‘परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्नुहोस्’
१ आफूले पाएको कुनै असल चीजको लागि यदि तपाईं साँच्चै कृतज्ञ हुनुहुन्छ भने, के तपाईं त्यो कृतज्ञता आफ्नो मनोवृत्ति र व्यवहारद्वारा देखाउनुहुन्न र? अवश्य देखाउनुहुन्छ! मानिसहरूप्रति यहोवाले देखाउनुभएको भलाइ र कृपाबारे प्रेरित पावलले कस्तो प्रतिक्रिया देखाए ध्यान दिनुहोस्। तिनले यस्तो उद्गार गरे: “परमेश्वरलाई उहाँको बयान गरी नसक्ने वरदानको निम्ति धन्यवाद होस्”! यस “वरदान[मा]” के समावेश छ? हामीप्रति देखाइएको “परमेश्वरको असीम अनुग्रह” र हाम्रो पापको छुडौतीको मोलस्वरूप उहाँको आफ्नै पुत्रलाई वरदानस्वरूप दिनु नै यसको सबैभन्दा उत्कृष्ट प्रमाण थियो।—२ कोरि. ९:१४, १५; यूह. ३:१६.
२ के पावलले मुखले मात्र धन्यवाद चढाइरहेका थिए? पटक्कै थिएनन्! तिनले थुप्रै तरिकाहरूमा आफ्नो गहिरो मूल्यांकन देखाए। तिनी आफ्ना सँगी मसीहीहरूको आध्यात्मिक हितबारे असाध्यै चिन्ता गर्थे र परमेश्वरको कृपाबाट पूर्ण लाभ उठाउन उनीहरूलाई सक्दो मदत दिन चाहन्थे। यस्ताहरूबारे पावलले यस प्रकार लेखे: “तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिन हामी बढ़तै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौ।” (१ थिस्स. २:८) मण्डलीको भाग भइसकेकाहरूलाई मुक्ति पाउन मदत गर्नुको अलावा “अनन्त जीवनका लागि नियुक्त भएकाहरू[लाई]” खोज्न पावलले हजारौं किलोमिटर जल तथा थल यात्रा गरेर सुसमाचार प्रचार गर्न अथक प्रयास गरे। (प्रेरि. १३:४८) यहोवाले आफ्नो निम्ति गर्नुभएका सबै कामहरूप्रतिको गहिरो मूल्यांकनले गर्दा पावल “परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न” उत्प्रेरित भए।—कल. १:२५, नयाँ संशोधित संस्करण।
३ यहोवाले हाम्रोनिम्ति गर्नुभएका सबै कामहरूप्रतिको मूल्यांकनले गर्दा के हामी हाम्रो मण्डलीमा मदत चाहिएकाहरूलाई आध्यात्मिक तवरमा सहयोग गर्न उत्प्रेरित हुँदैनौं र? (गला. ६:१०) अनि हाम्रो इलाकाका सबै ठाउँमा परमेश्वरको राज्यको सुसमाचार यथासक्दो प्रचार गर्न के हामी उत्प्रेरित हुँदैनौं र?—मत्ती २४:१४.
४ मूयांकन देखाउने एउटा सुअवसर: हरेक वर्ष ख्रीष्टको मृत्युको स्मरणार्थले हामीलाई यहोवा र येशूले हाम्रोनिम्ति गर्नुभएका कामहरूप्रति मूल्यांकन देखाउने विशेष सुअवसर दिन्छ। यो कुनै साधारण सभा वा एउटा घटनाको स्मरणार्थ मात्र होइन। येशूले यसो भन्नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) ख्रीष्टको मृत्युको स्मरणार्थ, येशू कस्तो प्रकारको व्यक्ति हुनुहुन्छ भनेर मनन गर्ने समय हो। यो उहाँको वफादार जीवनपद्धति र बलिदानको लागि दिइएको महिमा र राज्याधिकारसहित उहाँ अझै जीवित र सक्रिय हुनुहुन्छ भनेर मूल्यांकन गर्ने समय हो। यो उत्सव ख्रीष्टले मसीही मण्डलीको मामिला तथा क्रियाकलापहरूलाई निर्देशन दिनुहुँदा उहाँको शिरत्वप्रति अधीनता देखाउने मौका पनि हो। (कल. १:१७-२०) परमेश्वरका सबै जनहरू ख्रीष्टको मृत्युको स्मरणार्थप्रति आदर देखाउँदै उपस्थित हुनुपर्छ। यस वर्ष यो उत्सव मार्च २८, २००२ बिहीबारको दिन सूर्यास्तपछि मनाइनेछ।
५ गत वर्ष, स्मरणार्थ उत्सवअघि गरिएको लगनशील प्रयत्नको कारण गत साल भारतमा उपस्थितिको शिखर संख्या ५२,७२५ पुग्यो। यस वर्षको उपस्थिति संख्या कति हुनेछ? यो धेरै हदसम्म हामीले सकेसम्म बढी मानिसहरूलाई उपस्थित हुन मदत गर्न गरेको “परिश्रम र प्रयत्न[मा]” निर्भर हुनेछ।—१ तिमो. ४:१०.
६ प्रभुको साँझको भोजमा उपस्थित हुनुको अलावा हामी हाम्रो क्षेत्र सेवाको क्रियाकलापलाई पनि बढाउन सक्छौं होला। निस्सन्देह, दसौं हजार भाइबहिनीहरूले एक महिना वा त्योभन्दा बढी सहायक अग्रगामी गर्नेछन्। गत पाँच वर्षमा हरेक वर्ष, स्मरणार्थको महिनामा मार्चदेखि मेसम्म औसतन १,५१५ जनाले सहायक अग्रगामी गर्दै आएका छन्। के तपाईं यो वर्ष सहायक अग्रगामी गर्ने मौकाबाट लाभ उठाउन आफ्नो कामकुरामा छाँटकाँट गर्न सक्नुहुन्छ? ख्रीष्टको बलिदानद्वारा परमेश्वरले गर्नुभएको मायालु प्रबन्धप्रति मूल्यांकन देखाउने यो एउटा उत्तम तरिका हुनेछ। निम्न अनुभवहरूले देखाएझैं तपाईं परमेश्वरको आशिष् प्राप्त गर्ने कुरामा ढुक्क हुन सक्नुहुन्छ।
७ पूर्ण-समय जागिर भएकी एक जना बहिनीले गएको मार्चमा सहायक अग्रगामी गर्दाको अनुभवबारे यस प्रकार लेखिन्: “फेब्रुअरी २००१ को हाम्रो राज्य सेवकाई-ले आफ्नो परिस्थितिले दिने जति सबैलाई स्मरणार्थको दौडान सहायक अग्रगामी गर्न प्रोत्साहन दिएको थियो। मार्चमा पाँचवटा शनिबार परेकोले यो मेरो तालिकासँग ठ्याक्कै मिल्यो। त्यसैकारण, मैले आफ्नो आवेदन बुझाउने निधो गरें।” त्यस महिनाको सुरुदेखि नै तिनले गृह बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखिन्। के तिनी सफल भइन्? हो, तिनी त्यस महिनाको साक्षी कार्यको ५२ औं घण्टामा सफल भइन्! तिनी कस्तो निष्कर्षमा पुगिन्? “हामीले थप प्रयत्न गऱ्यौं भने, अद्भुत आशिष्हरू पाउन सक्छौं।”
८ सम्पूर्ण परिवारै मिलेर अग्रगामी गर्नेहरूले कस्ता लाभहरू उठाउँछन्? गत अप्रिलमा त्यसो गर्ने चार जना सदस्य भएको एउटा परिवारको लागि त्यो महिना अविस्मरणीय रह्यो। आमाले यसो भनिन्: “सेवकाईमा एकताबद्ध भएकोले हरेक दिन हामी अत्यन्तै खुसी थियौं! दिनभरि सेवकाईमा हामीले के-के गऱ्यौं, त्यसबारे गरिने छलफलले हाम्रो बेलुकीको खाना खाने समय अत्यन्तै रमाइलो हुन्थ्यो।” छोराले यसो भने: “साधरणतया, बुबा जागिरमा व्यस्त हुने समयमा उहाँसँगै क्षेत्र सेवकाईमा काम गर्न पाउँदा मलाई निकै आनन्द लाग्यो।” बुबाले थप्दै यसो भने: “अहिलेको सबैभन्दा महत्त्वपूर्ण काममा हामी सँगसँगै मिलेर काम गरिरहेका छौं भन्ने कुरा जान्न पाउँदा परिवारको शिरको हैसियतमा मैले सन्तुष्टि महसुस गरें।” के तपाईंको सम्पूर्ण परिवार मिलेर अग्रगामी गर्न सक्छ? यस स्मरणार्थ उत्सवको महिनामा सम्पूर्ण परिवारले नै सहायक अग्रगामी गर्न सकिन्छ कि भनेर परिवारै बसेर छलफल गरे कसो होला?
९ के हामी मार्चलाई अफ्नो सर्वोत्तम महिना बनाउन सक्छौं? सन् २००० को सुरुतिर हाम्रो राज्य सेवकाईले यस्तो प्रश्न राखेको थियो: “के हामी सन् २००० अप्रिललाई आफ्नो सर्वोत्तम महिना बनाउन सक्छौं?” कस्तो जवाफ प्राप्त भयो? थुप्रै नयाँ शिखरहरू कायम भए। त्यस महिना ३,२८७ जनाले सहायक अग्रगामी गरेको कारण अहिलेसम्म त्यो शिखर कायम छ। त्यसबाहेक, बाइबल अध्ययन, घण्टा, प्रकाशक र पुनःभेटहरूमा पनि नयाँ शिखरहरू कायम भए। त्यस विशेष महिनामा गरिएका अत्यधिक आध्यात्मिक क्रियाकलापका कारण तपाईंको मण्डलीमा उत्पन्न भएको जोस के तपाईं सम्झनुहुन्छ? यस वर्ष पनि के हामी त्यत्तिकै वा त्योभन्दा पनि बढी गर्न सक्छौं? सबैको संयुक्त प्रयास भएमा, मार्च २००२ हाम्रो “सर्वोत्तम महिना” हुन सक्छ। मार्च नै किन?
१० मार्च हाम्रो क्रियाकलापको विशेष महिना हुनुमा दुईवटा कारण छन्। पहिलो, स्मरणार्थ मार्चको अन्ततिर पर्ने भएको कारण हामीले महिनाको सुरुदेखि नै धेरैभन्दा धेरै मानिसलाई निमन्त्रणा दिने मौका पाउँछौं। दोस्रो, यस वर्षको मार्चमा पाँचवटा सप्ताहन्त भएको हुनाले जागिरे र स्कूल जानेहरूलाई सहायक अग्रगामी गर्न सजिलो हुन्छ। यस परिशिष्टमा दिइएको क्यालेण्डर प्रयोग गरेर एउटा व्यावहारिक तालिका बनाउनुभए कसो होला? सहायक अग्रगामी गर्न तपाईंले सोच्नुभएको भन्दा धेरै सजिलो हुन सक्छ। उदाहरणका लागि, हरेक पाँचवटा सप्ताहन्तमा ८ घण्टा क्षेत्र सेवकाईको लागि छुट्याउने तालिका बनाएमा आवश्यक ५० घण्टा पुऱ्याउन महिनाका अरू दिनहरूमा १० घण्टा मात्र गर्नुभए पुग्छ।
११ मण्डलीका सबैलाई “परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न” मदत गर्न प्राचीनहरूले के गर्न सक्छन्? सभा तथा व्यक्तिगत कुराकानीद्वारा उत्साह जगाउनुहोस्। मण्डली पुस्तक अध्ययन निरीक्षक र तिनका सहयोगीहरू आफ्नो समूहमा खटाइएकाहरू सबैसँग कुरा गर्न र व्यक्तिगत तवरमा मदत दिन उत्सुक हुन सक्छन्। तिनीहरूलाई प्रोत्साहनजनक दयालु दुई चार शब्द वा केही व्यावहारिक सल्लाहहरू चाहिएका हुन सक्छन्। (हितो. २५:११) आफ्नो तालिकामा अलिकति छाँटकाँट गरेर सहायक अग्रगामीको रूपमा सेवा गर्ने सुअवसरबाट आनन्द उठाउन सकिने रहेछ भनी धेरै जनाले महसुस गर्नेछन्। थुप्रै मण्डलीहरूमा प्रायजसो सबै प्राचीन तथा सेवकाई सेवक र उनीहरूका पत्नीहरूले स्मरणार्थको बेला सहायक अग्रगामी गरेर राम्रो उदाहरण बसालेका छन्। यसले थुप्रै प्रकाशकहरूलाई पनि अग्रगामी गर्न प्रोत्साहित गरेको छ। शारीरिक सीमितता वा अन्य कारणहरूले गर्दा केही प्रकाशकहरूले अग्रगामी गर्न नसक्लान् तर मण्डलीका अरूहरूसँग मिलेर सेवकाईमा यथासक्दो गरेर आफ्नो मूल्यांकन देखाउन उनीहरूलाई प्रोत्साहन दिन सकिन्छ।
१२ प्राचीनहरूले सोचविचार गरेर योजना बनाउनुमा सफलता निर्भर हुन्छ। हप्ताभरि नै सुविधा पर्ने समयहरूमा क्षेत्र सेवकाईको लागि सभाहरूको आयोजना गर्नुपर्छ। सम्भव भएमा सेवकाईका लागि सबै सभाहरू सञ्चालन गर्न सेवा निरीक्षकले योग्य भाइहरूलाई खटाउनेछन्। समूह छुट्याउने, इलाका बाँड्ने र प्रार्थना गर्नेजस्ता सबै कुरा गर्न १० देखि १५ मिनेटभन्दा बढी समय नलागोस् भनेर राम्रो तयारी गर्नुपर्नेछ। (सेप्टेम्बर २००१ हाम्रो राज्य सेवकाई-को प्रश्न पेटी हेर्नुहोस्।) त्यस महिनाको क्रियाकलापको तालिका मण्डलीमा स्पष्टसँग घोषणा गर्नुपर्छ र सूचना पाटीमा टाँस्नुपर्छ।
१३ प्रशस्त मात्रामा इलाका उपलब्ध गराउनुपर्छ। सेवा निरीक्षकले इलाकासम्बन्धी कामकुरा सम्हाल्ने भाइलाई भेटेर प्रायजसो प्रचार नगरिने इलाकामा प्रचार गर्ने प्रबन्ध मिलाउनुपर्छ। घरमा नभेटिएकाहरूलाई साक्षी दिनको लागि, सडक साक्षी, पसल-पसल साक्षी र साँझको साक्षी कार्यमा जोड दिनुपर्छ। उपयुक्त भएमा केही प्रकाशकहरूलाई टेलिफोन साक्षी गर्न मदत दिन सकिन्छ।
१४ तिनीहरूलाई फेरि सेवा गर्न मदत दिनुहोस्: के अहिले तपाईंको मण्डलीका केही-कोही सुसमाचार प्रचार कार्यमा निष्क्रिय भएका छन्? त्यस्ता व्यक्तिहरू अझै मण्डलीका भाग हुन् र तिनीहरूलाई मदत चाहिन्छ। (भज. ११९:१७६) पुरानो संसारको अन्त र नयाँ संसार नजिकै भएकोले निष्क्रिय भएकाहरूलाई मदत दिनुपर्ने हामीसँग ठोस कारण छ। (रोमी १३:११, १२) गत पाँच वर्षमा लगभग ३०० जनाले यस्तो मदत स्वीकारेर पुनः सक्रिय भएका छन्। सुरु-सुरुमा सेवकाईप्रति भएको तिनीहरूको प्रेम र विश्वास पुनः जगाएर धेरैभन्दा धेरै मानिसहरूलाई मदत गर्न हामी के गर्न सक्छौं?—हिब्रू ३:१२-१४.
१५ गत केही वर्षदेखि निष्क्रिय भएकाहरूलाई कसरी मदत गर्न सकिन्छ भन्ने विषयमा प्राचीनहरूको निकायले छलफल गर्न सक्छन्। (मत्ती १८:१२-१४) मण्डलीका सचिवले मण्डलीका प्रकाशकहरूको रेकर्ड कार्ड हेरेर निष्क्रिय भएकाहरूको नाम टिप्नुपर्छ। मदत गर्नको लागि गोठालो भेटद्वारा विशेष प्रयत्न गर्नुपर्छ। त्यस व्यक्तिसँग पहिलादेखि नै घनिष्ठ सम्बन्ध तथा चिनजान भएको कुनै एक प्राचीनले तिनलाई भेट्न सक्छन् वा तिनलाई मदत गर्न अरू प्रकाशकहरूलाई खटाउन सक्छन्। हुन सक्छ, त्यस प्रकाशकले अहिले निष्क्रिय भएको उक्त व्यक्तिसित अध्ययन गरेको थियो र अहिले आवश्यक परेको बेला विशेष मदत गर्ने सुअवसर स्वीकार्न खुसी होलान्। आशा छ, निष्क्रिय भएका थुप्रै व्यक्तिहरू फेरि परमेश्वरको वचन प्रचार गर्न अग्रसर हुनेछन्। तिनीहरू योग्य भएमा फेरि काम सुरु गर्न स्मरणार्थको समयभन्दा उत्तम समय अरू कुनै हुन सक्दैन।—विस्तृत विवरणका लागि नोभेम्बर २००० हाम्रो राज्य सेवकाई-को प्रश्न पेटी हेर्नुहोस्।
१६ के प्रचार गर्न अरू पनि योग्य छन्? “सबै जाति जातिका धन-सम्पत्तिहरू” ल्याउनुभएर यहोवाले आफ्ना जनहरूलाई आशिष् दिइरहनुभएको छ। (हाग्गै २:७) हरेक वर्ष हजारौं मानिसहरू बप्तिस्मा अप्राप्त प्रकाशक बन्न योग्य हुन्छन्। तिनीहरू को हुन्? यहोवाका साक्षीहरूका छोराछोरी र साथै प्रगतिशील बाइबल विद्यार्थीहरू। तिनीहरू सुसमाचारको प्रकाशक हुन योग्य भए कि भएनन् भनी हामी कसरी थाह पाउन सक्छौं?
१७ यहोवाका साक्षीहरूका छोराछोरीहरू: बप्तिस्मा अप्राप्त प्रकाशकको रूपमा सेवा नगरे तापनि थुप्रै बच्चाहरू आफ्ना आमाबाबुसँग घर-घरको सेवकाईमा भाग लिइरहेको वर्षौं भइसक्यो। तिनीहरू बप्तिस्मा अप्राप्त प्रकाशक हुन मार्च महिना उपयुक्त हुन सक्छ। तपाईंको छोरा वा छोरी योग्य भए वा भएनन् भन्ने कुरा कसरी थाह पाउन सक्नुहुन्छ? अर्गनाइजड टु अकम्प्लिस आवर मिनिस्ट्री पुस्तकको पृष्ठ १०० यसो भन्छ, “जब बच्चाको चालचलन उदाहरणीय हुन्छ र हृदयदेखि नै उत्प्रेरित भएर सुसमाचारबारे अरूसँग कुरा गरेर आफ्नो विश्वासको प्रमाण दिन्छ।” तपाईंलाई आफ्नो बच्चा योग्य छजस्तो लागेमा मण्डलीको सेवा समितिको कुनै एक जना प्राचीनसँग कुरा गर्नुहोस्।
१८ योग्य बाइबल विद्यार्थीहरू: बाइबल विद्यार्थीले केही समयसम्म ज्ञान लिएपछि र सभाहरूमा उपस्थित भएपछि, तिनी राज्य प्रकाशक बन्न चाहलान्। यदि तपाईंले यस्तो विद्यार्थीसँग अध्ययन सञ्चालन गरिरहनुभएको छ भने यी प्रश्नहरू विचार गर्नुहोस्: के तिनले आफ्नो उमेर तथा क्षमताअनुसार प्रगति गर्दैछन्? के तिनले आफ्नो विश्वासबारे अरूलाई अनौपचारिक तवरमा बताउन थालेका छन्? के तिनले “नयाँ व्यक्तित्व” धारण गरिरहेका छन्? (कल. ३:१०, NW) आवर मिनिस्ट्री पुस्तकको पृष्ठ ९७–९ सम्म दिइएका बुँदाहरूअनुसार के तिनी बप्तिस्मा अप्राप्त प्रकाशक हुन योग्य छन्? यदि छन् भने, तपाईंले मण्डलीको सेवा समितिलाई सम्पर्क राख्नुपर्छ अनि दुई जना प्राचीनहरूले तपाईं र तपाईंको विद्यार्थीलाई भेट्ने प्रबन्ध मिलाउन सक्छन्। तिनी योग्य ठहरिएमा जन सेवकाईमा भाग लिन सक्छन् भनी दुई जना प्राचीनहरूले जानकारी दिनेछन्।
१९ अप्रिल र मे महिनामा नि? विस्तृत सेवकाई क्रियाकलापका लागि यी महिनाहरू पनि विशेष हुनेछन्। मार्चमा सहायक अग्रगामी गर्ने धेरै जनाले अप्रिल र/वा मेमा पनि अग्रगामी गर्न सक्छन् होला। अप्रिल र मे महिनाको दौडान हामी सेवकाईमा प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! प्रस्तुत गर्न विशेष जोड दिनेछौं। यी पत्रिका पढ्नेहरूको जीवनमा यसले अत्यन्तै लाभ पुऱ्याएको छ! विश्वव्यापी तवरमा भइरहेको अद्भुत वृद्धि हासिल गर्न यी पत्रिकाहरूले ठूलो भूमिका खेलेका छन्। सकेसम्म धेरै मानिसहरूलाई यी पत्रिकाहरू प्रस्तुत गर्न अप्रिल र मे महिनामा विशेष प्रयत्न गरिनेछ। पूर्ण रूपमा भाग लिन अहिले देखि नै योजना बनाउनुहोस्।
२० विस्तृत प्रचार क्रियाकलापको लागि योजना बनाइएको हुँदा, कतै तपाईंले मण्डलीबाट अहिले प्राप्त गरिरहनुभएको पत्रिकाको संख्या बढाउनुपर्छ कि? यस सेवा वर्षभरि नै पत्रिका दिनको रूपमा छुट्याइएको हरेक शनिबार हामी प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! प्रस्तुत गर्नेछौं। तथापि, धेरै जनाले सहायक अग्रगामीको हैसियतमा सेवा गर्ने अनि दुई महिनाभरि पत्रिका मात्रै प्रस्तुत गरिने भएकोले मण्डलीमा पत्रिकाको माग बढाउनुपर्ने हुन सक्छ। त्यसो हो भने, तपाईंको मण्डलीको पत्रिका सेवकलाई तुरुन्तै खबर गरिहाल्नुहोस्। साथै, साहित्य सेवकले के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? भन्ने पर्चा सबैलाई पुग्ने गरी प्रशस्त मात्रामा छ वा छैन पक्का गर्नुपर्छ।
२१ हाम्रो राज्य सेवकाई-मा दिइने “पत्रिकाहरूबारे के भन्ने” लेखको लागि धेरै जनाले मूल्यांकन व्यक्त गरेका छन्। नमुना पत्रिका प्रस्तुति सिकेर के तपाईंले यस प्रबन्धबाट लाभ उठाउनुभएको छ? हरेक हप्ता हुने तपाईंको पारिवारिक बाइबल अध्ययनको दौडान यी प्रस्तुतिहरू तयार गर्नको लागि केही समय छुट्याउनुभए कसो होला?
२२ यस स्मरणार्थ समयको पूर्ण लाभ उठाउनुहोस्: प्रेरित पावलले जस्तै हामी पनि “उहाँको बयान गरी नसक्ने वरदानको” औधी मूल्यांकन गर्छौं भनी यहोवालाई देखाउन यस स्मरणार्थ समयको लागि प्रबन्ध गरिएका सबै आध्यात्मिक क्रियाकलापहरूमा पूर्णतया भाग लिऔं। यसमा निम्न बुँदाहरू समावेश छन्, (१) बिहीबार, मार्च २८, २००२ मा हुने वर्षको सबैभन्दा महत्त्वपूर्ण अवसर अर्थात् प्रभुको साँझको भोजमा उपस्थित हुनु; (२) निष्क्रिय भएकाहरूलाई तिनीहरूको “पहिला प्रेम” पुनः जगाउन मदत गर्नु (प्रका. २:४; रोमी १२:११); (३) बप्तिस्मा अप्राप्त प्रकाशक बन्न योग्य भएका आफ्ना छोराछोरी र बाइबल विद्यार्थीहरूलाई मदत गर्नु र (४) मार्च र त्यसपछिका महिनाहरूमा सहायक अग्रगामीसमेत गरेर प्रचार कार्यमा यथासक्दो पूर्ण रूपमा भाग लिनु।—२ तिमो. ४:५.
२३ यस स्मरणार्थको समयमा हामी सबैले राज्यको सुसमाचार प्रचार गर्ने काममा पूर्ण रूपले भाग लिएर यहोवाले हाम्रो निम्ति गर्नुभएका सबै कामहरूका निम्ति गहिरो मूल्यांकन देखाउन सकौं भनी हामी व्यग्र प्रार्थना गर्दछौं।
[पृष्ठ ६-मा भएको पेटी]
मार्च २००२ का लागि व्यक्तिगत क्षेत्र सेवकाई तालिका
आइतबार सोमबार मंगलबार बुधबार बिहीबार शुक्रबार शनिबार
१ २
पत्रिका दिन
३ ४ ५ ६ ७ ८ ९
पत्रिका दिन
१० ११ १२ १३ १४ १५ १६
पत्रिका दिन
१७ १८ १९ २० २१ २२ २३
पत्रिका दिन
२४ २५ २६ २७ २८ २९ ३०
स्मरणार्थ पत्रिका दिन
सूर्यास्त
३१ पश्चात्
के तपाईं मार्च महिनामा सहायक अग्रगामी गर्न ५० घण्टा पुऱ्याउने तालिका बनाउन सक्नुहुन्छ?