योग्य जनलाई खोज्ने
१ प्रचारकार्य गर्न येशूले दिनुभएका निर्देशनहरू चुनौतीपूर्ण छन्। उहाँले यसो भन्नुभयो: “जुन शहर कि गाउँमा तिमीहरू पसौला, त्यसमा ‘को योग्य छ?’ भनी सोधपूछ गर।” (मत्ती १०:११) आजकल मानिसहरूले आफ्नो घरमा एकदमै कम समय बिताउने भएकोले हामी कसरी प्रभावकारी ढंगमा यो खोजीकार्य गर्न सक्छौं?
२ आफ्नो इलाका विश्लेषण गर्नुहोस्: सर्वप्रथम, आफ्नो इलाका विश्लेषण गर्नुहोस्। सम्भवतः मानिसहरू प्रायजसो कुन समयमा घरमा हुन्छन्? तिनीहरूलाई दिउँसो कहाँ भेट्न सकिन्छ? तिनीहरू हप्ताको कुनै दिन वा दिनको कुनै समय हाम्रो सन्देश सुन्न इच्छुक हुन्छन् कि? स्थानीय इलाकाका मानिसहरूको कार्यतालिका तथा परिस्थितिअनुसार आफ्नो सेवकाईलाई छाँटकाँट गर्दा त्यसले तपाईंलाई असल परिणाम प्राप्त गर्न मदत दिन सक्छ।—१ कोरि. ९:२३, २६.
३ थुप्रै प्रकाशकहरूले साँझपख मानिसहरूलाई घरमा भेटाउन सकेका छन्। त्यस समयमा कोही-कोही घरधनीहरू आरामसित बसिरहेका हुन्छन् र सुन्न पनि अलि इच्छुक देखिन्छन्। हिउँद महिनाको दौडान दिन छोटो हुँदा, कुनै-कुनै क्षेत्रहरूमा साँझपख टेलिफोन साक्षी (अनुमति भएका ठाउँहरूमा) दिनु प्रभावकारी हुन सक्छ। व्यापारिक इलाकामा जानु र सार्वजनिक क्षेत्रहरूमा साक्षी दिनु पनि मानिसहरूलाई सुसमाचार सुनाउने तरिकाहरू हुन्।
४ विशेष गतिविधिको महिनामा एउटा मण्डलीले शनिबार र आइतबार साँझ पर्नै लाग्दा अनि बुधबार र शुक्रबारचाहिं साँझपख साक्षी दिने प्रबन्ध मिलाएको थियो। उनीहरूले टेलिफोन साक्षी दिने र व्यापारिक इलाकामा जाने पनि प्रबन्ध मिलाए। यी प्रबन्धहरूले सेवकाईको लागि निकै उत्साह जगाएको कारण मण्डलीले यसलाई निरन्तरता दिने निर्णय गऱ्यो।
५ पुनःभेट गर्न लगनशील हुनुहोस्: पुनःभेट गर्न जाँदा तपाईंको इलाकाका मानिसहरूलाई घरमा भेट्न चुनौतीपूर्ण छ भने, सुरुको भेटलगायत हरेक भेटको अन्तमा अर्को पटक भेट्ने निश्चित समयको प्रबन्ध मिलाउने कोसिस गर्नुहोस्। त्यसपछि, आफ्नो वचनअनुसारै भेट्न जानुहोस्। (मत्ती ५:३७) सम्भव भए, घरधनीको टेलिफोन नम्बर माग्न सक्नुहुन्छ। यसो गर्दा तपाईंले उक्त घरधनीसित पुनः सम्पर्क राख्न सक्नुहुन्छ।
६ योग्य जनलाई खोज्ने र चासो देखाउनेहरूलाई पुनःभेट गर्ने सन्दर्भमा हाम्रो लगनशील प्रयासलाई यहोवाले अवश्यै आशिष् दिनुहुनेछ।—हितो. २१:५.