अप्रिलमा “सुकर्ममा जोशिलो” हुनुहोस्!
१ गत वर्ष राज्य समाचार नं. ३४ का लाखौं प्रतिहरू विश्वभरि वितरण गरेर अपूर्व साक्षी दिइयो। यस उत्प्रेरणादायी कार्यमा मण्डलीका प्रकाशक तथा अग्रगामीहरू दुवैले जोशका साथ भाग लिए। के तपाईं तिनीहरूमध्ये एक हुनुहुन्थ्यो? हुनुहुन्थ्यो भने, त्यस उल्लेखनीय अभियानमा भाग लिन पाउँदा पक्कै पनि असाध्यै आनन्दित हुनुभयो होला। अब तपाईंले सोचिरहनुभएको होला, यो वर्ष हामी कस्तो ‘सुकर्मको’ प्रतीक्षा गर्नसक्छौं?—तित. २:१४.
२ अप्रिल महिनाको दौडान र मे महिनाको सुरुतिर ब्यूँझनुहोस्! (अंग्रेजी) पत्रिकाको अप्रिल २२, १९९६ को विशेष अंक, “जब युद्धहरू हुनेछैनन्” वितरण गर्न पाएको आनन्द अनुभव गर्नेछौं। थुप्रै घरधनीहरूलाई यो विषय रोचक लाग्ने भएकोले उक्त पत्रिका यथासम्भव व्यापक वितरण गर्न प्रयास गर्नेछौं। यसमा भएका जानकारीको महत्त्वलाई ध्यानमा राख्दै पत्रिका नसकिएसम्म अप्रिल र मे महिनामा त्यस ब्यूँझनुहोस्! अंक प्रस्तुत गर्नुपर्छ।
३ हाम्रो लक्ष्य—सबै प्रकाशकहरूको सहभागिता: यस मुलुकको प्रत्येक प्रकाशकले अप्रिलमा प्रचार कार्यमा भाग लिन सके साँच्चै प्रोत्साहनदायी हुनेथियो। भर्खरै मात्र ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव मनाएकोले क्षेत्र सेवकाईमा “स्तुतिको” प्रत्यक्ष “बलिदान” चढाएर परमेश्वरको भलाइप्रति हामी निश्चय नै मूल्यांकन देखाउन चाहनेछौं।—हिब्रू १३:१५.
४ मण्डलीको हरेक सदस्यका आवश्यकताहरू बुझ्न लगनशील प्रयास गर्नुपर्छ ताकि अप्रिलमा सबैले जोशका साथ सेवकाईमा भाग लिन सकून्। (रोमी १५:१) आफ्नो समूहका व्यक्तिहरूको परिस्थितिबारे पुस्तक अध्ययन सञ्चालकहरू पूर्णतया सजग हुनुपर्छ र आवश्यक भएमा व्यवहारिक मदत दिनुपर्छ। के कसैलाई यातायातको खाँचो परेको छ? त्यो कसले प्रदान गर्नसक्छ? के कोही डरछेरुवा वा अप्ठ्यारो महसुस गर्ने स्वभावका छन्? के बढी अनुभवी प्रकाशकहरूले तिनीहरूलाई साथ दिनसक्छन्? असमर्थ वा बिरामीहरू नि? के तिनीहरूले टेलिफोन साक्षीकार्य, चिठीपत्र वा अन्य फलदायी क्रियाकलापमा भाग लिनसक्छन्?
५ निष्क्रिय भएका केहीले निरन्तर आध्यात्मिक प्रोत्साहन पाइरहेका छन् र तिनीहरू प्रचारकार्यमा पुनः सहभागी हुन उत्प्रेरित हुनसक्छन्। ब्यूँझनुहोस्!-को विशेष अंक वितरण गर्ने अभियानले तिनीहरूलाई पुनः सक्रिय हुने अत्युत्तम अवसर प्रदान गर्नेछ।
६ केटाकेटीहरूलाई सहभागी हुन प्रशिक्षण दिनुहोस्: यहोवाका साक्षीहरूका थुप्रै छोराछोरीहरूले वर्षौंदेखि आफ्ना आमाबाबुसित क्षेत्र सेवकाईमा भाग लिए तापनि अझै बप्तिस्मा अप्राप्त प्रकाशक भइसकेका छैनन्। तिनीहरूले त्यस हैसियतमा सेवा गर्ने समय अहिले पो भयो कि? के तिनीहरू हृदयबाटै प्रेरित भएर घर-घरको साक्षीकार्यमा अर्थपूर्ण भाग लिन तयार छन्? पारिवारिक बाइबल अध्ययन गर्दा परिवारका शिरहरूले आफ्ना योग्य छोराछोरीहरूको उमेर र दक्षता सुहाउँदो प्रस्तुति तयार गर्न मदत दिनुपर्छ। अलि उमेर पुगिसकेकाहरूले विचारोद्दीपक प्रश्न रोजेर घरधनीको चासो जगाएपछि पत्रिकामा त्यसको जवाफ औंल्याउनसक्छन्। कलिलो उमेरका छोराछोरीहरूले थोरै शब्द मात्र चलाएर प्रभावकारी साक्षी दिनसक्छन्। उदाहरणको लागि, तिनीहरूले “यो महिना विश्वभरि वितरण भइरहेको विशेष पत्रिका पढ्न” घरधनीलाई प्रोत्साहन दिनसक्छन्। प्रायजसो सामना गरिने अवरोधहरू झेल्ने सुझाउहरू तपाईंको परिवारको तयारीमा समावेश गर्न नबिर्सनुहोस्। तपाईंले तर्क (अंग्रेजी) पुस्तकमा थुप्रै राम्रा सुझाउहरू पाउनुहुनेछ। भोजनको समय र अन्य उपयुक्त अवसरहरूमा क्षेत्र सेवकाईका अनुभवहरू बताउन परिवारका सदस्यहरूलाई प्रोत्साहन दिनुहोस्।
७ योग्य बाइबल विद्यार्थीहरूले येशूले गर्नुभएको कार्य सँभाल्छन्: येशूले धर्मसिद्धान्तसम्बन्धी विषयहरूमा मात्र निर्देशन दिनुभएन। उहाँ आफ्ना विद्यार्थीहरू सँगसँगै सेवकाईमा जानुभयो र तिनीहरूलाई प्रचार गर्ने तरिका सिकाउनुभयो। (लूका ८:१; १०:१-११) आज अवस्था कस्तो छ? भारतमा तेह्र हजारभन्दा बढी बाइबल अध्ययनहरू सञ्चालन भइरहेका छन्। निस्सन्देह, उपयुक्त प्रोत्साहन पाएमा यी विद्यार्थीहरूले आफ्नो प्रशिक्षणको अर्को कदम उठाएर अप्रिलमा बप्तिस्मा अप्राप्त प्रकाशकको हैसियतमा सेवा गर्न योग्य हुनसक्छन्।
८ तपाईंले बाइबल अध्ययन सञ्चालन गर्दै हुनुहुन्छ भने यी प्रश्नहरूमाथि विचार गर्नुहोस्: के विद्यार्थीले आफ्नो उमेर र दक्षताअनुरूप प्रगति गरिरहेका छन्? के तिनले आफ्नो विश्वासबारे अरूलाई अनौपचारिक साक्षी दिन थालेका छन्? के तिनले “नयाँ व्यक्तित्व” धारण गरिरहेका छन्? (कल. ३:१०, NW) के तिनले बप्तिस्मा अप्राप्त प्रकाशक हुन हाम्रो सेवकाई (अंग्रेजी) पुस्तकको पृष्ठ ९७ देखि ९९ सम्म उल्लिखित आवश्यकताहरू पूरा गर्छन्? तिनी योग्य छन् भनी विश्वस्त हुनुहुन्छ भने यसबारे छलफल गर्नुभए कसो होला? केही विद्यार्थीहरूलाई क्षेत्र सेवकाईमा भाग लिन निम्त्याए मात्र पनि पुग्छ। निस्सन्देह, विद्यार्थी इच्छुक छन् भने मण्डलीको अध्यक्षले साबिकबमोजिम दुइ जना प्राचीनसित छलफल गर्ने प्रबन्ध मिलाउनु पर्नेछ। अर्कोतर्फ, कुनै कुराले गर्दा विद्यार्थी पछि हटिरहेको हुनसक्छ। शायद एक जना प्राचीन तपाईंसितै बाइबल अध्ययनमा गएर विद्यार्थीलाई सत्यप्रति आफ्ना भावनाहरू नहिचकिचाई बताउन प्रेरित गर्नसक्छन्। विद्यार्थीको कुरा सुनिसकेपछि प्राचीनले धर्मशास्त्रीय मदतको साथै व्यवहारिक सुझाउहरू प्रदान गर्नसक्लान्।
९ ‘समयको विचार’ गरेर सहायक अग्रगामी गर्नुहोस्: हरेक वर्ष स्मरणार्थ उत्सवको समयताका छुडौतीको बलिदानप्रति कृतज्ञताले हजारौंलाई ‘समयको विचार’ गरेर सहायक अग्रगामी गर्न प्रेरित गर्छ। (एफि. ५:१५-१७) केही त्यागहरू गर्नु परे तापनि यसका प्रशस्त इनामहरू छन्। थुप्रै जवानहरूले स्कूल बिदाको सदुपयोग गरेर सहायक अग्रगामी गर्छन्। सांसारिक कार्यमा पूर्ण-समय व्यस्त हुने वयस्कहरूले अग्रगामी क्रियाकलापमा भाग लिन साँझको समय तथा सप्ताहन्तको पूर्ण सदुपयोग गर्छन्। यसप्रकार सम्पूर्ण परिवारहरूले एकसाथ सहायक अग्रगामी गरेका छन्! केही मण्डलीहरूका अधिकांश प्राचीन, सेवकाई सेवक र तिनका पत्नीहरूले सहायक अग्रगामी गरेका छन्। तिनीहरूको जोशिलो उदाहरणबाट प्रेरित हुँदै अरूले पनि त्यसै गरेका छन्। यसो गर्दा अप्रिलमा मण्डलीको अत्यधिक प्रतिशतले सहायक अग्रगामी सेवा गर्छन्।
१० तपाईंले सहायक अग्रगामी गर्न सकोस् वा नसकोस्, अप्रिलको दौडान क्षेत्र सेवकाईमा आफ्नो सहभागिता बढाउने तरिकाहरू खोज्नुहोस्। यस्तो व्यक्तिगत लक्ष्य राख्नुहोस्, जसको लागि अलि प्रयासको खाँचो परे तापनि प्राप्त गर्न सकिने होस्। तपाईंको व्यक्तिगत परिस्थितिअनुरूप यहोवाको सेवामा “ज्यादै खुशीसित खर्च” गर्ने तपाईंको इच्छाले उहाँको आशिष् पाउनेछ।—२ कोरि. १२:१५.
११ क्षेत्र सेवकाईको लागि सभाहरू: ब्यूँझनुहोस्! अभियान चलुञ्जेल हरेक दिन क्षेत्र सेवकाईको लागि सभाको प्रबन्ध गर्नुपर्छ। तर छिट्टै सेवकाई सुरु गर्न मिल्ने समयमा यो सभा राख्नुपर्छ। सन्ध्याकालीन साक्षीकार्यको लागि पनि प्रबन्ध मिलाउनुपर्छ। सप्ताहन्तमा अधिकांश प्रकाशकहरूले क्षेत्र सेवकाईमा भाग लिनेछन्। त्यसकारण विशेष ब्यूँझनुहोस्! वितरण अभियान चलुञ्जेल मण्डलीहरूले शनिबार बिहान र दिउँसो क्षेत्र सेवकाईको लागि सभाहरूको तालिका बनाउनुपर्छ।
१२ क्षेत्र सेवकाईको लागि सभा सञ्चालन गर्ने व्यक्तिहरूले यथेष्ट इलाका भए नभएको पक्का गर्नुपर्छ। हालै प्रचार नगरिएका इलाकाहरूमा सर्वप्रथम प्रचार गर्नुपर्छ। तथापि, सोसाइटीको अनुमतिबिना नखटाइएका इलाकाहरूमा प्रचार गर्नु हुँदैन। के तपाईंसित हालै प्रचार नगरिएका त्यस्ता व्यक्तिगत इलाकाहरू एक दुइटा छन्? यस अभियानको दौडान त्यहाँ प्रचार गर्न मदत चाहिनेछ भने सेवा निरीक्षक वा इलाकाको कामकुरा सँभाल्ने भाइसित कुरा गर्नुहोस्। तपाईंलाई सहयोगको प्रबन्ध गर्न तिनीहरू खुशी हुनेछन्।
१३ तपाईंले कतिवटा पत्रिका वितरण गर्नुहुनेछ? त्यो प्रश्नको जवाफ व्यक्तिविशेषले नै दिनुपर्छ। तपाईंले यस अभियानको दौडान कतिवटा पत्रिका वितरण गर्नुहुनेछ भनी निर्धारण गर्न तपाईंले काम गर्नुहुने इलाका, तपाईंको उमेर, स्वास्थ्य, तपाईंले बिताउन सक्नुहुने समय र अन्य तत्त्वहरू विचार गर्नुहोस्। तथापि, जनवरी १, १९९४ को प्रहरीधरहरा-मा दिइएको यो सम्झौटालाई नभुल्नुहोस्: “सुझाउको रूपमा प्रकाशकहरूले आफ्नो परिस्थितिअनुरूप कम्तीमा प्रतिमहिना १० वटा पत्रिका वितरण गर्ने लक्ष्य राख्नसक्छन्; अग्रगामीहरूले ९० वटा दिने कोसिस गर्नसक्छन्।” के तपाईंको लागि पनि त्यस्तै लक्ष्य व्यवहारिक होला?
१४ प्राचीनहरू हो—होशियारीपूर्वक योजना बनाउनु आवश्यक छ: प्राचीनहरूको निकायले अप्रिल अभियानको लागि स्थानीय प्रबन्धहरू सुपरिवेक्षण गर्नेछन्। ब्यूँझनुहोस्!-को विशेष अंक प्रयोग गरेर मण्डलीको इलाकामा यथासम्भव बढी प्रचार गर्न तिनीहरूले प्रबन्ध मिलाउनुपर्छ। मण्डलीको इलाकाभित्र पर्ने व्यापार इलाकाहरूमा प्रचार गर्न ध्यानपूर्वक प्रबन्ध मिलाउनुपर्छ। त्यहाँ प्रचार गर्नेहरूले राम्ररी तयार गर्नुपर्छ अनि तिनीहरूको पहिरन सफा हुनुपर्छ। विस्तृत प्रस्तुति आवश्यक छैन। व्यापारी वा पसलेसित कुरा गर्नुहुँदा यसो भन्न सक्नुहुन्छ, व्यापारीहरूलाई प्रायजसो घरमा नभेटिने हुँदा तपाईंलाई पक्कै पनि रोचक लाग्ने लेख प्रस्तुत गर्न तपाईंको पसल वा व्यापार क्षेत्रमा आएका हौं। त्यसपछि तपाईंले छोटकरीमा त्यस पत्रिकाबाट विशिष्ट बुँदा बताउन सक्नुहुन्छ। मण्डलीको इलाकाभित्र पत्रिकाहरूको सडक साक्षीकार्य पनि राम्ररी प्रबन्ध गरिएको हुनुपर्छ। सडक कार्यमा भाग लिने सबैभन्दा प्रभावकारी तरिका, कोही आउला कि भनेर पर्खेर बस्नुको साटो आफू अग्रसर भएर बटुवाहरूसित कुरा गर्नु हो। सर्वसाधारणले तपाईंलाई नियालिरहेका हुने भएकोले तपाईं मर्यादित देखिन सजग हुनुपर्छ। यस अभियानको दौडान तपाईंको इलाकामा प्रचार गर्न सकिने अन्य ठाउँहरू पनि होलान्। जस्तै, विमानस्थल, बसबिसौनी, अस्पताल, रेलवे स्टेशनबाहिर वा बजार, पार्किङ क्षेत्र वा पार्कहरू। तपाईंको मण्डलीको इलाकामा पर्ने यस्ता क्षेत्रहरूमा साक्षीकार्य गर्न प्राचीनहरूको निकायले सुहाउँदो प्रबन्धहरू निर्धारण गर्नुपर्छ।
१५ यहोवा, अथक कामदार हुनुहुन्छ। (यूह. ५:१७) उहाँले स्वर्ग र पृथ्वीको साथै बोटबिरुवा तथा जनावरहरू सृष्टि गर्नुभयो। तर उहाँले आफ्नो सर्वोत्कृष्ट उपलब्धि अर्थात् मानिस सृष्टि नगरूञ्जेल आराम गर्नुभएन। तथ्य कुरा के हो भने, हाम्रो जीवन, परमेश्वरको काम गर्ने इच्छुकताको प्रत्यक्ष प्रतिफल हो। “परमेश्वरका देखा-सिकी” गर्नेहरूको हैसियतमा उहाँप्रति प्रेमले हामीलाई “सुकर्ममा जोशिलो” हुन प्रेरित गर्नुपर्ने हो। (एफि. ५:१; तित. २:१४) यहोवा, हाम्रो सर्वोत्तम प्रयास पाउने योग्यको हुनुहुन्छ। साथै, जोशिलो व्यक्तिले परिणाम खोज्नु स्वाभाविकै भएकोले सेवकाईमा गुणस्तरीय कार्य गर्न हामी इच्छुक हुनुपर्छ। निस्सन्देह, हामीले यहोवाको लागि गर्ने जुनसुकै त्यागलाई उहाँले मूल्यांकन गर्नुहुन्छ र हाम्रो कार्य कहिल्यै व्यर्थमा जाँदैन। (१ कोरि. १५:५८) अतः, अप्रिलमा कृतज्ञ हृदयका साथ जोशिलो क्रियाकलापमा भाग लेऔं। साथै, यहोवाको अनुमोदन, आशिष् र प्रचुर सफलता पाउनेछौं भनी निर्धक्क होऔं!