबल आधारित निर्देशन कार्यक्रम सञ्चालन हुने गर्छ। विद्यार्थीहरूले समूहगत रूपमा हुने छलफलमा भाग लिन्छन्‌, मण्डलीसामु प्रस्तुतिहरू प्रस्तुत गर्छन्‌ र उन्‍नतिको लागि व्यक्‍तिगत रूपमा मदत पाउँछन्‌। के त्यो कार्यक्रम प्रभावकारी छ? आउनुहोस्‌, १९ वर्षीय क्रिसको अनुभव हामी तिनकै मुखबाट सुनौं।

तिनी यसो भन्छन्‌, “स्कूलमा भाग लिनुभन्दा अघि मानिसहरूको अगाडि बोल्न मलाई साह्रै असजिलो महसुस हुन्थ्यो। श्रोताहरूको अगाडि मञ्चबाट भाषण दिनेछु भनेर त मैले सपनामा पनि सोचेको थिइनँ। तर, भाषणभरि भकभकाइ रह्‍यौं भने पनि श्रोताहरूले यसबाट आनन्द उठाउनेछन्‌ किनभने मञ्चसम्म जान मैले कत्ति प्रयास गर्नुपरेको थियो भन्‍ने कुरा उनीहरूलाई थाह हुन्छ भनेर मण्डलीका कसै-कसैले मलाई प्रोत्साहन दिए। त्यसपछि त, हरेक चोटि भाषण दिइसकेपछि उनीहरूले मेरो प्रशंसा गरे। त्यसले गर्दा मलाई ठूलो मदत मिल्यो।”

आज, स्कूलमा भाग लिएको पाँच वर्षपछि क्रिसले तिनको पहिलो ४५ मिनेटको भाषण दिन तयारी गर्दैछन्‌। के तपाईंले यस प्रबन्धबाट लाभ उठाइरहनुभएको छ?

[पृष्ठ १७-मा भएको चित्र]

प्रखर वक्‍ता हुँदा त्यसले तपाईंलाई जीवनका हरेक क्षेत्रहरूमा मदत गर्न सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने