प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 सेप्टेम्बर pp. ३-६
  • १९९८ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १९९८ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • १९९७ “परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९७
  • १९९६ “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९६
  • १९९५ “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९५
  • सन्‌ १९९९ “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 सेप्टेम्बर pp. ३-६

१९९८ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन

१ संसारभरिका यहोवाका वर्तमान उपासकहरू वर्षैपिच्छे जिल्ला अधिवेशनमा भेला हुने आशा उत्सुकताका साथ गर्छन्‌। यस्तो उत्सुकतामा तिनीहरू प्राचीन इस्राएलका यहोवाका विश्‍वासी सेवकहरूको जस्तै मनोभाव देखाउँछन्‌। तिनीहरूले यहोवाको उपासना गर्न यरूशलेम जाँदा भजन १२२ का शब्दहरू गाएका थिए। उक्‍त भजनको पद १ ले भन्छ: “जब तिनीहरूले मलाई भने, ‘परमप्रभुको [यहोवाको] भवनमा जाऔं,’ तब म रमाएँ।” यस्ता अवसरहरूमा यशैया २:२, ३ का प्रेरित शब्दहरू पूर्ति भएको थप प्रमाण पनि पाउनसक्छौं।

२ हितोपदेश १०:२९ मा हामीलाई “परमप्रभुको मार्ग इमान्दारीको निम्ति एक किल्ला हो” भनेर सम्झना गराइएको छ। यो वर्षको अधिवेशनको विषय कत्ति उपयुक्‍त छ—“परमेश्‍वरले चाहनुहुने जीवनशैली”! यस विषयलाई तीन दिने कार्यक्रमको दौडान कसरी प्रस्ट पारिनेछ? आउनुहोस्‌, हामी के के सिक्नेछौं, उत्सुकताका साथ प्रतीक्षा गरौं। त्यतिखेर उल्लेखनीय बुँदाहरू प्रकाशमा ल्याइनेछन्‌।

३ उपस्थित हुने तपाईंको प्रयास खेर जाँदैन: अफ्रिकाका हाम्रा थुप्रै भाइबहिनीहरूले स्थानीय युद्ध अनि अशान्तिले गर्दा कठिनाइहरू सामना गरेका छन्‌। तिनीहरू यहोवाका जनहरूका अधिवेशन जीवनमा नभई नहुने कुरा हो भन्ठान्छन्‌। कसै कसैले अधिवेशनमा उपस्थित हुन निकै लामो यात्रा गर्नुपर्छ तर तिनीहरू कुनै पनि हालतमा छुटाउन चाहँदैनन्‌। गणतन्त्र कंगोका (पहिलेको जायर) ७३ वर्षीय भाइ करिब ४५० किलोमिटर हिंडेर अधिवेशनमा उपस्थित भए। तिनले १६ दिनसम्म हिंड्‌नुपऱ्‍यो अनि खुट्टाहरू सुन्‍निए। तर तिनी खुसी थिए। अधिवेशन सिद्धिएपछि तिनी आनन्दित र आध्यात्मिक तवरमा बलियो भएर फेरि पैदल नै घर फर्के। तिनी वर्षौंदेखि यसै गरिरहेका छन्‌!

४ मोजाम्बिकको क्षेत्रीय सम्मेलनमा उपस्थित हुन जिल्ला निरीक्षक र तिनकी पत्नीले अग्लो पहाड पार गर्नुका साथै मरुभूमितुल्य ठूलो क्षेत्र हिंडेरै काटे। तिनीहरूले ९० किलोमिटर लामो बाटो ४५ घण्टामा पार गरे। सम्मेलनमा उपस्थित सबै यस दम्पतीको असल उदाहरणद्वारा प्रोत्साहित भए। त्यहाँ उपस्थित अन्य थुप्रै परिवारहरू पनि त्यसरी नै पैदलै आएका थिए। जिल्ला निरीक्षकको रिपोर्टअनुसार एक जना ६० वर्षीय भाइलगायत केही भाइबहिनीहरूले २०० किलोमिटर लामो पैदल यात्रा गरेका थिए!

५ के तपाईंले यस वर्षको अधिवेशनमा उपस्थित हुन निश्‍चित योजनाहरू बनाउनुभएको छ? तपाईंले लामो पैदल यात्रा नै त गर्नु नपर्ला तर तपाईं र तपाईंको परिवार अधिवेशनमा उपस्थित हुन केही कोसिस र त्याग भने गर्नुपर्छ। सम्पूर्ण कार्यक्रममा सुरुदेखि अन्तसम्मै उपस्थित हुने योजना बनाउनुहोस्‌। थुप्रै बाइबल विद्यार्थीहरू समर्पणतर्फ अघि बढिरहेका छन्‌। तिनीहरू अधिवेशनमा उपस्थित हुनाले सही निर्णय गर्न मदत पाउनेछन्‌। के तपाईंले आफ्ना बाइबल विद्यार्थी र चासो देखाउनेहरूलाई अधिवेशनमा उपस्थित हुन निमन्त्रणा दिनुभएको छ?

६ तीन दिने कार्यक्रम: यस वर्ष भारतमा २० ठाउँमा अधिवेशन हुनेछन्‌। अंग्रेजीबाहेक कन्‍नडा, गुजराती, तामिल, तेलगु, नेपाली, पंजाबी, बंगाली, मल्यालम र हिन्दी भाषाहरूमा अधिवेशन हुनेछन्‌। यसै परिशिष्टको पृष्ठ ६ मा यी अधिवेशनहरू सम्पन्‍न हुने मिति र स्थानहरू दिइएको छ।

७ ध्यान दिनुपर्ने कुरा: शुक्रबार, शनिबार र आइतबार बिहान ९:३० मा कार्यक्रम सुरु हुनेछ। शुक्रबार र शनिबार दिउँसो ५:०० बजे कार्यक्रम समापन हुनेछ भने आइतबार चाहिं दिउँसो ४:०० बजे समापन हुनेछ। भवनका ढोकाहरू बिहान ८:०० बजे खोलिनेछन्‌। काममा खटाइएकाहरूलाई मात्र त्यसअघि प्रवेश गर्ने अनुमति दिइनेछ। तथापि, कसैलाई पनि ८:०० बज्नुअघि सीटहरू ओगट्‌न दिइनेछैन।

८ हामीले अधिवेशनमा आवतजावत गर्दा अनौपचारिक साक्षी दिने मौका छोप्नुपर्छ। पेट्रोल पम्पका कामदार, पसले, होटलका कर्मचारी र वेटरहरू परमेश्‍वरको राज्यको समाचार सुन्‍न इच्छुक होलान्‌। यसको लागि आफ्नो साथमा पर्चा, ताजा पत्रिका, पुस्तिका वा अन्य साहित्यहरू राख्नुहोस्‌। फलतः अरू बेला सुसमाचार सुनाउन नपाइने मानिसहरूलाई मौकाको फाइदा उठाएर साक्षी दिन सक्नुहुन्छ।—२ तिमो. ३:१७.

९ “होशियार रहो, तिमीहरू कसरी सुन्छौ”: अधिवेशनका प्रतिनिधिहरू बुद्धिमानीसाथ लूका ८:१८ मा दिइएको सल्लाह पालन गर्छन्‌। सबैलाई बाइबलका साथै गीतिपुस्तक र कापी ल्याउन प्रोत्साहित गरिन्छ। प्रत्येक भाषणको मुख्य मुख्य बुँदाहरू ध्यान दिएर सुन्‍नुहोस्‌ अनि छोटकरीमा टिपोटहरू लिनुहोस्‌। उक्‍त बुँदाहरू कसरी व्यक्‍तिगत रूपमा प्रयोग गर्न सकिन्छ, आफैलाई सोध्नुहोस्‌। अधिवेशनबाट वासस्थानफर्केपछि सुत्नुअघि आफूले टिपेका टिपोटहरू पुनरावलोकन गर्नुहोस्‌। अनि तपाईंले कुन हदसम्म यहोवाले चाहनुभएको जीवनशैली बिताइरहनुभएको छ, विश्‍लेषण गर्नुहोस्‌।—हितो. ४:१०-१३.

१० अधिवेशनको दौडान कोही कोही भवनबाट निस्केर आफ्नो सवारीसाधनमा बसेको पाइन्छ। यसो गर्नाले तिनीहरू कार्यक्रममा प्रस्तुत गरिएका कुरा सुन्‍न पाउँदैनन्‌। कोही चाहिं भवनमा बसेर कार्यक्रम सुन्‍नुको साटो भवनको बाहिरतिर बित्थैमा डुलिरहेको देखियो। युवायुवतीहरू अपराह्नको सभामा बस्नुको साटो झुन्ड झुन्ड भएर भवनबाहिर निस्केको देखियो। यहोवाले दिनुभएका सम्झौटाहरू ध्यानसित नसुनेका कारण बिगतमा यहोवाका केही सेवकहरूले आफ्ना जीवनमा गम्भीर गल्तीहरू गरे। निस्सन्देह, हामी त्यस्ता गल्ती दोहऱ्‍याउन चाहन्‍नौं। (२ राजा १७:१३-१५) “विश्‍वासी र बुद्धिमान दास[ले]” हामी प्रत्येकलाई चाहिने निर्देशनहरू तयार पारेका छन्‌। यस तीन दिने कार्यक्रमको दौडान “झन्‌ बढी उत्कट ध्यान दिनु” अत्यावश्‍यक छ। हरेक दिन हाम्रो जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने जानकारीलगायत अन्य चाखलाग्दा विषय प्रस्तुत गरिनेछ। आउँदै गरेको अधिवेशनको कार्यक्रम ध्यान दिएर सुन्‍नुका साथै यहोवाले प्रबन्ध गर्नुभएको आध्यात्मिक कुराबाट फाइदा उठाएर हाम्रो आशा स्थिर बनाउन सक्नेछौं। फलतः हामी परमेश्‍वरले चाहनुहुने जीवनशैलीबाट “तर्केर जाने[छैनौं]।”—मत्ती २४:४५; हिब्रू २:१.

११ यहोवालाई आदर गर्ने पहिरन: वर्तमान कठिन समयमा हामीलाई यस संसारको आत्माले अचाक्ली प्रभावित नपार्न झन्‌ बढी उत्कट ध्यान दिनु आवश्‍यक छ। (१ कोरि. २:१२) हाम्रो पहिरन र कोरिबाटी भद्र हुनुपर्छ र हामीले उपासना गर्ने परमेश्‍वरको मर्यादा झल्काउनुपर्छ। (१ तिमो. २:९, १०) “परमेश्‍वर हाम्रा उद्धारकर्त्ताको सिद्धान्तको शोभा बढा[उन]” महँगा दामी लुगाफाटा लगाउनु जरुरी छैन। (ती. २:१०) जून १५, १९९७ को प्रहरीधरहरा, पृष्ठ १७ र १८, अनुच्छेद १४-१८ मा दिइएको अति व्यवहारिक शास्त्रीय सल्लाहलाई ध्यान दिनुहोस्‌। यहोवालाई आदर गर्ने पहिरन लगाएर हामी जोडदार साक्षी दिनसक्छौं। अतः यसलाई कहिल्यै हल्कासित नलेऔं।

१२ कार्यक्रमपछि एक साँझ एउटी १६ वर्षीया साक्षी आफ्नो दाइसँग रेस्टुराँमा गइन्‌। त्यहाँ उनीहरूले केही भाइबहिनीहरू अधिवेशनमा लगाएको लुगा फेरेर नसुहाउँदो पहिरनमा आएको याद गरे। तथापि, सुकिलो अनि चिटिक्क परेको लुगा तथा अधिवेशनको बिल्ला लगाएका साक्षीहरू देखेर रेस्टुराँका थुप्रै ग्राहकहरूले सकारात्मक प्रतिक्रिया देखाए। फलतः केही ग्राहकहरूलाई साक्षी दिने बाटो खुल्यो।

१३ यहोवाको प्रशंसा गर्ने आचरण: अरूले साँचो उपासनाप्रति राख्ने दृष्टिकोणमा हाम्रो मसीही आचरणले प्रभाव पार्नसक्छ भनेर हामीलाई थाह भएकै कुरा हो। तसर्थ, हामी सधैं सुसमाचारको योग्य हुने र यहोवाको प्रशंसा गर्ने आचरण देखाउन चाहन्छौं।—फिलि. १:२७.

१४ गत वर्ष उत्तर अंगोलामा पहिलोपल्ट जिल्ला अधिवेशन सम्पन्‍न भएको थियो। अधिवेशनमा शान्ति र सुरक्षा छ कि छैन, निधो गर्न अधिवेशनको दोस्रो दिनमा स्थानीय दुई प्रहरी अधिकृतहरू खटाइए। तिनीहरू दिनभरि त्यहाँ बसे। आफूले सुनेका कुरा र देखेका शान्त व्यवहारप्रति कार्यक्रमको अन्तमा तिनीहरूले प्रशंसा व्यक्‍त गरे। तीमध्ये एक जनाले भने: “हामीलाई यहाँ किन खटाइएको होला कुन्‍नि? यहोवाका साक्षीहरूको जमघटमा शान्ति र सुरक्षा हुन्छ भनेर हामीलाई थाह छँदै छ नि।”

१५ अफ्रिकी मुलुकको एउटा राजनैतिक दलका सबै सदस्यहरूको हत्या भएपछि एक सदस्य युरोपतिर भागे। तिनी अनेक समस्याहरूको चपेटामा परे अनि हुनसम्म निरुत्साहित भए। अन्ततः तिनी बाइबल अध्ययन गर्न राजी भए। तिनी पहिलोपल्ट जिल्ला अधिवेशनमा उपस्थित हुँदा विविध पृष्ठभूमिका मानिसहरू शान्ति र मेलमिलापसँग एकसाथ भेला भएको देखेर प्रभावित भए। आफूले सत्य पाएको कुरामा तिनी विश्‍वस्त भए अनि त्यही अधिवेशनमा बस्दा बस्दै आफ्ना सारा राजनैतिक सम्बन्धहरू तोड्‌ने निर्णय गरे। पछि तिनले बप्तिस्मा लिए अनि अहिले आफ्ना छोराछोरीकासाथ यहोवाको सेवा गरिरहेका छन्‌।

१६ पहिलोचोटि उपस्थित हुनेहरूमाथि यस वर्षको अधिवेशनमा हाम्रो आचरणले कस्तो प्रभाव पार्ला त? के तिनीहरू हामीले स्वयंसेवकको हैसियतमा एकसाथ काम गर्दा हाम्रो सहयोगी मनोभाव देख्नेछन्‌? के तिनीहरू हाम्रो वरिपरि सफासुग्घर देखेर प्रभावित हुनेछन्‌? कतै सीटको छेउछाउमा कसिंगर छ भने भवनबाट निस्कनुअघि हामी तथा हाम्रा बच्चाहरूले टिपेको देखेर तिनीहरू प्रभावित होलान्‌ कि? के हामी आफ्नो आवासमा अनि अधिवेशनमा आवतजावत गर्दा तिनीहरूले हाम्रो असल आचरण देख्नेछन्‌? आमाबाबुको हैसियतमा हामीले हर घडी आफ्ना बच्चाहरूको कडा निगरानी राखेको तिनीहरूले याद गर्नेछन्‌? आउनुहोस्‌, हामीमाथि नजर राख्नेहरू सबैप्रति हामी सकेसम्म असल छाप पारौं।

१७ अधिवेशनको खर्च बेहोर्ने: आजको दुनियाँमा रंगशाला वा सभा गृहमा कुनै खेलकुद अथवा अन्य समारोह हेर्न निकै महँगो टिकट किन्‍नुपर्छ। यसो हुनुका कारण केही हदसम्म महानगरहरूको चर्को भाडा हो। सोसाइटीले अधिवेशनमा सधैं नै “प्रवेश निश्‍शुल्क” भन्‍ने नीति अपनाउँदै आएको छ। त्यसोभए, भवनको भाडा र अधिवेशनका अन्य खर्चहरू कसरी बेहोरिन्छ त? अधिवेशनमा उपस्थित हुनेहरूले उदारचित्तसाथ दिएको चन्दाद्वारा। बितेको समयमा परमेश्‍वरका सेवकहरूले परमेश्‍वर यहोवा र येशू ख्रीष्टको अनुकरण गरेर देखाएको जस्तै उदारचित्त तपाईंहरूले पनि देखाउनुहुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं। (२ कोरि. ८:७) चन्दा सम्हाल्न, रिपोर्ट राख्न अनि ठीक काममा सदुपयोग गर्न ठूलो सावधानी अपनाइन्छ। चेकद्वारा दिइने चन्दा “वाचटावर”-ले पाउनेगरि पठाउनुपर्छ।

१८ सीट: आफ्नै परिवारका सदस्यहरू र तपाईंसित यात्रा गर्नेहरूका लागि मात्र ठाउँ ओगटेर राख्न सकिन्छ भनेर धेरै वर्षदेखि दिइँदै आइएको निर्देशनहरू यसपाली पनि लागू हुनेछ। यी निर्देशनहरू पालन भइरहेको देख्न पाउनु प्रोत्साहनदायी कुरा हो र यसले अधिवेशनहरूमा देखिने मायालु वातावरणमा सुनमा सुगन्ध थपेको छ। कतिपय सीटहरू ओहोरदोहोर गर्न सजिलो ठाउँमा हुन्छन्‌। कृपया, विचार पुऱ्‍याउनुहोस्‌ अनि आरामदायी सीटहरू बूढाबूढी र जसलाई आवश्‍यक छ उनैलाई छाडिदिनुहोस्‌। नबिर्सनुहोस्‌, ‘प्रेमले आफ्नै भलाई खोज्दैन।’—१ कोरि. १३:४, ५; फिलि. २:४.

१९ क्यामेरा, भिडियो क्यामेरा अनि अडियो रेकर्डरहरू: क्यामेरा र रेकर्ड गर्ने साधनहरू अधिवेशनमा प्रयोग गर्न सकिन्छ। तथापि, हामीले ती प्रयोग गर्दा त्यहाँ उपस्थित अरूलाई बाधा पुगेको हुनु हुँदैन। कार्यक्रम चलिरहेको बेला हामी तस्बिर खिच्न यताउता हिंड्‌नु हुँदैन। किनभने त्यसो गर्दा कार्यक्रममा ध्यानमग्न हुन कोसिस गरिरहेकाहरूलाई बाधा पुग्छ। कुनै पनि प्रकारको रेकर्डिङ उपकरणलाई विद्युत वा ध्वनि प्रणालीमा जोड्‌न पाइँदैन वा भवनभित्र हिंड्‌ने बाटो रोक्न वा अरू श्रोताहरूलाई छेक्न पाइँदैन।

२० प्राथमिक उपचार: प्राथमिक उपचार विभाग आकस्मिक सेवाको लागि मात्र हो। कृपया, एस्पिरिन, पाचक, ब्यान्डेज, सेफ्टी पिन र त्यस्तै चीजहरू आफै ल्याउनुहोस्‌। यी चीजहरू अधिवेशन भवनमा उपलब्ध गराइनेछैन। मूर्छा पर्ने रोगहरू, हृदयघात तथा त्यस्तै रोग भएकाहरूले आफूलाई चाहिने औषधीहरू आफै ल्याउनुपर्छ। तिनीहरूको रोगबारे थाह भएका अनि बिसन्चो भएको खण्डमा मदत गर्नसक्ने परिवारका कुनै सदस्य वा मण्डलीको कुनै भाइ या बहिनी हरबखत तिनीहरूसित रहनुपर्छ। दीर्घकालीन रोगीहरूलाई एक्लै छाड्‌दा अधिवेशनहरूमा समस्याहरू खडा भएका छन्‌। ती व्यक्‍तिहरूलाई आवश्‍यक हेरचाह गर्नसक्ने परिवारका सदस्यहरू छैनन्‌ भने मण्डलीका प्राचीनहरूलाई अवगत गराउनुपर्नेछ र आवश्‍यक प्रबन्ध मिलाउनुपर्छ। हावापानी फेरबदल हुँदा बिमारी हुने अथवा एलर्जीका रोगीहरूलाई राख्न अधिवेशनमा विशेष कोठाहरूको प्रबन्ध मिलाउन सकिंदैन।

२१ अधिवेशनमा खानेकुरा: मध्यान्तरको छोटो अवधिमा खानेकुरा किन्‍न बाहिर यताउति कुद्‌नुको साटो अधिवेशनमा आउनेहरू सबैले आफै खानेकुरा ल्याउनुपर्छ। पौष्टिक तथा बोक्न सजिलो हुने हल्का खाजा भए पर्याप्त हुन्छ। जुलाई १९९५ को हाम्रो राज्य सेवकाई-ले कस्ता खानेकुराहरू ल्याउन सकिन्छ भन्‍ने विषयमा बताएको छ। अधिवेशन भवनमा फुट्‌ने भाँडाकुँडा र मद्य पेयपदार्थहरू ल्याउन पाइँदैन। खानेकुराको भाँडा वा झोला तपाईंको सीट मुनि अटाउने साइजको हुनुपर्छ। केही श्रोताहरूले कार्यक्रम भइरहेको बेला खाँदै र पिउँदै गरेको देखिएको छ। यसो गर्नु अधिवेशनको अनादर गरेको हुनेछ।

२२ चाँडै १९९८ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन सुरु हुन लागेकोमा हामी कत्ति आनन्दित छौं! तपाईंले अधिवेशनमा उपस्थित हुन चाँजोपाँजो मिलाइसक्नुभयो त? तपाईंको यात्रा सुरक्षित रहोस्‌ अनि स्फूर्ति प्राप्त गरेर घर फर्कन सक्नुहोस्‌। साथै यहोवाको अनमोल सेवामा लागिरहन र अनन्त आशिष्‌ प्राप्त गर्न परमेश्‍वरले चाहनुहुने जीवनशैली बिताउने संकल्प गर्नुहोस्‌।

[पृष्ठ ६-मा भएको पेटी]

अधिवेशनका लागि सम्झौटाहरू

▪ बप्तिस्मा: बप्तिस्मा लिने व्यक्‍तिहरू शनिबार कार्यक्रम सुरु हुनुअगावै निर्देशित ठाउँमा बसिसकेको हुनुपर्छ। बप्तिस्मा लिनेहरू प्रत्येकसित सुहाउँदो स्नान पोसाक र तौलिया हुनुपर्छ। बितेका समयमा कसै कसैले अनुपयुक्‍त पोसाक लगाएका र बप्तिस्मा लिनबाट बञ्चित भएका छन्‌। हाम्रो सेवकाई पुस्तक पुनरावलोकन गर्ने प्राचीनहरूले बप्तिस्मा लिने प्रत्येक व्यक्‍तिले यी बुँदाहरू राम्ररी बुझेका छन्‌ कि छैनन्‌, पक्का गर्नुपर्छ। बप्तिस्मा भनेको समर्पणको प्रतीक हुनुका साथै यहोवा र उक्‍त व्यक्‍तिबीचको घनिष्ठता अनि व्यक्‍तिगत कुरा हो। त्यसैले, दुई वा त्योभन्दा बढी व्यक्‍तिहरू आलिंगन गरेर वा हात समाएर एकैसाथ बप्तिस्मा लिनु उचित हुँदैन।

▪ बिल्लाहरू: कृपया, अधिवेशन आयोजना भएको शहरमा आउँदा र फर्कंदा जहिले पनि १९९८ को बिल्ला लगाउनुहोस्‌। यसो गर्दा साक्षी दिने उत्तम मौका मिल्छ। बिल्लाहरू र होल्डरहरू आफ्नो मण्डलीबाट प्राप्त गर्नुपर्छ। अधिवेशनमा ती उपलब्ध हुने छैनन्‌। अधिवेशन सुरु हुन दुई चार दिन बाँकी हुँदा आफू र आफ्नो परिवारका लागि बिल्लाहरू लिऊँला नि भनेर नपर्खनुहोस्‌। अग्रिम चिकित्सा/निर्देशन पूर्जी बोक्न नभुल्नुहोस्‌।

▪ आवास: अधिवेशनको दौडान यस सन्दर्भमा समस्या आइपरेमा अधिवेशनको आवास विभागलाई बताउन अप्ठ्यारो नमान्‍नुहोस्‌। त्यसो गर्दा तिनले त्यो समस्या तुरुन्तै समाधान गर्न तपाईंलाई सहयोग गर्नसक्छन्‌। मण्डलीका सचिवहरूले अधिवेशनको सही ठेगानामा आवास निवेदन फाराम अविलम्ब पठाउन बिर्सनु हुँदैन। मिलाइसकेको आवासलाई रद्द गर्नु परेमा अधिवेशनको आवास विभागलाई तपाईंले तुरुन्तै सूचना दिई हाल्नुपर्छ ताकि त्यो कोठा अरूलाई दिन सकियोस्‌।

▪ स्वयं सेवा: अधिवेशनको कुनै विभागलाई सघाउन के तपाईं समय मिलाउन सक्नुहुन्छ? केही घण्टा मात्र भए पनि आफ्ना भाइहरूको सेवा गर्नु धेरै मदतकारी हुनसक्छ र यसले परम सन्तुष्टि दिन्छ। तपाईं सहयोग गर्न सक्नुहुन्छ भने, कृपया अधिवेशनको स्वयं सेवा विभागलाई जानकारी दिनुहोस्‌। सोह्र वर्षमुनिका केटाकेटीहरूले पनि आफ्ना आमाबाबु वा अरू जिम्मेवार वयस्कहरूको निर्देशनमा काम गरेर राम्रो योगदान पुऱ्‍याउनसक्छन्‌।

▪ सावधान रहनुपर्ने कुराहरू: तपाईंको मोटरमा सधैं साँचो लगाउन नबिर्सनुहोस्‌ अनि मोटरभित्र देखिनेगरि कुनै चीजबीज नराख्नुहोस्‌। नत्र ती चीजहरूद्वारा प्रलोभित भएर कसैले मोटरका शीशा फुटाल्नसक्छन्‌। चोर र पाकेटमारहरू ठूला जमघटहरूको फाइदा उठाउँछन्‌। आफ्नो कुर्सीमा बहुमूल्य चीजहरू छोड्‌नु बुद्धिमानी हुनेछैन। त्यहाँ भेला भएका सबै मसीहीहरू नै हुन्‌ भनेर तपाईं निश्‍चिन्त हुन सक्नुहुन्‍न। अरूलाई किन प्रलोभनमा पार्ने? बाहिरका मानिसहरूले केटाकेटीहरूलाई फकाएर लाने चेष्टा गरेका रिपोर्टहरूसमेत प्राप्त भएका छन्‌।

छोराछोरीहरूलाई सधैं आफूसितै राख्नुहोस्‌।

धेरै होटेलहरूमा टेलिभिजन र भिडियो सेवाहरू उपलब्ध छन्‌ र यसमा प्रायजसो अश्‍लील चलचित्रहरू देखाइन्छन्‌। छोरोछोरीलाई कोठामा बिनारेखदेख टेलिभिजन हेर्न नदिनुहोस्‌।

कृपया, अधिवेशनसम्बन्धी जानकारी हासिल गर्न अधिवेशन भवनको प्रबन्धकगणलाई फोन नगर्नुहोस्‌। प्राचीनहरूबाट जानकारी हासिल नभएमा मे १९९८ हाम्रो राज्य सेवकाई, पृष्ठ ५ मा दिइएको अधिवेशन मुख्यालयहरूको ठेगानामा पत्राचार गर्न सक्नुहुन्छ। यदि तपाईंले कोएम्बेटर वा मदुराईको अधिवेशनमा उपस्थित हुने योजना बनाउँदै हुनुहुन्छ भने यही हाम्रो राज्य सेवकाई-को पृष्ठ ७ मा त्यहाँको अधिवेशन मुख्यालयको ठेगाना दिइएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने