प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be study २३ p. १५७-p. १५९ par. ३
  • व्यावहारिक महत्त्व प्रस्ट पार्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • व्यावहारिक महत्त्व प्रस्ट पार्नुहोस्‌
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • श्रोताका लागि जानकारीमूलक
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • चासो जगाउने परिचय
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मण्डलीको लागि भाषणको तयारी गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • जनभाषण तयारी गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be study २३ p. १५७-p. १५९ par. ३

अध्याय २३

व्यावहारिक महत्त्व प्रस्ट पार्नुहोस्‌

तपाईंले के गर्नुपर्छ?

तपाईंले प्रस्तुत गर्ने विषयले प्रत्येक श्रोताको जीवनमा कस्तो असर पार्छ भनेर बुझ्न मदत गर्नुपर्छ वा उक्‍त विषयबाट लाभ उठाउन प्रत्येकले के गर्न सक्छन्‌, देखाउनुपर्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

तपाईंले भनेका कुराको व्यावहारिक महत्त्व मानिसहरूले बुझेनन्‌ भने तिनीहरू “मलाई चासो छैन” भन्‍न सक्छन्‌ वा मन अन्तै डुलाएर कान बन्द गर्न सक्छन्‌।

तपाईं कुनै व्यक्‍तिसित कुरा गरिरहेको होस्‌ वा थुप्रै मानिससामु बोलिरहेको होस्‌, तपाईंलाई चासो लाग्ने विषयवस्तु श्रोतालाई पनि चासो लाग्छ भनेर सोच्नु बुद्धिमानी होइन। तपाईंले दिने सन्देश महत्त्वपूर्ण छ तर त्यसको व्यावहारिक महत्त्व प्रस्ट्याउन बिर्सनुभयो भने तपाईंले लामो समयसम्म श्रोताको ध्यान खिचिरहन सक्नुहुन्‍न।

राज्यभवनमा आफ्नो विषय प्रस्तुत गर्दा पनि त्यही कुरा विचार गर्नुहोस्‌। श्रोताले पहिला कहिल्यै नसुनेको उदाहरण वा अनुभव बताउँदा तिनीहरूले चनाखो भएर सुन्लान्‌। तर तिनीहरूलाई पहिल्यै थाह भएको कुरा बताउन थाल्नुभयो र विशेषगरि त्यसबारे थप व्याख्या गर्नुभएन भने तिनीहरूलाई झ्याउँ लाग्न सक्छ। तपाईंले भन्‍ने कुरा तिनीहरूका लागि किन र कसरी फाइदाजनक छ, त्यो तिनीहरूलाई बुझाउनुपर्ने हुन्छ।

बाइबल हामीलाई व्यावहारिक भएर सोच्न प्रोत्साहन दिन्छ। (हितो. ३:२१) मानिसहरूलाई ‘असल काम गर्नेहरूको बुद्धितर्फ’ डोऱ्‍याउन यहोवाले बप्तिस्मा गराउने यूहन्‍नालाई प्रयोग गर्नुभयो। (लूका १:१७) यो बुद्धि यहोवाप्रतिको स्वस्थकर भयमा आधारित बुद्धि हो। (भज. १११:१०) यस्तो बुद्धिको कदर गर्नेहरूले अहिले पनि जीवनमा आइपर्ने समस्यासित सफलतासाथ डट्‌न र साँच्चैको जीवन अर्थात्‌ भविष्यमा पाउने अनन्त जीवन पक्रिराख्न मदत पाउँछन्‌।—१ तिमो. ४:८; ६:१९.

भाषण व्यावहारिक बनाउनुहोस्‌। भाषण व्यावहारिक हुने हो भने तपाईंले विषयवस्तुलाई मात्र होइन, श्रोतालाई पनि ध्यान दिनुपर्छ। तिनीहरू सबैलाई एउटै समूहको रूपमा नहेर्नुहोस्‌। त्यो समूह विभिन्‍न व्यक्‍ति र विभिन्‍न परिवार मिलेर बनेको हुन्छ। कुनै समूहमा केटाकेटी, कुनैमा किशोर-किशोरी, कुनैमा वयस्क त कुनैमा वृद्ध होलान्‌। चासो भएका नयाँ मानिसहरू र तपाईं जन्मनुभन्दा अघिदेखि नै यहोवाको सेवा गर्न थालेकाहरू पनि होलान्‌। कोही आध्यात्मिक रूपमा परिपक्व होलान्‌; अरूचाहिं संसारका खास मनोवृत्ति र आचरणद्वारा निकै प्रभावित भएका होलान्‌। आफैलाई सोध्नुहोस्‌: ‘मैले छलफल गर्ने विषयवस्तुले श्रोतालाई कसरी लाभ पुऱ्‍याउँछ? मुख्य कुरा बुझ्न म तिनीहरूलाई कसरी मदत गर्न सक्छु?’ तपाईंले यी समूहमध्ये एउटा वा दुइटालाई विशेष ध्यान दिएर भाषण प्रस्तुत गर्ने निर्णय गर्नुभएको हुन सक्छ। तर त्यसो भन्दैमा अरू समूहमा पर्ने श्रोतालाई पनि नबिर्सनुहोस्‌।

तपाईंलाई बाइबलको कुनै खास शिक्षाबारे छलफल गर्ने जिम्मा दिइएको छ भने नि? पहिल्यैदेखि त्यस शिक्षामा विश्‍वास गर्ने श्रोतालाई लाभ पुग्नेगरि तपाईं कसरी आफ्नो विषय प्रस्तुत गर्न सक्नुहुन्छ? श्रोताको विश्‍वास अझै बलियो बनाउने प्रयास गर्नुहोस्‌। कसरी? त्यस शिक्षालाई समर्थन गर्ने धर्मशास्त्रीय आधार दिएर। साथै बाइबलको त्यस शिक्षाप्रति तिनीहरूको कदर पनि बढाउन सक्नुहुन्छ। उक्‍त शिक्षा बाइबलका अन्य सत्यसित र यहोवाको व्यक्‍तित्वसित कसरी मेल खान्छ भनी देखाएर तपाईं यसो गर्न सक्नुहुन्छ। छलफल गरिरहेको त्यो शिक्षा बुझेर मानिसहरूले कस्तो लाभ उठाए अनि भविष्यप्रति तिनीहरूको दृष्टिकोणमा कस्तो परिवर्तन आयो, त्यो बताउन उदाहरणहरू प्रयोग गर्नुहोस्‌। सकिन्छ भने यसबारे वास्तविक अनुभव बताउनुहोस्‌।

भाषणको व्यावहारिक महत्त्वबारे समापनमा अलिकता मात्र बताएर पुग्दैन। भाषणको सुरुदेखि नै प्रत्येक श्रोताले ‘ओहो! यो त मेरै लागि रहेछ!’ भन्‍ने महसुस गर्न सक्नुपर्छ। यस्तो आधार बसालेपछि भाषणको बीचमा मुख्य-मुख्य बुँदा विस्तार गर्दा र भाषणको समापनमा पनि व्यावहारिक महत्त्वबारे बताउनुहोस्‌।

व्यवहारमा लागू गर्ने तरिका बताउँदा बाइबल सिद्धान्तसित मेल खाने शैलीमा बताउनुहोस्‌। कसरी? मायालु र समानुभूतिशील भएर। (१ पत्रु. ३:८; १ यूह. ४:८) थिस्सलोनिकाको समस्याबारे कुरा गर्दा समेत प्रेषित पावलले त्यहाँका ख्रीष्टियन भाइबहिनीको सकारात्मक पक्ष अर्थात्‌ तिनीहरूको आध्यात्मिक प्रगतितर्फ ध्यान खिच्न बिर्सेनन्‌। साथै छलफल गरेको विषयअनुसारै ती भाइबहिनी सही कदम चाल्न इच्छुक हुनेछन्‌ भन्‍ने विश्‍वस्तता पनि तिनले व्यक्‍त गरे। (१ थिस्स. ४:१-१२) हामीले अनुकरण गर्न सक्ने कस्तो राम्रो नमुना!

अरूलाई सुसमाचार प्रचार गर्न र सिकाउने काममा भाग लिन प्रोत्साहन दिने हेतुले पो भाषण दिंदै हुनुहुन्छ कि? प्रचार गर्ने सुअवसरप्रति श्रोताको उत्साह र कदर बढाउनुहोस्‌। तर त्यसो गर्दा हरेक व्यक्‍तिले प्रचारमा उत्तिकै मात्रामा भाग लिन सक्दैनन्‌ भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌ र बाइबलले पनि यो कुरा मानिलिन्छ। (मत्ती १३:२३) भाइबहिनीहरूलाई निराश वा दोषी महसुस नगराउनुहोस्‌। हिब्रू १०:२४ ले हामीलाई “एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित” बनाउन आग्रह गरेको छ। प्रेम गर्न उत्साहित बनाएका छौं भने अरूले असल मनसाय राखेर काम गर्नेछन्‌। ‘यसो गर्नै पर्छ’ भनेर आदेश नदिनुहोस्‌। हामीले ‘विश्‍वास देखाएर आज्ञाकारी बनेको’ यहोवा चाहनुहुन्छ भनेर मानिलिनुहोस्‌। (रोमी १६:२६) यो कुरा मनमा राखेर हामी आफ्नै र हाम्रा भाइबहिनीको विश्‍वास बलियो पार्ने कोसिस गर्छौं।

हाम्रो सन्देशको व्यावहारिक महत्त्व बुझ्न अरूलाई मदत गर्नुहोस्‌। अरूलाई साक्षी दिंदा सुसमाचारको व्यावहारिक महत्त्वबारे जोड दिन नबिर्सनुहोस्‌। यसको लागि तपाईंको इलाकाका मानिसहरूले के विषयमा बढी सोच्छन्‌, विचार गर्नुपर्छ। तपाईं यो कुरा कसरी पत्ता लगाउन सक्नुहुन्छ? रेडियो र टिभीमा आउने समाचार सुन्‍नुहोस्‌। खबरपत्रिकामा छापिएका मुख्य समाचार हेर्नुहोस्‌। साथै मानिसहरूलाई आफ्नो कुरामा सामेल गराउने प्रयास गर्नुहोस्‌ र उनीहरूले बोल्दा ध्यान दिएर सुन्‍नुहोस्‌। उनीहरू जागिर, घर-भाडा, रोगबिमार, परिवारको कुनै सदस्यको मृत्यु, अपराध, अख्तियारमा भएका व्यक्‍तिबाट अन्याय, वैवाहिक सम्बन्ध टुट्‌नु, छोराछोरीलाई तह लगाउन नसक्नु र अन्य त्यस्तै गम्भीर समस्यासित जुझिरहेका होलान्‌। के बाइबलले तिनीहरूलाई मदत गर्न सक्छ? पक्कै सक्छ।

सायद तपाईंले कुनै विषयलाई मनमा राखेर कुराकानी सुरु गर्नुभएको होला। तर तपाईंसित कुरा गर्ने व्यक्‍तिले आफूलाई अर्कै विषयमा चिन्ता लागिरहेको कुरा बताउँदा सक्नुहुन्छ भने त्यही विषयमा कुराकानी गर्ने जमर्को गर्नुहोस्‌। होइन भने ‘मदतकारी जानकारी लिएर अर्को पटक आउँछु’ भन्‍नुहोस्‌। हो, हामी “आफूसित सरोकार नभएका कुराहरूमा भने हस्तक्षेप” गर्दैनौं तर बाइबलले दिने व्यावहारिक सल्लाह मानिसहरूलाई बाँड्‌छौं। (२ थिस्स. ३:११) हुन पनि मानिसको जीवनसित सम्बन्धित सल्लाह बाइबलबाट दिनु जत्तिको प्रभावकारी अरू केही छैन।

हाम्रो सन्देशले मानिसहरूलाई व्यक्‍तिगत रूपमा असर गर्छ भनेर तिनीहरूले बुझ्न सकेनन्‌ भने तिनीहरू तुरुन्तै कुरा टुङ्‌ग्याउँछन्‌। तिनीहरूले हामीलाई कुरा गर्न दिए तापनि हामीले विषयको व्यावहारिक महत्त्व देखाउन सकेनौं भने हाम्रो सन्देशले तिनीहरूको जीवनमा रत्तीभर असर गर्दैन। तर यसको ठीक विपरीत हाम्रो सन्देशको व्यावहारिक महत्त्व प्रस्ट बताएका छौं भने मानिसहरूको जीवनमा आमूल परिवर्तन हुन सक्छ।

बाइबल अध्ययन सञ्चालन गर्दा छलफल गरिएको विषयको व्यावहारिक महत्त्वमाथि जोड दिनुहोस्‌। (हितो. ४:७) यहोवाको मार्गमा हिंड्‌न मदत गर्ने बाइबल सल्लाह, सिद्धान्त र उदाहरण बुझ्न बाइबल विद्यार्थीलाई मदत गर्नुहोस्‌। यसरी हिंड्‌दा पाइने फाइदामा जोड दिनुहोस्‌। (यशै. ४८:१७, १८) यसो गर्दा आफ्नो जीवनमा आवश्‍यक परिवर्तन गर्न विद्यार्थी उत्प्रेरित हुनेछन्‌। यहोवाप्रतिको प्रेम विकास गर्न र उहाँलाई खुसी पार्ने इच्छा जगाउन विद्यार्थीलाई परमेश्‍वरको वचनको सल्लाह लागू गर्न उत्प्रेरित गर्नुहोस्‌।

यसो कसरी गर्न सकिन्छ?

  • भाषण तयार गर्दा विषयवस्तुबारे मात्र होइन श्रोतालाई पनि विचार गर्नुहोस्‌। श्रोताले धेरैभन्दा धेरै फाइदा उठाउन सक्ने तरिकामा भाषण प्रस्तुत गर्नुहोस्‌।

  • लागू गर्न सकिने कुरा भाषणको समापनमा मात्रै बताउनुहुँदैन; भाषणभरि नै बताउनुपर्छ।

  • साक्षी दिने तयारी गर्दा तपाईंको इलाकाका मानिसहरूले के विषयमा बढी सोच्छन्‌, विचार गर्नुहोस्‌।

  • साक्षी दिंदा अरूले भन्‍ने कुरा ध्यान दिएर सुन्‍नुहोस्‌ र आफ्नो प्रस्तुति त्यसैअनुसार ढाल्नुहोस्‌।

अभ्यास गर्नुहोस्‌:- तपाईंसित भएको हाम्रो राज्य सेवा-को कुनै अङ्‌कबाट तपाईंको इलाकामा ठ्याक्कै सुहाउने एउटा वा दुइटा प्रस्तुति छान्‍नुहोस्‌। त्यसलाई प्रचारमा लागू गर्ने प्रयास गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने