बाइबलका विद्यार्थीहरूलाई अध्ययनका लागि तयारी गर्ने मदत दिनु होस्
१ आफूले गरिरहेको अध्ययनमा साँचो चासो व्यक्त गर्ने बाइबलका विद्यार्थीले प्रत्येक हप्ता अध्ययनका लागि तयारी गर्छन् र तयारी नगर्ने विद्यार्थीहरूले भन्दा निकै नै चाँडो आध्यात्मिक प्रगति पनि गर्छन्। तर विद्यार्थीले तयारी नगरेको एउटा कारण त तयारी गर्न नजानेर पनि हुन सक्छ। यस्तो बेलामा उनलाई तयारी गर्ने तरिका सिकाउनु आवश्यक हुन्छ। यो कसरी गर्न सकिन्छ?
२ तयारी गर्ने हो भने व्यक्तिगत अध्ययन गर्नै पर्छ। यो कुरा बुझाउन विद्यार्थीसित सुरुदेखि नै अलिकता समय बिताउने गर्नुहोस्। थुप्रै मानिसहरूले पढ्न सके तापनि अध्ययन गर्न भने सिकेका हुँदैनन्। थियोक्रेटिक मिनिस्ट्री स्कूल गाइडबुक-को पाना ३३ देखि ४३ सम्म कामलाग्दा थुप्रै सुझावहरू दिइएका छन्। यी सुझावहरू तपाईंले आवश्यकतानुसार विद्यार्थीलाई बताउन सक्नुहुन्छ।
३ विद्यार्थीलाई अध्ययनको मोल गर्न सिकाउनु होस्: मुख्य शब्द र वाक्यांशहरूमा तपाईंले चिन्ह लाउनु भएको आफ्नो पाठ्य-पुस्तक सम्भवतः विद्यार्थीलाई देखाउनु होस्। चिन्ह लाएका ती भागहरू हेर्दा कसरी आफ्नै शब्दमा व्यक्त गर्न सकिने विचारहरूको सम्झना गर्न सकिन्छ, सो उनलाई महसुस गर्न दिनु होस्। यसो गर्दा कुनै प्रश्नको उत्तर दिने बेलामा पुस्तकको एउटा सारा भाग पढ्ने खाँचो उनलाई पर्ने छैन। यति बेला पाएको उचित प्रशिक्षणले उनलाई पछि मण्डलीका सभाहरूमा अर्थपूर्ण टिप्पणीहरू दिने मदत पुऱ्याउनेछ। छलफल गरिने विषयवस्तुका लागि मूल्याङ्कन र आफ्नो समझको गहिराइ उनको टिप्पणीहरूमा झल्कनेछ।
४ उनलाई बाइबल प्रयोग गर्न सिकाउनु होस्: अध्ययन सामग्रीमा सङ्केत गरिएका शास्त्रपदहरू बाइबल खोलेर ठम्याउन विद्यार्थीले सिक्नु आवश्यक छ। यसो गर्न सिपालु भएपछि वास्तवमा उनी बाइबलको एक जना विद्यार्थी भएको महसुस गर्नेछन्। बाइबलको सामनेपट्टि दिइएको बाइबलका पुस्तकहरूको सूचिको सहायता उनले सुरु सुरुमा लिनु परे तापनि उनलाई बाइबलका ६६ पुस्तकहरूको क्रमसित परिचित हुने प्रोत्साहन दिनु होस्। कुनै शास्त्रपद बाइबलबाट खोलेर पढ्दा शास्त्रपदको कुन चाहिं भागले अनुच्छेदमा छलफल गरिएको बुँदालाई समर्थन गर्दछ, सो ठम्याउने मदत दिनु होस्। यसो गर्न सिकेमा उनको ध्यान छलफलको विषयवस्तुसित प्रत्यक्षरूपमा सम्बन्ध नराख्ने भागहरूतिर अलमलिने छैन।
५ विद्यार्थीले प्रगति गर्दै गएमा उनलाई बाइबल सुरुदेखि अन्तसम्म पढ्ने प्रोत्साहन दिनुहोस्। सम्पूर्ण बाइबल परमेश्वरको प्रेरित वचन हो र यसबाट साँचो मसीहीहरूले पौष्टिक आहार लिने गर्नु पर्छ भन्ने कुरामाथि जोड दिनु होस्।—मत्ती ४:४; २ तिमो० ३:१६, १७.
६ अन्य ईश्वरतान्त्रिक सन्दर्भ-सामग्रीहरूसित पनि परिचित गराउनु होस्: विद्यार्थीले यथेष्ट मात्रामा प्रगति गरी सकेपछि उनले अन्य ईश्वरतान्त्रिक सन्दर्भ-सामग्रीहरूको पनि प्रयोग गर्न सक्छन्। थप जानकारीका लागि सोसाइटीका अन्य प्रकाशनहरू पनि खोलेर हेर्ने प्रोत्साहन आवश्यकताअनुसार उनलाई दिने गर्नुहोस्। मण्डलीका सभाहरू धाउन थाल्दा उनी ती प्रकाशनहरूसित परिचित हुने छन्। न्यु वर्ल्ड ट्रान्सलेशन-मा पाइने “बाइबलका शब्दसूचि” जस्ता विशेषताहरूको पनि उनलाई प्रयोग गर्न सिकाउनु होस्। जसै उनले आफ्नो ईश्वरतान्त्रिक पुस्तकालय बनाउन थाल्छन्, कम्प्रीहेन्सिव कन्करडेन्स, रिजनिङ्ग फ्रम द स्क्रिपचर्स, इन्डेक्स र इन्साइट खण्डहरू कसरी प्रयोग गर्न सकिन्छ, सो उनलाई देखाउनु होस्।
७ हामीले बाइबलका विद्यार्थीहरूलाई बाइबल अध्ययनका लागि तयारी गर्न सिकायौं भने तिनीहरूको व्यक्तिगत गृह बाइबल अध्ययन समाप्त भइसके पछि पनि सुयोग्य बाइबलका विद्यार्थीहरू भएर सच्चाइको मार्गमा प्रगति गरी नै रहन हामीले तिनीहरूलाई सुसज्जित पार्दछौं।