प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 सेप्टेम्बर pp. ३-६
  • १९९४ “ईश्‍वरीय भय” जिल्ला सम्मेलन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १९९४ “ईश्‍वरीय भय” जिल्ला सम्मेलन
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • १९९६ “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९६
  • “ज्योति वाहकहरूका” १९९२-को जिल्ला सम्मेलन
    हाम्रो राज्य सेवकाई—१९९२
  • १९९५ “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९५
  • १९९७ “परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 सेप्टेम्बर pp. ३-६

१९९४ “ईश्‍वरीय भय” जिल्ला सम्मेलन

१ भारतमा सन्‌ १९९३, “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलनमा उपस्थित हुने २१,५९७ मध्ये अधिकांश व्यक्‍तिहरूले आध्यात्मिक स्फूर्तिदायक कार्यक्रमका लागि हार्दिक मूल्याङ्‌कन व्यक्‍त गरेको सुनिएको थियो। बाइबलमा पाइने ईश्‍वरीय शिक्षामाथि गहिरो ध्यान दिएको फलस्वरूप बप्तिस्मा लिनेहरूको कुल सङ्‌ख्या ८३० थियो। गत वर्ष त्यस्तो उत्प्रेरक कार्यक्रमबाट उठाएको आनन्दले यस वर्ष १९९४, “ईश्‍वरीय भय” जिल्ला सम्मेलनका लागि तयार पारिएका भावोत्तेजक कार्यक्रममा उपस्थित हुने हर प्रयत्न गर्न हामीलाई उत्प्रेरित गर्नु पर्ने हो। सारा मानवजातिले यति धेरै समस्याको सामना गर्नु परेको आजको यस्तो परिस्थितिमा अवश्‍य हामी सबैले आ-आफ्ना बाइबल विद्यार्थीहरूलाई सम्मेलनको निमन्त्रणा दिने मात्र होइन तर उनीहरूलाई हामीसँगै उपस्थित हुने चाँजो मिलाउने कोशिश पनि गर्नेछौं। आउँदा दिनहरूमा आइ पर्ने कुनै पनि बाधाहरूको बावजूद ईश्‍वरीय भयका साथ यहोवाको सेवा गरिरहन यो सम्मेलन हाम्रो निम्ति प्रोत्साहन र बलको साँचो स्रोत साबित हुनेछ।

२ हाबिल र नूहको समयदेखि आजसम्म विश्‍वासी मानिसहरूले “ईश्‍वरीय भय” देखाएका छन्‌। (हिब्रू ११:४, ७) ईश्‍वरीय भय अभ्यास गर्नुको अर्थ “सृष्टिकर्त्ताप्रति विस्मय तथा गहिरो श्रद्धा अनि उहाँलाई अप्रसन्‍न तुल्याउने स्वस्थकर डर” देखाउनु हो। (it-1, पृष्ठ ८१८) “ईश्‍वरीय भय” जिल्ला सम्मेलनमा उपस्थित भएर हामी त्यस्तो गहिरो श्रद्धा देखाउनेछौं। पूरै कार्यक्रमको आनन्द उठाउन के तपाईं उपस्थित हुनुहुनेछ?

३ प्रारम्भिक गीतदेखि समापन प्रार्थनासम्म सम्पूर्ण मनोरम आध्यात्मिक कार्यक्रमको आनन्द उठाउन होशियारी र प्रार्थनापूर्वक सम्मेलनमा उपस्थित हुने प्रबन्धहरू मिलाउनुहोस्‌। मदतको खाँचो पर्न सक्ने व्यक्‍तिहरू र अझ विशेषगरि नवजिज्ञासुहरूलाई प्रेमपूर्वक आफ्नो योजनामा समावेश गर्नुहोस्‌ ताकि तिनीहरू सबै कार्यक्रममा उपस्थित हुन सकून्‌। सम्मेलनमा उपस्थित हुन चाहने कुनै पनि बाइबल विद्यार्थीसँग यस परिशिष्टाङ्‌कमा दिइएको जानकारी छलफल गर्नु मदतकारी साबित हुनेछ।—गला. ६:१०.

४ तीन दिने सम्मेलन: यस वर्ष भारतमा १६ वटा सम्मेलनहरू हुनेछन्‌। सम्मेलन हुने स्थानहरूको सूची यसै परिशिष्टाङ्‌कमा दिइएका छन्‌। अङ्‌ग्रेजी भाषाको अलावा कन्‍नडा, कङ्‌कनी, गुजराती, तामिल, तेलगू, बङ्‌गाली, मल्यालम, मराठी र हिन्दी भाषाहरूमा सम्मेलनहरूको आयोजना हुनेछन्‌। अधिकांश स्थानहरूमा शुक्रबार बिहान १०:२० मा सङ्‌गीतद्वारा कार्यक्रम सुरु हुनेछ र लगभग साँझ ५:०० बजे बिसर्जन हुनेछ। शनिबारको दिन बिहान ९:३० बजे सुरु भएर लगभग साँझ ५:०० बजे गीत र प्रार्थनासाथ कार्यक्रम विसर्जन हुनेछ। आइतबारको दिन बिहान ९:३० बजे बिहानको कार्यक्रम आरम्भ हुनेछ र लगभग अपराह्न ४:१५ बजे दिनको कार्यक्रम विसर्जन हुनेछ।

५ हरेक वर्ष हामी ठूलो प्रत्याशाका साथ जिल्ला सम्मेलन धाउँछौं। सम्मेलन धाउन निकै व्यक्‍तिगत प्रयास र खर्च लाग्ला तर त्यसबाट प्राप्त हुने आशिष्‌हरू पनि कम छैनन्‌। हामी हर्ष मनाउँदै आध्यात्मिक रूपमा सन्तुष्ट अनि प्रोत्साहित भई घर फर्कन्छौं। (१ राजा ८:६६ तुलना गर्नुहोस्‌।) सम्मेलनको सङ्‌गति भावोत्तेजक हुन्छ र त्यसले हाम्रो एकोहोरो दिनचर्यामा केही नयाँपन पनि थप्छ। तर हामी यहोवाको उपासना गर्न जम्मा भएका हौं भनेर नभुल्नुहोस्‌। उहाँले हामीलाई त्यसो गर्ने आज्ञा दिनुहुन्छ। हामीहरू लाभान्वित हुन के गर्नुपर्छ, त्यो उहाँले सिकाउनु हुँदैछ।—व्यव. ३१:१२, १३; भजन. १२२:१.

६ यहोवाप्रतिको गहिरो श्रद्धाले हामीलाई उपस्थित हुन उत्प्रेरित गर्छ: “परमेश्‍वरलाई मनपर्ने सेवा भक्‍ति र डरले” चढाऊ भनी पावलले हिब्रू मसीहीहरूलाई सल्लाह दिएका थिए। (हिब्रू १२:२८) यस वर्षको जिल्ला सम्मेलन हामीलाई सो गर्ने मदत दिन तयार पारिएको छ। शायद त्यस्ता केही बाधाहरू आउलान्‌ जसले सम्मेलनमा उपस्थित हुने हाम्रो निर्णय कति बलियो छ भनी जाँच गर्नसक्छ। ती बाधाहरू पहाड सरह होलान्‌ तर यहोवाको मदतद्वारा हामी विजयी हुनसक्छौं। (मत्ती १७:२०) शुक्रबार बिहानदेखि आइतबार अपराह्नसम्म पूरै सम्मेलनमा उपस्थित हुन के तपाईंले प्रार्थनापूर्वक आफ्नो हाकिमलाई भेटेर छुट्टी माग्नु भएको छ? (याकू. १:६-८) स्कूल बिदा नभएका दिनहरूमा सम्मेलन धाउनु पर्ने अवस्था आइ लागेमा विद्यार्थीहरूले आफ्ना शिक्षक वा शिक्षिकाहरूलाई शुक्रबार र शनिबारको दिन आफ्नो धार्मिक उपासनाको यस महत्त्वपूर्ण अंशमा भाग लिनु परेकोले स्कूलमा गयल हुनेछु भनी आदरपूर्वक जानकारी दिनुपर्छ।

७ लगानीको लाभ उठाउनुहोस्‌: यो कुन लगानी हो? त्यो हो, सम्मेलनमा उपस्थित हुन लागेको समय र प्रयास। कार्यक्रमको ठूलो भाग छुटाएर आइतबार साँझै घर फर्कने किसिमले सम्मेलनको लागि होशियारीपूर्वक योजना बनाउनु बुद्धिमानी हुनेछैन। अरू काममा ध्यान दिन के तपाईं भोजको बीचमै उठेर जानुहुन्छ? गत वर्ष केही सम्मेलनहरूमा केही व्यक्‍तिहरू बिहानको सभा सकिएपछि घर फर्केको देखियो। तथापि, यहोवाले हाम्रो निम्ति तयार पार्नुभएको कुनै कुरादेखि वञ्चित नहुन हाम्रो आध्यात्मिक परिपक्वता र ईश्‍वरीय भयले हामीलाई रोक्नुपर्ने हो।—१ कोरिन्थी २:९, १० तुलना गर्नुहोस्‌।

८ हामीमध्ये अधिकांश व्यक्‍तिहरूले शायद सम्मेलनबाट चाँडै घर फर्कनेबारे सोच्दैनौं होला। यद्यपि, हामीले अझै पनि सम्मेलनको राम्रो भाग गुमाइरहेका हुनसक्छौं। तर कसरी? सम्मेलनमा प्रस्तुत गरिने कार्यक्रमहरूको अधिकतम फाइदा उठाउन पहिले नै योजना नबनाएर। कार्यक्रम सुरु हुन अगावै आ-आफ्ना ठाउँमा बस्ने हो भने त्यस दिन सबेरै उठेर यथेष्ट चिया चमेना खाएर हामीले अरू आवश्‍यक मालताल मिलाइ सकेको हुनुपर्छ। दिनभरिको पूरै कार्यक्रममा ध्यान दिन र चङ्‌खो भएर बस्न राती राम्ररी सुत्नु पनि आवश्‍यक छ।

९ कार्यक्रमको बढीभन्दा बढी फाइदा उठाउने प्रमाणित उपाय सन्तुलित टिपोटहरू लिनु हो। वयस्क व्यक्‍तिहरूले टिपोट लिनु जति आवश्‍यक छ, केटाकेटीहरूले टिपोट लिनु पनि त्यति नै आवश्‍यक छ। सोह्र वर्षीया प्रकाशक यसो भन्छिन्‌: “म भाषणको दौडान उल्लेख गरिएका शास्त्रपदहरू टिप्छु। त्यसो गर्दा घरमा गएर म त्यस भाषणलाई फेरि दोहोऱ्‍याउन सक्छु।” अर्को १६ वर्षीय जवान यसो भन्छन्‌: “म मुख्य बुँदाहरू टिप्छु। त्यसले मलाई कार्यक्रममा ध्यान केन्द्रित गर्न मदत गर्छ।” सामान्यतः कार्यक्रमका लागि तपाईंलाई आवश्‍यक पर्ने कुराहरू तपाईंको बाइबल, गीत पुस्तक, मध्यम साइजको नोट कापी र कलम वा पेन्सिल मात्र हुन्‌। निस्सन्देह साना केटाकेटी हुने आमाबाबुहरूले तिनीहरूको ख्याल राख्नु पर्ने हुन्छ तर त्यसो भन्दैमा खानेकुराको ठूल-ठूलो भाँडाहरू र थुप्रै व्यक्‍तिगत सर-सामानहरू ल्याएर आफूलाई र अरूलाई समेत अप्ठ्यारोमा पार्नु सुहाउँदो कुरा होइन।

१० केही भाइहरूले पछि घरमा गएर फेरि हेर्न वा सुन्‍न क्यासेट टेपरिकर्डर वा भिडियो क्यामरा ल्याएर कार्यक्रम रेकर्ड गर्छन्‌। यसो गर्ने वा नगर्ने व्यक्‍तिगत कुरा हो तर केही व्यक्‍तिहरूको अनुभवबाट के देखिएको छ भने, आफ्नो सामान्य दिनचर्यामा लागेपछि रेकर्ड गरिएको कार्यक्रमलाई फेरि सुन्‍ने वा हेर्ने फुर्सदै हुँदैन। यस बाहेक रेकर्ड गर्ने उपकरण मिलाउँदा मिलाउँदै भाषणको एक दुइटा मुख्य बुँदाहरू छुट्‌न सक्छन्‌।

११ कार्यक्रम सुरु हुनु अगावै आ-आफ्ना ठाउँमा बसिहाल्न हामीले निष्कपट प्रयास गर्नुपर्छ। सभापतिले कार्यक्रम आरम्भ हुन लागेको घोषणा गर्दा शायद हामी आफ्ना पुराना मित्रहरूसित रमाइला अनुभवहरू बाँटिरहेका हौंला तर हामीले आफ्नो कुराकानीलाई तुरुन्त बीचैमा रोकेर आ-आफ्ना ठाउँमा बस्यौं भने एक त कार्यक्रम प्रस्तुत गर्नेहरूप्रति र अझ विशेषगरि हाम्रा भाइहरूप्रति आदर देखाउँछौं।

१२ यहोवाको प्रशस्त आशिष्‌हरूले गर्दा जिल्ला सम्मेलन सधैं हर्षोल्लासपूर्ण हुन्छ। हामी आध्यात्मिक तथा भौतिक दुवै तरिकामा लाभान्वित हुन्छौं। सम्मेलन भवनलाई भाडामा लिन निकै खर्च लाग्छ भनेर नभुल्नुहोस्‌। खानेकुराको भाऊ पनि त्यतिकै बढिरहेको छ र प्रत्येक सम्मेलनमा वितरण गर्न सोसाइटीले गुणस्तरीय खानेकुरा किन्छ। यी खर्च लगायत अन्य खर्चहरू कसरी टारिन्छन्‌? हामीले चन्दास्वरूप स्वेच्छापूर्वक दिएको पैसा वा “द वाच टावर सोसाइटी” लाई भुक्‍तानी हुने चेकद्वारा। यसरी दिनु भजनसंग्रह ९६:८ को मनोभावसँग मेल खान्छ। उक्‍त पदले ‘यहोवालाई महिमा देओ र भेटी लिएर उहाँको दरवारमा आओ’ भनी हामीलाई प्रोत्साहित गर्छ।

१३ के तपाईंको चालचलनले प्रशंसा गर्नेछ?: जिल्ला सम्मेलनमा उपस्थित हुँदा असल चालचलन देखाउनु पर्ने महत्त्वबारे वर्षेनी हामीलाई हाम्रो राज्य सेवकाई द्वारा सम्झाइन्छ। अवश्‍य हाम्रो चालचलन सधैं उदाहरणीय हुनुपर्छ तर ठूलो सङ्‌ख्यामा हामी एकसाथ भेला हुँदा सच्चाइमा नभएकाहरूले हामीलाई प्रायः नियाँलेर हेरिरहेका हुन्छन्‌। असल होस्‌ वा खराब, हाम्रो चालचलनले हाम्रो प्रचार-कार्यले भन्दा बढी असर पार्छ। हाम्रो बोलीवचन र कामले यहोवाको महिमा गरेको हामी चाहन्छौं।—हितो. २७:२; १ पत्रु. २:१२.

१४ गत वर्षको “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलनपश्‍चात्‌ होटेलका सुरक्षाकर्मीले यसो भने: “धेरै समयपछि मैले यति भद्र केटाकेटीहरूको निगरानी गर्नपाएँ।” त्यसपछि अरू केटाकेटीहरूको अभद्र र विध्वंसकारी व्यवहारबारे टिप्पणी गरेपछि तिनले साक्षी केटाकेटीहरूबारे यो थप कुरा भने: “तिनीहरू असल शीलस्वभावका छन्‌ र तिनीहरूसँग व्यवहार गर्न मलाई रमाइलो लाग्छ। यहाँ हुने अरू सम्मेलनहरू पनि यस्तै भइदिओस्‌ जस्तो मलाई लाग्छ।”

१५ समाचार पत्रको स्तम्भकार सम्मेलनबारे यसो भन्छन्‌: “स्त्री तथा केटीहरूले राम्रा पोशाकहरू र त्यस्तैगरि पुरुष तथा केटाहरूले टाइ र कोट लगाएका थिए। चार दिनसम्म वक्‍ताहरूले दिएका भाषणहरूको तिनीहरूले गम्भीरतापूर्वक टिपोटहरू लिए। धार्मिकता र स्वच्छता एकसाथ आउँछ भन्‍ने भनाइ सत्य हो भने यहोवाका साक्षीहरूले धार्मिकता झल्कने उच्चस्तरीय स्वच्छता प्रदर्शित गर्छन्‌।” यद्यपि, सबै रिपोर्टहरू त्यति सकारात्मक छैनन्‌।

१६ एउटा सम्मेलनमा थुप्रै मानिसहरू सभाहरूको दौडान ओहोरदोहोर गरेको रिपोर्ट गरिएको थियो। शनिबार अपराह्नको कार्यक्रमको दौडान भवनभित्रको बाटोमा ओहोरदोहोर गर्ने व्यक्‍तिहरूको गणना लिंदा १,००० भन्दा बढी (जसमध्ये अधिकांश केटीकेटीहरू थिए) पाइयो। यसबाट आमाबाबुहरूले अझ बढी प्रशिक्षण दिनुपर्ने र निगरानीमा राख्नुपर्ने आवश्‍यकता बोध हुन्छ। बरन्डामा बारम्बार ओहोरदोहोर गर्नाले बढ्‌तै हल्लाखल्ला हुन्छ र त्यसले सुन्‍न खोज्ने व्यक्‍तिहरूको ध्यान भङ्‌ग गर्नसक्छ। कार्यक्रमको दौडान कसै कसैलाई कामविशेषले ओहोरदोहर गर्नु पर्ला तर बाँकि हामीहरू के आ-आफ्नो कुर्सीमा बसेर ध्यानपूर्वक सुनिरहेको हुनुपर्ने होइन र?

१७ हर हप्ता मण्डलीका सभाहरू धाउने सम्बन्धमा अधिकांश आमाबाबुहरूले आफ्नो छोरोछोरीसित निकै कडाइ गर्छन्‌। तर कार्यक्रमको दौडान आफ्ना छोराछोरीहरू आफैसित बसून्‌ र भवनभित्रको बाटोमा ओहोरदोहोर नगरून्‌ भनेर पनि त्यतिकै कडाइ गर्नु पर्ने होइन र? सम्मेलनको दौडान सम्मेलन भवन ठूलो राज्य भवनमा परिणत हुन्छ। तर यो शैतानको रीतिरिवाज भएकोले गलत मनसाय भएका बेइमान व्यक्‍तिहरू सजिलै भित्र पस्न सक्छन्‌। त्यसकारण तपाईंका छोराछोरीहरू कहाँ छन्‌ र के गरिरहेका छन्‌ भनी तपाईंलाई थाहा हुनु आवश्‍यक छ।

१८ पहिरन र कोरीबाटी: हामी त्यस्तो समयमा बाँच्दैछौं जहाँ अनौपचारिक र बेढङ्‌गको पहिरनलाई समेत स्वीकारयोग्य ठानिन्छ। थुप्रै मानिसहरू साह्रै अनौपचारिक लुगा लगाएर चर्च, साङ्‌गीतिक कार्यक्रमहरू र रेष्टुराँमा जान्छन्‌। विशेषगरी औपचारिक उपासनाको सम्बन्धमा मानिसहरूले आदरयोग्य पहिरन पहिरेको देख्न चाहने मानिसहरू अझै छन्‌ भनेर अनुच्छेद १५ मा गरिएको अवलोकनबाट देखिन्छ। बेढङ्‌गी वा अनौपचारिक लुगाफाटा र अनुपयुक्‍त कोरीबाटीले हामी कस्ता व्यक्‍ति हौं भनेर निकै कुरा बताउँछ। सम्मेलन भवन एक अर्थमा विस्तारित राज्य भवन हो भनेर कहिल्यै नभुल्नुहोस्‌। केही व्यक्‍तिहरू भद्र पहिरनमै सम्मेलनमा आउँछन्‌ तर स्थानीय रेष्टुराँ वा अन्य ठाउँमा जाँदा भने अनुपयुक्‍त र अभद्र पोशाक लगाउँछन्‌।

१९ बप्तिस्मा लिने उम्मेदवारलाई पनि बप्तिस्मा लिंदा कुनै कुनै नुहाउने लुगा लगाउनु उपयुक्‍त हुँदैन भनी सम्झाउनु पर्ने हुन्छ। बप्तिस्मा लिंदा लगाउने लुगा भद्र र राम्रो हुनुपर्छ। तर यस कुराको निर्णय कसले गर्नु पर्ने हो? आफ्नो मण्डलीबाट बप्तिस्मा लिन लागेकाहरूले अरूलाई कुनै ठोकरको कारण हुन दिनेछैन भनी निश्‍चित गर्नु प्राचीनहरूको जिम्मेवारी हो। (२ कोरि. ६:३, ४) यसको अर्थ अङ्‌ग प्रदर्शन हुने स्वीमसुट र सांसारिक नारा वा विज्ञापन भएको टि-शर्ट लाउन दिनु हुँदैन। बप्तिस्मा लिने उम्मेदवारहरूसित आवर मिनिस्ट्री पुस्तकका प्रश्‍नहरूको पुनरावृति गर्दा प्राचीनहरूले यस विषयमा छलफल गर्नु उपयुक्‍त हुनेछ।

२० होटेल: होटेलमा नाउँ रजिष्टर गर्दा प्रायः निकै धैर्य र समानुभूति देखाउनु पर्ने हुन्छ। थुप्रै मानिसहरूले एकै समयमा रजिष्टर गर्दा केही ढिलाइ हुनसक्छ। हामीले सधैं र अझ विशेषगरि होटेल र रेष्टुराँहरूका कामदारहरूसँग व्यवहार गर्दा आत्माको फल देखाउनु आवश्‍यक छ। उपयुक्‍त ढङ्‌गमा टिप दिनुपर्ने आवश्‍यकताबारे पनि हामीले याद गर्नुपर्छ। कृपया केही समय निकालेर जून २२, १९८६, अवेक! को पृष्ठ २४-७ मा “टिप दिने वा नदिने” र “टिप दिने सन्दर्भमा केही सुझावहरू” भन्‍ने लेखहरूको पुनरावृत्ति गर्नुहोस्‌।

२१ रेकर्ड गर्ने यन्त्रहरू: माथि भनिएझैं रेकर्ड गर्ने यन्त्रहरू र अझ विशेषगरि भिडियो क्यासेट रेकर्डरहरू प्रयोग गर्ने वा नगर्ने व्यक्‍तिगत निर्णय हो। यदि रेकर्ड गर्ने निर्णय गर्नुभएको छ भने कृपया आफू वरपरका मानिसहरूलाई ध्यानमा राख्नुहोस्‌। आफ्नै कुर्सीमा बसेर रेकर्ड गर्दा पनि कसै कसैको ध्यान भङ्‌ग हुनसक्छ। भिडियो रेकर्डिङ्‌ग गर्दा आफ्नो वरपरको व्यक्‍ति छेक्नु हुँदैन। यस बाहेक रेकर्ड गर्ने कुनै पनि यन्त्रलाई बिजुली वा ध्वनि व्यवस्थासित जोड्‌नु हुँदैन र त्यस्ता यन्त्रहरूले गर्दा बीचको वा छेउको बाटो छेक्नु हुँदैन।

२२ आसन: कुर्सीहरूलाई ओगटेर राख्ने समस्यामाथि अझै ध्यान दिनुपर्ने भएको छ। हामी फेरि सबैलाई सम्झना गराउन चाहन्छौं: आफ्नै परिवारका सदस्यहरू र तपाईंसित यात्रा गर्नेहरूका लागि मात्र ठाउँ ओगटेर राख्न सकिन्छ। कुनै कुनै सम्मेलनमा हरेक बिहान ७:३० बजे ढोका खोल्नेबित्तिकै भाइ-बहिनीहरू हुतुतुतु भित्र पसेको देखियो। जसले गर्दा “साबिक बमोजिम आ-आफ्ना ठाउँमा जाने साक्षीहरूले पछाडिका कुर्सीहरू मात्र फेला पारे। धेरैले लगभग पूरै खण्ड ओगटेका थिए र तिनीहरूले आरक्षण गरेका धेरैजसो कुर्सीहरू खाली नै थिए।” नियमित सम्झौटाहरूको बावजूद यस्तो अविवेकी व्यवहार अझै कायमै छ जस्तो देखिन्छ। यस सम्बन्धमा के हामीले आफ्ना हृदयलाई खोतलेर फिलिप्पी २:३, ४ मा उल्लिखित सिद्धान्तमाथि मनन गर्नु आवश्‍यक छैन र?

२३ वृद्ध तथा शारीरिक तवरमा अशक्‍तजस्ता विशेष आवश्‍यकता भएकाहरूका लागि अधिकांश सम्मेलनहरूमा प्रबन्धहरू मिलाइएको हुन्छ। यदि तपाईं जवान र स्वस्थै हुनुहुन्छ भने, त्यस्ता व्यक्‍तिहरूका लागि छुट्ट्याइएका ठाउँहरूमा नबसिदिनुहोस्‌। विशेष आवश्‍यकता परेकाहरू हेरविचार गर्ने व्यक्‍तिबिना एक्लै आएका रहेछन्‌ भने तिनीहरूलाई मदत दिन सजग हुनुहोस्‌।

२४ साहित्य तथा भोजन सेवा: जिल्ला सम्मेलनका लागि भेला हुँदा हामी प्रशस्त आध्यात्मिक तथा शारीरिक आहारको आनन्द उठाउँछौं। यी दुवै भोजनलाई हामीले धन्यवादका साथ स्वीकार्नुपर्छ र खेर जान दिनु हुँदैन। (२ इति. ३१:१०; हितो. ३:१०; यूह. ६:१२) यहोवाले गर्नुभएका सबै प्रबन्धहरूका लागि हामी आफ्नो मूल्याङ्‌कन व्यक्‍त गर्न चाहन्छौं। आमाबाबु हो, के तपाईंका छोराछोरीहरूले खानेकुरा खेर फाल्नु हुँदैन भनेर बुझेका छन्‌? तपाईंले तिनीहरूको निम्ति असल उदाहरण बसाल्नै पर्छ। भोजन बाँड्‌ने स्थानमा अनावश्‍यक भीड हुन नदिन भोजन वा खाजा लिनेबित्तिकै त्यहाँबाट हटेर खाने ठाउँमा जानु बेस हुनेछ। भोजन लिनेबित्तिकै भाइहरूलाई भोजन बाँड्‌ने ठाउँबाट हट्‌ने आग्रह गर्न परिचालकहरू सजग रहनेछन्‌ ताकि भोजन बाँड्‌ने टेबल वरपर कुनै भीड नहोस्‌।

२५ नोभेम्बर ४, १९९४ मा पहिलो “ईश्‍वरीय भय” जिल्ला सम्मेलन आरम्भ हुनेछ। सम्पूर्ण तयारीहरू सकाएर तीन दिनको रमाइलो सङ्‌गति तथा आध्यात्मिक असल कुराहरूको आनन्द उठाउन के तपाईं अब तयार हुनुहुन्छ? यस वर्ष “ईश्‍वरीय भय” जिल्ला सम्मेलनमा भेला भएर असल थोकले भरिएको यहोवाको टेबलबाट भोजन खाने तपाईंको प्रयत्नमाथि यहोवाले आशिष्‌ दिऊन्‌ भनी हामी निष्कपटतासाथ प्रार्थना गर्छौं।

[पृष्ठ ६-मा भएको पेटी]

जिल्ला सम्मेलनका लागि सम्झौटाहरू

बप्तिस्मा: बप्तिस्मा लिने उम्मेदवारहरू शनिबार बिहान कार्यक्रम सुरु हुनु अगावै आफ्नोलागि छुट्ट्याइएको स्थानमा बसिहाल्नुपर्छ। बप्तिस्मा लिनेहरू हरेकले भद्र नुहाउने पोशाक र तौलिया लिएर आउनुपर्छ। बप्तिस्मा भाषण र प्रार्थनापश्‍चात्‌ सभापतिले उम्मेदवारहरूलाई सङ्‌क्षिप्त निर्देशनहरू दिएपछि सबैलाई गीत गाउन निमन्त्रणा दिनेछ। गीतको अन्तिम हरफपछि परिचालकहरूले उम्मेदवारहरूलाई निमज्जन क्षेत्रतर्फ लैजानेछन्‌। आफ्नो समर्पण जाहेर गर्न लिइने बप्तिस्मा, यहोवा र बप्तिस्मा लिने व्यक्‍तिबीचको आन्तरिक र व्यक्‍तिगत कुरा भएकोले दुई वा बढी व्यक्‍तिहरूले एकअर्काको हात समातेर वा अङ्‌गालो हालेर डुबुल्की मार्दै साझे बप्तिस्मा लिने प्रबन्ध छैन।

बिल्ला: कृपया सम्मेलनमा र सम्मेलनमा आउँदा जाँदा १९९४ बिल्ला लगाउनुहोस्‌। यसो गर्दा यात्राको दौडान अरूलाई साक्षी दिने अवसर पाउन सकिन्छ। गत वर्ष मास्को र कीभमा सम्पन्‍न भएका सम्मेलनहरूमा यो कुरा उल्लेखनीय रूपमा सार्थक देखिएको थियो। बिल्ला र त्यसको खोल सम्मेलनमा उपलब्ध नहुने हुँदा तपाईंको मण्डली मार्फत लिनुहोस्‌। आफ्नो नविकरण भइसकेको मेडिकल डिरेक्टिभ कार्ड बोक्न पनि नभुल्नुहोस्‌। बेथेल परिवारका सदस्यहरू र अग्रगामीहरूले आफ्नो परिचय पत्र बोक्नुपर्छ।

कोठा व्यवस्था: होटेलमा तपाईंले कुनै कठिनाइ अनुभव गर्नुहुँदैछ भने कृपया सम्मेलनमा कोठा व्यवस्था विभागको निरीक्षकलाई बताउन नहिचकिचाउनुहोस्‌। यसो गर्नु भयो भने तिनले तुरुन्तै तपाईंलाई मदत गर्नसक्नेछन्‌। सम्मेलनका उपयुक्‍त ठेगानाहरूमा कोठा निवेदन फाराम तुरुन्तै पठाइसकियो वा सकिएन भनी मण्डलीका सचिवहरूलाई राम्ररी थाहा हुनुपर्छ। वासको लागि तपाईंले बुक गर्नुभएको ठाउँ रद्द गर्नुपरेमा तुरुन्तै होटेल र सम्मेलन कोठा व्यवस्था विभागलाई सूचित गर्नुपर्छ ताकि त्यो कोठा अरू व्यक्‍तिलाई दिन सकियोस्‌।

स्वंयसेवा: सम्मेलनको कुनै एक विभागमा सहयोग जुटाउन के तपाईं केही समय निकाल्न सक्नुहुन्छ? केही घण्टा मात्र भएपनि आफ्ना भाइहरूसित सेवा गर्नु मदतकारी र निकै सन्तोषप्रद हुनसक्छ। तपाईंले सहयोग गर्न सक्नुहुन्छ भने कृपया सम्मेलनको स्वंयसेवा विभागलाई त्यसको जानकारी दिनुहोस्‌। सोह्र वर्षभन्दा कम उमेरका केटाकेटीहरूले आफ्ना आमाबाबु वा अन्य जिम्मेवार भाइहरूको निर्देशनमा काम गरेर राम्रो योगदान पुऱ्‍याउन सक्छन्‌।

सावधान हुनु पर्ने कुरा: सम्भाव्य खतराहरूप्रति सजग रहेर हामी अनावश्‍यक कठिनाइहरूदेखि बच्न सक्छौं। आफ्नो घरदेखि टाढा पुग्नेहरूलाई प्रायः चोरहरू र बेइमान मानिसहरूले आफ्नो शिकार बनाउनेछन्‌। ठूल-ठूला जमघटहरूमा चोरहरू र बगलीमारहरूले निकै मौका छोप्छन्‌। त्यसकारण आफ्नो कुर्सीमा बहुमूल्य कुराहरू छोड्‌नु बुद्धिमानी हुनेछैन। आफ्ना वरपरका सबै मानिसहरू मसीहीहरू नै हुन्‌ भनी तपाईं निश्‍चिन्त हुन सक्नुहुन्‍न। त्यसोभए मौका किन दिने? बाहिरका मानिसहरूले बच्चाहरूलाई फकाई फुस्लाई लैजान खोजेको रिपोर्टहरू पनि प्राप्त भएका छन्‌। त्यसकारण तपाईंका छोराछोरीहरू सधैं तपाईंले देख्ने ठाउँमा होस्‌।

थुप्रै होटेलहरूमा आजभोलि केबल टेलिभिजन राखिएको हुन्छ र कहिलेकाहीं कामुक तथा अश्‍लिल चलचित्रहरू प्रस्तुत गर्छन्‌। यस्तो पासोदेखि होशियार हुनुहोस्‌ र तपाईंको रेखदेखबिना आफ्ना छोराछोरीलाई त्यस्तो टिभि चलाउन नदिनुहोस्‌।

सम्मेलन स्थलका प्रबन्धकहरूलाई कृपया फोन गरेर सम्मेलनसम्बन्धी कुनै जानकारी नमाग्नुहोस्‌। चाहिएको जानकारी प्राचीनहरूद्वारा प्राप्त नभएमा सम्मेलनका ठेगानाहरूमा पत्राचार गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने