प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 सेप्टेम्बर pp. ३-६
  • १९९६ “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १९९६ “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशन
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • १९९७ “परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९७
  • १९९५ “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९५
  • १९९८ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९८
  • १९९४ “ईश्‍वरीय भय” जिल्ला सम्मेलन
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 सेप्टेम्बर pp. ३-६

१९९६ “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशन

१ भारतमा सम्पन्‍न १९९५ “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशनमा उपस्थित २३,४४७ मध्ये थुप्रैबाट आध्यात्मिक तवरमा स्फूर्तिदायी कार्यक्रमको लागि कृतज्ञता व्यक्‍त गरेका निष्कपट अभिव्यक्‍तिहरू सुनिए। यहोवाका ८६१ प्रशंसकहरूले आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिएको हेर्न पाउँदा हाम्रो हृदय हर्षविभोर भयो। दुइटा नयाँ प्रकाशनहरू, यहोवाका साक्षीहरू र शिक्षा (अंग्रेजी) अनि ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पाउँदा हामी रमायौं। हामीले गत वर्ष त्यस्तो उत्तेजित कार्यक्रमबाट आनन्द उठाएको हुँदा १९९६ “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनहरूका लागि प्रबन्ध गरिएको कार्यक्रममा उपस्थित हुन सक्दो प्रयास गर्न प्रेरित गर्नुपर्ने हो। अवश्‍य हामी सबैले हाम्रा बाइबल विद्यार्थीहरूलाई निमन्त्रणा दिनुका साथै हामीसित त्यहाँ उपस्थित हुन मदत दिनुपर्छ। यी आखिरी दिनहरूमा आनन्दसाथ यहोवाको सेवा गरिरहन यी अधिवेशनहरू प्रोत्साहन तथा बलको साँचो स्रोत साबित हुनेछन्‌।

२ अधिवेशनका लागि निकैअघि नै प्रबन्धहरू मिलाउन पक्का गर्नुहोस्‌। यसो गर्नुभयो भने आरम्भमा गाइने गीतदेखि लिएर समापन प्रार्थनाबाट रमाइलो आध्यात्मिक प्रबन्धको लाभ उठाउन सक्नुहुनेछ। मदत चाहिने व्यक्‍तिहरूलाई मायालु ढंगमा तपाईंको योजनामा समावेश गर्नुहोस्‌ र विशेषगरि नवजिज्ञासुहरूलाई नबिर्सनुहोस्‌। यसो गर्दा तिनीहरू पनि सबै कार्यक्रममा उपस्थित हुनसक्छन्‌। उपस्थित हुने योजना बनाइरहेका बाइबल विद्यार्थीहरूसित यस परिशिष्टांकको जानकारी छलफल गर्नु असाध्यै मदतकारी हुनेछ। (गला. ६:६, १०) यस वर्षको जिल्ला अधिवेशन कार्यक्रमले हाम्रो ईश्‍वरीय शान्ति कायम गर्न अवश्‍य मदत गर्नेछ। साथै, त्यस्तो शान्ति भेटाउन अरूलाई मदत गर्ने हाम्रो भूमिकालाई पनि यसले स्पष्ट पार्नेछ। के तपाईंले कुनै पनि कार्यक्रम नछुटाउने योजना बनाउनुभएको छ?

३ तीन दिने कार्यक्रम: गत वर्ष सम्पन्‍न “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशनबारे गरिएको एउटा सकारात्मक टिप्पणीले थुप्रैका भावनाहरूलाई व्यक्‍त गऱ्‍यो: “शान्तिपूर्ण, एकताबद्ध संगतिमा यहोवाको प्रशंसा गर्दै तीन अद्‌भुत दिनहरू बिताउन पाएकोमा हामी कति आनन्दित छौं! हामी सुन्दर आध्यात्मिक प्रमोदवनमा बस्छौं भनेर हाम्रो अधिवेशनले पुष्टि गरेको छ। यस दुःखद संसारमा बाँचिरहेको भए तापनि आनन्दित हुनुपर्ने थुप्रै कारणहरू हामीसित छन्‌।” हामीलाई थाह छ, तपाईंले यो वर्षको अधिवेशनबाट पनि पूर्णतया आनन्द उठाउनुहुनेछ र नयाँ स्फूर्ति लिएर घर फर्कनुहुनेछ। (२ इति. ७:१०) यो वर्ष पनि तीन दिने कार्यक्रम हुनेछ। अधिवेशनमा तीनै दिन उपस्थित हुन के तपाईंले कार्यालयमा बिदा लिने प्रबन्ध गरिसक्नुभयो? धेरैजसो अधिवेशनहरू स्कूल बिदामा पर्दैन। तपाईंका स्कूल जाने छोराछोरीहरू छन्‌ भने यो धार्मिक उपासनाको महत्त्वपूर्ण भागमा उपस्थित हुन तिनीहरू एक दुइ दिन स्कूलमा गयल हुनेछन्‌ भनी के तिनीहरूका शिक्षकहरूलाई आदरपूर्वक जानकारी दिइसक्नुभयो?

४ भारतभरि हुने १५ अधिवेशनहरूको मिति तथा स्थानहरू जुलाई १ र १५, १९९६ को प्रहरीधरहरा-मा सूचीबद्ध गरिएका छन्‌। अंग्रेजीबाहेक कन्‍नडा, गुजराती, तामिल, तेलगु, बंगाली, मल्यालम र हिन्दी भाषाहरूमा पनि अधिवेशनहरू हुनेछन्‌। तीनै दिन बिहान ९:३० मा कार्यक्रम सुरु हुनेछ अनि आइतबार दिउँसो ४:०० बजेतिर समापन हुनेछ। ढोकाहरू बिहान ८:०० बजे खोलिनेछन्‌। तर विशेष काममा खटाइएकाहरूलाई चाहिं त्यसअघि नै प्रवेश गर्ने अनुमति दिइनेछ र भवन सबैको लागि खुला नभएसम्म सीटहरू ओगट्‌न दिइनेछैन। बढी सुविधाजनक तथा आरामदायी ठाउँका सीटहरू नओगटेर के हामीले वृद्ध तथा असक्‍त भाइहरूप्रति दया देखाउनेछौं? नबिर्सनुहोस्‌: “प्रेमले . . . आफ्नै भलाइ खोज्दैन।”—१ कोरि. १३:४, ५; फिलि. २:४.

५ के तपाईं उध्याइनुहुनेछ?: हितोपदेश २७:१७ बाट “फलामले फलामलाई उध्याएजस्तै” भनी उद्धरण गरेपछि अगस्त १५, १९९३ प्रहरीधरहरा-ले (अंग्रेजी) यस्तो टिप्पणी गऱ्‍यो: “हामी नियमित तवरमा उध्याइनुपर्ने उपकरणहरूजस्तै हौं। यहोवाप्रति प्रेम प्रकट गर्नु र हाम्रो विश्‍वासको आधारमा निर्णयहरू गर्नुको अर्थ, संसारबाट भिन्‍नै हुनु हो। भनौं भने, हामी अधिकांश मानिसहरूको भन्दा भिन्‍न मार्गमा हिंड्‌नुपर्छ।” त्यो सल्लाह हामी कसरी लागू गर्नसक्छौं?

६ हामी संसारभन्दा भिन्‍न छौं र भिन्‍न हुनैपर्छ। सुकर्ममा जोशिलो भइरहने हो भने यसो गर्न निरन्तर प्रयास गरिरहनुपर्छ। (तित. २:१४) त्यसैकारण माथि उद्धरित प्रहरीधरहरा-ले यसो पनि भन्यो: “यहोवालाई प्रेम गर्ने अरू व्यक्‍तिहरूसित हुँदा हामी एकअर्कालाई उध्याउँछौं अर्थात्‌ प्रेम र सुकर्ममा एकअर्कालाई उत्तेजित गर्छौं।” आध्यात्मिक तवरमा तीक्ष्ण हुन यहोवाले गर्नुभएका प्रबन्धहरूमध्ये जिल्ला अधिवेशन पनि एक हो। यस अधिवेशनको तीनै दिन सबै कार्यक्रममा उपस्थित हुन हामी सबै कटिबद्ध होऔं। हामीले कार्यक्रमको कुनै पनि भाग नछुटाउने प्रयास गर्नैपर्छ।

७ बुद्धिमान मानिसले ध्यान दिएर सुन्‍नेछ: हामीसित सुन्‍ने क्षमता जन्मजात हुनसक्छ तर ध्यान दिएर सुन्‍ने क्षमता जन्मजात हुँदैन। ध्यान दिएर सुन्‍नु एउटा कला हो र त्यसको विकास गर्नुपर्छ। भनिन्छ, आफूले असाध्यै ध्यान दिएर सुनेको जस्तो लागे तापनि साधारणतया मानिसले आधाजति कुरा मात्रै सम्झन्छ। अहिले हाम्रो समयमा अल्मलाउने कुराहरू थुप्रै भएकोले कहिलेकाहीं लामो समयसम्म ध्यान दिएर सुनिरहन गाह्रो हुनसक्छ। के हामी विशेषगरि मानिसहरूको भीडमा कोही बोलिरहँदा अलि लामो समयसम्म ध्यान दिएर सुन्‍ने कोसिस गर्नसक्छौं? अधिवेशनबाट घर फर्केपछि हरेक दिनको कार्यक्रमको सारांश कसैलाई बताउनुपऱ्‍यो भने के तपाईं सक्नुहुनेछ? अधिवेशन कार्यक्रमको हरेक भागमा प्रस्तुत विषयवस्तुलाई ध्यान दिएर सुन्‍ने सन्दर्भमा हामी सबैले कसरी प्रगति गर्नसक्छौं?

८ तीक्ष्ण चासो दिनु अत्यावश्‍यक छ किनभने त्यसबिना स्मरणशक्‍तिको ईश्‍वरीय वरदानले प्रभावशाली ढंगमा काम गर्न सक्दैन। उदाहरणका लागि, कुनै व्यक्‍तिले एउटा विषयप्रति जति ध्यान दिन्छ, त्यो भाषण वा कार्यक्रमका मुख्य बुँदाहरू सम्झन त्यति नै सजिलो हुन्छ। यद्यपि, जिल्ला अधिवेशनहरूमा सुन्‍ने सुअवसर पाएको हुँदा सधैंको भन्दा बढी ध्यान दिनुमा उक्‍त कुरा निर्भर हुन्छ। सा.यु.पू. १५१३ मा इस्राएलीहरू मिश्रमा छँदा तिनीहरूमध्ये कसै कसैले निस्तार चाडसम्बन्धी निर्देशनहरू ध्यान दिएर नसुनेका भए के हुन्थ्यो होला। प्रस्थान १२:२८ यसो भन्छ: “अनि इस्राएलीहरू गएर त्यसै गरे। परमप्रभुले आज्ञा गर्नुभएझैं मोशा र हारूनले गरे।” ईश्‍वरीय निर्देशनहरू पालन गर्नुको अर्थ इस्राएलका ज्येष्ठ पुत्रहरूको संरक्षण थियो। हामीले अधिवेशनका सबै कार्यक्रमहरूमा तीक्ष्ण चासो राख्दै ध्यान दिएर सुन्‍नुसित वर्तमान आध्यात्मिक अवस्थाका साथै हाम्रा भावी प्रत्याशाहरू सम्बन्धित छन्‌। अधिवेशनहरूमा हामीलाई यहोवाका मार्गहरू सिकाइन्छन्‌ र जीवनदायी कार्य सम्पन्‍न गर्न निर्देशनहरू दिइन्छन्‌। (१ तिमो. ४:१६) आँधीबेह्रीले एताउता हुऱ्‍याएको जहाजमा आफू बसिरहेको कल्पना गर्नुहोस्‌। यहोवाका प्रतिज्ञाहरू आशाको दह्रो लंगर हो। कुनै व्यक्‍तिले मसीही कार्यक्रमहरूमा ध्यान नदिई आफ्नो मनलाई अन्यत्र डुल्न दियो भने के हुनसक्छ? तिनले आध्यात्मिक तवरमा डुब्नदेखि रोक्नसक्ने सल्लाह र निर्देशनका महत्त्वपूर्ण बुँदाहरू गुमाउनसक्छन्‌।—हिब्रू २:१; ६:१९.

९ संसारका थुप्रै ठाउँहरूमा हाम्रा भाइहरूले सभाहरू धाउन निकै शारीरिक प्रयास गर्नुपर्छ। तिनीहरूले अधिवेशनहरूमा एकाग्र ध्यान दिएको हेर्न पाउनु साँच्चै अद्‌भुत कुरा हो। तर केही ठाउँहरूमा भने कार्यक्रमको दौडान अधिवेशन स्थानमा हूल बाँधेर लन्ठ्याङलुन्ठुङ गरिरहेका मानिसहरूले गर्दा कसै कसैलाई ध्यान दिन गाह्रो भएको छ। कोही भने ढिलो आउँछन्‌। गत केही अधिवेशनहरूमा कार्यक्रमको सुरुमा केही मिनेटसम्म सुन्‍न असाध्यै गाह्रो भयो किनभने बरन्डा र सीटहरूको पछाडितिर थुप्रै व्यक्‍तिहरू बिनसित्ति हल्लिरहेका थिए। यिनीहरू प्रायजसो विशेष काममा खटाइएका भाइहरू वा शिशुहरूको हेरचाह गरिरहेका आमाहरू होइनन्‌। प्रायजसो, लन्ठ्याङलुन्ठुङ गरिरहेका मानिसहरूको हल्लाखल्ला हो। यो वर्ष परिचारक विभागले यस समस्यामा बढी ध्यान दिनेछ र आशा छ, अध्यक्षले बस्ने आग्रह गर्दा हामी सबै आ-आफ्नो सीटमा बस्नेछौं। यस सन्दर्भमा तपाईंको सहयोग निकै मूल्यांकन गरिनेछ।

१० अधिवेशन कार्यक्रममा बढी ध्यान दिन र यथासम्भव बढी कुरालाई सम्झन कस्ता व्यवहारिक सुझाउहरूले मदत दिनेछन्‌? गत वर्षहरूमा भनिएका कुराहरू पुनः दोहोऱ्‍याउनु उपयुक्‍त देखिन्छ: (क) अधिवेशन शहरमा जानुको मुख्य कारणमा ध्यानकेन्द्रित गर्नुहोस्‌। त्यहाँ जानुको उद्देश्‍य मनोरञ्जनको लागि होइन तर ध्यान दिएर सुन्‍नु अनि सिक्नु हो। (व्यव. ३१:१२) हरेक रात पर्याप्त मात्रामा विश्राम लिने कोसिस गर्नुहोस्‌। अधिवेशनमा पुग्दा असाध्यै थकित हुनुहुन्छ भने एकाग्रचित्त हुन गाह्रो हुनेछ। (ख) कार्यक्रम सुरु हुनुअगावै सीट खोजेर बस्नुहोस्‌। सुरु हुनै लाग्दा सीट खोज्न थाल्नुभयो भने कार्यक्रमको सुरुका केही भागहरू प्रायजसो छुट्‌नेछन्‌। (ग) मुख्य बुँदाहरूको छोटकरीमा टिपोट लिनुहोस्‌। अत्यधिक मात्रामा टिपोट लिनुभयो भने ध्यान दिएर सुन्‍न बाधा पुग्नसक्छ। यो पनि विचार गर्नुहोस्‌, आफ्नै टिपोटमा मात्र एकाग्र हुनुभयो भने अरू बुँदाहरू छुट्‌नसक्छन्‌। (घ) कार्यक्रमको कुनै भाग प्रस्तुत गरिंदा त्यसप्रति उत्सुक हुनुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘यहोवाप्रति मेरो प्रेम र मूल्यांकन बढाउन यस विषयवस्तुको कुन कुन बुँदा उपयोग गर्नसक्छु? यस जानकारीले मलाई अझ पूर्णतया नयाँ व्यक्‍तित्व झल्काउन कसरी मदत गर्नसक्छ? यसले मलाई सेवकाईमा प्रगति गर्न कसरी मदत गर्नेछ?’

११ हाम्रो सेवकाईको शोभा बढाउने आचरण: पावलले तितसलाई “बढ़िया कामको नमूना” देखाउन प्रोत्साहन दिए। आफ्नो शिक्षामा अभ्रष्टाचार देखाएर तितसले अरूलाई “सब कुराबाट हाम्रा परमेश्‍वर हाम्रा उद्धारकर्त्ताको सिद्धान्तमा शोभा” बढाउन मदत दिनेथिए। (तित. २:७, १०) अधिवेशनमा जाँदाआउँदा, होटेल तथा भोजनालयमा अनि अधिवेशन भवनमै पनि ईश्‍वरीय आचरण किन अत्यन्त महत्त्वपूर्ण छ भनेर हामी हरेक वर्ष मायालु सम्झौटाहरू पाउँछौं। गत वर्ष हामीले पुनः त्यस्ता केही हृदयस्पर्शी टिप्पणीहरू सुन्यौं, ती टिप्पणीहरू तपाईंलाई बताउन चाहन्छौं।

१२ एउटा होटेलको प्रबन्धकले यसो भने: “साक्षीहरूलाई आवास दिनु सदा रमाइलो हुन्छ। किनकि तिनीहरू धीरजी, मिलनसार र छोराछोरीहरूको राम्रो हेरविचार गर्छन्‌।” एक होटेल कर्मचारीले बताएअनुसार “साक्षीहरू होटेलमा बस्न आउँदा र पछि जाँदा काम सजिलो हुन्छ किनभने लाइनमा उभिनु परे तापनि तिनीहरू सधैं भद्र, धीरजी तथा बुझकी हुन्छन्‌।” न्यु इंग्ल्याण्डकी एउटी स्त्री त्यसै होटेलमा बसेका साक्षी जवानहरूको आचरणबाट असाध्यै प्रभावित भएकीले हाम्रो संगठनबारे जान्‍न केही साहित्यहरूको निवेदन गरिन्‌।

१३ अर्कोतर्फ, केही क्षेत्रहरूमा प्रगति गर्नु खाँचो छ। सोसाइटीमा प्राप्त केही टिप्पणीहरू हामी तपाईंहरूलाई बताउन चाहन्छौं। एक परिभ्रमण निरीक्षकले रिपोर्ट गरेअनुसार यहोवाका साक्षीहरूका छोराछोरीहरूलाई होटेलहरूमा अझ बढी रेखदेख गर्नुपर्ने खाँचो देखिन्छ। कोही कोही बरन्डाहरूमा दौडादौड, लिफ्टमा ओहरदोहर, प्रेक्षालयमा चर्को होहल्ला गर्छन्‌ र फलस्वरूप अरू पाहुनाहरूको निद्रा खल्बलिन्छ। मसीही आचरण भनेको कुनै सीमित समयावधिमा मात्र देखाइनुपर्ने कुरा होइन भनी बुझ्न हाम्रा छोराछोरीहरूलाई प्रशिक्षण दिनुपर्छ। अधिवेशन भवनबाट निस्कने बित्तिकै जथाभावी आचरण गर्नु हुँदैन। मसीही आचरण २४ घण्टै कायम हुनुपर्छ। होटेल, भोजनालय तथा सडकमा हाम्रो आचरण, हाम्रा भाइहरूसित कार्यक्रमको दौडान यहोवाबाट सिकाइँदा जत्तिकै आदरणीय हुनुपर्छ।—यशै. ५४:१३; १ पत्रु. २:१२.

१४ अधिवेशनहरूमा भोजन सेवा असाध्यै घटाइएको हुँदा भवनको भाडा तथा अन्य विविध खर्चहरू बेहोर्न तपाईंको स्वैच्छिक चन्दाहरूको अझ बढी खाँचो छ। कैशोरावस्थाका छोराछोरीहरू भएकी एक जना बहिनी सीमित पैसा लिएर अधिवेशनमा आइन्‌। तथापि, तिनी र तिनका छोराछोरीहरूले थोरै चन्दा दिएर भए पनि सहयोग पुऱ्‍याए। यस सन्दर्भमा हरेकले जे गर्छ, त्यो व्यक्‍तिगत मामिला हो तर तपाईंले यी सम्झौटाहरूको मूल्यांकन गर्नुहुन्छ भनी हामीलाई थाह छ।—प्रेरि. २०:३५; २ कोरि. ९:७.

१५ हामी लुगाफाटाद्वारा चिनिन्छौं: हामीले लगाउने लुगाले आफू र अरूप्रति हाम्रा भावनाहरू प्रकट गर्छ। स्कूल वा कार्यस्थलमा फेसनदार तथा ह्वार्लाङे लुगाहरू लगाउने मानिसहरूसित हाम्रा किशोरकिशोरी अनि वयस्कहरू घुलमिल हुनुपर्ने हुन्छ। हरेक वर्ष लुगाहरूको छाँटकाँट झन्‌ झन्‌ अचाक्ली र लाजैमर्दो भएको छ। हामी होशियार भएनौं भने ती सांसारिक मित्रहरूले जस्तै लुगाहरू लगाउन हामी सजिलै प्रभावित हुनसक्छौं। थुप्रै प्रकारका लुगाहरू उपासनाका थलोहरूमा लगाउन अनुपयुक्‍त छन्‌। गत वर्षका अधिवेशनहरूप्रति मूल्यांकन गरिएको पत्र प्राप्त भयो तर यसो पनि भनियो: “यति धेरै जवान केटीहरूले छोटो लुगाहरू, असाध्यै खोलेको ब्लाउज वा कमिज तथा निकै माथिसम्म चिरिएका स्कर्टहरू किन लगाएका होलान्‌, म त छक्कै परें।” अधिवेशनमा र कार्यक्रमपछि सामाजिक भेटघाटहरू गर्दा मसीही सेवकहरूलाई सुहाउँदो लुगाहरू लगाउने हामी सबैको इच्छा अवश्‍य हुनुपर्छ। हामीले सधैं नै प्रेरित पावलको सल्लाहअनुसार “साधा पहिरनमा लज्जालु र सरल भई” सिंगारिने सन्दर्भमा ध्यान दिनु बेस हुनेछ।—१ तिमो. २:९.

१६ विनित, “साधा पहिरन” कुन हो भनी कसले निर्धारण गर्नेछ? विनित हुनु भनेको “अशिष्ट हुनु वा आफ्नो बाहुल्य देखाउन खोज्नु होइन।” शब्दकोशले विनितलाई “देखावटी होइन” भनेर पनि परिभाषित गर्छ। सोसाइटी वा प्राचीनहरूले लुगाफाटा र कोरीबाटीसम्बन्धी कुनै नियमहरू बनाउँदैनन्‌। तर, कुन लुगाफाटा साँच्चै विनित र भद्र छ भनी मसीहीलाई स्पष्ट हुनुपर्ने होइन र? (फिलिप्पी १:१० तुलना गर्नुहोस्‌।) हाम्रो कोरीबाटी र लुगाफाटाले अनावश्‍यक ध्यानाकर्षण गर्नु हुँदैन। हेर्नमा राम्रो देखिनुपर्छ तर सांसारिक वा अपमानजनक हुनु हुँदैन। सुसमाचारका सेवकहरूको हैसियतमा उचित लुगाफाटा तथा कोरीबाटीले यहोवाको आदर हुनुका साथै संगठनको राम्रो प्रतिनिधित्व गर्छ। हामी राज्यभवनमा सभाहरूका लागि उपस्थित हुँदा साधारणतया जे लगाउँछौं, त्यसैअनुरूपको रूपरंग र लुगाफाटा जिल्ला अधिवेशन शहरमा पनि हुनुपर्छ। यसर्थ, आमाबाबुहरूले नमुना बसाल्नेछन्‌ र छोराछोरीहरूले अवसर सुहाउँदो लुगा लगाएका छन्‌ कि छैनन्‌, पक्का गर्नेछन्‌। प्राचीनहरू असल उदाहरण बसाल्न इच्छुक हुनुका साथै आवश्‍यक परेमा मायालु ढंगमा सल्लाह दिन तत्पर हुनेछन्‌।

१७ होटेलहरू: भाइहरू धीरजी, भद्र तथा सहयोगी भएकाले प्रभावित भएका होटेल कर्मचारीहरूको माथि उद्धरण गरिसक्यौं। होटेलहरूमा नाउँ दर्ता गराउन लाइनमा पर्खिनु पर्दा पनि हामी यस्ता मसीही गुनहरू देखाइरहन चाहन्छौं। होटेल दर घटाएर आवासहरूको प्रबन्ध गर्न सोसाइटीलाई सहयोग गर्ने होटेलहरूको हामी मूल्यांकन गर्छौं। यात्राले गर्दा हामी थकित भए तापनि होटेलका कर्मचारीहरूसित व्यवहार गर्दा धीरजी र दयालु हुनुपर्ने कुरा सम्झनुपर्छ। यसो गऱ्‍यौं भने केही व्यक्‍तिहरू सत्यलाई गम्भीरतापूर्वक केलाउन प्रेरित हुनसक्छन्‌। साथै, होटेलवालाहरूको अनुमतिबिना कोठाहरूमा खाना पकाउनु हुँदैन।

१८ भिडिओ क्यामरा, क्यामरा, अनि रिकर्डिङ उपकरणहरू: आफू वरपरका मानिसहरूको ख्याल राख्दै तिनीहरूलाई कुनै बाधा पुग्दैन भने क्यामरा वा अन्य रिकर्डिङ उपकरणहरू प्रयोग गर्न सकिन्छ। कार्यक्रम भइरहेको बेला यताउताबाट तस्बिर खिच्न थाल्यौं भने अरूको मात्रै ध्यान भंग हुने होइन तर कार्यक्रमका केही भाग हामीले पनि गुमाउनेछौं। वक्‍ताहरूको कुरालाई ध्यान दिएर सुन्यौं अनि ठिक्क किसिमले टिपोट लियौं भने हामीले अधिवेशनबाट प्रायजसो अत्यधिक लाभ उठाउँछौं। हामीले कुनै असक्‍त भाइ वा बहिनीको लागि रिकर्ड गरिरहेका हौंला। तथापि, व्यक्‍तिगत प्रयोगको लागि हो भने घर फर्केपछि घण्टौं लामो कार्यक्रमका रिकर्डिङहरू पुनरावलोकन गर्न त्यति धेरै समय नहुन सक्छ। कुनै पनि प्रकारको रिकर्डिङ उपकरणहरूलाई विद्युत वा ध्वनि प्रणालीमा जोड्‌न पाइँदैन वा भवनभित्र हिंड्‌ने बाटो रोक्न वा अरू श्रोताहरूलाई छेक्न पाइँदैन।

१९ आसन: आसनहरू आरक्षित गर्ने सन्दर्भमा उन्‍नति भएको हामीले देखिरहेका छौं। गत वर्ष तपाईंहरूमध्ये धेरैजसोले निम्न निर्देशन पालन गर्नुभयो: आफ्नै परिवारका सदस्यहरू र तपाईंसित यात्रा गर्नेहरूका लागि मात्र ठाउँ ओगटेर राख्न सकिन्छ। धेरैले यी स्पष्ट निर्देशनहरू पछ्याउँदा त्यतिको तनाउ नभएको पनि महसुस गर्नुभयो होला। तर त्योभन्दा महत्त्वपूर्ण कुरा हो, तपाईंको आज्ञाकारिताले यहोवा तथा आध्यात्मिक आहार प्रदान गर्ने ‘विश्‍वासी दासलाई’ खुशी पाऱ्‍यो।—मत्ती २४:४५.

२० विशेष स्वास्थ्य सुविधाको खाँचो पर्ने हाम्रा भाइहरू थुप्रै छन्‌ तर तिनीहरू अधिवेशनहरूमा आउन छाडेका छैनन्‌। कोही ह्वीलचेरमा आउँछन्‌ र तिनीहरूलाई परिवारका सदस्यहरूले हेरचाह गर्नुपर्ने हुन्छ। अरू भने हृदयरोग वा छारे रोगजस्ता गम्भीर रोगहरूले पीडित भएको हुँदा विशेष उपचार चाहिने हुन्छ। कुनै पनि आध्यात्मिक भोजन नछुटाउन कटिबद्ध यी प्रिय भाइबहिनीहरू अधिवेशनहरूमा देख्न पाउँदा हाम्रो हृदय न्यानो हुन्छ। तथापि, कहिलेकाहीं कोही व्यक्‍तिहरू अधिवेशनको दौडान बिसञ्चो हुँदा तिनलाई सहायता गर्न परिवार वा मण्डलीका कोही पनि सदस्यहरू नजीकै नभएको समस्या पनि छ। कुनै कुनै अवस्थामा अधिवेशन प्रशासनले उक्‍त भाइ वा बहिनीलाई अस्पताल पुऱ्‍याउन आकस्मिक स्वास्थ्य सेवालाई बोलाउनु परेको छ। गम्भीर बिरामीहरूको हेरचाह गर्ने जिम्मेवारी मुख्यतः परिवारका सदस्यहरू तथा निकटतम नातेदारहरूको हो। अधिवेशनको प्राथमिक उपचार विभाग गम्भीर बिरामीहरूको हेरचाह गर्ने अवस्थामा छैन। तपाईंको परिवारको कुनै सदस्यलाई विशेष हेरचाह चाहिन्छ भने बिरामीलाई एक्लै नछाड्‌नुहोस्‌ किनभने कथङ्‌कदाचित्‌ जे पनि हुनसक्छ। साथै, एलर्जी हुनसक्नेहरूका लागि अधिवेशनहरूमा छुट्टै स्थान वा कोठा प्रबन्ध गरिनेछैन। आफ्नो मण्डलीका कुनै सदस्यलाई विशेष स्वास्थ्य सुविधाको खाँचो पर्छ भने प्राचीनहरू त्यसबारे सजग भई तिनीहरूको हेरचाहको लागि अधिवेशनअगावै प्रबन्धहरू मिलाउनुपर्छ।

२१ अधिवेशनमा तपाईंलाई आवश्‍यक खानेकुराको प्रबन्ध गर्नु: अधिवेशनहरूमा भोजनको प्रबन्ध गरिनेछैन भनी गत वर्ष घोषणा गर्दा हामीमध्ये कोही कोही अलि चिन्तित भएका थियौं। तर पछि हल्का खाजा खान वा आफैले भोजन ल्याउनुको लाभ देख्दा हाम्रा अधिकांश भाइहरूजस्तै खुशी भयौं। एक भाइले यसरी लेखे: “यसबाट हुने ठूलो आध्यात्मिक लाभ म छर्लंगै देख्नसक्छु। त्यो सबै समय र शक्‍ति आध्यात्मिक कुराहरूमा लगाउन सकिन्छ। मैले एउटै पनि नकारात्मक टिप्पणी सुनेको छैन।” एक जना बहिनीले यसरी लेखिन्‌: “तपाईं प्रिय भाइहरूले आफ्नो उदाहरणद्वारा हामी प्रत्येक मसीहीहरूलाई आफैलाई केलाउने र ईश्‍वरतान्त्रिक क्रियाकलाप बढाउन जीवनलाई सरल बनाउने प्रोत्साहन दिनुभएको छ।” एक परिभ्रमण निरीक्षकले पहिलेको भोजन प्रबन्धहरूबारे यसप्रकार लेखे: “पुरानो प्रबन्धमा थुप्रै भाइहरूले सम्मेलनको सम्पूर्ण कार्यक्रम जसो छुटाउनुपर्थ्यो।” हल्का खाजा र भाइहरूले ल्याएका भोजनबारे एक प्राचीनले यसरी लेखे: “तिनीहरूले मनमा चिताएझैं भयो।” अन्तमा, एक जना बहिनीले यस्तो लेखिन्‌: “कार्यक्रमपछि वातावरण शान्तिपूर्ण र सौम्य थियो अनि सबै प्रसन्‍न भएजस्तो भान भयो।” हो, अपराह्नको कार्यक्रमको लागि चाहिने जति हल्का खाजा मात्र ल्याए पुग्छ। साथीभाइहरूसित भेटघाट गर्न बढी समय पाएको सन्दर्भमा थुप्रैले टिप्पणी गरे।

२२ यो वर्ष पनि भोजनको प्रबन्ध गरिनेछैन तर हल्का खाजा मात्र उपलब्ध हुनेछ। कृपया जुलाई १९९५ हाम्रो राज्य सेवकाई-को पृष्ठ ६ को परिशिष्टांक पेटी पुनरावलोकन गर्न दुइ चार मिनेट निकाल्नुहोस्‌ किनभने अधिवेशनमा लग्न सकिने व्यवहारिक, पौष्टिक खानाबारे त्यसमा सुझाउ दिइएको छ। कृपया नबिर्सनुहोस्‌, पानी राख्ने ठूलो भाँडो, मदिराहरू वा काँचका भाँडाहरू अधिवेशन भवनभित्र ल्याउन पाइँदैन। पानी राख्ने भाँडाहरू चाहिन्छन्‌ भने सीटमुनि राख्न मिल्ने हुनुपर्छ। यो पनि नबिर्सनुहोस्‌, अपराह्नको मध्यान्तरमा खान भ्याउने भोजन वा पेय पदार्थ मात्र ल्याउनुपर्छ। राज्यभवनमा जस्तै सभाहरूको दौडान हामी कार्यक्रम भइरहेको बेला भवनभित्र खानेकुरा खाँदैनौं। यसरी हामी उपासनाको प्रबन्ध र प्रदान गरिएको आध्यात्मिक भोजनप्रति आदर देखाउँछौं।

२३ चाँडै “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनहरूमध्ये पहिलो अधिवेशन सुरु हुनेछ। के तपाईंले उपस्थित हुन तयारी गरिसक्नुभयो? के अब तपाईं तीन दिनसम्म रमाइलो संगति र आध्यात्मिक कुराहरूको आनन्द उठाउन तयार हुनुहुन्छ? यो वर्षको ग्रीष्मकालीन अधिवेशनमा उपस्थित हुन यहोवाले तपाईंको प्रयासलाई आशिष्‌ दिनुहुनेछ भनी हामी विनम्र प्रार्थना गर्छौं।

[पृष्ठ ६-मा भएको पेटी]

जिल्ला अधिवेशनका लागि सम्झौटाहरू

बप्तिस्मा: बप्तिस्मा लिने व्यक्‍तिहरू कार्यक्रम सुरु हुनुअगावै निर्देशित ठाउँमा बसिसकेको हुनुपर्छ। तिनीहरू प्रत्येकसित सुहाउँदो स्नान पोशाक र तौलिया हुनुपर्छ। हाम्रो सेवकाई (अंग्रेजी) पुस्तक पुनरावलोकन गर्ने मण्डलीका प्राचीनहरूले बप्तिस्मा लिने प्रत्येक व्यक्‍तिले यी बुँदाहरू राम्ररी बुझेका छन्‌ कि छैनन्‌, पक्का गर्नेछन्‌। बप्तिस्माको भाषण र प्रार्थनापश्‍चात्‌ अध्यक्षले बप्तिस्मा लिने व्यक्‍तिहरूलाई संक्षेपमा निर्देशनहरू दिएर गीत गाउन आह्वान गर्नेछन्‌। अन्तिम हरफ गाइसकेपछि परिचारक भाइहरूले बप्तिस्मा लिनेहरूलाई डुबुल्की लगाउने ठाउँमा लानेछन्‌। बप्तिस्मा, यहोवाप्रति समर्पणको प्रतीकात्मक रूप हुनुका साथै परमेश्‍वर र उक्‍त व्यक्‍तिबीच घनिष्ठता तथा व्यक्‍तिगत कुरा हो। त्यसैले दुइ वा त्योभन्दा बढी व्यक्‍तिहरू आलिंगन गरेर वा हात समाएर एकैसाथ बप्तिस्मा लिने प्रबन्ध छैन।

बिल्लाहरू: कृपया अधिवेशनको दौडान, अधिवेशनमा आउँदा र फर्कंदा १९९६ को बिल्ला लगाउनुहोस्‌। यसो गर्दा यात्राको समयमा उत्तम साक्षी दिने मौका मिल्छ। आफ्नो मण्डलीबाट बिल्लाहरू र होल्डरहरू प्राप्त गर्नुपर्छ। अधिवेशनमा ती चीजहरू उपलब्ध हुनेछैनन्‌। अधिवेशन सुरु हुन दुइ चार दिन मात्र बाँकी भएपछि तपाईं र तपाईंको परिवारका लागि बिल्लाहरू माग्न नपर्खनुहोस्‌। म्याद नकाटेको अग्रिम चिकित्सा/निर्देश पूर्जी बोक्न नभुल्नुहोस्‌।

आवास: होटेलमा केही समस्या आइपरेमा यसबारे अधिवेशनको आवास निरीक्षकलाई बताउन अप्ठ्यारो नमान्‍नुहोस्‌। त्यसो गर्दा तिनले त्यो समस्या तुरन्तै समाधान गर्न तपाईंलाई सहयोग गर्नसक्छन्‌। मण्डलीका सचिवहरूले अधिवेशनको सही ठेगानामा आवास निवेदन फाराम अविलम्ब पठाउन बिर्सनु हुँदैन। मिलाइसकेको आवासलाई रद्द गर्नुपऱ्‍यो भने, होटेल र अधिवेशनको आवास विभागलाई तपाईंले तुरुन्तै सूचना दिई हाल्नुपर्छ ताकि त्यो कोठा अरूलाई दिन सकियोस्‌।

स्वयं सेवा: भोजन सेवामा कटौती गरिएको हुँदा त्यो विभागमा पहिले काम गरेका व्यक्‍तिहरूले अरू विभागमा स्वयं सेवा गर्नसक्छन्‌। अधिवेशनमा सघाउन के तपाईं समय मिलाउन सक्नुहुन्छ? केही घण्टा मात्र भए पनि आफ्ना भाइहरूको सेवा गर्नु धेरै मदतकारी हुनसक्छ र यसले परम सन्तुष्टि दिन्छ। तपाईं सहयोग गर्न सक्नुहुन्छ भने, कृपया अधिवेशनको स्वयं सेवा विभागलाई जानकारी दिनुहोस्‌। सोह्र वर्षमुनिका केटाकेटीहरूले आफ्ना आमाबाबु र अरू जिम्मेवार वयस्कहरूको निर्देशनमा काम गरेर उत्तम योगदान पुऱ्‍याउनसक्छन्‌।

ध्यान दिनुपर्ने कुराहरू: अनावश्‍यक कठिनाइबाट जोगिन सम्भाव्य समस्याहरूबारे सतर्क हुनुहोस्‌। घर छाडेर टाढा जाँदा चोरहरू र अरू बेइमान व्यक्‍तिहरूले अक्सर त्यसको मौका छोप्नेछन्‌। विशेषतः चोरहरू र पाकेटमारहरूले ठूला जमघटहरूमा फाइदा उठाउँछन्‌। आफ्नो कुर्सीमा बहुमूल्य चीजहरू छोड्‌नु बुद्धिमानी हुनेछैन। त्यहाँ भेला भएका सबै मसीहीहरू हुन्‌ भनेर तपाईं निश्‍चित हुन सक्नुहुन्‍न। कुनै पनि प्रलोभनलाई किन निम्त्याउनु? बाहिरका व्यक्‍तिहरूले केटाकेटीहरूलाई फकाएर लाने चेष्टा गरेका रिपोर्टहरूसमेत प्राप्त भएका छन्‌। छोराछोरीहरूलाई सधैं आफूसितै राख्नुहोस्‌।

धेरै होटेलहरूमा केबल टेलिभिजनहरू उपलब्ध छन्‌ र यसमा प्रायजसो कामुक तथा अश्‍लिल चलचित्रहरू देखाइन्छन्‌। यो पासोबारे चनाखो हुनुहोस्‌ अनि कोठामा बिना रेखदेख छोरोछोरीहरूलाई टिभी हेर्न नदिनुहोस्‌।

कृपया अधिवेशनसम्बन्धी जानकारी हासिल गर्न अधिवेशन भवनको प्रबन्धकगणलाई फोन नगर्नुहोस्‌। प्राचीनहरूबाट जानकारी हासिल नभएमा अगस्त १९९६ हाम्रो राज्य सेवकाई-मा सूचीबद्ध अधिवेशन मुख्यालयहरूको ठेगानामा पत्राचार गर्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने