प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 सेप्टेम्बर pp. ३-६
  • १९९७ “परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १९९७ “परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशन
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • १९९६ “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९६
  • १९९८ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९८
  • १९९५ “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९५
  • सन्‌ १९९९ “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 सेप्टेम्बर pp. ३-६

१९९७ “परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशन

१ “तपाईंको दरबारमा एक दिन हजार दिनभन्दा असल छ।” (भज. ८४:१०) भजनरचयिताले यहोवाको मन्दिरमा उपासना गर्दा सर्वशक्‍तिमान्‌ परमेश्‍वरको उपस्थिति महसुस गर्नसक्थे। वार्षिक उत्सवहरूका लागि भेला भएका इस्राएल राष्ट्रका साँचो उपासकहरूले यरूशलेम भरिभराउ हुँदा मन्दिरको चोकमा भेला भएका इस्राएलीहरूले आनन्ददायी मैत्रीभावको आनन्द उठाउँथे। त्यतिबेला, तिनीहरूलाई पृथ्वीमा यहोवाले आशिष्‌ र अनुग्रह दिनुभएका मानिसहरू तिनीहरू मात्र हुन्‌ भनी राष्ट्रिय एकताको स्मरण गराइन्थ्यो। हामीले पनि हरेक वर्ष हजारौं भाइबहिनीहरूबीच त्यस्तै एकता र खुशीयाली महसुस गर्ने मौका पाउँछौं। वर्तमान समयमा यहोवाले आफ्ना मानिसहरूलाई निर्देशन दिन र मैत्रीभावमा बाँध्न एकत्रित गर्नुहुने एउटा तरिका वार्षिक जिल्ला अधिवेशनहरू हुन्‌।

२ उत्सवहरूको दौडान यरूशलेममा र वरपर बस्ने यहोवाका जनहरूको देखभाल गर्न राम्रो व्यवस्था मिलाउनु पर्थ्यो। व्यवस्थित गर्न र शान्ति कायम राख्न आवास, सभाको समय र अरू प्रबन्धहरूसम्बन्धी निर्देशनहरू दिनु पनि आवश्‍यक पऱ्‍यो होला। यी कुराहरू साँचो उपासनासित सम्बन्धित भएकोले इस्राएलीहरू ती निर्देशनहरू रमाउँदै पालन गर्थे।—भज. ४२:४; १२२:१.

३ ‘हरेक धर्मशास्त्र परमेश्‍वरबाट प्रेरणा भएको हो’ भनेर प्रेरित पावलले तिमोथीलाई स्मरण गराए। (२ तिमो. ३:१६) परमेश्‍वरको वचन उहाँद्वारा प्रेरित भएकोले त्यसमाथि विश्‍वास गर्ने हर कारण हामीसित छ। यस वर्षको जिल्ला अधिवेशनको शीर्षक छ, “परमेश्‍वरको वचनमा विश्‍वास”। धेरैअघिदेखि सत्य चिनेको होस्‌ या यहोवाको संगठनसित भर्खरै हेलमेल हुन थालेको नै किन नहोस्‌, यस कार्यक्रमले बाइबलप्रतिको हाम्रो विश्‍वासलाई बलियो बनाउनेछ। हामी सबैले सम्पूर्ण कार्यक्रममा उपस्थित हुने चाँजोपाँजो मिलाउनुपर्छ। इच्छुक नयाँ व्यक्‍तिहरू र विशेषगरि हामीसित बाइबल अध्ययन गर्नेहरू हामीसँगै त्यहाँ उपस्थित हुँदा कत्ति प्रोत्साहनदायी क्षण हुनेछ!

४ अधिवेशनका विभिन्‍न विभागहरू चलाउन थुप्रै भाइहरूले धेरै समय बिताइसकेका छन्‌। यी भाइहरू सोसाइटीको अधिवेशन कार्यालयसित काँधमा काँध मिलाएर काम गर्छन्‌ र अधिवेशन सञ्चालन गर्न आवश्‍यक मदत दिन्छन्‌। हाम्रा वार्षिक जिल्ला अधिवेशनहरूमा लाग्ने अत्यधिक समय, प्रयत्न तथा खर्चबारे हामीलाई व्यक्‍तिगत तवरमा थाह नहोला। तर यी विश्‍वासी भाइहरूको आत्मत्यागी भावनाको भने के हामी अवश्‍यै मूल्यांकन गर्दैनौं र?

