समयनिष्ठ हुने बानी बसाल्नुहोस्
१. यहोवाले कस्तो उदाहरण बसाल्नुभएको छ?
१ यहोवा समयनिष्ठ हुनुहुन्छ। उदाहरणका लागि, उहाँ आफ्ना सेवकहरूलाई “चाहिएकै बेला मदत” गर्नुहुन्छ। (हिब्रू ४:१६) साथै उहाँ हामीलाई “ठीक समयमा” आध्यात्मिक “भोजन” पनि दिनुहुन्छ। (मत्ती २४:४५) त्यसकारण हामी ढुक्क हुन सक्छौं, उहाँको रिसको दिन आउन ‘ढीलो हुनेछैन।’ (हब. २:३) यहोवा समयनिष्ठ हुनुभएकोले हामी कति धेरै लाभ उठाउन सक्छौं! (भज. ७०:५) हामी व्यस्त अनि त्यसमाथि त्रुटिपूर्ण भएकोले समयनिष्ठ हुन चुनौतीपूर्ण हुन्छ। हामीले किन समयनिष्ठ हुने बानी बसाल्नुपर्छ?
२. समयनिष्ठ हुँदा कसरी यहोवाको महिमा हुन्छ?
२ यस अन्तको दिनमा समयनिष्ठ मान्छे कमै पाइन्छ किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने र असंयमित छन्। (२ तिमो. ३:१-३) ख्रीष्टियनहरू काममा र सभामा समयमै पुग्दा अनि कसैलाई तोकिएकै समयमा भेट्दा अरूले त्यो कुरा याद गर्छन्। यसरी समयनिष्ठ हुँदा यहोवाको महिमा हुन्छ। (१ पत्रु. २:१२) हामी काम गर्ने ठाउँमा समयमै पुग्छौं होला। तर ईश्वरतान्त्रिक गतिविधिमा भने ढिलो पुग्ने बानी छ कि? गीत र प्रार्थना सुरु हुनुअघि नै सभामा पुग्दा हामीले व्यवस्थित परमेश्वर यहोवाको अनुकरण गर्न चाहेको देखाइरहेका हुन्छौं।—१ कोरि. १४:३३, ४०.
३. समयनिष्ठ हुँदा अरूप्रति विचारशील भएको कसरी देखिन्छ?
३ समयनिष्ठ भयौं भने हामी अरूप्रति विचारशील पनि भइरहेका हुन्छौं। (फिलि. २:३, ४) उदाहरणको लागि, हामी सभामा वा क्षेत्र सेवाको सभामा समयमै पुग्यौं भने सङ्गी उपासकहरूको ध्यान खलबलिन पाउँदैन। यदि ढिलो पुग्ने बानी नै बसिसकेको छ भने यसले अरूमा कस्तो छाप पार्छ? हामी अरूको भन्दा आफ्नो समय मूल्यवान् ठान्छौं भन्ने छाप पार्छ। समयनिष्ठ व्यक्ति भरोसायोग्य, लगनशील र विश्वासिलो हुन्छ। यस्ता गुण भएको व्यक्तिलाई सबैले मन पराउँछ।
४. ढिलो गर्ने बानी कसरी सुधार्न सक्छौं?
४ यदि तपाईंको सधैं ढिलो गर्ने बानी छ भने त्यसको कारण पत्ता लगाउनुहोस्। तोकिएको समयमा काम पूरा गर्न व्यावहारिक तालिका बनाउनुहोस्। (उप. ३:१; फिलि. १:१०) यहोवासित मदत माग्नुहोस्। (१ यूह. ५:१४) परमेश्वरलाई र छिमेकीलाई प्रेम गर्नू भन्ने सबैभन्दा ठूला आज्ञाहरूको हामी मोल गर्छौं भनेर देखाउने एउटा तरिका समयनिष्ठ भएर हो।