ठूला पुस्तिकाहरू—सेवकाईको निम्ति मूल्यवान औजारहरू
१ निपुण कालिगढले बेग्लाबेग्लै कामको लागि प्रायजसो विभिन्न प्रकारका औजारहरू बोक्छ। राज्य प्रचारकहरूको हैसियतमा हामीले प्रचार गर्ने मानिसहरूको आध्यात्मिक आवश्यकता पूरा गर्न हामीसित ठूला पुस्तिकाहरूको बृहत् सँगालो छ। (हितो. २२:२९) एउटा ढोकामा तपाईंले निराश व्यक्ति भेट्नु होला। अर्कोमा घरधनीले इमान्दार सरकारको चाहना गरिरहेको भेट्टाउनु होला र त्यस्तै अरू कोहीले बाँच्नुमा केही उद्देश्य छ र, भनेर सोचिरहेको हुन सक्छ। यी मानिसहरूलाई मदत गर्न हामी ठूला पुस्तिकाहरू कसरी प्रयोग गर्न सक्छौं? हाम्रा समस्याहरू नामक ठूलो पुस्तिका प्रस्तुत गर्ने सुझावहरूका लागि जुलाई १, १९९३ हाम्रो राज्य सेवकाई को पृष्ठ ४ र अगस्त १९९२, पृष्ठ १, ४ हेर्नुहोस्।
२ “के परमेश्वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ?” नामक ठूलो पुस्तिका प्रस्तुत गर्नुहुँदा तपाईं यसो भन्न सक्नुहुन्छ:
▪“संसारमा दुःख र अन्याय देख्दा केही मानिसहरू सारा दोष परमेश्वरमाथि थोपार्न खोज्छन्। परमेश्वर सर्वशक्तिमान हुनु भएकोले उहाँले साँच्चै चासो राख्नु हुँदो हो त हाम्रो दुःखको अन्त गरिदिनु हुनेथियो भनी केहीले तर्क गर्छन्। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरले हाम्रो साँच्चै चिन्ता गर्नुहुन्छ भनेर भजनसंग्रह ७२:१२-१४ ले देखाउँछ। दुःख अनि अन्याय उहाँको दोष होइन। गलत कार्य गर्नेहरू छिट्टै हटाइनेछ भनी उहाँले प्रतिज्ञा गर्नुभएको छ। उहाँले के गर्नुहुनेछ र हामीले कसरी लाभ उठाउन सक्छौं भनेर के परमेश्वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ? नामक यो पुस्तिकाले बताउँछ।” पृष्ठ २७, अनुच्छेद २२ को टिप्पणीहरूबाट तपाईंले वार्तालाप चालू राख्न सक्नुहुन्छ।
३ “जीवनको उद्देश्य” नामक ठूलो पुस्तिका चलाउनुहुँदा यसरी सुरु गर्नु भए पनि हुन्छ:
▪“एक न एक दिन प्रायः सबैले जीवनको उद्देश्यबारे प्रश्न गर्छन्। के त्यो केवल ७० या ८० वर्ष बाँच्नु अनि त्यसपछि मर्नु हो? अथवा जीवनमा अरू केही छ? तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] मानिस र पृथ्वीको लागि परमेश्वरको सुन्दर प्रतिज्ञा हामी यहाँ भजनसंग्रह ३७:२९ मा पाउँछौं।” शास्त्रपद पढिसक्नुभएपछि पृष्ठ ३१ को चित्र पल्टाउनुहोस् र प्रमोदवनमा जीवन बिताउनु कस्तो हुनेछ भनेर थप टिप्पणी गर्नुहोस्।
४ “हेर!” नामक ठूलो पुस्तिका चलाउँनु हुँदा आवरण चित्र देखाउँदै यो प्रश्न गर्न सक्नुहुन्छ:
▪“पृथ्वीलाई यस्तो बनाउन तपाईंको विचारमा के गर्नुपर्छ होला? [टिप्पणी गर्ने मौका दिनुहोस्।] यस चित्रमा देखाइएका सबैको आ-आफ्नो घर र आनन्ददायी काम छ। त्यहाँ शान्ति र प्रशस्त खानेकुरा छ अनि पृथ्वी पनि प्रदूषणमुक्त छ। मानव सरकारहरूले जतिसुकै कठिन प्रयास गरे तापनि यस्तो संसार ल्याउनु तिनीहरूको लागि असम्भव भएको छ। तर परमेश्वरले ‘सब कुरा नयाँ तुल्याउनुहुनेछ’ भनी बाइबलले हामीलाई आश्वासन दिन्छ। [पृष्ठ ३० पल्टाउनुहोस् र प्रकाश २१:३, ४ पढ्नुहोस्।] त्यस नयाँ संसारमा बाँच्न तपाईंले के गर्नुपर्छ भनी सिक्न यस पुस्तिकाले तपाईंलाई मदत दिन सक्छ।” पर्याप्त चासो देखाएमा पृष्ठ ३ पल्टाउनुहोस् र हामी कसरी बाइबल अध्ययन सञ्चालन गर्छौं भनी प्रदर्शन गर्नुहोस्।
५ “पृथ्वीमा जीवनको आनन्द उठाउनुहोस्” नामक ठूलो पुस्तिका चलाउन यो प्रस्तुति प्रयोग गर्न सक्नुहुन्छ:
▪“अनन्त जीवनको आनन्द उठाउन स्वर्ग जानुपर्छ भनी धेरै मानिसहरू सोच्ने गर्छन् तर यस पृथ्वीमा सधैंभरि बाँच्ने सन्दर्भमा तपाईंको विचार के छ? [जवाफ दिने मौका दिनुहोस्।] अनन्त जीवन सम्भव छ भनी बाइबलले हामीलाई आश्वासन दिन्छ र हामीले त्यो लक्ष्य कसरी प्राप्त गर्न सक्छौं भनेर बताउँछ।” यूहन्ना १७:३ पढ्नुहोस्। त्यसपछि चित्र ४९ देखाउँदै सोध्नुहोस्: “यस्तो संसारमा बाँच्न के तपाईंलाई मन लाग्दैन र?” उक्त पुस्तिका दिनुहोस् र पुनःभेटको प्रबन्ध मिलाउनुहोस्।
६ ठूला पुस्तिकाहरूले समयसापेक्ष विषयहरू प्रस्तुत गर्छ, मानिसहरूका प्रश्नहरूको जवाफ दिन्छ र सान्त्वना प्रदान गर्छ। यी औजारहरूलाई निपुणतापूर्वक प्रयोग गरेर हामीले सोझा व्यक्तिहरूलाई “सत्यको ज्ञानमा” आउन मदत दिन सक्छौं।—१ तिमो. २:४.