“विश्वास सुनाइबाट . . . आउँछ”
१ हामीले “अनन्त जीवनका लागि नियुक्त” भएको कसैलाई भेटायौं भने आफूले सुनेका कुराहरूमा तिनको विश्वास बलियो पार्नु आवश्यक छ। (प्रे. १३:४८; रोमी १०:१७) त्यसो गर्न हामीले पत्रिकाहरू दिएका वा ग्राहक बनाएका ठाउँहरूमा अझ बढी कुराकानी गर्न पुनः फर्कनुपर्छ। प्रथम भेटमा पत्रिकाहरू मात्र स्वीकारेको थियो भने पुनःभेटमा ग्राहक बन्ने प्रस्ताव राख्न सकिन्छ। तथापि, ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकबाट अध्ययन सुरु गर्ने लक्ष्यलाई नबिर्सनुहोस्। मदतकारी हुनसक्ने केही सुझाउहरू यसप्रकार छन्:
२ “अनन्तका महाराजाको प्रशंसा गर्नुहोस्!” लेख छलफल गर्नुभएको ठाउँमा पुनः भेट गर्नुहुँदा यसप्रकार सुरु गर्न सक्नुहुन्छ:
▪“सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ भन्ने केही जोडदार प्रमाणहरू हामीले अघिल्लो पटक छलफल गरेका थियौं। तथापि, उहाँको अस्तित्वबारे सजग भएर मात्र पुग्दैन। हामीले उहाँको नाउँ जान्नुपर्छ। तपाईंले परमेश्वरलाई कुन नाउँले पुकार्नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] धेरै मानिसहरूले उहाँलाई केवल ‘प्रभु’ वा ‘परमेश्वर’ भन्छन्, जुन व्यक्तिगत नाउँ होइन। अरूले बेग्लाबेग्लै नाउँले पुकार्छन्। उहाँले आफूलाई बाइबलमा कुन नाउँ दिनुभएको छ, हेर्नुहोस्। [भजनसंग्रह ८३:१८, NW पढ्नुहोस्।] यस पुस्तकमा वर्णन गरेअनुसार बाइबलले हामीलाई यहोवा परमेश्वरबारे अझ बढी बताउँछ।” ज्ञान पुस्तकको पृष्ठ २९ मा भएको चित्र देखाउनुहोस् र त्यस चित्रमुनिको शीर्षक पढ्नुहोस्। अध्याय ३ को सुरुका तीन अनुच्छेदहरू छलफल गर्नुभएपछि त तपाईंले अध्ययनै सुरु गरिसक्नुभएको हुनेछ!
३ “सांसारिक धर्म किन अन्त हुनेछ” विषयक लेख छलफल गर्नुभएका व्यक्तिहरूसित यसो भनेर तिनीहरूको चासो बढाउन सक्नुहुन्छ:
▪“हामीले सबै धर्महरूलाई एउटै दृष्टिकोणले हेर्न सक्दैनौं भन्ने तथ्य कुरा त्यो लेख पढ्नुभएपछि बुझ्नुभयो होला। साँचो धर्म र झूटा धर्महरू दुवै छन्। यसले एउटा तार्किक प्रश्न खडा गर्छ, परमेश्वरले कसको उपासना स्वीकार्नुहुन्छ? येशूले यसको जवाफ दिनुभयो र त्यो यस पुस्तकमा प्रकाश पारिएको छ।” ज्ञान पुस्तकको अध्याय ५ पल्टाउनुहोस् र यूहन्ना ४:२३, २४ लगायत अनुच्छेद ४ पढ्नुहोस्। त्यसपछि सोध्नुहोस्, “के तपाईं निश्शुल्क गृह बाइबल अध्ययन स्वीकार्न इच्छुक हुनुहुन्छ?” जवाफ सकारात्मक छ भने अध्याय १ पल्टाएर अध्ययन सुरु गर्नुहोस्।
४ अप्रिल २२ “ब्यूँझनुहोस्!”-मा (अंग्रेजी) चासो देखाएको थियो भने पुनःभेटमा यसप्रकार कुरा थाल्नुभएर “ज्ञान” पुस्तकबाट अध्ययन सुरु गर्नुभए कसो होला:
▪“अन्ततः, युद्धरहित संसार देख्नसक्ने हाम्रो प्रत्याशाबारे कुरा गरेको तपाईंलाई यादै होला। त्यो संसार कस्तो होला भनेर कल्पना गर्न पनि गाह्रो छ। एक जना चित्रकारको परिकल्पना यस्तो छ। [ज्ञान पुस्तकमा पृष्ठ १८८-९ को चित्र देखाउनुहोस्।] यस्ता वातावरणहरूको आनन्द उठाउन पाउनु के रमाइलो हुँदैन र? [पृष्ठ ४-५ पल्टाएर चित्र देखाउनुहोस् अनि पेटी पढ्नुहोस्।] यस पुस्तकको शीर्षक र यूहन्ना १७:३ मा येशूका शब्दहरू मिल्दाजुल्दा छन्। [पढ्नुहोस्।] मिल्छ भने, त्यस जीवनदायी ज्ञान भेटाउन यो पुस्तक कसरी प्रयोग गर्न सकिन्छ भनेर म देखाउन चाहन्छु।” घरधनी इच्छुक छन् भने पहिलो अध्यायबाट अध्ययन सुरु गर्नुहोस्।
५ प्रथम भेटमा व्यस्त भएको मानिसलाई भेट्नुभयो भने पुनःभेटमा यसो भन्न सक्नुहुन्छ:
▪“म हालै तपाईंकहाँ आएको थिएँ र प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू दिएको थिएँ। यी पत्रिकाहरूले जीवनदायी ज्ञान दिने भएकोले नियमित तवरमा तपाईंले यी लिनुहोस् भन्ने म चाहन्छु।” त्यसपछि ग्राहक बन्ने प्रस्ताव राख्नुहोस्। वा “सबैले बाइबललाई बुझ्नु अत्यावश्यक छ जस्तो मलाई लागेकोले त्यसो गर्न मदत दिने एउटा कुरा देखाउन म फेरि आएको हो।” ज्ञान पुस्तक देखाउनुहोस् र पृष्ठ ३ को विषयसूची औंल्याउनुहोस्। कुन अध्याय सबैभन्दा रोचक लाग्छ सोध्नुहोस्, त्यसपछि त्यो अध्याय पल्टाउनुहोस् र अध्ययन सुरु गर्नुहोस्।
६ अनन्त जीवनतर्फ डोऱ्याउने ‘विश्वासको ढोका’ अरूको लागि खोलिदिन सक्यौं भने हाम्रो आनन्द झनै बढ्नेछ।—प्रे. १४:२७; यूह. १७:३.