प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be अध्या. ४९ पृ. २५५-पृ. २५७ अनु. ३
  • मनासिब तर्क प्रस्तुत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मनासिब तर्क प्रस्तुत गर्नुहोस्‌
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल पद प्रभावकारी ढङ्‌गमा प्रस्तुत गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • बाइबल पदको उपयोगिता बताउनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • श्रोताका लागि जानकारीमूलक
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • बाइबल खोलेरै पढ्‌न प्रोत्साहन दिनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be अध्या. ४९ पृ. २५५-पृ. २५७ अनु. ३

अध्याय ४९

मनासिब तर्क प्रस्तुत गर्नुहोस्‌

तपाईंले के गर्नुपर्छ?

तपाईंले भनेको कुरालाई समर्थन गर्ने सन्तोषजनक प्रमाण पेस गर्नुपर्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

तपाईंले भनेको कुरा साँचो हो भनेर विश्‍वस्त नभएसम्म श्रोताले त्यस कुरा पत्याउँदैनन्‌ वा त्यसअनुसार कदम चाल्दैनन्‌।

तपाईंले भनेको कुनै कुरामा श्रोतालाई यस्तो प्रश्‍न सोध्ने पूरापूर हक छ: “के यो कुरा साँचो हो? वक्‍ताले भनेको कुरा स्वीकार्नुपर्ने आधार के छ?” शिक्षक भएकोले तपाईंले त्यस्ता प्रश्‍नहरूको जवाफ दिनुपर्छ वा श्रोतालाई त्यसको जवाफ पत्ता लगाउन मदत गर्नुपर्छ। तपाईंले भन्‍ने कुरा तपाईंले प्रस्तुत गरेको तर्कको मुख्य बुँदा हो भने श्रोताले त्यसलाई स्वीकार्न सक्ने बलियो कारण दिनुपर्छ। यसो गर्दा तपाईंको प्रस्तुति श्रोतालाई मनाउन सक्ने किसिमको हुन्छ।

प्रेषित पावलले आफ्ना श्रोतालाई मनाए। मनासिब अनि अकाट्य तर्क प्रस्तुत गरेर अनि बिन्तीभाउ गरेर प्रेषित पावलले आफ्ना श्रोताहरूको मन बदल्न खोजे। तिनले हाम्रो लागि राम्रो उदाहरण बसाले। (प्रेषि. १८:४; १९:८) हो, कुरा गर्न खप्पिस केही व्यक्‍ति मानिसहरूलाई गलत काम गर्न उक्साउँछन्‌। (मत्ती २७:२०; प्रेषि. १४:१९; कल. २:४) सायद तिनीहरू गलत धारणालाई लिएर कुरा सुरु गर्छन्‌ र पक्षपात गरेर लेखिएको स्रोत-सामग्रीमा भर पर्छन्‌, आधारहीन तर्क प्रयोग गर्छन्‌, आफू सहमत नभएको तथ्यलाई बेवास्ता गर्छन्‌ अथवा श्रोतासामु तर्क प्रस्तुत गर्नुको साटो भावनालाई असर गर्ने कुराहरू मात्र प्रस्तुत गर्छन्‌। यी सम्पूर्ण तौरतरिकाबाट हामी टाढै बस्नुपर्छ।

पूर्णतया परमेश्‍वरको वचनमा आधारित: हामीले अरूलाई आफ्नै कुरा सिकाउनुहुँदैन। बरु बाइबलबाट सिकेको कुरा बाँड्‌ने कोसिस गर्नुपर्छ। यसो गर्न हामीलाई विश्‍वासी र बुद्धिमान्‌ दास वर्गले तयार पारिदिएको प्रकाशनले मदत गर्छ। यस्ता प्रकाशनले हामीलाई होसियारीसाथ बाइबल केलाउन प्रोत्साहन दिन्छ। त्यसकारण हामी अरूलाई पनि होसियारीसाथ बाइबल केलाउन आग्रह गर्छौं। तर हाम्रो उद्देश्‍य आफ्नो कुरा सही साबित गर्ने होइन। बरु तिनीहरू आफैले बाइबलको कुरा जाँचून्‌ भनेर हामी विनम्र आग्रह गर्छौं। हामी येशू ख्रीष्टको कुरासित सहमत छौं। उहाँले प्रार्थनामा आफ्नो बुबालाई यसो भन्‍नुभयो: “तपाईंको वचन सत्य हो।” (यूह. १७:१७) स्वर्ग अनि पृथ्वीका सृष्टिकर्ता यहोवा परमेश्‍वरको भन्दा माथि अरू कसैको अख्तियार छैन। त्यसकारण परमेश्‍वरको वचनमा आधारित तर्क गऱ्‍यौं भने मात्र त्यो मनासिब हुन सक्छ।

कहिलेकाहीं तपाईंले बाइबलको विषयमा थाह नै नभएको वा बाइबललाई परमेश्‍वरको वचन हो भनेर नस्वीकार्ने व्यक्‍तिसित कुरा गर्नुपर्ने हुन सक्छ। त्यस्ता व्यक्‍तिहरूसित कुरा गर्दा तपाईंले कहिले अनि कसरी बाइबल पद देखाउने, त्यस सन्दर्भमा सुझबुझ चलाउनुपर्छ। तर तपाईंले जतिसक्दो चाँडो त्यस व्यक्‍तिको ध्यान तपाईंले प्रस्तुत गरेको जानकारीको आधिकारिक स्रोत बाइबलतर्फ खिच्नुपर्छ।

अकाट्य तर्क प्रस्तुत गर्नको लागि तपाईंले कुरा गरिरहेको विषयसित मेल खाने बाइबल पद मात्र देखाएर पुग्छ? सायद नपुग्न सक्छ। तपाईंले भनिरहेको कुरालाई उक्‍त बाइबल पदले साँच्चै नै समर्थन गर्छ भनेर देखाउनको लागि तपाईंले त्यस पदको प्रसङ्‌गतर्फ श्रोताको ध्यान खिच्नुपर्ने हुन सक्छ। यदि तपाईं बाइबल पदबाट हामी ख्रीष्टियनले पालन गर्नुपर्ने कुनै सिद्धान्तबारे कुरा गर्दै हुनुहुन्छ तर त्यस पदको प्रसङ्‌गमा त्यसबारे चर्चा गरिएको छैन भने थप प्रमाण दिनुपर्ने हुन सक्छ। तपाईंले भनिरहेको कुरा साँच्चै बाइबलमा आधारित छ भनेर श्रोताको चित्त बुझाउने हो भने तपाईंले आफ्नो विषयसित सम्बन्धित अरू बाइबल पद देखाउनुपर्ने हुन सक्छ।

बाइबल पदमा जे बताइएको छ, त्यसभन्दा बढी नबताउनुहोस्‌। ध्यान दिएर बाइबल पद पढ्‌नुहोस्‌। तपाईंले छलफल गरिरहेको विषयप्रति सर्वसाधारणले राख्ने धारणासित उक्‍त पद सम्बन्धित हुन सक्छ। तैपनि अरूलाई मनाउने खालको तर्क गर्ने हो भने तपाईंले भनिरहेको कुरालाई त्यस पदले प्रमाणित गर्छ भनेर श्रोताले बुझेको हुनै पर्छ।

बाहिरी प्रमाणद्वारा आफ्ना कुरा सही साबित गर्नुहोस्‌। बाइबलको कुरा व्यावहारिक छ भनेर श्रोतालाई बुझाउन कहिलेकाहीं तपाईंले अन्य भरपर्दा स्रोतबाट प्रमाण पेस गर्नु मदतकारी हुन सक्छ।

जस्तो कि, सृष्टिकर्ता हुनुहुन्छ भनेर बुझाउन तपाईं ब्रह्‍माण्डमा भएका कुराहरूलाई प्रमाणको रूपमा पेस गर्न सक्नुहुन्छ। गुरुत्वाकर्षण जस्ता प्राकृतिक नियमहरूतर्फ तपाईं श्रोताको ध्यान खिच्न सक्नुहुन्छ। त्यस्ता नियमहरूले एक जना नियमदाता हुनुहुन्छ भनेर देखाउँछ भन्दै तर्क गर्न सक्नुहुन्छ। यदि तपाईंले प्रस्तुत गरेको तर्क परमेश्‍वरको वचनमा बताइएको कुरासित मेल खान्छ भने त्यो तर्क सही हुनेछ। (अय्यू. ३८:३१-३३; भज. १९:१; १०४:२४; रोमी १:२०) यस्तो प्रमाण दिनु मदतकारी हुन्छ किनभने यसले बाइबलमा लेखिएको कुरा हाम्रो आँखाले देख्न सक्ने तथ्यहरूसित मेल खान्छ भनेर पुष्टि गर्छ।

बाइबल साँच्चै नै परमेश्‍वरको वचन हो भनेर के तपाईं कसैलाई बुझाउन खोज्दै हुनुहुन्छ? सायद तपाईं यो कुराको पुष्टि गर्न विद्धान्‌हरूको भनाइ उद्धरण गर्नुहुन्छ होला। तर के तिनीहरूको भनाइ उद्धरण गर्दैमा बाइबल परमेश्‍वरको वचन हो भन्‍ने कुरा प्रमाणित हुन्छ र? ती विद्धान्‌हरूलाई आदर गर्ने व्यक्‍तिहरूले मात्र तिनीहरूको कुरा पत्याउलान्‌। के तपाईं विज्ञानको आधारमा बाइबल सत्य हो भनेर प्रमाणित गर्न सक्नुहुन्छ? यदि तपाईं त्रुटिपूर्ण वैज्ञानिकहरूको धारणालाई लिएर आफ्नो कुरा साबित गर्न खोज्दै हुनुहुन्छ भने तपाईंको कुराको जग त्यत्ति बलियो हुँदैन। तर अर्कोतर्फ यदि तपाईंले परमेश्‍वरको वचनमा उल्लेख गरिएका विज्ञानसित सम्बन्धित कुराहरू पहिला बताउनुभयो र त्यसपछि वैज्ञानिक उपलब्धिले त्यो कुरालाई कसरी पुष्टि गर्छ भनेर बताउनुभयो भने तपाईंको कुराको जग बलियो हुनेछ।

जुनसुकै कुरालाई प्रमाणित गर्न खोजिरहेको भए तापनि प्रशस्त प्रमाण पेस गर्नुहोस्‌। कति प्रमाण पेस गर्ने भन्‍ने कुरा श्रोतामा निर्भर हुन्छ। उदाहरणका लागि, यदि तपाईं २ तिमोथी ३:१-५ मा वर्णन गरिएको अन्तको दिनबारे छलफल गर्दै हुनुहुन्छ भने मानिसहरूमा “स्वाभाविक स्नेह” छैन भनेर बुझाउन सबैलाई थाह भएको कुनै एउटा समाचार सुनाउन सक्नुहुन्छ। अन्तको दिनको चिन्हको यो पक्ष अहिले हाम्रो समयमा पूरा भइरहेको छ भनेर बुझाउन यो एउटा उदाहरण पर्याप्त हुन सक्छ।

मनासिब तर्क प्रस्तुत गर्नको लागि सादृश्‍य प्रयोग गर्नु अर्थात्‌ कुनै खास पक्ष समान भएको दुई भिन्‍नाभिन्‍नै चीज आपसमा तुलना गरेर हेर्नु अक्सर मदतकारी हुन्छ। सादृश्‍य प्रयोग गर्दैमा भन्‍न खोजेको कुरा सत्य साबित हुँदैन; तपाईंको कुरा सत्य हो भनेर थाह पाउन तिनले बाइबलमा लेखिएको कुरासित दाँजेर हेर्नुपर्ने हुन्छ। तर यसरी श्रोतालाई समानता बुझाउँदा तिनीहरूले तपाईंको कुरा कत्तिको सत्य हो भनेर बुझ्न मदत पाउनेछन्‌। उदाहरणका लागि, परमेश्‍वरको राज्य एउटा सरकार हो भनेर बुझाउन तपाईंले त्यसलाई मानव सरकारसित तुलना गर्न सक्नुहुन्छ। मानव सरकारमा जस्तै परमेश्‍वरको सरकारमा पनि शासक, जनता, नियम-कानुन, न्यायपालिका अनि शैक्षिक प्रणाली छ भन्‍ने कुरालाई तपाईं औल्याउन सक्नुहुन्छ।

बाइबलका सल्लाहहरू लागू गर्नु बुद्धिमानी हो भनेर देखाउन तपाईं वास्तविक जीवनमा आधारित अनुभवहरू पनि बताउन सक्नुहुन्छ। आफूले भनेको कुरा सही हो भनेर प्रमाणित गर्न तपाईं आफ्नै अनुभवहरू पनि बताउन सक्नुहुन्छ। उदाहरणका लागि, कुनै व्यक्‍तिलाई बाइबल पढ्‌नु अनि अध्ययन गर्नुको महत्त्वबारे बुझाउँदै हुनुहुन्छ भने त्यसो गर्दा आफैलाई कस्तो लाभ पुगेको छ, बताउन सक्नुहुन्छ। आफ्ना ख्रीष्टियन भाइहरूलाई प्रोत्साहन दिन प्रेषित पत्रुसले येशूको रूप परिवर्तनबारे बताए, जुन कुराको साक्षी तिनी आफै थिए। (२ पत्रु. १:१६-१८) पावलले पनि आफ्ना अनुभवहरू बताए। (२ कोरि. १:८-१०; १२:७-९) तर व्यक्‍तिगत अनुभव सकेसम्म थोरै बताउनुपर्छ। आफ्नो अनुभव धेरै बताउँदा श्रोताको ध्यान अनावश्‍यक रूपमा तपाईंतिर खिचिन्छ।

मानिसहरूको पृष्ठभूमि अनि सोचाइ फरक-फरक हुने भएको कारण तपाईंले पेस गर्ने प्रमाणले कसैको चित्त बुझाउन सकिन्छ त कसैको सकिंदैन। त्यसकारण कस्तो तर्क प्रस्तुत गर्ने अनि कसरी प्रस्तुत गर्ने भन्‍ने कुरा निर्णय गर्दा श्रोताको दृष्टिकोण बुझ्ने प्रयास गर्नुहोस्‌। “ज्ञानी मानिसको मनले बोली सम्हाल्छ, र त्यसको मुखले बोलेको कुराले बुद्धि बढाउँछ” अर्थात्‌ बोलेको कुराले मनाउँछ भनेर हितोपदेश १६:२३ बताउँछ।

यसो कसरी गर्न सकिन्छ?

  • कुनै कुरा सही हो भनेर मात्र पुग्दैन; महत्त्वपूर्ण बुँदाहरूलाई समर्थन गर्ने सन्तोषजनक प्रमाणहरू पनि पेस गर्नुहोस्‌।

  • पूर्णतया बाइबलमा आधारित तर्क प्रस्तुत गर्नुहोस्‌।

  • तपाईंले भनेको कुराको उद्देश्‍यसित मेल खाने अनि श्रोताको आवश्‍यकता पूरा गर्ने बाहिरी प्रमाणहरू पेस गर्नुहोस्‌।

अभ्यास गर्नुहोस्‌:- (१) धर्मशास्त्रबाट तर्क गर्ने (अङ्‌ग्रेजी) किताबमा “येशू ख्रीष्ट” लेखिएको शीर्षक पल्टाउनुहोस्‌। त्यसमा बाइबललाई नै जोड दिने तरिकामा प्रश्‍नहरूको जवाफ कसरी दिइएको छ, याद गर्नुहोस्‌। (२) प्रहरीधरहरा अथवा ब्यूँझनुहोस्‌! पत्रिकाको आवरण लेख जाँच्नुहोस्‌। ती लेखमा विस्तार गरिएका मुख्य-मुख्य बुँदा छान्‍नुहोस्‌। मुख्य-मुख्य बाइबल पदमा धर्सो तान्‍नुहोस्‌ र बाहिरी स्रोतबाट लिइएका प्रमाणहरूमा चिनो लगाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने