अध्याय १६
शान्त र सन्तुलित
मञ्चमा जाँदा वक्तालाई अत्यास लाग्नु स्वाभाविक हो। त्यसमा पनि तिनी कहिलेकाहीं मात्र भाषण दिन्छन् भने त डर लागिहाल्छ। प्रचार गर्दा पनि प्रकाशक सुरुका दुई-चारवटा घरमा अलिअलि आत्तिन्छन्। भविष्यवक्ताको रूपमा नियुक्त गरिंदा यर्मियाले यस्तो प्रतिक्रिया जनाए: “मता बोल्नै जान्दिनँ, किनभने मता बच्चै छु।” (यर्मि. १:५, ६) यहोवाले यर्मियालाई मदत गर्नुभयो र उहाँले तपाईंलाई पनि मदत गर्नुहुनेछ। समयमा तपाईं पनि शान्त र सन्तुलित हुन सक्नुहुनेछ।
शान्त र सन्तुलित वक्ता हडबडाउँदैनन्। तिनी उभिएको र बसेको तरिकाबाट तिनी शान्त र सन्तुलित छन् भन्ने देखिन्छ। तिनको मुद्रा स्वाभाविक र अवसरसुहाउँदो हुन्छ। तिनले हात चलाउने तरिका अर्थपूर्ण हुन्छ। तिनी भावनासहित बोल्छन् र बोल्दा संयमित हुन्छन्।
शान्त र सन्तुलित व्यक्तिबारे माथि दिइएको यो विवरण तपाईंसित मेल खाँदैन भने पनि पीर नमान्नुहोस्। तपाईं प्रगति गर्न सक्नुहुन्छ। तर कसरी? वक्ता किन आत्तिन्छन् अनि शान्त र सन्तुलित हुन सक्दैनन्, विचार गरौं। शारीरिक कारणले गर्दा पनि त्यस्तो भएको हुन सक्छ।
कुनै चुनौती आइपर्दा के गरौं, कसो गरौं भएर छटपटी हुन थाल्दा तपाईंको मस्तिष्कले एड्रिनालिन नामको एउटा हार्मोन झन् धेरै पैदा गर्न शरीरलाई सङ्केत दिन्छ। त्यसरी शरीरले झन् धेरै एड्रिनालिन पैदा गर्दा तपाईंको मुटुको ढुकढुकी बढ्छ, तपाईं छिटोछिटो सास फेर्नुहुन्छ, चिटचिट पसिना आउन थाल्छ, हातगोडा काम्न थाल्छन् र आवाज पनि काँपेको सुनिन्छ। त्यो अवस्थाको सामना गर्न तपाईंको शरीरले पहिलाभन्दा धेरै शक्ति निकाल्छ। त्यो शक्तिलाई सही तरिकामा प्रयोग गर्नु अर्थात् त्यसलाई सही तरिकामा सोच्न र जोसिलो भाषण दिन प्रयोग गर्नु चुनौती नै हुन्छ।
चिन्ता घटाउने तरिका: केही हदसम्म चिन्तित हुनु सामान्य हो। तर शान्त र सन्तुलित भइरहन तपाईंले आफ्नो चिन्ता घटाउनुपर्छ र आफूमाथि आइपरेको परिस्थितिलाई शान्त र मर्यादित तरिकामा सुल्झाउनुपर्छ। तर कसरी?
राम्ररी तयारी गर्नुहोस्। भाषणको तयारीमा समय खर्चिनुहोस्। विषयवस्तुसित राम्ररी परिचित हुनुहोस्। भाषणमा आफैले बुँदा छान्नुपर्छ भने श्रोतालाई त्यस विषयबारे के-कति थाह छ र तपाईं तिनीहरूलाई के बताउन चाहनुहुन्छ, विचार गर्नुहोस्। यसो गर्दा सबैभन्दा उपयुक्त विषयवस्तु छान्न सक्नुहुन्छ। तर यसरी बुँदा छान्न सुरु-सुरुमा तपाईंलाई गाह्रो लाग्छ भने अनुभवी वक्तासित मदत माग्नुहोस्। तिनले तपाईंलाई विषयवस्तु राम्ररी केलाउन र श्रोताको आवश्यकता बुझ्न मदत गर्न सक्छन्। तपाईंले छानेको विषयवस्तुले श्रोतालाई फाइदा पुऱ्याउँछ र त्यो विषय तपाईंको मनमा ठप्प बसिसकेको छ भने त्यसबारे श्रोतालाई बताउन तपाईं उत्सुक हुनुहुनेछ र यसरी तपाईंको चिन्ता घट्नेछ।
भाषणको परिचयलाई विशेष ध्यान दिनुहोस्। के भनेर सुरु गर्ने, पक्का गर्नुहोस्। भाषण सुरु गरिसकेपछि त तपाईंको चिन्ता पनि बिस्तारै घट्दै जानेछ।
प्रचारमा जाँदा पनि यही कुरा लागू हुन्छ। छलफल गर्न चाहेको विषय मात्र नभई कस्ता मानिसहरूलाई प्रचार गर्दै हुनुहुन्छ, विचार गर्नुहोस्। होसियारीसाथ परिचय तयार पार्नुहोस्। परिपक्व प्रकाशकहरूको अनुभवबाट सिक्नुहोस्।
पाण्डुलिपि बनाएर अर्थात् एक-एक शब्द लेखेर भाषण दिंदा आफू अझै शान्त र सन्तुलित हुन सक्छु जस्तो तपाईंलाई लाग्ला। तर वास्तवमा यसरी भाषण दिंदा भाषण दिएपिच्छे तपाईंको चिन्ता झन्झनै बढ्छ। हुन त केही वक्ता भएभरको सबै कुरा लेखेर भाषण दिने गर्छन्, अरू भने कुनै-कुनै कुरा मात्र लेख्छन्। तर चिन्ता घटाउन र आफैबारे मात्र सोच्न छोडेर विषयवस्तुमा ध्यान दिन तपाईंलाई मदत गर्ने कुरा कागजमा लेखिएका अक्षर होइनन् तर आफूले तयारी गरेको कुरा श्रोताको लागि साँच्चै कामलाग्दो छ भन्ने विश्वस्तता हो।
ठूलो स्वर निकालेर प्रस्तुति अभ्यास गर्नुहोस्। यसरी अभ्यास गर्दा विचारलाई शब्दमा व्यक्त गर्न सक्छु भनेर निर्धक्क हुन सक्नुहुन्छ। अभ्यास गर्दा थुप्रै कुरा तपाईंको दिमागमा बस्नेछ र भाषण दिंदा ती याद आइहाल्छन्। मञ्चमा भाषण दिएको जस्तैगरि अभ्यास गर्नुहोस्। श्रोतालाई सम्झँदै अभ्यास गर्नुहोस्। बसेर वा भाषण दिंदा जस्तै उभिएर अभ्यास गर्नुहोस्।
मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्। के यहोवाले त्यस्तो प्रार्थनाको जवाफ दिनुहोला र? “हामी यो कुरामा ढुक्क छौं, कि परमेश्वरको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ।” (१ यूह. ५:१४) परमेश्वरको आदर गर्न र उहाँको वचनबाट मानिसहरूलाई लाभ पुऱ्याउन चाहनुहुन्छ भने उहाँले पक्कै पनि तपाईंको प्रार्थनाको जवाफ दिनुहुन्छ। यस्तो आश्वासनले तपाईंलाई आफ्नो जिम्मेवारी पूरा गर्न बल दिन्छ। साथै प्रेम, आनन्द, शान्ति, नम्रता र आत्मसंयम जस्ता परमेश्वरको पवित्र शक्तिका फल फलाउँदा परिस्थितिलाई शान्त र सन्तुलित ढङ्गले सामना गर्ने आवश्यक मनोवृत्ति विकास गर्न सक्नुहुन्छ।—गला. ५:२२, २३.
अनुभव बटुल्नुहोस्। प्रचारमा जति धेरै भाग लिनुहुन्छ, तपाईं त्यत्ति नै कम आत्तिनुहुन्छ। सभामा जति टिप्पणी दिनुहुन्छ, अरूसामु बोल्न तपाईंलाई त्यत्ति नै सजिलो हुन्छ। मण्डलीमा जति पटक भाषण दिनुहुन्छ, त्यसैअनुसार भाषण दिनुअघि तपाईंलाई लाग्ने चिन्ता पनि घट्दै जान्छ। तपाईं अझै धेरै भाग पाउन चाहनुहुन्छ? त्यसो हो भने स्कूलमा कसैले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा स्वयंसेवकको रूपमा त्यो भाग पूरा गर्न अघि सर्नुहोस्।
माथि बताइएअनुसार कदम चालिसकेपछि तपाईं शान्त र सन्तुलित हुन नसक्नुका कारण पत्ता लगाउनु फाइदाजनक हुन्छ। समस्या चिनिसकेपछि र उक्त समस्या समाधान गर्ने तरिका थाह पाइसकेपछि तपाईं शान्त र सन्तुलित भएर बोल्न सक्नुहुन्छ। तपाईं विचलित भएको कुरा शारीरिक हावभावमा वा स्वरमा देखिन्छ।
शारीरिक हावभावमा देखिने लक्षण: तपाईं शान्त र सन्तुलित हुनुहुन्छ कि हुनुहुन्न, तपाईंको हावभावमा र तपाईं हात कसरी चलाउनुहुन्छ, त्यसमा देखिन्छ। पहिला, हातलाई नै लिनुहोस्। पछाडि हात बाँधेर उभिनु, ‘सतर्क’ अवस्थामा हात तनक्क तन्काउनु; कागज राख्ने स्ट्यान्ड बेस्सरी समात्नु; हात खल्तीभित्र हाल्नु वा खल्तीबाट झिक्नु; कोटको टाँक खोल्नु-लगाउनु; विनाकारण गाला, नाक, चस्मा छोइरहनु; घडी, सिसाकलम, औंठी वा कागज खेलाइरहनु; हातले अचानक अपूरो इशारा गर्नु आदि सबै तपाईं शान्त र सन्तुलित नभएको सङ्केत हो।
कहिले दायाँ खुट्टाको भरमा त कहिले बायाँ खुट्टाको भरमा उभिने गर्दा, कहिले दायाँतिर ढल्कने त कहिले बायाँतिर ढल्कने गर्दा, एकदमै अरट्ठो भएर उभिंदा, कुप्रो पर्दा, छिनछिनमा जिब्रोले ओठ भिजाउँदा, बारम्बार थुक निल्दा र छिटो-छिटो सास फेर्दा निर्धक्कपनको कमी देखिन्छ।
अतालिने बानीलाई कम गर्न जोडदार प्रयास गर्नुपर्छ। एक पटकमा एउटा समस्या मात्र पार लगाउने कोसिस गर्नुहोस्। समस्या खुट्याउनुहोस् र समस्या दोहोरिन नदिन के गर्न सकिन्छ पहिले नै विचार गर्नुहोस्। त्यसरी प्रयास गर्नुभयो भने शरीरको हावभावबाट पनि तपाईं शान्त र सन्तुलित हुनुहुन्छ भन्ने प्रमाण दिइरहेको हुनेछ।
स्वरमा देखिने लक्षण: तपाईंको स्वर अचाक्ली चर्को हुँदा वा स्वर काँप्दा तपाईं आत्तिएको कुरा स्पष्ट देखिन्छ। सायद तपाईं बारम्बार गला सफा गर्नुहुन्छ वा छिटो-छिटो बोल्नुहुन्छ। स्वरलाई नियन्त्रणमा राख्ने अथक प्रयास गर्दा यस्तो समस्या र बानी हटाउन सक्नुहुन्छ।
आत्तिएको महसुस गर्नुभयो भने मञ्चमा जानुअघि लामो-लामो सास फेर्नुहोस्। पूरै शरीरलाई तनावमुक्त बनाउनुहोस्। आफूलाई अत्यास लागेको कुराबारे मात्र सोच्नुको सट्टा तपाईंले तयारी गरेको कुरा श्रोतालाई किन बाँड्न चाहनुहुन्छ भन्ने कुरामा ध्यान दिनुहोस्। बोल्नुअघि श्रोतालाई हेर्नुहोस्, मित्रैलो लाग्ने कोही एक जनालाई हेरेर मुस्कुराउनुहोस्। परिचय प्रस्तुत गर्दा बिस्तारै बोल्नुहोस् र त्यसपछि प्रस्तुतिमा पूरै डुब्नुहोस्।
तपाईं के आशा गर्न सक्नुहुन्छ? तपाईं कहिले पनि आत्तिनुहुनेछैन भन्ने आशा नगर्नुहोस्। वर्षौंको अनुभव भएका वक्ताहरू पनि भाषण दिन मञ्चमा जाँदा आत्तिन्छन्। तर तिनीहरूले आफूलाई नियन्त्रणमा राख्न सिकिसकेका छन्। त्यस्तै अनुभव गरेका एक जना वक्ताले यसो भने: “भाषण दिनुअघि अझै पनि मलाई बेस्सरी डर लाग्छ तर अहिले भने आफ्नो डरलाई नियन्त्रणमा राख्न सिकेको छु।”
आत्तिएको कुरा अरूले प्रस्टै देख्न सक्ने लक्षणहरू हटाउन तपाईंले अथक प्रयास गर्नुभयो भने श्रोताले तपाईंलाई शान्त र सन्तुलित वक्ताको रूपमा हेर्नेछन्। तपाईं अझै आत्तिरहेको होला तर श्रोताले भने त्यो चालै पाउँदैनन्।
नबिर्सनुहोस्, एड्रिनालिन हार्मोन धेरै आउँदा आत्तिने भए तापनि त्यसबाट जोस पनि बढ्छ। त्यो जोस भावसहित बोल्न प्रयोग गर्नुहोस्।
माथि छलफल गरिएका यी सबै मञ्चमै गएर गरौंला भन्ने नसोच्नुहोस्। दैनिक जीवनमा कुराकानी गर्दा पनि शान्त र सन्तुलित हुन, नआत्तिन र सुहाउँदो भाव व्यक्त गर्न सिक्नुहोस्। मञ्चबाट भाषण दिंदा र प्रचार गर्दा तपाईं निर्धक्क भएर बोल्नु आवश्यक छ। त्यसैले यसरी दिनदिनै प्रयास गर्नुभयो भने तपाईं यस क्षेत्रमा सफल हुन सक्नुहुन्छ।