५ “परमेश्‍वरको वचनमा विश्‍वास” १९९७ जिल्ला अधिवेशनको तयारी भइरहेको छ र त्यतिञ्जेल तपाईंले ध्यान दिनुपर्ने र विचार गर्नुपर्ने केही कुराहरू हामी बताउन चाहन्छौं। यी सबै प्रबन्धहरू तपाईंहरूकै लागि गरिएका हुन्‌ र तपाईंहरूको सहयोग नै यसप्रतिको मूल्यांकन हो। यी कुराहरूमध्ये कतिपय त पहिल्यै छलफल गरिसकिएको भए तापनि अधिवेशन सञ्चालन गर्न तयार पारिएका प्रबन्धहरूमा सहयोग दिने आफ्नो जिम्मेवारीलाई यहोवासामु राम्ररी बुझ्नु महत्त्वपूर्ण छ।

६ तीन दिने अधिवेशन: हाम्रै फाइदाको लागि यस वर्ष तीन दिने जिल्ला अधिवेशन कार्यक्रमको प्रबन्ध गरिएको छ। हरेक दिन कार्यक्रम बिहान ९:३० बजे सुरु हुनेछ। जून ८, १९९७ को ब्यूँझनुहोस्‌!-मा (अंग्रेजी) भारतभरि सम्पन्‍न हुने १८ अधिवेशन र भाषाको सूची दिइएको छ। कुन अधिवेशनमा उपस्थित हुने भनेर तपाईंले अहिलेसम्म तय गरिसक्नुभएको हुनुपर्छ र तपाईंले अवश्‍य तीनै दिन कार्यक्रममा उपस्थित हुने योजना बनाइसक्नुभएको हुनुपर्ने हो। के तपाईंले बिदा मिलाउन आफ्ना हाकिमसित कुरा गरिसक्नुभएको छ? तपाईंका स्कूल जाने छोराछोरी छन्‌ र बिदा नभएको दिनहरूमा अधिवेशन सम्पन्‍न हुँदैछ भने के तपाईंले शिक्षकहरूसित भेटेर तपाईंका छोराछोरी धार्मिक प्रशिक्षण दिने महत्त्वपूर्ण अवसरमा भाग लिन गइरहेछन्‌ र केही दिन स्कूलमा अनुपस्थित हुनेछन्‌ भनेर सूचित गरिसक्नुभएको छ?—व्यव. ३१:१२.

७ राम्ररी ध्यान दिनुहोस्‌: प्रेरित पत्रुसले प्रथम शताब्दीका मसीहीहरूलाई अन्धकारमा बलिरहेको दियोलाईझैं भविष्यसूचक वचनप्रति राम्ररी ध्यान दिन स्मरण गराए। (२ पत्रु. १:१९) हामीले पनि त्यसै गर्नुपर्छ। शैतान नियन्त्रित यो पुरानो संसारमा बस्नु भनेको अन्धकारमा हुनुजस्तै हो। हामीलाई आध्यात्मिक अन्धकारबाट उज्यालोमा ल्याएकोमा कृतज्ञ छौं। (कल. १:१३; १ पत्रु. २:९; १ यूह. ५:१९) ज्योतिमा रहन हामीले यहोवाको प्रेरित वचनमा ध्यान दिएर विश्‍वासलाई बलियो बनाउनुपर्छ। यसपालीको हाम्रो जिल्ला अधिवेशनले हामीलाई त्यसै गर्न प्रोत्साहन दिनेछ।

८ प्रयास गरे मात्र कार्यक्रममा ध्यानकेन्द्रित गर्न सकिन्छ तर त्यसो गऱ्‍यौं भने अवश्‍य आशिष्‌ पाउनेछौं। प्रशस्त आराम गरेर अधिवेशन भवनमा आउने प्रयास गर्नुपर्छ। त्यसो गर्दा हामी कार्यक्रमको दौडान सुस्ताउनेछैनौं। कार्यक्रम सुरु हुनभन्दाअघि आ-आफ्नो सीटमा बसिसक्न समयमै घरबाट निस्कनुहोस्‌। प्रत्येक दिनको कार्यक्रमको प्रारम्भिक गीत र प्रार्थनामा सहभागी हुनुहोस्‌। यसो गर्नमा वयस्कहरूले राम्रो उदाहरण बसाल्नुपर्छ अनि आमाबाबुले आफ्ना छोराछोरीलाई सिकाउनुपर्छ।—एफि. ६:४.

९ त्यस दिनको कार्यक्रम सुरु हुनअघि शीर्षकहरू सरसरती हेऱ्‍यौं भने, कार्यक्रमको दौडान कुन कुन बुँदा प्रस्तुत गरिने रहेछ, अन्दाज लगाउन सक्नेछौं। यसो गर्दा प्रस्तुत गरिएको कुरामा हाम्रो चासो बढ्‌नेछ। हामी यस्ता बुँदाहरूमा ध्यान दिन्छौं होला जसले हामीलाई परमेश्‍वर अनि उहाँको निश्‍चित प्रतिज्ञामा हामी किन विश्‍वास गर्छौं भनेर अरूलाई बताउन मदत दिन्छन्‌। परमेश्‍वरको उक्‍त प्रतिज्ञाअनुसार, इमानदारीसाथ उहाँको खोजी गर्नेहरूलाई उहाँले इनाम दिनुहुनेछ। (हिब्रू ११:१, ६) कार्यक्रमका मुख्य बुँदाहरू नबिर्सन छोटकरीमा टिपोटहरू टिप्न हामीलाई सुझाउ दिइएको छ। हामीले थुप्रै बुँदा टिप्न थाल्यौं भने, लेख्नमा अत्यन्तै व्यस्त भएकोले मुख्य बुँदाहरू नै छुट्‌नसक्छन्‌।

१० गत वर्ष फेरि पनि थुप्रै वयस्क तथा युवकयुवतीहरू “विश्‍वासी अनि बुद्धिमान्‌ दास[ले]” हाम्रोनिम्ति प्रबन्ध गरेका कुरा सुन्‍नको साटो भवनको बाटोतिर डुलिरहेका, बाहिर फन्का मारिरहेका र कार्यक्रम चलिरहेको बेला गफ गरिरहेका देखियो। येशूले हामीलाई ठीक ठीक समयमा आध्यात्मिक खानेकुरा दिने प्रतिज्ञा गर्नुभएको थियो। (मत्ती २४:४५-४७) तसर्थ, हामी ती खानेकुराको फाइदा उठाउन त्यहाँ उपस्थित हुनुपर्छ र त्यसको मूल्यांकनै नभएको चाला देखाउनु भएन। (२ कोरि. ६:१) छटपटी लागेपछि केही केटाकेटीहरू शौचालय जान्छु भनी बहाना बनाउँछन्‌ जस्तो छ। तथापि, घरमा राम्ररी सिकाएमा घरीघरी शौचालय लानु पर्नेछैन। कहिलेकाहीं ठिटाठिटीहरू चाहिं कुनातिर बसेर खासखुस कुरा गर्दै टिपोटहरू खस्य्राक र खुस्रुक साटासाट गर्दै गरेको पनि देखियो। आज थुप्रै दबाबहरूको सामना गर्ने हाम्रा जवानहरूले कार्यक्रमको दौडान अरू कुरामा होइन तर त्यहाँ प्रस्तुत गरिएका कुराहरूमा ध्यानकेन्द्रित गर्नु खाँचो छ। बाइबल सिद्धान्तसित मेल नखाने इच्छाहरूलाई जवानहरूले त्याग्नुपर्छ। (२ तिमोथी २:२२ तुलना गर्नुहोस्‌।) के वयस्क, के जवान सबैले कार्यक्रममा ध्यान दिएर सुनेमा यहोवाको आदर हुनुका साथै उहाँलाई आनन्दित बनाउनेछ।

११ यी कुराहरूको सम्बन्धमा कसैलाई कुनै परिचारकले सल्लाह दिएमा त्यसलाई यहोवाबाटको मायालु प्रबन्ध सम्झेर स्वीकार्नुपर्छ। (गला. ६:१) हामीले अधिवेशनमा उपस्थित हुन प्रयास गर्नुको कारण ‘सुन्‍न र सिक्न’ सकौं भनेर हो भनी हामी सबैले याद गर्नुपर्छ। (व्यव. ३१:१२) त्यसबाहेक, “बुद्धिमान्‌ मानिसले . . . ध्यानसित सुन्यो भने आफ्नो विद्या बढ़ाउनेछ।” (हितो. १:५) अधिवेशनमा उपस्थित हुनुअगावै सपरिवार एकसाथ अधिवेशनमा बस्नुपर्ने, सीटमै हुनुपर्ने र ध्यान दिएर सुन्‍नुपर्ने आवश्‍यकताबारे परिवारसित छलफल गर्नुहोस्‌। यसो गर्नुभयो भने, कार्यक्रमबाट पूरापूर लाभ उठाउन सक्नुहुनेछ।

१२ परमेश्‍वरलाई खुशी तुल्याउने पहिरन तथा कोरिबाटी: सारा संसारको दृष्टि यहोवाका साक्षीहरूमा परेको छ। (१ कोरि. ४:९) मानिसहरूले साधारणतया हामीमा याद गर्ने कुरा हाम्रो भद्र पहिरन र कोरीबाटी हो। पहिलो तिमोथी २:९, १० अनि १ पत्रुस ३:३, ४ मा दिइएको धर्मशास्त्रीय सिद्धान्तहरू लागू गरेर थुप्रैले व्यक्‍तित्वमा ठूलो परिवर्तनहरू गरेका छन्‌। मसीही मण्डलीसित सम्पर्क हुनअघि तिनीहरू जस्ता थिए अब त्यस्तो पटक्कै देखिंदैन। यो परिवर्तन आजको संसारको खस्कँदो पहिरन र कोरीबाटीभन्दा बिल्कुलै भिन्‍न छ। हामी संसारको जस्तो व्यक्‍तित्व अर्थात्‌ उत्ताउलो लुगाफाटा, सांसारिक पाराको कपाल कटाइ वा नसुहाउँदो पहिरनबाट जोगिनुपर्छ। मसीहीहरूको यस्तो पहिरन तथा कोरीबाटी हुनुपर्ने रहेछ भनेर हाम्रो उदाहरणीय पहिरन र कोरीबाटीबाट नयाँ व्यक्‍तिहरूले बुझ्न सक्नुपर्छ।

१३ गत वर्षको अधिवेशनले प्रशंसायोग्य प्रभाव पारे तापनि विशेषगरि कार्यक्रमपछि केही भाइबहिनीहरूले सांसारिक तौरतरिकाको लुगाफाटा लगाएका र सिंगारपटार गरेका देखियो। अधिवेशनमा उपस्थित हुने योजना बनाउँदा आफ्नो लुगाफाटामा पनि ध्यान पुऱ्‍याउनुपर्छ। आमाबाबु हो, आफ्ना जवान तथा किशोर छोराछोरीले कस्तो लुगा लगाउँदैछन्‌, बुद्धिमत्तापूर्वक निरीक्षण गर्नुहोस्‌। सांसारिक ढाँचा र फेसनलाई हाम्रो मसीही व्यक्‍तित्वमा नराम्रो असर पार्न नदिने पक्का निधो गर्नुहोस्‌।

१४ असल आचरण कायम गर्नुहोस्‌: असल आचरण साँचो मसीहीहरूको चिह्न हो। (१ पत्रु. २:१२) चाहे अधिवेशनमा होस्‌ वा चमेनागृहमा, होटेलमा होस्‌ या यात्रामा, हाम्रो आचरणले असल साक्षी दिनुका साथै परमेश्‍वर र उहाँको वचनमा विश्‍वास गर्नाले मानिसहरूमा के कस्ता परिवर्तन आउँछन्‌ भनेर अरूलाई बुझ्न मदत दिनसक्छ। यसले थुप्रै मानिसलाई यहोवाबारे जान्‍न उत्प्रेरित गर्नसक्छ। (१ पत्रुस ३:१, २ तुलना गर्नुहोस्‌।) हामीले आचरणद्वारा परमेश्‍वरको महिमा गर्ने सुअवसर पाएका छौं। एउटा होटेलका व्यवस्थापकले हाम्रा प्रतिनिधिहरूलाई “सबैभन्दा असल र राम्रो आचरण भएको अतिथि समूह” भने। तिनले यसो पनि भने: “तपाईंहरू फेरि आउनुभएमा हामीलाई खुशी लाग्नेछ।” अर्को ठाउँको पर्यटक पदाधिकारीले यसो लेखे: “हरेक वर्ष हाम्रो सम्पूर्ण समुदायले वाचटावर सोसाइटीको अधिवेशनलाई उत्सुकतासाथ पर्खिरहेको हुन्छ। तपाईंका सदस्यहरूले शिष्टाचार र आदर देखाएर साँच्चै आनन्दित पार्छन्‌। हाम्रा स्थानीय होटेलहरूले यो बुझ्छन्‌ र आफ्ना यी अतिथि ‘समूह’ हरेक वर्ष आओस्‌ भन्‍ने चाहन्छन्‌।” यस्ता रिपोर्टहरू पढ्‌दा आनन्द लाग्दैन र? तथापि, यहोवाका जनहरूले कमाएको यस्तो असल नाउँलाई जोगाइराख्न अझ सतर्क भइरहनुपर्छ।

१५ आफ्ना छोराछोरीलाई नियन्त्रण गर्ने, होटेलमा यताउता कुदेर अरूलाई बाधा पुऱ्‍याउन नदिनेबारे थुप्रै सम्झौटाहरू दिइसकिएका छन्‌। केही केटाकेटीहरूको देखरेख नगरिएकोले तिनीहरू होटेलको हल र अरू सार्वजनिक ठाउँहुँदो कुदिहिंडेको रिपोर्टहरू सोसाइटीले प्रत्येक वर्ष प्राप्त गरिरहेको छ। हाम्रो एक हूल केटाकेटीले एक एक ढोका ढकढकाउँदै अरू साक्षीहरू खोजेकोले होटेलको व्यवस्थापक राति ११.०० बजेपछि दुइ पटक ब्यूँझनुपऱ्‍यो। अधिवेशनहरूमा हामीले हाम्रा भाइहरूसित भेट्‌ने र संगतिको आनन्द उठाउने मौका पाउने भए तापनि आफ्ना छोराछोरीलाई हरबखत देखरेख गर्नुपर्छ भनेर आमाबाबुले याद राख्नैपर्छ। यो प्रत्येक आमाबाबुलाई यहोवाले दिनुभएको जिम्मेवारी हो। (हितो. १:८; एफि. ६:४) आमाबाबुले देखरेख नगरेका केटाकेटीको क्रियाकलापले यहोवाका अरू साक्षीहरूले कठिन परिश्रम गरेर कमाएको असल नाउँलाई माटोमा मिलाउनसक्छ।—हितो. २९:१५.

१६ तपाईं होटेलमा बस्नुहुन्छ भने याद गर्नुहोस्‌ कि कोठामा पकाउने प्रबन्ध छैन भने खाना पकाउँदै नपकाउनुहोस्‌। वेटर, वेट्रेस, सफाई गर्ने र सेविकाहरूजस्ता थुप्रैले प्रायः बक्सिसकै भरमा जीवन धान्‍ने भएकाले तपाईंको सेवा गर्दा तिनीहरूलाई बक्सिस दिन नभुल्नुहोस्‌। यहोवाका साक्षीहरूको हैसियतमा हामी यस सन्दर्भमा पनि असल शिष्टता देखाउन चाहन्छौं।—ब्यूँझनुहोस्‌! (अंग्रेजी) जून २२, १९८६, पृष्ठ २४-७ हेर्नुहोस्‌।

१७ अधिवेशनको खर्च बेहोर्ने: अधिवेशनमा उपस्थित हुँदा हामी सबैको खर्च हुन्छ। तर हामीले विचार गर्नुपर्ने अर्को खर्च पनि छ। अधिवेशन भवनहरूको भाडा महँगो हुन्छ। बेहोर्नुपर्ने अरू खर्च पनि छन्‌। हामीले अधिवेशनको लागि राजी खुशीले दिएको चन्दाको ठूलो मूल्यांकन गरिन्छ।—प्रेरि. २०:३५; २ कोरि. ९:७, ११, १३.

१८ सीट: आफ्नै परिवारका सदस्यहरू र तपाईंसित यात्रा गर्नेहरूका लागि मात्र ठाउँ ओगटेर राख्न सकिन्छ भनेर धेरै वर्षदेखि निर्देशनहरू दिइँदै आइएको छ। हालका वर्षहरूमा यी निर्देशनहरू पालन भइरहेको देख्न पाउनु अति आनन्ददायी कुरा हो र यसले अधिवेशनहरूमा देखिने मायालु वातावरणमा सुनमा सुगन्ध नै थपेको छ। कतिपय सीटहरू ओहरदोहर गर्न सकिने ठाउँमा हुन्छन्‌। कृपया, विचार पुऱ्‍याउनुहोस्‌ अनि जसलाई त्यो सीट उचित छ उनैलाई छाडिदिनुहोस्‌।

१९ क्यामेरा, भिडियो क्यामेरा अनि अडियो रेकर्डरहरू: क्यामेरा र रेकर्ड गर्ने साधनहरू अधिवेशनमा प्रयोग गर्न सकिन्छ। तथापि, हामीले ती चीजको प्रयोग गर्दा त्यहाँ उपस्थित अरूलाई बाधा पुगेको हुनु हुँदैन। कार्यक्रम चलिरहेको बेला हामी तस्बिर खिच्न यताउता हिंड्‌नु हुँदैन। किनभने त्यसो गर्दा कार्यक्रममा ध्यानमग्न हुन कोसिस गरिरहेकाहरूलाई बाधा पुग्छ। कुनै पनि प्रकारको रेकर्डिङ उपकरणलाई विद्युत वा ध्वनि प्रणालीमा जोड्‌न पाइँदैन वा भवनभित्र हिंड्‌ने बाटो रोक्न वा अरू श्रोताहरूलाई छेक्न पाइँदैन।

२० प्राथमिक चिकित्सा: प्राथमिक चिकित्सा विभाग आकस्मिक सेवाको लागि मात्र हो। त्यहाँ दीर्घकालीन रोग भएका रोगीहरूको हेरचाह गर्न सकिंदैन। त्यसैकारण, तपाईंले आफू र आफ्नो परिवारको स्वास्थ्यबारे पहिल्यै विचार पुऱ्‍याउनुपर्छ। कृपया, एस्पिरिन, पाचक, ब्यान्डेज, सेफ्टी पिन र त्यस्तै चीजहरू आफै ल्याउनुहोस्‌। यी चीजहरू अधिवेशन भवनमा उपलब्ध गराइनेछैन। मूर्छा पर्ने रोगहरू, हृदयघात तथा त्यस्तै रोग भएकाहरूलाई चाहिने कुराहरूको सकेसम्म पहिल्यै थाह लगाउनुहोस्‌। तिनीहरूले आफूलाई चाहिने औषधीहरू आफै ल्याउनुपर्छ अनि तिनीहरूको रोगबारे थाह भएका परिवारका कुनै सदस्य वा मण्डलीको कुनै भाइ या बहिनी मदतको लागि हरबखत तिनीहरूसित रहनुपर्छ। दीर्घकालीन रोग भएकाहरू र बिमारीहरूलाई एक्लै छाड्‌दा अधिवेशनहरूमा समस्याहरू खडा भएका छन्‌। ती व्यक्‍तिहरूलाई आवश्‍यक हेरचाह गर्नसक्ने परिवारका सदस्यहरू छैनन्‌ भने, मण्डलीका प्राचीनहरूलाई अवगत गराउनुपर्नेछ र आवश्‍यक प्रबन्ध मिलाउनुपर्छ।

२१ अधिवेशनमा खानेकुरा: अधिवेशनमा खानेकुराको प्रबन्ध नगरी हल्का खाजा मात्र खाने चाँजो मिलाउँदा थुप्रै राम्रा परिणाम भएका छन्‌। त्यसो गर्दा कार्यक्रमको दौडान खानेकुरा पकाउन नपरेकोले आध्यात्मिक खानेकुरामा ध्यानकेन्द्रित गर्न सकिएको छ। यस्तो प्रबन्ध गरिएदेखि अनेकौं मूल्यांकनहरू प्राप्त भएका छन्‌। खानेकुरा ल्याउन चाहनेहरूले जुलाई १९९५ को हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएका सुझाउअनुसार मध्यान्तरको लागि व्यवहारिक र पौष्टिक खानेकुरा आफैले ल्याउनुपर्छ। अधिवेशन भवनमा फुट्‌ने भाँडाकुँडा र मद्य पेयपदार्थहरू नल्याउनुहोस्‌। खानेकुराको भाँडा र पानीको जग तपाईंको सीट मुनि अटाउने साइजको हुनुपर्छ। केही श्रोताहरूले कार्यक्रम भइरहेको बेला खाँदै र पिउँदै गरेको देखिएको छ। यसो गर्नु अनादर गरेको हुनेछ। अधिवेशन भवनभित्र या बाहिर खानेकुरा बेच्ने पसलहरूमा केही भाइहरू कार्यक्रम चलिरहेको बेला खानेकुरा किनिरहेको पनि देखिएको छ। यसो गर्नु अनुचित हो। कार्यक्रमको दौडान हामी आध्यात्मिक भोजनको अनि मध्यान्तरको छोटो अवधिमा शान्तिमय मित्रैलो वातावरणको आनन्द लिन्छौं। यस प्रबन्धको उद्देश्‍यको सदुपयोग गर्न भाइबहिनीहरूसित कुराकानी गर्ने समय निकाल्नुहोस्‌।

२२ कत्ति आनन्दको कुरा कि “परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशन चाँडै सुरु हुनेछ! हामी सबैले सम्पूर्ण कार्यक्रममा उपस्थित हुने तयारी गर्नुपर्छ ताकि यहोवाले आफ्नो संगठन मार्फत हाम्रोनिम्ति तयार गर्नुभएको उत्कृष्ट आध्यात्मिक भोजको हामी पूरापूर आनन्द लिनसकौं। तब, हामी “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित” हुनेछौं।—२ तिमो. ३:१७.

[पृष्ठ ६-मा भएको पेटी]

जिल्ला अधिवेशनका लागि सम्झौटाहरू

बप्तिस्मा: बप्तिस्मा लिने व्यक्‍तिहरू शनिबार कार्यक्रम सुरु हुनुअगावै निर्देशित ठाउँमा बसिसकेको हुनुपर्छ। तिनीहरू प्रत्येकसित सुहाउँदो स्नान पोशाक र तौलिया हुनुपर्छ। आधारभूत शिक्षा पुस्तिका पुनरावलोकन गर्ने प्राचीनहरूले बप्तिस्मा लिने प्रत्येक व्यक्‍तिले यी बुँदाहरू राम्ररी बुझेका छन्‌ कि छैनन्‌, पक्का गर्नुपर्छ। बप्तिस्माको भाषण र प्रार्थनापश्‍चात्‌ कार्यक्रम अध्यक्षले गीत गाउन आह्वान गर्नेछन्‌। अन्तिम हरफ गाइसकेपछि परिचारक भाइहरूले बप्तिस्मा लिनेहरूलाई डुबुल्की लगाउने ठाउँमा लानेछन्‌। बप्तिस्मा, समर्पणको प्रतीक हुनुका साथै यहोवा र उक्‍त व्यक्‍तिबीचको घनिष्ठता अनि व्यक्‍तिगत कुरा हो। त्यसैले, दुइ वा त्योभन्दा बढी व्यक्‍तिहरू आलिंगन गरेर वा हात समाएर एकैसाथ बप्तिस्मा लिनु उचित हुँदैन।

बिल्लाहरू: कृपया, अधिवेशन आयोजना भएको शहरमा भइञ्जेल आउँदा र फर्कंदा जहिले पनि १९९७ को बिल्ला लगाउनुहोस्‌। यसो गर्दा साक्षी दिने उत्तम मौका मिल्छ। बिल्लाहरू र होल्डरहरू आफ्नो मण्डलीबाट प्राप्त गर्नुपर्छ। अधिवेशनमा ती चीजहरू उपलब्ध हुनेछैनन्‌। अधिवेशन सुरु हुन दुइ चार दिन बाँकी भएपछि आफू र आफ्नो परिवारका लागि बिल्लाहरू लिउँला नि भनेर नपर्खनुहोस्‌। अग्रिम चिकित्सा/निर्देशन पूर्जी बोक्न नभुल्नुहोस्‌।

आवास: अधिवेशनको दौडान यस सन्दर्भमा समस्या आइपरेमा अधिवेशनको आवास विभागलाई बताउन अप्ठ्यारो नमान्‍नुहोस्‌। त्यसो गर्दा तिनले त्यो समस्या तुरुन्तै समाधान गर्न तपाईंलाई सहयोग गर्नसक्छन्‌। मण्डलीका सचिवहरूले अधिवेशनको सही ठेगानामा आवास निवेदन फाराम अविलम्ब पठाउन बिर्सनु हुँदैन। मिलाइसकेको आवासलाई रद्द गर्नु परेमा अधिवेशनको आवास विभागलाई तपाईंले तुरुन्तै सूचना दिई हाल्नुपर्छ ताकि त्यो कोठा अरूलाई दिन सकियोस्‌।

स्वयं सेवा: अधिवेशनको कुनै विभागलाई सघाउन के तपाईं समय मिलाउन सक्नुहुन्छ? केही घण्टा मात्र भए पनि आफ्ना भाइहरूको सेवा गर्नु धेरै मदतकारी हुनसक्छ र यसले परम सन्तुष्टि दिन्छ। तपाईं सहयोग गर्न सक्नुहुन्छ भने, कृपया अधिवेशनको स्वयं सेवा विभागलाई सूचना दिनुहोस्‌। सोह्र वर्षमुनिका केटाकेटीहरूले पनि आफ्ना आमाबाबु वा अरू जिम्मेवार वयस्कहरूको निर्देशनमा काम गरेर राम्रो योगदान पुऱ्‍याउनसक्छन्‌।

सावधान रहनुपर्ने कुराहरू: अनावश्‍यक कठिनाइबाट जोगिन सम्भाव्य समस्याहरूबारे सतर्क हुनुहोस्‌। चोरहरू र अरू बेइमान व्यक्‍तिहरूले टाढाबाट आगन्तुकहरू आउँदा अक्सर त्यसको मौका छोप्छन्‌। विशेषतः चोरहरू र पाकेटमारहरूले ठूला जमघटहरूको फाइदा उठाउँछन्‌। आफ्नो कुर्सीमा बहुमूल्य चीजहरू छोड्‌नु बुद्धिमानी हुनेछैन। त्यहाँ भेला भएका सबै मसीहीहरू नै हुन्‌ भनेर तपाईं निश्‍चिन्त हुन सक्नुहुन्‍न। अरूलाई प्रलोभनमा किन पार्ने? बाहिरका मानिसहरूले केटाकेटीहरूलाई फकाएर लाने चेष्टा गरेका रिपोर्टहरूसमेत प्राप्त भएका छन्‌। छोराछोरीहरूलाई सधैं आफूसितै राख्नुहोस्‌।

धेरै होटेलहरूमा टेलिभिजन र भिडियो सेवाहरू उपलब्ध छन्‌ र यसमा प्रायजसो कामुक तथा अश्‍लील चलचित्रहरू देखाइन्छन्‌। यो पासोबारे चनाखो हुनुहोस्‌ अनि कोठामा बिनारेखदेख छोरोछोरीहरूलाई टिभी हेर्न नदिनुहोस्‌।

कृपया, अधिवेशनसम्बन्धी जानकारी हासिल गर्न अधिवेशन भवनको प्रबन्धकगणलाई फोन नगर्नुहोस्‌। प्राचीनहरूबाट जानकारी हासिल नभएमा जुलाई १९९७ हाम्रो राज्य सेवकाई-मा सूचीबद्ध अधिवेशन मुख्यालयहरूको ठेगानामा पत्राचार गर्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने