के तपाईं असाध्यै व्यस्त हुनुहुन्छ?
१ पावलले हामीलाई ‘सधैं प्रभुको काममा प्रशस्त हुँदै जान’ आग्रह गरे। (१ कोरि. १५:५८) हामीलाई व्यक्तिगत अध्ययनको दैनिक तालिका कायम गर्न, नियमित तवरमा सेवकाईमा भाग लिन, अटुट रूपमा सभाहरू धाउन र लगनशील भई मण्डलीका कार्यभारहरू सँभाल्न आग्रह गरिएको छ। त्यसबाहेक, हाम्रो मदतको खाँचो पर्ने व्यक्तिहरूलाई सहयोग गर्नुपर्छ। त्यति धेरै कुराहरू गर्नुपर्ने भएकोले हाम्रो कार्यभार कम गर्ने तरिकाहरू खोज्नुपर्ला भन्ने सोच्दै कहिलेकाहीं हामी अतासिनसक्छौं।
२ केही क्रियाकलापलाई हटाउनु वा ती कार्यहरूको मात्रालाई कम गर्नु कुनै कुनै परिस्थितिमा बुद्धिमानी र व्यवहारिक हुनसक्छ। केही व्यक्तिहरू अरूले निवेदन गरेजति सबै कुराहरू पूरा गर्न बाध्य महसुस गर्छन्। यस सन्दर्भमा सन्तुलनको कमीले दबाब र तनाउ पैदा हुनसक्छ अनि त्यसले अन्ततः बरबाद पार्नसक्छ।
३ सन्तुलित हुनुहोस्: पावलको सल्लाह लागू गर्नु वा नगर्नुमा सन्तुलित हुने कुञ्जी आधारित छ। त्यो हो, “बढी महत्त्वपूर्ण कुराहरूलाई पक्का गर्नु।” (फिलि. १:१०, NW) सरल भाषामा भन्ने हो भने, साँच्चै महत्त्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गरेर समय अनि परिस्थितिले भ्याएमा कम महत्त्वपूर्ण कुराहरू गर्नुपर्छ। अत्यावश्यक कुराहरूमध्ये पारिवारिक दायित्वहरू पनि प्रमुख हुन्। केही सांसारिक जिम्मेवारीहरू त पूरा गर्नैपर्ने हुन्छ। तथापि, परमेश्वरको राज्यलाई प्रथम स्थान दिने सिद्धान्तमा हाम्रा प्राथमिकताहरू आधारित हुनुपर्छ भनेर येशूले सिकाउनुभयो। सर्वप्रथम, हामीले यहोवाप्रति आफ्नो समर्पणलाई पूरा गर्न मिल्ने कुराहरू गर्नुपर्छ।—मत्ती ५:३; ६:३३.
४ यसलाई मनमा राखेर हाम्रो व्यस्त तालिकाबाट अनावश्यक व्यक्तिगत कार्य, अत्यधिक मनोरञ्जन र अरूप्रति नचाहिंदो वचनबद्धतालाई हटाउन निश्चित गर्नेछौं। हरेक हप्ता योजना बनाउँदा हामीले यथेष्ट व्यक्तिगत अध्ययन, क्षेत्र सेवामा यथोचित सहभागिता, सभाहरूमा उपस्थिति र हाम्रो उपासनासित सम्बन्धित अन्य महत्त्वपूर्ण कुराहरू गर्न समय छुट्याउनेछौं। परमेश्वरको राज्यलाई प्राथमिकता दिने मसीहीहरू हुने हाम्रो प्राथमिक लक्ष्य हासिल गर्न कत्तिको योगदान पुग्छ, त्यसको आधारमा अन्य कार्यहरूका लागि बाँकी समय छुट्याउन सकिन्छ।
५ माथि उल्लिखित सबै कुरा गरिसक्दा पनि हाम्रो भार असाध्यै बोझिलो महसुस होला। त्यसो हो भने, हामीले येशूको यस निमन्त्रणालाई स्वीकार्नुपर्छ: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” (मत्ती ११:२८) साथै, यहोवामा भरोसा राख्नुहोस् जसले “हाम्रो बोझ दिनहुँ” उठाउनुहुन्छ र थकितहरूलाई शक्ति दिनुहुन्छ। उहाँले धर्मीहरूलाई कहिल्यै डग्न दिनुहुनेछैन भनी प्रतिज्ञा गर्नुभएको छ। (भज. ५५:२२; ६८:१९; यशै. ४०:२९) हाम्रा प्रार्थनाहरूको जवाफ पाउनेछौं र ईश्वरतान्त्रिक क्रियाकलापहरूमा व्यस्त जीवन बिताइरहन सक्नेछौं भनी विश्वस्त हुनसक्छौं।
६ परमेश्वरको राज्यसम्बन्धी उपयोगी क्रियाकलापहरूमा व्यस्त हुनसक्नेछौं भनी निश्चित हुनुको साथै प्रभुमा हाम्रो परिश्रम व्यर्थमा जाँदैन भनी थाह पाएर आनन्दित हुनसक्छौं।—१ कोरि. १५:५८.