सुसमाचार योग्य चालचलन देखाउनुहोस्
१ यहोवाका साक्षीहरूको हैसियतमा हामी यहोवाको नाउँ आदर गर्न चाहन्छौं। अरूले साँचो उपासनाप्रति राख्ने मनोवृत्तिलाई हाम्रो आचरण, बोलीवचन, कोरीबाटी र लुगाफाटाले असर गर्छ भनेर हामीलाई थाह छ। यो विशेषगरि हामी सभाहरूमा उपस्थित हुँदा सत्य साबित हुन्छ। सभाहरूमा जे-जति भनिन्छ र गरिन्छ, त्यो सुसमाचार योग्य हुनुका साथै यहोवालाई आदर दिने खालको छ भनेर हामी पक्का हुनुपर्छ।—फिलि. २:४.
२ लुगाफाटा र कोरीबाटीसम्बन्धी अधिकांश सांसारिक स्तरहरू मसीहीहरूका लागि स्वीकारयोग्य छैन। यसमा सुसमाचारका सेवकहरूले निकै ध्यान पुऱ्याउनुपर्छ। जून १, १९८९, वाचटावर, पृष्ठ २० ले यसरी बताउँछ: “हाम्रो लुगाफाटा महँगो हुनु आवश्यक छैन तर सफा, चिटिक्क र भद्र हुनुपर्छ। हाम्रो जुत्ता नफाटेको र टल्केको हुनुपर्छ। त्यस्तैगरि मण्डली पुस्तक अध्ययनलगायत सम्पूर्ण सभाहरूमा उपस्थित हुँदा सफासुग्घर र सुहाउँदो लुगा लगाएको हुनुपर्छ।”
३ समयमा आइपुग्नु अरूप्रति राखिने मायालु ख्याल र समझदारीको चिन्ह हो। परिस्थितिवश कहिलेकाहीं समयमै सभाहरूमा नआइपुगौंला। तर ढिलो आउने बानीले सभाहरूको पवित्र उद्देश्यप्रति आदर भावनाको कमी झल्किन्छ भने अर्कोतिर अरूलाई बाधा नपुऱ्याउनुपर्ने हाम्रो जिम्मेवारीलाई मूल्यांकन गर्न असफल भएको ठहरिन्छ। ढिलो आउनेहरूले अरूलाई अलमल्याउँछन् र कार्यक्रमबाट भरपूर लाभ उठाउन तिनीहरूलाई बाधा पुऱ्याउँछन्। समयमा आइपुग्नाले उपस्थित सबैको भावना र चासोलाई कदर गर्छौं भन्ने भाव झल्किन्छ।
४ छिमेकीप्रतिको प्रेमले हामीलाई सभामा अलमल्याउने कामहरू गर्नुदेखि जोगाउनुपर्छ। कानेखुशी गर्दा, खाँदा, चुइगम चपाउँदा, ऱ्यापिंग कागज चलाउँदा, अनावश्यक रूपमा शौचालय गइरहँदा अरूको ध्यान भंग हुनुको साथै यहोवालाई उपासना गर्ने स्थानको अनादर हुन्छ। आकस्मिक अवस्थामा बाहेक अरूबेला भाइहरूले आफ्नो ठाउँ छोडेर मण्डलीको कामकुरामा व्यस्त हुनु वा अरूसित कुरा गर्नु उपयुक्त होइन। अन्यथा आफू र आफ्नो परिवारको हितको लागि सबै जना आ-आफ्नै ठाउँमा बसेर कार्यक्रम सुन्नुपर्छ। राज्य भवनमा अशिष्टताको कुनै स्थान छैन किनकि “प्रेम . . . बेकायदासाथ चल्दैन।”—१ कोरि. १३:४, ५; गला. ६:१०.
५ सभामा हाम्रा छोराछोरीले देखाएको असल आचरणले पनि यहोवाको नाउँको प्रशंसा र आदर गर्छ। आमाबाबुले कडा निगरानी गर्नु अत्यावश्यक छ। छोराछोरीलाई सभामा सुन्न र भाग लिन प्रोत्साहित गर्नुपर्छ। स-साना बच्चाहरू भएका आमाबाबुहरूले आफ्नो बच्चालाई ध्यान दिइरहनुपर्ने हुन्छ। त्यसैकारण, अरूलाई बाधा नपुऱ्याइकन बच्चालाई सजिलै बाहिर लानसकिने ठाउँमा तिनीहरू बस्छन्।
६ पावलले यसरी आग्रह गरे: “तिमीहरूको चाल . . . सुसमाचारको योग्य होस्।” (फिलि. १:२७) अतः सभाहरूमा उपस्थित हुँदा शिष्ट र अरूको ख्याल राख्ने होऔं। सबैले सहयोग गरेमा एकअर्काको “दुवैको विश्वासबाट हामी प्रत्येकले आपसमा . . . सान्त्वना [पाउँछौं]।”—रोमी १:१२.