सन् १९९३-को “ईश्वरीय शिक्षा” जिल्ला सम्मेलनबाट पूर्ण लाभ उठाउनु होस्
१ “हे यहोवा, मलाई तपाईंको मार्ग सिकाउनु होस्।” (भजन ८६:११) यही नै परमेश्वरको प्रत्येक समर्पित सेवकको हार्दिक बिन्ती हुनु पर्छ। सिक्न र सिकेका कुराहरू प्रयोगमा ल्याउन कहिले पनि नछाडने फैसला हामीले गरेका छौं। तथापि समय समयमा हामीले आफ्नो सोचविचारमा छाँटकाँट ल्याउनु आवश्यक हुन्छ। यसकारण भजनरचयिताले झैं हामीले पनि परमेश्वरलाई हाम्रो मन एकचित्तको पारिदिनु होस् र हामी दोमनको हुन नपरोस् भनेर विनम्र बिन्ती गर्नुपर्छ। यस रीतिरिवाजको दबावको माझमा यहोवालाई विश्वासिलो भएर सेवा गर्न हामीलाई चाहिन्दो व्यावहारिक उपदेश र छाँटकाँट “ईश्वरीय शिक्षा” जिल्ला सम्मेलनको कार्यक्रमद्वारा उपलब्ध गराइनेछ।
२ चार दिनको सम्मेलन: भारतवर्षभरि १६ वटा बेग्ला बेग्लै सुविधाजनक स्थलहरूमा यो कार्यक्रम प्रस्तुत गरिनेछ। जुलाई १५, १९९३-को द वाचटावर र मई १५, १९९३-को प्रहरीधरहरा-मा यी स्थलहरूको पूरा सूचि दिएको छ। अङग्रेजीमा बाहेक, आसामी, बङ्गाली, गुजराती, हिन्दी, कन्नड, कोङ्कानी, मल्यालम, मराठी, तामिल र तेलेगु भाषाहरूमा पनि बेग्ला बेग्लै ठाउँहरूमा यो कार्यक्रम प्रस्तुत गरिनेछ। धेरै जसो स्थलहरूमा कार्यक्रम बिहीबार अपरान्ह १:२०-मा सुरु हुनेछ र आइतबार अपरान्ह करीब ४:१५ समाप्त हुनेछ।
३ हामीले यस सम्मेलनमा के पाउने आशा गर्न सक्छौं? प्रशस्त मात्रामा खँदिलो आत्मिक आहार विभिन्न ढङ्गमा अर्थात् भाषणहरू, प्रदर्शनीहरू, अन्तर्वार्ताहरू र दुइटा नाटकहरूद्वारा प्रस्तुत गरिनेछ। यो अत्यावश्क उपदेशको कुनै भागबाट पनि वञ्चित नहुनु होस्! साथसाथै, हामी पुराना मित्रहरूलाई भेटने र नयाँ मित्रताहरू सुरु गर्ने आशा राख्न सक्छौं। तपाईं जुन सम्मेलन धाउनु हुनेछ, त्यहाँ विदेशमा सेवा गरिरहेका मिसनरीहरू पनि उपस्थित भएका हुन सक्छन्। यी विश्वासी भाइ-बहिनीहरूसित चिनजान बढाउने मौकाको फायदा उठाउनु होस्। तपाईं आमा अथवा बाबु हुनुहुन्छ भने, यी मिसनरीहरूसित कुरागर्दा तपाईंका छोराछोरीलाई पनि भाग लिन दिनुहोस्। यी मिसनरीहरूको आनन्दमय र आत्मत्यागी भाव देखेर तपाईंका बालबच्चाहरूले पनि पूर्ण-समय सेवा अपनाउने विचार गर्न थाल्न सक्छन्।
४ के तपाईंले जम्मै दशांश भण्डारमा ल्याउनु हुनेछ? इस्राएलीहरूले यहोवालाई जाँच गर्दै सम्पूर्ण दशांश भण्डारमा ल्याएको खण्डमा, यहोवाले तिनीहरूमाथि अटाउदै नअटाउनेगरी आशिष बर्साउनु हुने प्रतिज्ञा मलाकी ३:१०-मा गर्नु भएको थियो।
५ आज यहोवालाई जाँच गर्नुको अर्थ, कसैकसैका लागि चाहिं सम्मेलन धाउनका निम्ति सकेसम्म चाँडो आफ्नो मालिकसङ्ग बिदा माग्ने वा छुट्टी लिने कुरा हुन सक्छ। यसो गर्न कुनै कुनै बेला भाइहरू हिचकिचाएका छन्। मालिकले तिनीहरूलाई सम्मेलनमा उपस्थित हुने अनुमति कदापि दिने छैनन् भनी तिनीहरू ठान्छन्। तर आध्यात्मिकता विथोलित न हुने कुराहरूका लागि चाहिं तिनीहरू मालिकलाई आफूले चाहेको कुरा भन्न हिचकिचाउँदैनन्।
६ हामीले आफूलाई यी प्रश्नहरू सोध्नु पर्ने हो: हाम्रो कुनै प्रिय मित्रको विवाह कुनै अर्को ठाउँमा हुन लागेको छ भने, के हामी त्यस विवाहमा जाने अनुमति आफ्नो मालिकसङ्ग माग्ने थिएनौं होला? र उनले आनाकानी गरेको जस्तो देखिएमा त्यहाँ जान हाम्रालागि अति नै महत्त्वपूर्ण छ भनी के हामीले आदरपूर्वक बताउने थिएनौं होला? निश्चय पनि, एउटा विवाहमा जानुभन्दा यहोवाबाट शिक्षा प्राप्त गर्न जानु कता हो कता महत्त्वपूर्ण हो! सम्मेलनको कार्यक्रम हाम्रो आध्यात्मिक विकासको निम्ति अत्यावश्यक छ भनी पहिले हामी आफै नै विश्वस्त हुनुपर्छ। अनि मात्र हामीले आफ्नो मालिकलाई सम्मेलन जाने अनुमति दिन राजी तुल्याउन सक्छौं।—याकूब १:७, ८.
७ इस्राएलमा यहोवाको उपासना गर्ने ठाउँको रेखदेख गर्नका लागि दिइने भौतिक सहयोगलाई दशांश भनिन्थ्यो। हाम्रो समयमा चाहिं यहोवाको सेवा र राज्यसम्बन्धी कामको समर्थनका लागि दिइने समय, शक्ति र आर्थिक सहयोग दशांश हो। हामीले सभाहरू धाउँदा, सम्मेलनहरूमा उपस्थित हुँदा र सभाहरू हुने ठाउँलाई सफासुग्घर राख्दा बिताइने समय पनि दशांशमा समाविष्ट हुन्छ। यो “ईश्वरीय शिक्षा” जिल्ला सम्मेलनमा सम्पूर्ण दशांश यहोवाको आत्मिक भण्डारमा ल्याउने हामीले थुप्रै मौकाहरू पाउने छौं। ती मध्येका केही मौकाहरू?
८ ध्यानपूर्वक सुन्ने, जोशका साथ राज्यगानहरू गाउने, अर्थात् अर्थपूर्ण आमीन भन्न सक्नका लागि प्रत्येक प्रार्थनालाई होसियारीसाथ सुन्ने गरेर हामी दशांश भित्र्याउन सक्छौं।
९ हामीले सच्चाइमा कुन हदसम्म उन्नति गर्नेछौं, सो हामी कसरी सुन्ने गर्छौं, त्यसमा निकै भर पर्दछ। कुनै पनि ठूलो रङ्गशालामा वरिपरि बस्नेहरूले गरिरहेका कुराहरूतिर हाम्रो ध्यान सजिलैसित अलमलिन सक्छ। यसैकारण, हामीले आफ्नो सोचविचारलाई तहमा राख्नु पर्छ। सम्मेलनमा आउनु हुँदा तम्तयार भएर आउनु होस्। आफ्नो बाइबल, गीतको पुस्तक, कलम, लेख्ने नोटबुक र त्यस हप्ता पढिने प्रहरीधरहरा साथमा ल्याउनु होस्। प्रत्येक वक्ताले प्रयोग गरेका बुँदाहरू र शास्त्रपदहरूको टिपोट लिनु फायदाजनक हुनेछ। छोटो टिपोट लिनु होस्; धेरै लामो टिपोट लेख्दा वक्ताले भनी रहेको कुरामाथि ध्यान दिन सक्नु हुनेछैन। केटा-केटीहरूलाई पनि ध्यानपूर्वक सुन्ने प्रशिक्षण दिनु पर्छ। केटाकेटीहरूले आफ्ना आमाबाबु सङ्गसङ्गै कार्यक्रममाथि यथासम्भव विशेष ध्यान दिएमा, तिनीहरूले पनि दशांश भित्र्याउन सक्छन्।
१० घरमा प्रत्येक दिन आफ्ना छोराछोरीहरू शान्त भएर हाम्रा सङ्गठनद्वारा प्रकाशित पुस्तकहरू पढने अथवा नक्साहरू हेर्ने समय कुनै कुनै आमाबाबुले खटाएको हुन्छ। यसप्रकारको राम्रो प्रशिक्षणले गर्दा केटाकेटीहरूलाई सभाहरूमा र सम्मेलनहरूमा शान्त भएर बस्न निकै नै सजिलो हुन्छ। अनुकरणीय छोराछोरीहरू हुर्काएका आमाबाबुहरू भन्छन् कि तिनीहरूले कहिले पनि सभाहरूमा आफ्ना बच्चाहरूलाई नक्सा बनाउने पुस्तक अथवा खेलौनाहरू लिएर आउन दिएनन्। सभाहरूमा उपस्थित हुनुको अर्थ यहोवाको उपासना गर्नु हो भनेर सानोभन्दा सानो केटाकेटीहरूले पनि सिक्न सक्छन्। आफ्ना छोराछोरीहरूलाई जम्मै दशांश भण्डारमा ल्याउन सिकाउने आमाबाबुहरू साँच्चै नै प्रशंसाको योग्य छन्!
११ सम्मेलन आयोजनामा सहयोग पुऱ्याउन हामीले आफ्नो समय स्वेच्छाले दिएर पनि दशांश भित्र्याउन सक्छौं। कति ठाउँहरूमा त सम्मेलन सुरु हुनुभन्दा एकदुई दिन अघिदेखि नै सफासुग्घर गर्ने कार्यक्रम थालिन्छ। तपाईं नजिकै बस्नु हुन्छ भने त्यसमा आफ्नो सारा परिवारका साथ भाग लिने प्रबन्ध किन मिलाउनु हुन्न? कुनै कुनै भाइहरूले त आफ्ना प्रगतिशील बाइबल विद्यार्थीहरूलाई पनि आफ्नो साथमा ल्याएका छन्। यसप्रकार तिनीहरूले बप्तिस्मा लिनअगावै यहोवाको उपासनालाई समर्थन गर्नमा कुन कुन कुरा समाविष्ट छ, सो सिक्न सक्छन्। सम्मेलन राम्ररी सञ्चालन गराउनका लागि थुप्रै कुराहरू गर्न सकिन्छ। यसकारण, परिवारको रूपमा मदत पुऱ्याउन अघि किन न सर्ने?
१२ सम्मेलनलाई आर्थिक मदत दिनु पनि दशांश ल्याउने एउटा अर्को तरिका हो। भौतिक उपहारहरू दिएर साँचो उपासनालाई कसरी समर्थन गर्न सकिन्छ भनी बताउनु हुँदा यहोवाले इस्राएली जातिलाई यो आज्ञा दिनु भयो: “परमप्रभुको सामुन्ने तिनीहरू रित्तो हात नआऊन्। परमप्रभु तिमीहरूका परमेश्वरले हरेकलाई दिनुभएको आशिषअनुसार परमप्रभु आफ्ना परमेश्वरलाई हरेकले आफ्नो औकातअनुसार चढाओस्।” (व्यव० १६:१६, १७) धेरै होस् वा थोरै, मानिसहरूले पहिले नै राम्ररी तयार पारेको उपहार यहोवाको सामुन्ने ग्रहणयोग्य हुन्थ्यो। त्यस्तैगरी आज पनि थुप्रै भाइहरूले प्रार्थनापूर्वक सोचेर चन्दाको रूपमा नगद पैसा अथवा सर-सामान दिन्छन्। के तपाईंले पनि कहिले आफ्ना साना साना छोराछोरीहरूलाई चन्दा-बाकसमा चन्दा हाल्न दिनुहुन्छ?
१३ परमेश्वर, हाम्रा उद्धारकर्त्ताको सिद्धान्तको शोभा बढाउनु होस्: हाम्रा असल आनीबानी र राम्रो चालचलनद्वारा हामीले “परमेश्वर हाम्रा उद्धारकर्त्ताको सिद्धान्तको शोभा” बढाउन सक्छौं। (तीतस २:१०) सम्मेलन मै पनि हामीले ईश्वरीय शिक्षा हाम्रो जीवनमा लागू भइरहेको कुरा देखाउन सक्छौं।
१४ हाम्रो आनीबानी-को विषयमा चाहिं के भन्न सकिन्छ? आज संसारमा अक्सर अरूहरूका लागि सोचविचार गरिन्दैन। तर शास्त्रका सिद्धान्तहरूबाट निर्देशित यहोवाका मानिसहरू आफ्नो होइन, अरूको सुविधालाई प्राथमिकता दिन्छन्। (फिलि० २:४) हाम्रा वरिपरि हुनेहरूको हामी वास्ता गर्छौं। खाने कुरा अथवा प्रकाशनहरूका लागि लाइन लाग्दा हामी एकअर्कालाई घचेटाघचेट गर्दैनौं। बूढा पाकाहरू र आफ्ना आमाबाबुहरूसित उभिरहेका साना साना केटाकेटीहरूलाई हामी विशेष ध्यान दिन्छौं नत्र होसियारीसाथ नहिंड्ने जवान व्यक्तिहरूले यिनीहरूलाई सजिलैसित धक्का दिन सक्छन्। रेस्टुराँहरूमा जाँदा त्यहाँ काम गर्ने मानिसहरूसित हामी शिष्ट व्यवहार गर्छौं। र तिनीहरूले गरेको सेवा हाम्रो विचारमा सन्तोषजनक नभए तापनि, हामी कटु वचन प्रयोग गर्दैनौं नता कचकच नैं गर्छौं। तिनीहरूले दिएका सेवाहरूका लागि अलिकता बक्सिस दिने चलन छ भने हामी त्यो पनि खुसीसाथ दिन तयार हुन्छौं।
१५ हाम्रो छेउछाउमा भएकाहरूमाथि हाम्रो इश्वरीय चालचलन-ले ठूलो प्रभाव पार्न सक्छ। बितेका २१ वर्षदेखि प्रहरी विभागमा काम गर्दै आएका एकजना प्रहरीले गत साल सम्मेलन आयोजित गरिएको एउटा शहरमा यसो भने: “तपाईंका मानिसहरूको अनुशासन देखेर म प्रभावित छु। तिनीहरू कति बेग्लै छन्; तिनीहरूलाई फोहोर उठाउन कसैले भन्नै पर्दैन; तिनीहरू व्यवस्थित छन् र तपाईंहरूको सम्मेलन राम्ररी आयोजित हुन्छन्।” त्यसपछि उनले यसो पनि भने: “तपाईंका मानिसहरू हामीलाई हेरेर मुसुक्क हाँस्छन्। यो एउटा राम्रो चिन्ह हो। हामी यही नै खोज्छौं। यो मित्रैलोपना र लुकाउनु पर्ने केही नभएको एउटा चिन्ह हो। यसबाहेक केटाकेटीहरू पनि आफ्ना आमाबाबुहरूसित अनुशासित भएर बसेको हामी देख्छौं। म साँच्चै नै प्रभावित छु। यहाँ काम गर्न खटाइनु मेरोलागि आनन्दको कुरा हो।”
१६ केही अधिकृतहरू त तिनीहरूको शहरमा सम्मेलन आयोजित गर्न हामीलाई निम्त्याउन सोझै बेथेलमा पनि आएका थिए। सोसाइटीले तिनीहरूको निम्तो स्वीकार गऱ्यो र सम्मेलनपछि ती मानिसहरूले पछितो व्यक्त गर्न परेन। एउटा शहरको संस्थानका उप-प्रबन्धकले त यसो भने: “तपाईंहरूको जस्तो प्रतिष्ठित समूहको सम्मेलन हाम्रो शहरमा आयोजित हुनु, हाम्रो लागि कुनै सानो कुरा होइन। तपाईंहरूलाई यहाँ निम्त्याउन हामीले विशेष कोशिश गऱ्यौं . . . र सो गरेकोमा हामी अति नै खुशी छौं।” त्यहाँ ठूलो साक्षी दिने काममा प्रत्येक भाइ र बहिनीको राम्रो चालचलनले विशेष भूमिका निभायो।
१७ परमेश्वर हाम्रो उद्धारकर्ताको सिद्धान्तको शोभा आफ्नो अनुकरणीय चालचलनद्वारा के तपाईंले पनि व्यक्तिगत रूपमा बढाउनु हुनेछ? यसो गर्ने केही तरिकाहरू यी हुन्:
आफ्नो पहिरन र कोरीबाटी: हामी सम्मेलनमा उपस्थित हुँदा आफूलाई बिदामा बसेको जस्तो ठान्नु हुँदैन। बरु यहोवाबाट शिक्षा प्राप्त गर्न हामीले आफूलाई उहाँको सामुन्ने प्रस्तुत गरेका हौं। यसकारण, हाम्रो पहिरन राज्य सभागृहमा जाँदा जस्तो हुन्छ, सम्मेलनमा पनि त्यस्तै हुनुपर्छ, होइन र? (१ तिमो० २:९, १०) यसबाहेक, सम्मेलनको अधिवेशन नचलेको बेलामा पनि हाम्रो पहिरन कस्तो हुनेछ, त्यसमा ध्यान दिनु उचित हो। बेलुकीपख आफू बस्ने ठाउँमा आएपछि चाहिं के हामी, जवान र पाको, आ-आफ्नो भद्र र इज्जतदार पहिरन फेरेर सांसारिक मानिसहरूले जस्तै लापरवाहीसाथ उत्ताउलो प्रकारको कपडा लगाउने छौं? यसो गऱ्यौं भने सभामा जाँदा लाउने हाम्रो पहिरन हाम्रो जीवन शैलीको प्रतीक हुनुको सट्टा एउटा बाहिरी आडम्बर मात्र हुनेछ। नबिर्सनुहोस्, हामीले यहोवाको नाउँ धारण गरेका छौं र कसैलाई पनि सच्चाइको मार्गमाथि कुनै पनि जायज दोष लाउने मौका नदिनु हामी प्रत्येकको जिम्मेवारी हो।
बप्तिस्मा लिने उम्मेदवारहरूलाई पनि याद दिलाउनु परेको छ कि यस्तो गम्भीर अवसरमा सांसारिक नाराहरू, चिन्हहरू वा विज्ञापनहरू भएको टी-सर्ट लगाउनु ठीक होइन। बप्तिस्माअघि छलफल गर्ने प्रश्नहरूलाई पहिले नै राम्ररी ध्यान पुऱ्याएको छ कि छैन, सो प्राचीनहरूले निश्चित गर्नुपर्छ र बप्तिस्मा लिन चाहने प्रत्येक उम्मेदवारलाई उनी बप्तिस्माका लागि तयार छन् वा छैनन्, सो अगावै सूचित गरी सकेको हुनुपर्छ। (प्रश्नहरूको छलफल गर्ने बेला मै बप्तिस्माका लागि उचित हुने पहिरनबारे पनि चर्चा गर्नु राम्रो हुनेछ।)
होटेलहरू: आफू बस्ने होटेलमा आउनु हुँदा आत्माको फल प्रदर्शित गर्नु होस्। होटेलमा काम गर्नेहरूलाई छोटो समयभित्र थुप्रै मानिसहरूको सेवा गर्ने बानी नहोला। यसकारण, संयमी हुनुहोस्। सहानुभूति प्रकट गर्नुहोस् र मनासिब बक्सिस दिनुहोस्।
केटाकेटीहरूले पनि होटेलको सरसामानको आदर गर्न र त्यहाँका सुविधाहरूको प्रयोगसम्बन्धी नियमहरू पालन गर्न सक्छन्। सम्भवतः आमाबाबुहरूले सम्मेलनअघि नै आफ्ना छोराछोरीसित केही समय बिताएर तिनीहरूबाट कुन प्रकारको व्यवहारको प्रतीक्षा गरिनेछ र मसीही चालचलनअनुसार हिंड्ने तिनीहरूको व्यक्तिगत जिम्मेवारी हो भनी बुझाइ दिन सक्छन्।
रिकर्ड गर्ने यन्त्रहरू: भिडिओ क्यामराहरूको प्रयोग निषेध नभए तापनि तपाईंले अरूहरूको ख्याल चाहिं गर्नु हुनेछ भनी हामी विश्वस्त छौं। कार्यक्रमको भिडिओ फिल्म लिनु हुँदा अरूहरूको सामुन्ने उभिएर तिनीहरूको दृष्टि छेक्नु प्रेमपूर्ण कुरा होइन। तपाईं आफ्नो बस्ने ठाउँबाटै रिकर्ड गर्न सक्नुहुन्छ भने त्यो आपत्तिजनक हुनेछैन। तथापि, सम्मेलनको ध्वनि अथवा बिजुली सम्बन्धी तारहरूसित कुनै पनि क्यामरा अथवा रिकर्ड गर्ने यन्त्रलाई जोडन पाइने छैन। साथै, मान्छे हिंडने बाटोमा यन्त्रहरू राख्न निषेध छ।
बस्ने ठाउँ: नबिर्सनु होस्, तपाईंका आफ्नै परिवारका सदस्यहरू र तपाईंकै सवारीमा तपाईंसित आउनेहरूका लागि मात्र बस्ने ठाउँ ओगटेर राख्न सकिन्छ। कुनै कुनै सम्मेलनहरूमा बूढा पाकाहरू अथवा अपाङ्गहरूका लागि बस्ने ठाउँ छुट्टै राखिएको हुन्छ। कृपया बूढा पाकाहरूको विशेष ख्याल राख्नुहोस्। बितेको समयमा, बूढा पाकाहरूका लागि राखिएको ठाउँमा जवानहरू गएर बसिदिएको हुनाकारण, ती बूढा पाकाहरूले चाहिं अप्ठ्यारो ठाउँहरूमा सीट खोज्न परेको थियो। एलर्जी जस्ता विशेष समस्या भएकाहरूका निम्ति बेग्लै कोठा वा ठाउँहरूको व्यवस्था गर्न नसकेकोमा हामी खेद प्रकट गर्छौं।
व्यक्तिगत सामानहरू: सम्मेलनस्थलमा सकेसम्म थोरै सामानहरू ल्याउनु होस् भन्ने सुझाव छ। कुनै सामान तपाईंको सीटमनि अटाउदैन भने त्यसलाई घरैमा अथवा आफ्नो मोटरको पछिल्तिर सामान राख्ने ठाउँमा छाडिदिनु बेस हुनेछ। पानीका थर्मसहरू मान्छे हिंड्ने बाटोमा राख्न सुरक्षाको कारण मनाही छ। तिनलाई तपाईंले आफ्नो छेउको सीटमा राख्नु भयो भने पनि एकजनाले बस्ने ठाउँ नपाउला।
साहित्य र खानेकुराको प्रबन्ध: परमेश्वरले दिनु भएका असल वरदानहरूका लागि हामी सबै जनाले मूल्याङ्कन व्यक्त गर्दै कुनै पनि चीज खेरो फाल्न चाहन्दैनौं। (यूहन्ना ६:१२) आफूलाई चाहिन्दो भन्दा बढी नलिनु होस्। खानेकुरा फाल्नु हुँदैन भनेर आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई भन्नुपर्छ। साहित्य वितरण हुँदा पनि कृपया अरूहरूप्रति प्रेमपूर्ण चासो देखाउनु होस्।
१८ अरूहरूप्रति प्रेमपूर्ण विवेक व्यक्त गर्दै कृपया हर दिन अलिकता चाँडै आउने योजना मिलाउनु होस्। विशेषगरी बिहीबार किनभने त्यस दिन मोटर राख्ने ठाउँ र सीट खोज्नु सदाभन्दा अलिक बढी समय लाग्न सक्छ।
१९ यहोवाबाट शिक्षा पाउनु हाम्रो कस्तो ठूलो सौभाग्य हो! आँउदो “ईश्वरीय शिक्षा” जिल्ला सम्मेलनलाई हामीले आफ्नो समय, शक्ति र भौतिक साधनहरूद्वारा सहयोग पुऱ्यायौं भने हामी र हाम्रो परिवारले अनन्तकालीन आध्यात्मिक आशिषहरू पाउन सकिनेछ।
जिल्ला सम्मेलन सम्झौटोहरू
उचित आचरण: सम्मेलनमा उपस्थित हुने सबैले उचित आचरण कायम राख्नु अत्यावश्यक छ। तिनीहरूले सम्मलेन स्थललाई श्रद्धापूर्वक “परमेश्वरको घर” सरह ठान्नु पर्छ। (भजन ५५:१४) भाषणहरू, नाटक, गीत र विशेषगरी प्रार्थना चलिरहेको बेलामा सुन्ने मानिसहरूको ध्यान अलमलाउने कुरा कृपया नगर्नुहोस्। बिनाकारण यताउता घुमिरहनु, कुरा गरी रहनु अथवा मञ्चबाट भनिरहेको कुरालाई मनलगाएर सुन्ने कोशिश गर्नेहरूको ध्यान अलमलाउने ढङ्गमा क्यामराको फ्ल्याश बत्तिको प्रयोग अथवा भिडिओ रिकर्ड गर्नु आदरपूर्ण व्यवहार होइन। हामी ईश्वरीय शिक्षाको साँच्चै नै मोल गर्छौं र यहोवाबाट शिक्षा प्राप्त गर्नका लागि नै सम्मेलनमा आएका हौं भन्ने कुरा हाम्रो विवेकशीलता र असल चालचलनद्वारा प्रदर्शित हुनेछ।
बस्ने कोठा: सम्मेलनको दौडान बस्ने कोठाहरू आयोजित गर्ने विभागसित तपाईंले गर्नु हुने सहयोगको ठूलो मूल्याङ्कन गरिन्छ। बस्ने कोठाहरूका लागि गरिएको अनुरोध पत्र मण्डलीका सचिवहरूले तुरुन्तै ठीक सम्मेलन ठेगानामा पठाइ दिनुपर्छ। तपाईंले कोठा रिजर्भ गर्ने कुरा पक्का गर्नु भएको छैन भने कृपया गरी हाल्नुहोस्। तपाईंका लागि रिजर्भ गरिएको कोठा अब तपाईंलाई चाहिएन भने, सम्मेलनको मुख्य कार्यालय र सम्भवतः होटेललाई पनि पत्र अथवा फोनद्वारा सूचित गरी हाल्नु होस्। यो सकेसम्म चाँडो गर्नुहोस् ताकि त्यो कोठा अर्कै व्यक्तिका लागि उपलब्ध हुन सकोस्। तपाईंका लागि कोठा कुनै व्यक्तिको घरमा प्रबन्ध गरिएको छ भने चाहिं त्यस घरको मानिस र सम्मेलनको मुख्य कार्यालय, दुवैलाई सकेसम्म चाँडो खबर गर्नुहोस्।
बप्तिस्मा: बप्तिस्माका उम्मेदवारहरू शनिवार बिहान कार्यक्रम सुरु हुनुभन्दा अगावै तिनीहरूका लागि तोकिएको ठाउँमा आ-आफ्नो सीटमा बसिसकेको हुनुपर्छ। बप्तिस्मा लिन चाहने हरेक व्यक्तिले पानी भित्र पस्दा लाउनका लागि भद्र देखिने पहिरन र तौलिया लिएर आउनु पर्छ। बप्तिस्मा भाषण र प्रार्थना समाप्त भइसकेपछि अधिवेशन अध्यक्षले बप्तिस्माका उम्मेदवारहरूलाई सङ्क्षिप्तमा केही निर्देशनहरू दिएर सबैलाई गीत गाउन निम्त्याउने छन्। गीतको अन्तिम चरणपछि, निमज्जन गर्ने ठाउँ अथवा त्यहाँ लैजाने सवारीतिर परिचारकहरूले बप्तिस्माका उम्मेदवारहरूलाई निर्देशित गर्नेछन्। आफ्नो समर्पणा जाहेर गर्ने बप्तिस्मा, यहोवा र बप्तिस्मा लिने व्यक्ति बीचको एउटा व्यक्तिगत र निजी मामिला हो। यसकारण दुई वा बढी मानिसहरू हात समातेर अथवा एकअर्कालाई अङ्गालेर एकैसाथ पानीमा डुबुल्की मार्दै साझे बप्तिस्मा लिने प्रबन्ध छैन।
स्वयंसेवा: कुनै पनि जिल्ला सम्मेलन सुचारु रीतिले सम्पन्न हुनका लागि स्वयंसेवकहरूको खाँचो पर्छ। तपाईंले सम्मेलनमा केही समयका लागि मात्र काम गर्न सक्नु भयो भने पनि तपाईंको सेवाको ठूलो मूल्याङ्कन गरिनेछ। तपाईंले मदत दिन सक्नुहुन्छ भने कृपया स्वयंसेवा विभागमा गएर भन्नुहोस्। सोऱ्ह वर्षमनिका केटाकेटीहरूले पनि सम्मेलनको सफलतामा योगदान दिन सक्छन्। तर तिनीहरूले चाहिं आफ्नो आमाबाबु वा अन्य कुनै जिम्मेवार वयस्कसित काम गर्नु पर्छ।
बिल्लाहरू: सम्मेलनका लागि विशेष रूपमा तयार पारिएको बिल्ला सम्मेलनमा र सम्मेलनस्थलबाट आउनेजाने गर्दा कृपया लगाउने गर्नुहोस्। यसले गर्दा अक्सर हामीलाई यात्रा गर्ने बेलामा राम्रो साक्षी दिन सम्भव हुन सक्छ। तपाईं सम्मेलनको एकजना प्रतिनिधि हुनुहुन्छ भनी स्पष्टगरी लेखिएको बिल्लाले खानपान विभागको सञ्चालनलाई पनि सजिलो पार्नेछ। बिल्लाहरू तपाईंको मण्डलीमा उपलब्ध हुन्छन्। सम्मेलनस्थलहरूमा चाहिं ती पाइने छैनन्।
व्यक्तिगत पहिचान: “ईश्वरीय शिक्षा” सम्मेलन बिल्लाबाहेक, प्रत्येक व्यक्तिलाई आफूसित आफ्नो मेडिकल डिरेक्टीव पनि राख्न प्रोत्साहित गरिन्छ। बेथेल परिवारका सदस्यहरू र अग्रगामीहरूले पनि आफ्नो परिचय कार्ड आफूसित राख्नु पर्छ।
होसियारी: तपाईंले आफ्नो मोटर जहाँ राख्नु भए तापनि, हर समय त्यस्मा ताल्चा मार्नु होस् र कहिले पनि त्यसभित्र देख्न सकिने गरी कुनै पनि चीज नराख्नु होस्। सम्भव भएमा आफ्ना सामानहरू पछिल्तिर सामान राख्ने ठाउँमा बन्द गरेर राख्नु होस्। ठूला-ठूला भीड र जमघटहरू देखेर मौका छोप्ने चोर र पाकेटमारहरूसित पनि होसियार हुनुहोस्। सम्मेलनस्थलका सीटहरूमा समेत कुनै पनि मूल्यवान कुरा त्यसै नछाडनु होस्। केही बदमाशहरूले केटा-केटीहरूलाई सम्मेलनस्थलबाट फकाएर लग्ने कोशिश गरेको पनि रिपोर्ट आएको छ। यसकारण कृपया सावधान हुनुहोस्।
प्राप्त रिपोर्टअनुसार कुनै कुनै होटेलहरूमा अनैतिक र अश्लील विषयवस्तु भएको चलचित्रहरू पनि टी०भी०-मा हेर्ने सुविधा उपलब्ध छन्। अतः यी ठाउँहरूमा केटाकेटीहरूलाई कुनै गोठालो बिना टेलिभिजन हेर्न दिनु ठीक हुने छैन।
कुनै कुनै भाइहरू अथवा चासो लिने व्यक्तिहरूले सम्मेलनस्थलका प्रबन्धकहरूलाई फोनद्वारा अधिवेशन सुरु हुने समय इत्यादि सोधेका छन्। कृपया यसो नगर्नुहोस्। तपाईंलाई चाहिएको जानकारी प्रहरीधरहरा अथवा हाम्रो राज्य सेवकाई-मा पाउन सकिन्दैन भने तपाईं जानु हुने सम्मेलनको ठेगानामा सोधी पठाउनु होस्। सो ठेगाना तपाईंले जुलाई १९९३-को हाम्रो राज्य सेवकाई-मा दिएको सूचिमा पाउनु हुनेछ।
१९९३-९४ “ईश्वरीय शिक्षा” जिल्ला सम्मेलन सभागृहका ठेगानाहरू - भारत
जिल्ला सम्मेलन स्थलहरू
SEPTEMBER 23-26
BOMBAY, Maharashtra (Hindi & English), Mahakavi Kalidas Natya Mandir, P. K. Road, Mulund (W).
OCTOBER 7-10
HYDERABAD, Andhra Pradesh (Telugu & English), Please contact publishers of this magazine for Hall address.
OCTOBER 14-17
MADRAS, Tamil Nadu (Tamil & English), Anna Auditorium, 18 Swami Vivekanand Salai, Chepauk.
OCTOBER 21-24
BANGALORE, Karnataka (Tamil & English), Corporation Community Hall, Sindhi Colony, Wheeler Road, Cox Town.
OCTOBER 28-31
MADURAI, Tamil Nadu (Tamil), Tamukkam Kalai Arangam, Tamukkam Grounds, Tallakulam.
JAMSHEDPUR, Bihar (Hindi & English), Milanee Hall, Near Women’s College, Bistipur.
GUWAHATI, Assam (Assamese & English), Kumar Bhaskar Natya Mandir, Hem Chandra Barooah Road, Uzan Bazar.
NOVEMBER 4-7
MYSORE, Karnataka (Kannada), Jaganmohan Palace, Near City Bus Stand.
CALCUTTA, West Bengal (Bengali & English), Rabindra Sarobar Pavilion Hall, opp. Menoka Cinema.
NOVEMBER 11-14
AHMEDABAD, Gujarat (Gujarati), Shree Muktjivan Auditorium, Near Old Railway Crossing, Maninagar (W).
NEW DELHI, U.T. (Hindi & English), Talkatora Indoor Stadium, Talkatora Gardens, Near Ram Manohar Lohia Hospital.
NOVEMBER 18-21
PORT BLAIR, Andaman Islands (Hindi), Athul Smrithi Samithi Hall.
MARGAO, Goa (Konkani & English), Seva Samiti’s Narcinva Damodar Naik Hall, C/o Adarsh V.H. High School
NOVEMBER 25-28
PUNE, Maharashtra (Marathi), Jawaharlal Nehru Memorial Hall, 4 Dr. Ambedkar Road.
DECEMBER 23-26
KOTTAYAM, Kerala (Malayalam), Municipal Ground.
DECEMBER 30 - JANUARY 2
CALICUT, Kerala (Malayalam), Gujarati Vidhyalaya Association Hall, Beach Road.