प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be अध्या. ३९ पृ. २२०-पृ. २२२ अनु. ७
  • प्रभावकारी समापन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रभावकारी समापन
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • प्रभावकारी समापन
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मुख्य बुँदालाई जोड दिने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • रूपरेखा बनाउने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • चासो जगाउने परिचय
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be अध्या. ३९ पृ. २२०-पृ. २२२ अनु. ७

अध्याय ३९

प्रभावकारी समापन

तपाईंले के गर्नुपर्छ?

तपाईंले आखिरीमा भनेको कुराअनुसारै श्रोता कदम चाल्न उत्प्रेरित हुनेगरि कुरा टुङ्‌ग्याउनुपर्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

समापनमा भन्‍ने कुरा अक्सर पछिसम्म याद हुन्छ। समापन प्रभावकारी छ भने पूरै भाषण प्रभावकारी हुन्छ।

भाषणको मुख्य भाग प्रस्तुत गर्नको लागि तपाईंले आफ्नो विषयवस्तु राम्ररी अनुसन्धान गर्नुभयो होला अनि त्यसलाई क्रमबद्ध रूपमा मिलाएर पनि राख्नुभयो होला। चासो जगाउने परिचय पनि तयार पार्नुभयो होला। तैपनि एउटा कुरा गर्न बाँकी छ—त्यो हो प्रभावकारी ढङ्‌गमा कुरा टुङ्‌ग्याउने। यसको महत्त्वलाई कम नठान्‍नुहोस्‌। तपाईंले आखिरमा भन्‍ने कुरा अक्सर पछिसम्म याद हुन्छ। समापन फितलो भयो भने भाषणमा त्यसअघि भनेको कुरा जत्ति नै प्रभावकारी भए तापनि त्यसको कुनै अर्थ रहँदैन।

यो कुरा याद गर्नुहोस्‌: आफ्नो जीवनको अन्ततिर यहोशूले इस्राएलका बूढा-प्रधानहरूलाई अविस्मरणीय भाषण दिए। अब्राहामको पालादेखि यहोवाले इस्राएलीहरूसित गरेको व्यवहार याद गर्दै यहोशूले सारांश मात्र बताए कि? अहँ, बताएनन्‌। बरु तिनले आफ्नो भित्री भावना पोख्दै इस्राएलीहरूलाई यसरी अर्ती दिए: “परमप्रभुको भय मान, र निष्कपट र सत्यतासाथ उहाँको सेवा गर।” यहोशूले आफ्नो कुरा कसरी टुङ्‌ग्याए, यहोशू २४:१४, १५ आफैले पढेर थाह पाउनुहोस्‌।

अर्को उल्लेखनीय भाषण प्रेषित २:१४-३६ मा पाउँछौं। उक्‍त भाषण इस्वी संवत्‌ ३३ मा यरूशलेममा चाड मान्‍न आएका मानिसहरूलाई प्रेषित पत्रुसले दिएका थिए। परमेश्‍वरले पवित्र शक्‍ति खन्याउने विषयमा योएलले गरेको भविष्यवाणी पूरा भएको प्रमाण मानिसहरूले देखिरहेका छन्‌ भनेर पत्रुसले सुरुमै बताए। त्यसपछि तिनले यो कुरा भजनसङ्‌ग्रहमा मसीहबारे गरिएको भविष्यवाणीसित सम्बन्धित छ भनेर बताए। भजनसङ्‌ग्रहमा येशू ख्रीष्ट पुनर्जीवित हुने र स्वर्गमा परमेश्‍वरको दाहिने हाततर्फ बस्ने विषयमा भविष्यवाणी गरिएको थियो। त्यसपछि कुरा टुङ्‌ग्याउनुअघि पत्रुसले सम्पूर्ण श्रोता मुछिएको विषय प्रस्तुत गरे। तिनले यसो भने: “त्यसकारण इस्राएलको सबै घरानालाई अवश्‍य थाह होस्‌ कि तिनै येशू, जसलाई तपाईंहरूले खम्बामा टाँग्नुभयो, उहाँलाई परमेश्‍वरले प्रभु र ख्रीष्ट दुवै बनाउनुभयो।” त्यसपछि उपस्थित सबैले तिनलाई सोधे: “भाइहरू हो, त्यसोभए हामी के गरौं?” पत्रुसले जवाफ दिए: “पश्‍चात्ताप गर्नुहोस्‌ र तपाईंहरू हरेकले . . . येशू ख्रीष्टको नाममा बप्तिस्मा गर्नुहोस्‌।” (प्रेषि. २:३७, ३८) त्यस दिन लगभग ३,००० मानिसहरू पत्रुसको कुरा सुनेर उत्प्रेरित भए र येशू ख्रीष्टबारे दिइएको सत्यलाई तिनीहरूले अङ्‌गाले।

मनमा राख्नुपर्ने बुँदाहरू: भाषणको समापनमा जे भन्‍नुहुन्छ, त्यो तपाईंको भाषणको मूल-विषयसित सम्बन्धित हुनुपर्छ। तपाईंले भाषणभरि व्याख्या गरेका मुख्य बुँदाहरूको सार तार्किक ढङ्‌गमा प्रस्तुत गर्नुपर्छ। मूल-विषयमा प्रयोग गरिएका केही मुख्य शब्द दोहोऱ्‍याउन चाहनुहुन्छ होला तर एक-एक शब्द नै दोहोऱ्‍याउनुपर्छ भन्‍ने छैन।

सामान्यतया, तपाईंको उद्देश्‍य प्रस्तुत जानकारीको आधारमा अरूलाई कदम चाल्न प्रोत्साहन दिनु हो। भाषणको समापनको एउटा मुख्य उद्देश्‍य श्रोतालाई कदम चाल्न मदत गर्नु हो। मूल-विषय र मुख्य बुँदाहरू छानिसकेपछि प्रस्तुत गर्न लागेको विषयवस्तु श्रोताको लागि किन महत्त्वपूर्ण छ र तपाईंले उक्‍त विषयवस्तु प्रस्तुत गर्नुको उद्देश्‍य के हो, राम्ररी विचार गर्नुभयो? विचार गर्नुभएको छ भने तपाईं श्रोतालाई कस्तो कदम चाल्न लगाउन चाहनुहुन्छ, त्यो तपाईंलाई थाह हुन्छ। अब त्यो कदम के हो श्रोतालाई बताउनुपर्छ। साथै त्यो कदम कसरी चाल्ने, त्यो पनि बताउनुपर्ने हुन्छ।

तपाईंले समापनमा भन्‍ने कुराले श्रोतालाई के गर्नुपर्छ भनेर देखाउनुपर्छ साथै उत्प्रेरणा पनि दिनुपर्छ। यसको लागि त्यो कदम किन चाल्नुपर्छ, त्यसको ठोस कारण बताउनुपर्छ र सम्भवतः त्यसबाट पुग्न सक्ने लाभबारे पनि बताउन सक्नुहुन्छ। अन्तिम वाक्य विचार पुऱ्‍याएर अनि राम्रा शब्दहरू छानेर बनाइएको छ भने पूरै भाषण प्रभावकारी साबित हुन्छ।

भाषण सिद्धिन लाग्यो भनेर मनमा राख्नुहोस्‌। तपाईंको बोलीले यो कुराको छनक दिनुपर्छ। तपाईंको भाषण दिने गति पनि उपयुक्‍त किसिमको हुनुपर्छ। सुरुदेखि अन्तसम्म एउटै गतिमा बोलेर अन्तमा अचानक नरोकिनुहोस्‌। अनि आफ्नो आवाज घटाउँदै लैजाने पनि नगर्नुहोस्‌। तपाईंको आवाज ठिक्कको हुनुपर्छ, अति चर्को वा अति मसिनो होइन। आखिरीमा बताउने वाक्यहरूले भाषण सिद्धिन लाग्यो भन्‍ने सङ्‌केत दिनुपर्छ। ती वाक्यहरू भन्‍ने बेला उत्साह र विश्‍वस्तता झल्किनुपर्छ। त्यसकारण भाषणको तयारी गर्दा त्यसको समापन गर्ने तरिकाको पनि अभ्यास गर्नुहोस्‌।

समापन कति लामो हुनुपर्छ? समापनको लागि छुट्ट्याइएको समयको आधारमा यो कुरा निर्धारण गर्न सकिंदैन। समापनलाई अनावश्‍यक रूपमा तन्काउनुहुँदैन। समापनको लम्बाइ त्यसले श्रोतामा पार्ने प्रभावले निर्धारण गर्छ। सरल, सटिक अनि सकारात्मक समापन सधैं राम्रो मानिन्छ। छोटो दृष्टान्त प्रयोग गर्दा समापन अलि लामो हुने भए तापनि सोचविचार गरेर बनाउनुभएको छ भने त्यो पनि प्रभावकारी हुन्छ। उपदेशकको सम्पूर्ण पुस्तकको समापन र यस पुस्तकको दाँजोमा निकै छोटो डाँडामा दिइएको उपदेशको समापनबीच तुलना गर्नुहोस्‌। उपदेशकको सम्पूर्ण पुस्तकको छोटो समापन उपदेशक १२:१३, १४ मा पाइन्छ भने डाँडामा दिइएको उपदेशको समापनचाहिं मत्ती ७:२४-२७ मा लिपिबद्ध गरिएको छ।

प्रचारमा: प्रचारमा जाँदा समापन गर्न जान्‍नु निकै महत्त्वपूर्ण छ भनेर तपाईंले थाह पाउनुहुनेछ। राम्रो तयारी गर्दा अनि मानिसहरूप्रति मायालु चासो देखाउँदा तपाईं राम्रो नतिजा हासिल गर्न सक्नुहुन्छ। माथि दिइएका सल्लाहलाई घरधनीसित कुरा गर्दा पनि लागू गर्नुभयो भने लाभ उठाउन सक्नुहुनेछ।

कुराकानी निकै छोटो हुन सक्छ। तपाईंले भेटेको मान्छे व्यस्त होलान्‌। तपाईंले मिनेटभरमै आफ्नो कुरा टुङ्‌ग्याउनुपर्ला। उपयुक्‍त भए यस्तै केही भन्‍न सक्नुहुन्छ: “व्यस्त हुनुहुँदोरहेछ। तैपनि एउटा प्रोत्साहनदायी कुरा बताऊँ है। मानिसहरू सधैंभरि सुखपूर्वक यस पृथ्वीमा बाँच्नेछन्‌ भन्‍ने परमेश्‍वरको अद्‌भुत उद्देश्‍यबारे बाइबलमा लेखिएको छ। हामी पनि त्यस्तो सुन्दर पृथ्वीमा बस्न सक्छौं तर त्यसको लागि तपाईंले परमेश्‍वरले तोकेको स्तर बुझ्नुपर्छ।” अथवा पायक पर्ने समयमा आउँछु भनेर बताउन सक्नुहुन्छ।

घरधनीले बीचैमा कुरा काटे अथवा रिसाए भने पनि तपाईं राम्रो नतिजा हासिल गर्न सक्नुहुन्छ। मत्ती १०:१२, १३ र रोमी १२:१७, १८ मा पाइने सल्लाहलाई मनमा राख्नुहोस्‌। तपाईंले नम्र हुँदै दिएको जवाफले गर्दा हामी साक्षीहरूप्रतिको तिनको दृष्टिकोण बदलिन सक्छ। यसलाई पनि राम्रो परिणामको रूपमा लिन सकिन्छ।

अर्कोतर्फ तपाईंले घरधनीसित चित्तबुझ्दो तरिकामा कुराकानी गर्नुभएको होला। तिनले सम्झून्‌ भनेर मुख्य बुँदा दोहोऱ्‍याउनुहोस्‌। त्यसअनुसार कदम चाल्न तिनलाई उत्प्रेरणा दिनुहोस्‌।

अर्को पटक पनि कुराकानी गर्न सकिन्छ जस्तो लाग्यो भने अर्को भेटको लागि घरधनीलाई उत्सुक बनाउन केही बुँदा बताउनुहोस्‌। कुनै एउटा प्रश्‍न सोध्नुहोस्‌। धर्मशास्त्रबाट तर्क गर्ने (अङ्‌ग्रेजी) पुस्तक अथवा बाइबल अध्ययन सञ्चालन गर्न तयार पारिएको प्रकाशनबाट कुनै एउटा प्रश्‍न रोज्न सक्नुहुन्छ। आफ्नो लक्ष्य कहिल्यै नबिर्सनुहोस्‌। यो लक्ष्यबारे येशूले बताउनुभएको थियो, जुन मत्ती २८:१९, २० उल्लेख गरिएको छ।

बाइबल अध्ययन टुङ्‌ग्याउँदै हुनुहुन्छ भने के गर्न सक्नुहुन्छ? छलफल गरेको कुरा विद्यार्थीले सम्झून्‌ भनेर मूल-विषय दोहोऱ्‍याउनु राम्रो हुन्छ। पुनरावलोकनका लागि दिइएका प्रश्‍नहरू छलफल गर्दा र त्यसमा पनि हतार नगरीकन छलफल गर्दा विद्यार्थीले मुख्य बुँदाहरू याद गर्न सक्छन्‌। छलफल गरेको विषयले विद्यार्थीलाई कसरी लाभ पुऱ्‍याउँछ अनि तिनले त्यो कुरा अरूसित कसरी बाँड्‌न सक्छन्‌ भन्‍ने विषयमा प्रश्‍न सोध्नुहोस्‌। यसो गर्नुभयो भने सिकेको कुरा कसरी व्यवहारमा उतार्न सकिन्छ भनेर विद्यार्थीले सोच्ने मौका पाउँछन्‌।—हितो. ४:७.

याद राख्नुहोस्‌, भाषणको समापनले नै तपाईंको पूरै भाषण कत्तिको प्रभावकारी भयो, त्यो देखाउँछ।

यसो कसरी गर्न सकिन्छ?

  • तपाईंले प्रस्तुत गरेको विचारसित तपाईंको समापन ठ्याक्कै मेल खान्छ कि खाँदैन, पक्का गर्नुहोस्‌।

  • सुनेको कुराअनुसार कदम चाल्न के गर्नुपर्छ, श्रोतालाई बताउनुहोस्‌।

  • आफूले भन्‍ने कुरा र भन्‍ने तरिकाबाट श्रोतालाई उत्प्रेरणा दिनुहोस्‌।

अभ्यास गर्नुहोस्‌:- प्रचारमा कुरा टुङ्‌ग्याउने दुईवटा तरिका तयार गर्नुहोस्‌:- (१) घरधनीले बीचैमा कुरा काटेका छन्‌ अथवा घरधनीसित त्यति समय छैन भने के भन्‍ने? (२) अर्को भेटमा छलफल गर्न कस्तो प्रश्‍न सोध्ने?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने