१९९५ “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशन
१ हामी आनन्दित हुने कति धेरै कारणहरू छन्? शायद हामीमध्ये थोरैले मात्र ती कारणहरूलाई सूचीबद्ध गर्ने चेष्टा गरेका छौं। अशान्ति र अनिश्चित संसारमा बाँचिरहेको भए तापनि आनन्दित हुनुपर्ने हामीसित धेरै कारणहरू छन्। पूर्व घोषणा गरिएझैं १९९५ जिल्ला अधिवेशनहरूको मुख्य शीर्षक “आनन्दित प्रशंसकहरू” हुनु प्रोत्साहनवर्द्धक छ।
२ हामी यहोवाको प्रशंसा गर्छौं किनकि उहाँले हामीलाई सच्चाइ सिकाउनुभएको छ। (यशै. ५४:१३; यूह. ८:३२) अनि हर्षसाथ हामी सुरक्षित र आनन्दित हुन खोज्नेहरू जम्मैलाई सफलतापूर्वक सच्चाइ बाँड्छौं। (इजकि. ९:४; प्रे. २०:३५) हाम्रो मसीही भ्रातृत्वद्वारा पनि हामी आनन्दित हुन्छौं। मायालु आध्यात्मिक परिवारले पनि सन्तुष्टि र आनन्द प्रदान गर्छ। यिनीहरू त हामी आनन्दित हुनुका केही कारणहरू मात्र हुन् जसले हामीलाई यहोवाको प्रशंसा गर्न प्रेरित गर्छ। कठिनाइहरूले घेरिएका यी अन्तिम दिनहरूमा आनन्दित हुनुका थप शास्त्रीय कारणहरूप्रति अधिवेशनका भाषणहरू र प्रदर्शनहरूले हाम्रो ध्यान केन्द्रित गर्नेछ।
३ तीन दिने अधिवेशन: अधिवेशनमा तीनै दिन उपस्थित हुन के तपाईंले कार्यालयमा बिदा लिने प्रबन्ध गर्नुभएको छ? स्कूल जाने केटाकेटीहरूका आमाबाबुहरूले आफ्ना छोराछोरीहरू यो धार्मिक उपासनाको महत्त्वपूर्ण भागमा उपस्थित हुन शुक्रबार र शनिबार स्कूलमा गयल हुनेछन् भनी तिनीहरूका शिक्षकहरूलाई आदरपूर्वक सूचित गर्नुपर्छ। तपाईंलाई नजीक पर्ने अधिवेशन कहाँ हुनेछ? भारतभरि हुने १६ अधिवेशनहरूको स्थानहरू फेब्रुअरी १५, १९९५ को प्रहरीधरहरा-मा सूचीबद्ध गरिएका छन्। अतः अहिलेसम्म तपाईंको मण्डलीको सचिवले मण्डलीका निम्ति विस्तृत विवरण दिई सक्नुपर्ने हो। अंग्रेजीबाहेक कंकोनी, कन्नडा, गुजराती, तामिल, तेलगु, बंगाली, मराठी, मल्यालम र हिन्दी भाषाहरूमा पनि अधिवेशनहरू हुनेछन्।
४ प्रायजसो स्थानहरूमा शुक्रबार बिहान ९:४० मा कार्यक्रम सुरु हुनेछ अनि आइतबार दिउँसो ३:५० तिर समापन हुनेछ। शनिबार र आइतबार बिहान ९:३० मा कार्यक्रम सुरु हुनेछ। बिहान ८:०० बजेदेखि साक्षीहरू र जनसाधारणलाई स्वागत गरिनेछ। तर विशेष काममा खटाइएकाहरूलाई चाहिं त्यसअघि नै प्रवेश गर्ने अनुमति दिइनेछ।
५ के तपाईं उपस्थित हुनुहुनेछ?: अधिवेशनमा तीनै दिन उपस्थित हुन हामीलाई आग्रह गरिएको छ। त्यसो किन? किनभने हामी उपस्थित भएको यहोवा चाहनुहुन्छ। आज हाम्रो विश्वास र आध्यात्मिक स्वास्थ्य प्रचण्ड आक्रमणको चपेटमा परेको छ। यहूदियाका मसीहीहरूले तीव्र दबाब सहिरहेको बेला “एक ठाउँमा भेला हुन नछोड़ौं” भन्दै पावलले तिनीहरूलाई सल्लाह दिएका थिए। (हिब्रू ३:१२, १३; १०:२५) फिलिप्पीहरू चाहिं “टेड़ा र बरालिएको पुस्ताका बीचमा” बाँचिरहेका थिए। तरैपनि, तिनीहरू “संसारमा ज्योतिहरूझैं” थिए। (फिलि. २:१५) किन यी प्रथम शताब्दीका मसीहीहरू बेग्लै थिए? किनकि “प्रेम र सुकर्ममा उत्तेजित गराउन” एकत्रित पार्ने पवित्र आत्माको मार्गदर्शनलाई तिनीहरूले आज्ञाकारी भएर पछ्याएका थिए।—हिब्रू १०:२४.
६ अन्यथा, आफ्ना भाइबहिनीहरूसित भेट्न र यहोवाको प्रशंसा गर्ने इच्छालाई कमजोर पार्न संसारले हामीलाई प्रभाव पार्नेथियो। तसर्थ, हामीलाई यहोवाको आत्माप्रति अर्पित हुन अनि तीन दिने अधिवेशनको आनन्द उठाउन निमन्त्रित गरिएको छ। सम्पूर्ण परिवारसहित उपस्थित हुन के हामीले निश्चय गरेका छौं? हामीले नियमित तवरमा आफ्नो प्रेम र विश्वासको सुरक्षा गर्नु आवश्यक छ। यस सन्दर्भमा मदत दिन यहोवाले हामीलाई वार्षिक अधिवेशनहरूको प्रबन्ध गरी दिनुभएको छ।
७ घरमा बहुमूल्य धन लानुहोस्: अधिवेशनबाट तपाईंले कसरी लाभ प्राप्त गर्न सक्नुहुन्छ? “एकाग्रताद्वारा।” आजको उत्तेजनशील र तीव्र गतिमा अघि बढिरहेको समाजमा यसो गर्नु पटक्क सजिलो हुँदैन। कर्मठ जवानहरूलाई एकाग्र हुन गाह्रो पर्नसक्छ। तर जिल्ला अधिवेशनमा उपस्थित हुँदा हामी जम्मैले सामना गर्नुपर्ने यो एउटा चुनौती हो। अग्रिम योजना गरियो भने एकाग्र हुन हामीलाई धेरै सजिलो पर्नेछ। आफैलाई यी प्रश्नहरू सोध्नुहोस्, ‘अधिवेशनको विषय के हो?’ त्यसपछि यसरी मनन गर्नुहोस्! ‘म किन जाँदैछु अनि ती तीन दिन म के गरिरहेको हुनेछु? के म साँझहरूमा रमझम गर्नेछु वा विश्राम लिन र अधिवेशनको विशिष्ट बुँदाहरूलाई पुनरावृत्ति गर्न तालिका मिलाइरहेको हुनेछु?’
८ फेब्रुअरी १, १९८४ को वाचटावर-मा “तपाईं मनन गर्नुहुन्छ वा दिवा-स्वप्न मात्र देख्नुहुन्छ?” शीर्षक भएको लेखले सभाबाट कसरी लाभ प्राप्त गर्ने भनी थुप्रै सुझावहरू प्रस्तुत गरेको छ। र त्यसले यसरी निष्कर्ष निकाल्यो: “मानसिक अनुशासन सम्भवतः सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो।” सामान्यतया, वक्ताले भाषण सुरु गर्दा हामी ध्यानपूर्वक सुन्छौं तर त्यसको केही भाग सुनिसकेपछि हाम्रो एकाग्रता “भंग भएर जानसक्छ।” यो समस्यालाई हामी कसरी रोक्न सक्छौं?
९ यस सम्बन्धमा पहिले दिइएका सुझावहरू पुनः दोहोऱ्याउनु समय सान्दर्भिक छ। किनभने ती सुझावहरू अझै पनि प्रभावकारी छन्। सम्भव भएमा, राती पर्याप्त विश्राम लिनुहोस्। यात्राले गर्दा सधैं यसो गर्न सजिलो नहुन पनि सक्छ साथै यदि तपाईं होटेलमा बसिरहनुभएको छ भने, घरमा जस्तो चाँडै सुत्न नपाउन पनि सक्नुहुन्छ। सामान्यतया, राम्रो योजना बनाउनाले आवश्यक विश्राम लिन सम्भव हुन्छ।
१० एकाग्रताको लागि भाषणहरूको टिपोट लिनु सहायक सिद्ध भएको छ। तर तपाईंले धेरै कुराहरू टिप्न थाल्नुभयो भने, केही मुख्य बुँदाहरू पूर्णतया छुट्न सक्छन्। सुझाव के छ भने, आफ्नो बाइबल विद्यार्थीलाई कार्यक्रमको सार बताउने गर्न वा राखिछोड्ने उद्देश्य लिएर टिपोटहरू लेख्नुहोस्। यद्यपि, तपाईंले कुनै विशेष व्यक्तिको विषयमा सोच्नुभएको छैन भने पनि, टिपोट लेख्नाले अधिवेशनपश्चात् अविश्वासी परिवारका सदस्यहरूलाई अनौपचारिक साक्षी दिंदा कार्यक्रमको विशिष्टताहरू प्रस्तुत गर्न तपाईंले सुअवसर पाउन सक्नुहुन्छ। यसरी टिपोटहरू लेख्दा र अरूलाई सुनाउँदा तपाईंले चाँडै भुल्नुहुनेछैन। किनकि, अभिव्यक्त गर्नाले ती कुराहरू स्मरण भइरहन्छन्।
११ अधिवेशन भवनको भाडामा निकै खर्च हुन्छ। त्यसमा जनसम्बोधनका लागि ध्वनि उपकरण, अतिरिक्त आसन अनि अरू त्यस्तै विशेष चीजहरूको भाडा पनि सम्मिलित हुन्छ। यी खर्च कसरी बेहोरिन्छन्? “वाच टावर सोसाइटी”-लाई नगद वा चेकद्वारा हामीले दिएको स्वेच्छिक चन्दाहरूद्वारा। यो भजन ९६:८ र २ इतिहास ३१:१२ मा आधारित छ।
१२ आनन्दित प्रशंसकहरूले ईश्वरीय आचरणद्वारा यहोवाको महिमा गर्छन्: गत वर्ष होटेल र अधिवेशन भवनका कर्मचारीहरूले हाम्रो आचरणबारे प्रोत्साहनजनक सकारात्मक टिप्पणीहरू गरे। एउटा होटेलको प्रबन्धकले यसरी बयान गरे: “साक्षीहरूलाई आवास दिनु सदा रमाइलो हुन्छ। किनकि तिनीहरू धीरजी, मिलनसार र छोराछोरीहरूको राम्रो हेरविचार गर्छन्।” साक्षीहरू हर्षित र अरूभन्दा निकै व्यवस्थित देखिन्छन् भनेर अर्को होटेलका निर्देशकले टिप्पणी गरे। त्यो क्षेत्रमा हाम्रो अधिवेशन सबैभन्दा ठूलो भए तापनि, तिनले भने: “अरू सानो समूहको भन्दा यिनीहरूसित हाम्रो गुनासो र समस्याहरू एकदमै कम छन्।”
१३ हाम्रो अधिवेशन हुनुभन्दा अघि आयोजित अधिवेशनको परिणामस्वरूप सबै कर्मचारीहरूको उपस्थितिमा पनि होटेलमा भएका खतिका साथै चोरीबारे अर्को होटेलको कर्मचारीले बताए। तर हाम्रो अधिवेशनबारे तिनले यसो भने: “साक्षीहरूबारे हामी सुर्ताउनु पर्दैन। तिनीहरू यहाँ बस्दा हामीले कलपुर्जा मर्मत गर्ने एक दुइ जना व्यक्तिहरू मात्र तयार राख्नुपर्छ।”
१४ प्राप्त भएका जम्मै रिपोर्टहरू यस्तै होला भनी हामी इच्छा गर्छौं। तर दुःखको कुरा, सबै रिपोर्टहरू त्यस्ता छैनन्। एउटा अधिवेशनको सभापतिले यसरी टिप्पणी गरे: “सभाहरू सकेपछि, धेरै किशोरकिशोरीहरू राती होटेलको हलमा भेला भएर जोर जोरले हाँस्छन् अनि चिच्याउँछन्। यसले अरूलाई बाधा पुऱ्याउँछ र तिनीहरूले झर्को मान्छन्। कति जवानहरू चाहिं बरन्डामा कुद्छन् र कोठा-कोठामा भेट्न जाँदा जोरसित ढोका बन्द गर्छन् र कोठाहरूभित्र अति चर्को स्वरमा कुरा गर्छन्।”
१५ अर्को समस्या के पनि देखिएको छ भने कार्यक्रमहरू चलिरहेको बेला वर्षेनी धेरै भाइहरू भवनबाहिर र बरन्डामा गफ गरिरहेका हुन्छन्। गत वर्ष, बाइबल अध्ययन गर्ने एक व्यक्तिले लेखेको टिपोट एउटा अधिवेशनको चन्दा बाकसमा भेट्टाइयो। त्यसमा यस्तो लेखिएको थियो: “भाषणहरू भइरहेको बेला भवनबाहिरको हल्ला, क्रियाकलाप र अनुचित व्यवहारले मलाई यति बिघ्न कहिल्यै पनि आघात पुऱ्याएको थिएन। यद्यपि, म साक्षी होइन खालि ईश्वरीय भय र आदरलाई अध्ययन गर्ने व्यक्ति हुँ।” निस्सन्देह, हामीमध्ये कोही पनि यहोवा परमेश्वरको प्रबन्धहरूप्रति मूल्यांकन नझल्किने प्रभाव देखाउन चाहँदैनौं।
१६ हर समय हामीले आफैलाई यी प्रश्नहरू सोध्नुपर्छ: ‘म कसको प्रतिनिधित्व गर्छु? म यस अधिवेशनमा किन उपस्थित हुँदैछु?’ हाम्रो आध्यात्मिकता र ईश्वरीय भक्ति बोली, आचरण र आध्यात्मिक प्रबन्धहरूप्रतिको मूल्यांकनद्वारा झल्किन्छ। (याकू. ३:१३; १ पत्रु. २:२, ३, १२) वर्षौंसम्म प्रतिबन्ध सहने भाइहरू अधिवेशनहरूमा अक्सर एकदमै ध्यानसित र आदरपूर्वक भाषण अनि प्रदर्शनहरूमा लीन भएका देखिन्छन्।
१७ तपाईं लुगाफाटा तथा कोरीबाटीद्वारा चिनिनुहुन्छ: हामीलाई १ शमूएल १६:७ मा यसरी स्मरण गराइएको छ, “मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्।” तसर्थ, मानिसहरूले प्रायः हामीलाई हाम्रो रूपरंगद्वारा जाँच्छन्। विशेषगरि, उपासनाको लागि अधिवेशनमा उपस्थित हुँदा र मसीही जीवनको शिक्षा दिंदा हाम्रो लुगाफाटा र कोरीबाटीलाई अरूले नियालेर हेरिरहेका हुन्छन्। यदि तपाईं स्कूल जाने जवान व्यक्ति हुनुहुन्छ वा निजी नोकरीको कारण सांसारिक ढाँचालाई पछ्याउने मानिसहरूसित तपाईंको घनिष्ठ सम्बन्ध छ भने, सुहाउँदो पोशाक लगाएर मसीही स्तरहरूलाई कायम राख्नु तपाईंको निम्ति चुनौती हुनसक्छ।
१८ विश्वभरि लुगाफाटा तथा कोरीबाटीको स्तर भिन्नाभिन्नै छन्। मसीहीहरूले भद्र र चटक्क परेको लुगा लगाउनु उचित मानिन्छ। यसको निर्णय कसले गर्नुपर्छ? आफ्ना छोराछोरीहरूले स्कूलमा सांसारिक युवाहरूले जस्तो वस्त्र नलगाऊन् भनी आमाबाबुहरू निश्चित हुनुपर्छ। यस संवेदनशील पक्षमा निर्णय गर्न मदतको लागि उपयोगी मार्गदर्शनहरू प्रबन्ध गरिएका छन्। फेब्रुअरी ८, १९८७, अवेक!-को “वस्त्रहरूले तपाईंमा के अर्थ राख्छ?” शीर्षक भएको लेखलाई पुनरावृत्ति गर्न हामी तपाईंहरूलाई प्रोत्साहन गर्छौं। गत वर्षका केही अधिवेशनहरूमा के देखियो?
१९ “ईश्वरीय भय” जिल्ला अधिवेशनहरूमध्ये एउटा अधिवेशनपश्चात् हामीले यो टिप्पणी प्राप्त गऱ्यौं: “यस वर्षको अधिवेशनमा भाइबहिनीहरूले लुगाफाटा, कोरीबाटी र आचरणमा सराहनीय उन्नति गरेका छन्। तथापि, कति अवस्था र बानीहरूमा अझै थप उन्नति गर्न खाँचो छ।” अर्को अधिवेशनमा धेरै मात्रामा अभद्र वस्त्र लगाएको रिपोर्ट आयो। कति वस्त्रहरू अरूलाई अप्रिय लाग्ने किसिमको थियो भनेर रिपोर्टले उल्लेख गऱ्यो। त्यहाँ उपस्थित सांसारिक मानिसहरूले पनि त्यो अभद्र वस्त्र देखे। कतिपय पोशाक त अंग प्रदर्शित हुने र अति नै कसिएको थियो।
२० धेरै भाइबहिनीहरूले अधिवेशन भएको स्थानमा भद्र र आदरयोग्य वस्त्र लगाउँछन्। तथापि, पछि होटेल र चमेनाघरहरूमा भने कति भाइबहिनीहरूले “बाहुलो नभएको कमिज, खुइलिएको जीन पाइन्ट, छोटो कट्टु र परमेश्वरको जन भन्न नसुहाउने अभद्र वस्त्र लगाएर अधिवेशनको बिल्ला त्यसैमा झुण्डाइराखेका थिए।” फाल्तु समयमा त्यस्तो लुगाफाटा लगाउने बानी कसैको देखिएमा प्राचीनहरूले ती व्यक्तिहरूलाई अधिवेशन अगावै कडा तर दयालुपूर्वक सल्लाह दिनु उचित हुनेछ र मसीही अधिवेशनमा विशेषगरि प्रतिनिधिहरू भएर उपस्थित भएको बेला त्यस्तो वस्त्र लगाउनु उचित हुँदैन भनेर बताउनुपर्छ। अधिवेशनमा उपस्थित हुन लागेका तपाईंका बाइबल विद्यार्थीहरूसित आचरण र वस्त्रसम्बन्धी माथि उल्लिखित निर्देशनहरू पुनरावृत्ति गर्नुहोस्।
२१ होटेलहरू: प्रत्येक वर्ष कसैलाई वित्तीय भार नपरोस् भनी होटेल दर घटाएर आवासहरूको बन्दोबस्त गर्ने चेष्टा गरिन्छ। कृपया, होटेलका कर्मचारीहरूसित व्यवहार गर्दा धीरजी र दयालु हुनुपर्ने कुरा सम्झनुहोला। यात्राले गर्दा हामी थकित हुनसक्छौं र आवासको लागि लाम लाग्दा लामो समयसम्म पर्खनुपर्ला। यतिबेला हामीले धैर्य गुमाउनु भएन। उचित चलनअनुसार होटेलका नोकरहरूलाई बक्सिस दिनुपर्ने कुरालाई पनि हामीले सम्झनुपर्छ।—जून २२, १९८६, अवेक!
२२ क्यामरा अनि रिकर्डिङ उपकरणहरू: क्यामरा र रिकर्डिङ उपकरणबारे कोमलभावले सम्झाउनु उचित हुन्छ। कृपया स्मरण रहोस्, यदि तपाईंले क्यामरा, भिडियो क्यामरा अथवा कुनै पनि प्रकारको क्यामराहरू प्रयोग गर्ने योजना बनाउनुभएको छ भने, तपाईं वरपर भएका अरूको पनि ख्याल गर्नुहोस्। कार्यक्रम भइरहेको बेला यताउता गर्दा वा तपाईंले आफ्नो आसनैबाट रिकर्ड गर्नाले अरूको ध्यान भंग हुनसक्छ। कुनै पनि प्रकारको रिकर्डिङ उपकरणहरूलाई विद्युत वा ध्वनि प्रणालीमा जोड्न पाइँदैन र त्यसले भवनभित्र हिंड्ने बाटो पनि रोक्न पाइँदैन। यदि तपाईंले भिडियो क्यामरा वा अडियोक्यासेटद्वारा कार्यक्रमका भागहरूलाई रिकर्ड गर्ने निर्णय गर्नुभएको छ भने, त्यो तपाईंको व्यक्तिगत कुरा हो। चित्र र रिकर्डिङहरूले पछि तपाईंलाई रमाइला सस्मरणहरू दिलाउँछन्। जम्मै उपकरणहरू सावधानी र सन्तुलित ढंगमा प्रयोग गर्नुपर्छ। यसो गर्दा अरूलाई पनि बाधा हुँदैन र तपाईंले पनि कार्यक्रमबाट प्राप्त हुने अधिक लाभलाई गुमाउनु पर्नेछैन। घर फर्केपछि रिकर्डिङहरू पुनरावृत्ति गर्ने तपाईंको समय हुन्छ? नत्र, टिप्पणीहरू लेख्नु नै तपाईंको लागि यथेष्ट हुनसक्छ।
२३ आसन: आसनहरू आरक्षित गर्नेबारे १९९४ को “ईश्वरीय भय” जिल्ला अधिवेशनमा केही उन्नति भएको तपाईंले देख्नुभयो? केही उन्नति भएको भए तापनि यो सम्झौटोलाई सम्झिराख्नु खाँचो छ: आफ्नै परिवारका सदस्यहरू र तपाईंसित यात्रा गर्नेहरूका लागि मात्र ठाउँ ओगटेर राख्न सकिन्छ। अधिवेशनमा हामी सोसाइटीको अतिथिको रूपमा हुन्छौं। अधिवेशन भवनको भाडा स्वेच्छिक चन्दाहरूद्वारा तिरिन्छ। आफूले ओगटेका सबै आसनहरू प्रयोग गरिन्छ भनेर हामी निश्चित छैनौं भने, के यसरी ठाउँ ओगट्नु मायालु र विचारणीय होला? हावापानीको असरले एलर्जी हुनसक्नेहरूका लागि छुट्टै स्थान वा कोठाको प्रबन्धका लागि दिइएका निवेदनहरूलाई स्वीकार गर्न सम्भव नभएकोमा हामी खेद प्रकट गर्दछौं।
२४ धेरै अधिवेशनहरूमा वृद्ध र शारीरिक तवरमा अशक्त भएकाहरूलाई चाहिं विशेष आवश्यकताहरूको प्रबन्ध गरिएको हुन्छ। त्यस्ता व्यक्तिहरूका निम्ति छुट्टाएका आसनहरूमा नबसिदिनुहोस्। विशेष आवश्यकता पर्नेहरूको हेरचाह गर्ने कोही छैन भने, ती व्यक्तिहरूलाई सहयोग गर्न पनि जागरुक रहनुहोस्।
२५ अधिवेशनमा तपाईंलाई आवश्यक खानेकुराको प्रबन्ध गर्नु: जून १९९५ को हाम्रो राज्य सेवकाई-ले यस्तो घोषणा गरेको तपाईंलाई थाह होला: “अब उप्रान्त, जिल्ला अधिवेशन, क्षेत्रीय तथा विशेष सम्मेलनहरूमा खाजाको मात्र प्रबन्ध गरिनेछ। पहिलेजस्तो भोजन पकाएर वितरण गरिनेछैन। यदि उपस्थित व्यक्तिहरूले चाहन्छन् भने, त्यहाँ वितरण गरिने हल्का खाजाको अलावा आफ्नो निम्ति भोजन ल्याउनसक्छन्।” त्यसपछि, किन यस्तो संशोधन गरिएको भनी जुलाई १९९५ को हाम्रो राज्य सेवकाई-ले बयान गरेको छ। साथै यसले अधिवेशनमा भोजनको आवश्यकताहरूको प्रबन्धसम्बन्धी प्रत्येकलाई राम्रो सल्लाह दिएको छ। खालि आफू मात्र नभई अधिवेशनमा उपस्थित हुन तयार बाइबल विद्यार्थीहरूसित पनि यो कुरा छलफल गर्नु राम्रो हो। अधिवेशनमा प्रबन्ध गरिएको खाजाको अलावा अधिक भोजन चाहनेहरूले आफैले खाने कुराहरूको बन्दोबस्त गर्नसक्छन् भनेर अधिवेशनमा उपस्थित हुन लागेका बाइबल विद्यार्थीहरूलाई बताउनु महत्त्वपूर्ण छ।
२६ यस सन्दर्भमा पुनः जोड दिनका लागि तपाईंलाई यी कुराहरू स्मरण गराउन चाहन्छौं। दिउँसोको भोजनको लागि नोकरीवालाहरूले काममा जाँदा लाने जस्ता हल्का, साधारण र पौष्टिक खाजाहरू तपाईंले ल्याउन सक्नुहुनेछ। जस्तै, स्याण्डवीच, सुखा रोटी र तारेको तरकारी, बिस्कुट, केक, क्रिमरोल आदि अनि ताजा फलहरू। चियापानीको लागि, चिया, कफी, हल्का पेय र फलको रस आदि अधिवेशनहरूमा उपलब्ध हुनसक्छन्। पानी राख्ने नफुट्ने स-साना बोतलहरू यदि तपाईंको आसनमुनि राख्न मिल्छ भने ल्याउन सक्नुहुन्छ। तथापि, पानी राख्ने ठूलो भाँडो, मदिराहरू वा काँचका भाँडाहरू अधिवेशन भवनभित्र ल्याउन पाइँदैन। कार्यक्रम भइरहेको बेला भवनभित्र खानेकुरा खान निषेध छ। यसरी खाँदा प्रदान गरिरहेको आध्यात्मिक भोजनप्रति अनादर हुन्छ।
२७ सतर्क रहनुपर्ने थप कुरा के हो भने, होटेलवालाहरूले अनुमति नदिइकन या तिनीहरूले प्रबन्ध नगरिकन होटेलका कोठाहरूमा खाना नपकाउनुहोस्। मध्यान्तरको समय हल्का भोजन लिन र भाइबहिनीहरूसित ईश्वरतान्त्रिक संगतिको आनन्द उठाउन सकोस् भनी छुट्टाइएको हो भनेर हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ। यहोवाका जनहरूको हैसियतमा भौतिक कुराहरूभन्दा अधिवेशनहरूमा पाइने आध्यात्मिक भोजनहरू धेरै महत्त्वपूर्ण छन् भनी हामी मानि लिन्छौं। र हामीले सोही किसिमले योजना बनाउनुपर्ने हो।
२८ भारतमा आयोजित हुने “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशनहरूमध्ये पहिलो अधिवेशन अक्टोबर २०, १९९५ का दिन सुरु हुनेछ। के तपाईंले आफ्नो तयारी सिध्याउनुभयो? के अब तपाईं तीन दिने आनन्ददायी भ्रातृत्व र आध्यात्मिक कुराहरूको आनन्द उठाउन तयार हुनुहुन्छ? आफ्ना भाइबहिनीहरूसित मिलेर यो वर्षको अधिवेशनमा उपस्थित हुन तपाईंले गर्नुभएको प्रयासलाई यहोवाले आशिष् दिउन् भनी हामी विनम्र प्रार्थना गर्छौं। ताकि हामी सबैले कसरी यहोवाका आनन्दित प्रशंसकहरू हुने भनेर बुझ्न सकौं।